साताका तीन लघुकथा- ३९

  • २० आश्विन २०८०, शनिबार २१:११ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (३९औँ) शृङ्खलाका लागि लघुकथाकार कल्याण पन्तको लघुकथा ‘राजनीति’, लघुकथाकार खगेन्द्र बश्यालको लघुकथा ‘महत्वपूर्ण पुस्तक’ र लघुकथाकार शिवहरि अधिकारीको लघुकथा ‘सहमति’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथाः राजनीति

    ✍️ कल्याण पन्त
    “हिजो उसलाई एकजोर चप्पल मैले किनिदिएको भन्थिस् नि, आज देखिस् !’’ बिमलले भने ।

    “मन्त्री भएसी सबैको चालामाला यस्तै हो ।’’ कसैले मन बुझाउँदै थिए ।
    सुन, जनधन… आदि काण्डैकाण्डको चर्को विरोध हुँदै थियो । सडक, चोक, संसद कतै बाँकी थिएन, नारा जताततै सुनिँदै थियो । अन्ततः मन्त्री जुगतलालको साँझमा राजीनामा आयो । तर मुद्दामामिलामा उनी पनि अछुतो रहेनन् ।

    छ महिनापछि अदालत परिसरमा खचाखच भीड थियो । यसै बीच न्यायमूर्तिले मुद्दा किनारा लगाए । जुगतलाल, गाईको दूधले नुहाएजस्ता ठहरिए । उनी फेरि फूलमालाले सजिए ।

    “यो कसरी सम्भव भो ?’’ सबैको मुखमुखमा झुण्डियो । उनका ससुराबा समेत तीनछक परे । दशैँमा ससुराबाले उत्साहले सोध्नुभयो । पूर्व मन्त्री जुगतलालले खुसुक्क कानमै पुगेर भने-“मैले सुरूबाटै कार्यपालिकादेखि न्यायपालिकासम्म बुद्धिमतापूर्वक काम गरेको थिएँ नि, बा !’’

    २)
    लघुकथा: महत्त्वपूर्ण पुस्तक

    ✍️ खगेन्द्र बस्याल
    दैलातुङ्ग फाँटमा बिदा हुने बेलामा ताराले हिरालाई भने- “तपाईँले पाँच छ घण्टामा पढ्न सकिने महत्त्वपूर्ण पुस्तक ल्याउने छु भन्नुभएको थियो, पुस्तक पढन त के कुरा टाढाबाट दर्शन गर्ननैँ पाइएन।”

    हिराको जवाफ रह्यो, “देखेर पनि नपढेपछि मेरो के लाग्छ र ! सबै समय आफ्नै छोराछोरीको तारिफ गर्नमै खर्चनु भयो । सायद् यसैले मैले ल्याएको महत्त्वपूर्ण पुस्तक चिन्न सक्नुभएन।”

    ताराले भने- “पहिले पहिले राजनीतिका कुरा गर्न निकै चासो लिन्थेँ । जुन जोगी आएपनि उस्तै देखेपछि यो बाटो अँगालेको हुँ । तपाईँले पुस्तक दिनुभएको भएता पनि तपाईँसँग कुराकानी नगरी रहन सक्दिनथेँ।”

    हिराको कुरा रह्यो, “सँगै पढ्न सकिन्थ्यो नि !”
    ताराले अचम्म मान्दै सोधे- “सँगै पढ्न सकिने पनि पुस्तक हुन्छ र ?”
    हिराले बताए- “सँगै चासोका साथ पढ्न सकिने पुस्तक हुँदोरहेछ भन्ने दैलातुङ्ग फाँटमा आएर प्रमाणित गर्ने मेरो धोको थियोे । त्यो पुरा हुन बाँकी रहेको चाहना बिर्घा गएर पुरा गर्नुपर्ला।”

    ताराले गम्भीरतापूर्वक सोधे- “पढ्न नपाए पनि त्यो पुस्तक त देखाउनुस्।”

    हिराले सँगै गएका अन्दाजी बहत्तर वर्षिय पाहुनालाई देखाउँदै भने- “उहाँसँग पशुपालन तथा कृषिमा कसरी चमत्कार ल्याउने भन्ने विषयमा राम्रो ज्ञान छ । के स्वयम्मा उहाँ निकै महत्त्वपूर्ण सँगै बसेर पढ्न सकिने पुस्तक होइन त ?”
    तिलोत्तमा९ सरस्वती पथ,रुपन्देही ।
    ०८० असोज १३

    ३)
    लघुकथा: सहमति

    ✍️ शिवहरि अधिकारी
    “के काे हल्ला हाे चम्पा पल्लाे घरमा ?” रमाले साेधीन् ।
    “के हुन्थ्यो र रमा ! उही लाेग्नेस्वास्नीकाे झगडा ।” चम्पाले भनिन् ।

    “आ दिदी ! ‘लाेग्नेस्वास्नीकाे झगडा परालकाे आगाे भन्छन् ।’ एकैछिन दन्किन्छ अनि निभिहाल्छ ।” रमाले भनिन् ।
    “भाेलिदेखि भने झगडा नहाेला जस्तो छ ।” चम्पाले अनुमान गरिन् ।

    “किन र दिदी ?” रमाले साेधिन् ।
    “अबदेखि झगडा नगर्ने भनेर मेरै राेहबरमा पाँच बुँदे सहमतिमा दुवैले हस्ताक्षर गरेका छन् ।” चम्पाले भनिन् ।

    “उही शिक्षकहरूले गरेजस्तै कार्यान्वयन नहुने सहमति त हाेला नि !” रमाले भनिन् ।
    भरतपुर महानगरपालिका ७ कृष्णपुर
    २०८०/०६/१४

    Leave a Reply