नआलमको प्रथम साधारण सभा सम्पन्न, दुई दर्जन बढी सर्जक/पाठक सम्मानित

  • ६ कार्तिक २०८०, सोमबार १८:३३ मा प्रकाशित
  • चितवनको राप्ती नगरपालिकाको डडुवा स्थित जुमेरा होटेल एण्ड लजमा स्रष्टा सम्मान, लघुकथा वाचन, सांस्कृतिक प्रदर्शनी तथा संस्थाको प्रथम साधारण सभा गत मङ्गलवार भव्य रूपमा सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन राप्ती नगरपालिकाका नगर प्रमुख श्री शमशेर लामाज्यूले गर्नुभएको थियोे ।
    कार्यक्रममा लघुकथाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुहुने दुई दर्जन बढी व्यक्तित्वहरूलाई अभिनन्दन, सम्मान गरिएको थियोे ।

    सम्मानित हुनुहुनेमा नेपाली लघुकथाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनु भएका वरिष्ठ साहित्यकार डा. विदुर चालिसेलाई प्रायोगिक लघुकथा सिद्धान्तकार र गोपाल अश्कलाई प्रथम लघुकथा सिद्धान्तकारको रूपमा अभिनन्दन/सम्मान गरिएको थियो ।

    त्यस्तै लघुकथाको समीक्षा, समालोचनाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनु हुने वरिष्ठ समालोचकहरू डा.विदुर चालिसे, डा. शंकरप्रसाद गैरे र लक्ष्मण अर्याललाई लघुकथाश्री समालोचक सम्मान २०८०’ बाट सम्मान गरिएको थियो ।

    त्यस्तै वरिष्ठ साहित्यकार डा. शेखरकुमार श्रेष्ठलाई लघुकथा कृति ‘बोकाको खुसी’को लागि ‘लघुकथालय पुरस्कार- २०८०” बाट सम्मान गरिएको थियोे ।

    त्यस्तै लघुकथाको क्षेत्रमा विशिष्ट योगदान दिनुहुने युवा लघुकथाकारद्वय वसन्त अनुभव र ज्यो. नानी बिवुलाई ‘हेमलता स्मृति लघुकथा सम्मान २०७९’ बाट सम्मान गरिएको थियोे । त्यस्तै युवा लघुकथाकारद्वय अनु विज्ञाति र अनुग्रह राना मगर ‘पुष्प’लाई ‘हेमलता स्मृति लघुकथा सम्मान-२०८०’ बाट सम्मान गरिएको थियो ।

    साे अवसरमा सालभरिमा सबैभन्दा बढी गुणात्मक लघुकथा लेख्ने लघुकथाका सर्जकहरूलाई ‘वर्ष लघुकथाकार-२०७९ र ८०’ बाट सम्मान प्रदान गरिएको थियो । २०७९ मा प्रथम हुने डा. विदुर चालिसे, द्वितीय- गंगा खड्का र तृतीय- तुलसी पण्डितलाई सम्मान गरिएको थियो । त्यस्तै २०८० मा प्रथम हुने अरुण बहादुर खत्री ‘नदी’, द्वितीय- डा. विदुर चालिसे र तृतीय- धनराज गिरीलाई सम्मान गरिएको थियो ।

    यसैगरि वर्षभरि सबैभन्दा बढी लघुकथा पढ्ने पाठकहरू मध्ये ‘वर्ष पाठक-२०७९’ बाट प्रथम- अनन्तराज उपाध्याय, द्वितीय- दुर्गा अधिकारी ‘पैरवी’ र तृतीय- टङ्क बहादुर आले मगरलाई सम्मान गरिएको थियो । त्यस्तै वर्ष पाठक-२०८० बाट सुरेश कुमार पाण्डे-प्रथम, दुर्गा अधिकारी पैरवी- द्वितीय र हरी उपाध्याय- तृतीयलाई तथा ‘वर्ष उत्कृष्ट पाठक-२०७९ र २०८०’ बाट ज्योति खड्का पाण्डेलाई नगद सहित सम्मानित गरिएको थियो ।

    कार्यक्रममा ५ दर्जन बढी लघुकथा सर्जकहरूलाई अति विशिष्ट आजीवन, विशिष्ट आजीवन र आजीवन सदस्यताको प्रमाण-पत्र वितरण गरिएको थियोे ।

    कार्यक्रममा ‘आधुनिक नेपाली लघुकथाको परिचर्चा समेत गरिएको थियो । परिचर्चाकारद्वय वरिष्ठ साहित्यकार, समालोचक डा. विदुर चालिसे र गोपाल अश्कले आधुनिक नेपाली लघुकथाको चर्चा गर्दै लघुकथासँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण साहित्यकार डा. शंकरप्रसाद गैरेले गर्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि एवम् राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामा, तथा सम्मानित विशिष्ठ अतिथि एवम् साहित्यकारहरू डा. विदुर चालिसे, गोपाल अश्क, लक्ष्मण अर्याल, वसन्त अनुभव र अनु विज्ञातिले छोटो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा धौलागिरी नौमति बाजा समुहको बाजा, मगरजातिको कौडा नाच, थारू जातिको डम्फु नाच, झाम्टा नाच, हरेराम हरेकृष्ण कीर्तन मण्डलको हार्मोनियम भजन तथा झाँकीहरू प्रदर्शन गरिएको थियो ।

    उक्त अवसरमा साहित्यिक स्रष्टाहरू डा. शंकरप्रसाद गैरे, लक्ष्मण अर्याल, डा. हिमलाल श्रेष्ठ, कल्याण पन्त, वसन्त अनुभव, अजित आचार्य, रमेन्द्र कोइराला, विष्णु पन्थी विनु, होम प्रसाद नेउपाने, अनु विज्ञाति, सीता रेग्मी, शारदा दाहाल भण्डारी लगायतले लघुकथा वाचन गर्नुभएको थियो ।

    कार्यक्रम दोस्रो सत्रमा सम्पन्न प्रथम साधारण सभाले पुनः घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को नेतृत्वमा नमस्ते आधुनिक लघुकथा मञ्चको ७ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । सभाले सचिव वसन्त अनुभवले प्रस्तुत गर्नु भएको साङ्गठनिक एवम् प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष यमुना प्रधानाङ्ग ‘मुना’ले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पास गरेको थियो ।

    कार्यक्रम नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजि शर्मा’ को अध्यक्षता, सचिव वसन्त अनुभवको स्वागत मन्तव्य तथा पत्रकार कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    Leave a Reply