टुक्का कविता लेखन अभियान श्रृङ्खला- ९७ सम्पन्न

  • १ कार्तिक २०८०, बुधबार ०१:०९ मा प्रकाशित
  • काठमाडाैँ, २८ असाेज
    बडा दशै २०८० को प्रथम दिन घडा स्थापनाकाे अवसरमा यही असाेज २८ गते टुक्का साहित्य समाजकाे आयाेजनामा टुक्का कविता लेखन अभियान श्रृङ्खला ९७ सम्पन्न भएकाे छ ।
    टुक्का पाठशालामा भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे संयाेजन / प्रशिक्षण टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे भने कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न स्थानहरूबाट ६२ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे ।
    कार्यक्रमकाे समापन गर्दै संयाेजक चापागाईँले हाम्रा चाडपर्व, संस्कृति हामीले आफ्नाे गच्छे अनुसार मनाउनु पर्छ । चाडपर्वकाे नाममा भएका विकृतिहरू हटाउँदै ठुलाबाडाहरूबाट आशीर्वाद थाप्ने, सुख शान्तिकाे कामना गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्दै टाेल, छिमेक, गाउँ बस्तिहरूमा सबैले दशै तड्क भड्कमा हैन खुसी साट्ने पर्वकाे रुपमा मनाउँ भन्ने आव्हान गर्दै घडा स्थापनाकाे अवसरमा टुक्का साहित्य समाजले आयाेजना गरेकाे विशेष टुक्का कविता लेखन कार्यक्रममा “दशैँ दशा नबनाेस्” भन्ने कामना गर्दै सचेतना मूलक टुक्का कविताहरू सिर्जना गरेर टुक्का साहित्यका माध्यमबाट समाजलाई सुसूचित गर्नु हुने सहभागी सम्पूर्ण साहित्यकारहरूलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रममा सङ्कल गरिएका केही टुक्का कविताहरू
    [१]
    १.
    खुसी साटेर मनाउँ दशैँ तड्क भड्क छाेडेर
    गच्छे हेरी व्यवहार गराैँ हुन्न मन माेडेर ।
    २.
    चाड मान्दा घरखेत गुम्याे भन्न नपराेस्
    खुसी साट्दै मनाउँ दशैँ याे दशा नबनाेस् ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [२]
    १.
    गच्छे अनुसार खर्च गरौँ देखासिकी त्यागौँ,
    पर्वको गरिमा के हो ? जोगाउन तिर लागौँ ।
    २.
    ऋण गरेर दसैँ मानेमा  पछि होला रुने,
    सुम्पी सम्पत्ति साहुलाई सडकबासी हुने ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [३]
    १.
    दसैँ यो दशा नै नहोस् है कसैमा
    खुसी शान्ति छाओस् यहाँका सबैमा।
    २.
    गरौँ खर्च आफ्नो छ औकात जस्तो
    नहोस् ढाड सेक्ने बनोस् वस्तु सस्तो।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर
    [४]
    १.
    दशैँ आयो तिहार पनि नजिकै छ भन कसो गरौँ,
    हुँदा खानेहरू अनावश्यक खर्चबाट  सधै डरौँ।
    २.
    न खेलौँ जुवा न पिउँ मदिरा स्वस्थ समाज याे बनाऊँ,
    संसारमा आफूलाई सभ्यबनी चिनाउँ सम्मान पाऊँ।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [५]
    १.
    जहाँ छौं हामी त्यहीँ रही खुसी साथ दशैँ मनाऔँ,
    हिन्दु हौँ हामी महान चाडमा हार्दिकता जनाऔँ।
    २,
    देखासिकी नगरौँ है महान चाड मान्नलाई,
    फजुल खर्च नै समाजको प्रतिष्ठा ठान्नलाई।
    ✍️ प्रदीप के रिमाल
    इटहरी,सुनसरी।
    [६]
    १.
    देखासिकी नगरौँ ,मनाऔँ चाड हर्षले,
    उल्लास हौसला प्रगति ल्याओस् यो पर्वले ।
    २.
    भेटघाट रमाइलो खुसी साटासाट आशिष् लिने,
    नवदुर्गा, शक्तिपीठ  पूजाआजा भाव भक्ति दिने ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक
    [७]
    १.
    शरद् ऋतु भन्छ हाँस्दै, अन्नवाली फुलोस् फलोस्
    घरघरमा सबको दसैँ, नव दीप बलोस् ।
    २.
    वैरभाव अशान्ति सबै, लखेटिउँन् खोलै खोला,
    दसैँमा दशा नफर्के त कति, प्रिय हुन्थ्यो होला।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    [८]
    १.
    वर्ष दिनमा आउने दशैँ हो नेपालीको महान् पर्व
    आपसमा सद्भाव साटासाट गर्दा धेरै लाग्छ गर्व ।
    २.
    सधैँ आउने यस्ता चाडपर्वले रौनक लिई आउन् ।
    ढोँगी होइन, समाजमा यिनले मौलिकता बचाउन्  ।
    ✍️ पद्मा काश्यप पाण्डे
    पथरी मोरङ
    [९]
    १.
    दशैँ मानौँ है सबैले नै नवदुर्गा भवानीको प्रसाद लगाएर,
    प्राणीलाई काटमार नगरौंँ रक्षा गरौँ दुर्गा भवानी जगाएर।
    २.
    दशैँ पर्व आएर कसैलाई दशा नबनाओस्
    आ-आफ्नो गच्छे अनुसार सबैले दशैँ मनाओस्।
    ✍️ बेदु न्यौपाने
    काठमाडौँ
    [१०]
    १.
    मिलेर मनाउनु छ, बडा दशै यसपाली,
    सुख शान्ति ल्याउनु छ,कुविचार सबै फाली।
    २.
    मादक पदार्थ नपिउँ, समाजमा सभ्य बनौँ,
    दुई दिनको जिन्दगीमा, हराएको सुख खनौँ।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि-३, धनकुटा
    [११]
    १.
    दशैँलाई बनाउँ सद्‌भाव बाँड्ने पर्व,
    देशको सँस्कार संस्कृति नै हाम्रो गर्व।
    २.
    सादा अनि सरल चाड यो बन्नु पर्छ,
    तडकभडकले धेरै असर गर्छ।
    ✍️ पुष्पा राई
    खोटाङ।
    [१२]
    १.
    ऋणमा कहिल्यै नमनाउनु दसैँ पर्व
    जे छ आफूसँग उसैमा गर्नुपर्छ गर्व।
    २.
    हौसला र उमङ्गको यो दसैँ पर्व हाम्रो
    सारा नेपालीले खुशियालीले मान्नु राम्रो।
    ✍️ शिव कुमार रेग्मी
    पोखराथोक, पाल्पा
    [१३]
    १.
    आऊ हामी मिलेर मनाऊँ
    दशैँ हाम्रो संस्कृति जगाऊँ ।
    २.
    दशैँ यो सबैको हितमा खुशी बनोस्
    कसैको दशा बनेको यहाँ नकहोस् ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढाका कालेबुङ
    [१४]
    १.
    सदियौँ देखि परम्परा दसैँ दानवको भक्ष,
    दशैँ दशा नबनोस् यही नै छ है सबको लक्ष।
    २.
    जति कठिन परे पनि गर्नै पर्छ सामना,
    असी सालको दशैँको सबैमा शुभकामना।
    ✍️ अम्बिका गिरी
    काभ्रे
    [१५]
    १.
    गर्नु हुन्न है रबाफ रिण काढेर
    जानुपर्ला परदेश देशै छाडेर ।
    २.
    हैसियतले जती सक्छ त्यती खर्च गरौँ
    देखासिकी गर्नु हुन्न यही सन्देश छरौँ ।
    ✍️ सरिता सेढाई
    धादिङ
    [१६]
    १.
    दशैँ मान्दा  मस्तसँग जुवा तास खेल्दा
    रुनु पर्ला भाेलि थाप्लामाथि ऋण झेल्दा।
    २.
    दशैँमा रमाऔँ सद्भावमा मितव्ययी बनाैँ,
    माेजमस्तीले ओछ्यान पर्दा अभागी नभनाैँ ।
    ✍️ निरज कोइराला 
    बेलका १ उदयपुर, हालः इटहरी
    [१७]
    १.
    देखासिकीको विराट रुप नबनाउनुस्
    सक्दो साधारण रुपमा दशैँ मनाउनुस्।
    २.
    चाडपर्वको नाममा कुरीति धेरै चल्छ सकिन्जेल
    दशैँ, दशैँ जस्तो भएर आउदैन रहेछ अचेल।
    ✍️ बि.कुलुङ “रंगबुले”
    दार्जिलिङ, भारत
    [१८]
    १.
    दशैँ मान्ने बहानामा हामी ऋणमा डुब्नु हुन्न
    थालिसके छिमेकिले फसाउँने जाल बुन्न।
    २.
    समयमै सचेत बनौँ देखासिकी छोडौँ
    यो दशैँमा धनमा होइन मनमा मन जोडौँ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु, धादिङ
    [१९]
    १.
    ठुलै खसी हेर्ने हैन हेरौँ साग पात
    हाँसीहाँसी दशैँ मानौँ मिलाएर हात।
    २.
    अर्को साल के हुने हो कस्लाई थाहा छ र?
    परदेशको युवाहरू आउँदैनन् घर ।
    ✍️ सञ्जना शर्मा
    दाङ लमही
    [२०]
    १.
    गरिबलाई झन् ऋणमाथि ऋणको भारी बोक्न नपरोस्
    जे जस्तो छ खुसी भई रम्नु चाडमा दसैँ दशा नबनोस्।
    २.
    हुने खाने र हुँदा खानेको चाडपर्व नै हुन्छ फरक
    मितव्ययीले आयव्यय मिल्छ दुःखी बने हुन्छ नरक।
    ✍️ बाबुकाजी श्रेष्ठ
    मन्थली १, रामेछाप
    [२१]
    १.
    जे छ आफूमा त्यसैमा रहेर रमाउने गर्नुपर्छ
    चाडबाड आउँदै गर्छन् सन्तोषले मन भर्नुपर्छ।
    २.
    आजैबाट शुरु गरौँ दशैँ नबनोस् दशा भनि पहल
    सबै मिलि तोडौँ अब मन भित्रको घमण्डको महल।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [२२]
    १.
    दशैँ मनाउ हर्ष र उमङ्ग छरी
    आफन्त जन सबैसँग भेट गरि।
    २.
    फजुल खर्चले दशैँ याे दुर्दशा नबनाेस्
    आहा कति भव्य र सभ्य भयो दशैँ भनाेस्।
    ✍️ राज कुमार  राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५संगम काेलाेनी भक्तपुर ।
    [२३]
    १.
    दशैँ साँच्चिकै दशैँ बनोस् दशा नबनोस्,
    विकृति र विसङ्गतिको बाटो नखनोस् ।
    २.
    नव दुर्गा भवानीकाे सदा दृष्टि पराेस् ,
    सुख शान्ति समृद्धिले नित्य बास गराेस् ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [२४]
    १.
    निधारमा त्यो रातो टीका देख्दा जल्नेहरू
    चुपचाप  बस अर्कैको  खुट्टा  मल्नेहरू।
    २.
    सम्झन्छौ गाउँघर कोरोना र दशैँको बेला
    अरु बेला गाउँ-गाउँले सधैँभरिको हेला ।
    ✍️ गणेश नेपाली
    पाल्पा
    [२५]
    १.
    दु:ख सुख जे जस्तो भए पनि खुसी दशैँ मनाओैँ,
    नेपाली हाैँ हामी हाम्रो संस्कृतिकाे महत्व जनाओैँ।
    २.
    हामी नेपालीहरूकाे हाे याे महान् चाड दशैँ पर्व,
    दु:ख सबै भुलेर मनाओैँ लिएर मनैमा गर्व।
    ✍️ सहयात्री शाेभा अर्याल
    बुटवल, रुपन्देही
    [२६]
    १.
    यो साल पनि फेरि दसैँ आयो
    गरिबको घरमा ॠण ल्यायो।
    २.
    यता खर्च उता खर्च के गर्नु
    चाहना एउटै छ खुसी छर्नु ।
    ✍️ प्रफुल्ल भण्डारी
    धरान सुनसरी।
    [२७]
    १.
    आफ्नो गच्छे अनुसार दशैँ मनाउँ
    घर गाउँमा यहीँ सन्देश जनाउँ ।
    २.
    दशैँ दशा नबनोस्  घरमा कसैको
    हाँसी खुशीका साथ आओस् है सबैको।
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी
    [२८]
    १.
    असत्य सामु सत्यले जितेकाे दशैँ पर्व
    सुख दुख गरेर मनाउँदै गराैँ गर्व ।
    २.
    घाँटी हेरेर हामी सबले हड्डी निल्नु पर्छ
    चिचि पापा र नानाले गरिबकाे खुसी हर्छ।
    ✍️ खुनराज काेइराला
    सिद्दलेक ३ गैरीगाउँ, धादिङ
    [२९]
    १.
    दशैँ दशैँ बनोस घर घर खुसियालीमा रमोस्
    दशैँ दशा बनेर कोही कसैको घर नरुवाओस् ।
    २.
    जे छ रम्छ खुलेर सब जन मिले सबको भावना
    रमेर मनाउ दशैँ सबलाई यही शुभकामना ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङवजार, हाल काठमाडौ ।
    [३०]
    १.
    नचढोस् कसैमा पनि तडक भडकको नसा
    औकात हेरी  खर्च गरेमा बन्दैन दशैँ दशा ।
    २.
    गच्छे अनुसार खर्च गरी मनाऔँ  चाडबाड
    सादापनले तर्काउदै पाहुनाहरूको  गाड ।
    ✍️ बाबुराम गौतम
    गुल्मी
    [३१]
    १.
    असत्य माथि सत्यको विजय मानिन्छ दशैँ पर्व
    नवरात्री दुर्गाको पूजा गरेर गर्छौ हामी गर्व।
    २.
    लिन्छौ आशिर्वाद मान्यजनको थापी जमरा टीका
    देखावटिपन अङ्गाली नबनोस् ठुलो चाड फिका।
    ✍️ सुस्मिता अधिकारी
    काठमाडौँ
    [३२]
    १.  
    दशैँले नबिगारोस् दशा
    खाने निहुँ नबनोस् नशा ।
    २.
    आफ्नो धर्म अनि संस्कृति जनाऊँ
    सरल तरिकाले दशैँ मनाऊँ ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके
    [३३]
    १.
    आफ्नो औकात अनुसार चाड मनाऊ
    संस्कार र संस्कृतिलाई सभ्य बनाऊ।
    २.
    दशैँ तिहार पर्व दशा नहोस् यहाँ
    सदा संस्कृतिमा मौलिकता होस् जहाँ ।
    ✍️ दुर्गा भट्टराई
    माेरङ
    [३४]
    १.
    युद्ध नछेडाेस्, विश्व जगतमा शान्ति छाइरहाेस्,
    सम्पूर्णले प्रेम र साैहार्दकाे गीत गाइरहाेस् ।
    २.
    जिन्दगीमा दुःख कष्ट, अब कसैलाई नपरोस्,
    रमाउँ उमङ्गले सबै, याे दशैँ दशा नबनाेस् ।
    ✍️ गोपाल कृष्ण डंगोल
    इटहरी, काेशी प्रदेश
    [३५]
    १.
    आआफ्नाे गच्छे अनुसार मान्नुपर्छ चाडपर्व,
    दशैँ हाम्रो संस्कृति हाे मनाउनुमा लाग्छ गर्व ।
    २.
    परम्परा ,चालचलन ,रीति रिवाज जाेगाआैँ सहर्ष
    मितव्ययी बनी दशैँ मनाउनेछाैँ यही हाम्रो निष्कर्ष।
    ✍️ रामकृष्ण रिजाल
    बागलुङ
    [३६]
    १.
    घर-घर र चोक चोखिन्छन् रङ्गिन छन् अब,
    फैलियाेस् दशैँ सँगै याे देशमा वैभव सब।
    २.
    दशैँ पर्व याे दशा नबनोस् कठैं ! बरै ! कोही कसैलाई,
    उन्नति प्रगति र दिर्घायुको शुभकामना सबैलाई ।
    ✍️ देव मगर तिनाउ
    कचल,पाल्पा
    [३७]

    जय दुर्गा जगत् माता सर्वमङ्गल कारिणी,
    बैरी संहार कारिणी अस्त्र शस्त्रादि  धारिणी।

    मङ्गल दायिनी माता दु:खदर्द घटाउने,
    सबैलाई खुसीराखी राेगव्याध हटाउने ।
    ✍️ शम्भु गजुरेल
    सिन्धुली
    [३८]
    १.
    हजारौ हजार मान्छेको भिडमा कति सङ्घर्षमा पुर्छौ
    कामको खोजी गर्दागर्दै नि ठुलाबडालाई कति कुर्छौ।
    २.
    भन्नेले जे जे भनेपनि आफ्नो बाटो हिड्न कहिल्यै नछोड्नु
    परिश्रमको फल पाउँदा नराम्रो काममा मन नमोड्नु ।
    ✍️ अम्विका अधिकारी
    झापा बिर्तामोड
    [३९]
    १.
    जिन्दगीका कठिनाई यात्रा भएछ पीर
    दु:खमा आफ्नैले बारबार दिएछ तिर ।
    २.
    जुधेछ नजर क्या छ एकान्तका मात
    मुस्कुराउदै यी ओठ मिठा थिएँ बात ।
    ✍️ दीपा शाही  रावत
    कैलाली  ।
    [४०]
    १.
    नगरौँ है तडकभडक उत्सव चाडबाड,
    हाेसियार घाँटी हेरेर मात्र निल्नु पर्छ हाड ।
    २.
    रमाउँदा  चढ्न नदिनु है जाँड रक्सीकाे नशा
    रहरमा होस गुमाउँदा दशैँ नहोउन् दशा ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [४१]
    १.
    उमङ्ग र खुशीयाली फर्काओस् यो दशैँले सबैको जीवनमा
    दशैँ दशा नबनोस्, ईर्ष्या र द्वेष हटी स्वच्छता आओस् मनमा ।
    २.
    विगतमा जसरी नै सबले मिलेर दशैँ मनाऔँ
    राष्ट्रीय पर्व मानी हामी सामाजिक सद्भाव बढाऔँ ।
    ✍️ रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर  ।
    [४२]
    १.
    मनका चाह पुराहोस्
    यो दसैँ दशा नबनोस् ।
    २.
    घर लिपेर हर्साेल्लास साथ जमरा छरेर
    याे दशै मनाउँ दशा नसम्झी उमङ्ग भरेर ।
    ✍️ रिता खराल
    रूपन्देही
    [४३]
    खुशीको पर्व दशैँ खुसीकाे नदी बगिरहोस्
    जो जहाँ भए पनि मनमा मन मिलिरहोस् ।
    ✍️ डा.सावित्री श्रेष्ठ
    काठमाडाैँ
    [४४]
    बलि हटोस् काटमार नहोस् सबै शुभ होस्,
    दुःख साटौँ खुसी बाँडाैँ दशैँ दशा नबनोस्।
    ✍️ खग्रास
    [४५]
    मनाऔॅ दशैँ दिल खोलेर, तर दशा नबनोस्
    सबैका घर घरमा खुशी छाओस्, दु:ख नरहोस् ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौँ
    [४६]
    आफ्नो अस्तित्व आफै कहोस्
    दसैँ अझ दशा नबनोस् ।
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    [४७]
    हुने खानेको लागि मात्र आउनु हुन्न दशैँ
    हुँदा खानेको लागि नहाेस् दशैँले गर्दा बसैँ ।
    ✍️ उमा गौतम
    काठमाडौँ
    [४८]
    घाँटी हेरी हाड निलौ यो दशैँमा ,
    दुख कष्ट नपरोस हामी कसैमा ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनककाई ४ झापा
    [४९]
    दसैँ नै त हो नि सबै नेपालीका परिवारको आशा
    राजनीतिले नबिगार बुज्रुक हो यस्काे राम्रो भाषा ।
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [५०]
    दुख खियाएर सुखकाे अनुभव दिएर जाउ
    ए दशैँ! नबनि दशा हाँसाे र खुसी लिएर आउ ।
    ✍️ सागर आँसु
    डाेटी
    [५१]
    महान् पर्व याे दशैँ उत्साह, उमंग लिएर आओस्
    शक्ति अनुसार मानेर हामी सबैमा खुसी छाओस्।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [५२]
    गच्छे अनुसार मनाउ दशैँ नमनाउ मागेर
    दशैँ नसकिदै कसैले नि जान नपरोस् भागेर ।
    ✍️ चिरञ्जीवी श्रेष्ठ
    धनकुटा ।
    [५३]
    सबैको मन भित्र हर्ष उमङ्ग छाओस्
    यस वर्ष पनि दसैँ, मनाउन पाओस् ।
    ✍️ सम्झना थापा मगर
    स्याङ्जा
    [५४]
    १.
    दशैँमा सबै खुशी देखुँ दुख सुन्न नपराेस् कसैको घरमा पनि,
    हिँड्न पाउन सबै परिवार हाँसी खुसी भएर आनन्दित बनि।
    २.
    दसैँ आओस् सबैकाे घरमा दशा नआओस् कुनै ठाउँमा ,
    रमाइलो गर्दै सबैकाे घरमा फर्केर जाउन् गाउँमा ।
    ✍️ कल्पना भण्डारी
    सिन्धुपाल्चाेक
    [५५]
    १.
    खुसी भई बिताेस् सबैकाे दशैँ पीडाले नखनाेस्
    रिनमा डुबी गरिबलाई दशा चाहीँ नबनोस् ।
    २.
    मारकाट छाेडाै याे दशै अब फरक बनाऊँ
    साकाहारी भई खुसी साट्दै हामी दशैँ मनाऊँ ।
    ✍️ रश्मि रिमाल
    झापा
    [५६]
    घाँटी हेरी हाड निल्नुपर्छ रे फजुल खर्च गर्न हुन्न
    मितव्ययी अपनाई मनाउँ दशैँ ऋण राेगले छुन्न ।
    ✍️ एस वि प्रगति
    प्यूठान (हाल:पाल्पा)
    [५७]
    १.
    दशैँ के हाे? किन मान्ने यही कुरा खाेजाैँ,
    हत्या हिंसा न गर्ने कि? सत्य मार्ग राेजाैँ ।
    २.
    दशैँ सधैँ दशा बन्छ गरिब वर्ग माथि,
    सम भावमा बाँच्न सिकाै यही बिन्ति साथी ।
    ३.
    पञ्चबलि भन्दै पशुपन्छी काट्न हुँदैन कहिले ,
    काम, क्राेध, लाेभ, माेह र अहङ्कार फ्याँकाैँ जहिले ।
    ✍️ जी.वि.चिन्तन
    घाेराही-१४ दाङ
    [५८]
    १.
    ॠणको भारी बोकेर गर्नु नपरोस् सामना,
    दशैँ दशा नबनोस्  सबैलाई  शुभकामना।
    २.
    ॠण गरेर मनाउने  हैन यि चाड पर्व,
    आफूसँग भएको चिज मै गर्नुपर्छ गर्व।
    ३.
    नआओस् कसैका घरमा  दशैँ दशा बनेर,
    हिड्न नपरोस्  कसैले पनि  वेदना भनेर।
    ४.
    चाडपर्वले चारैतिर खुसी ल्याउने गर्छ,
    गरिबको घरमा पनि दशैँ आउनु पर्छ।
    ५.
    जे छ मिठो पोठो त्यसलाई बनाएर खाँऊ,
    दशैँ आयो टिका लाउन मामा घरमा जाँऊ।
    ६.
    दशैँ आयो  लगाउन  जाँऊ जमरा  र टिका,
    शुभकामना बडादशैँ नबनोस्  कहीँ फिका।
    ✍️ नवशिला
    बेलबारी -२, लालभित्ती, मोरङ
    गोदावारी, ललितपुर।
    [५९]
    १.
    घर टाढा जानुछ दशैँमा झुण्डियर यात्रा नगरौँ
    बिस्तारै जाँदा अवश्य पुगिन्छ दशा लागेर नमरौँ ।
    २.
    भाडा चर्को छ अहिले आर्थिक मन्दी छ यात्रा दुर्दशा नहोस्
    दिएर खान पुगोस् आशिर्वाद , दुखद समाचार  नरहोस् ।
    ३.
    आफन्तजन आउँदा फर्किंदा सुखद सुन्न पाउँ
    दसैँ फेरि आउँछ जान्छ दशा नहोस् सोचेर खाउँ ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाण्डौ ।
    [६०]
    १.
    ऋणको भारी बोकेर मात्र दशैँ मनाउँदा
    घरखेत ताकि हिडेका छन् साहु भनाउँदा।
    २.
    नयाँ लुगा फेर्छ पल्लोघरको साहुको छोरो
    तेरो खोई भनि बच्चालाई उकास्छ पो मोरो।
    ३.
    साहुसॅंग ऋण मागि बजारमा जाँदा खेरी
    नबुझी घरवाली कान रित्तै छ भन्छिन् फेरि।
    ४.
    बजारको  महॅंगी  मार  सबै  यही  माथमा
    आफ्नो यस्ता कुरा बुझ्ने भएनन् कोही साथमा।
    ५.
    आफ्नो गच्छे अनुसार दशैँ मनाउॅंने गरौँ
    सम्पूर्ण जन-जनमा यहीँ नै सन्देश छरौँ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [६१]
    १.
    आयाे दशै खुसीले मिलि मिठाे मसिनाे खान
    आफ्नाे गच्छे अनुसार मनाउनु पर्छ जान ।
    २.
    दशैँकाे नाममा बढी तडकभडक गर्दा
    ऋणकाे भारी ठुलाे हाेला देखासिकीमा पर्दा ।
    ३.
    जे छ त्यही मिलेर खाउ आफूलाई हेरी रमाउ
    चार दिनकाे दशैँले वर्षभरि दुख नकमाउ । 
    ✍️ सुशीला थापा शिखा
    कागेश्वरी मनहरा, काठमाडाैँ
    [६२]
    १.
    दशैँको पर्व भोलिको दशा नहोस् कहिल्यै,
    हेरेर घाँटी निल्नु हाड सोचेर पहिल्यै ।
    २.
    नपरोस् हिड्न ऋणको भारी बोकेर आँसुमा,
    खेत र बारी सुम्पनु पर्ला दशैँको मासुमा ।
    ३.
    दशैँ नै दशा बनेर भोलि नजावस् जवानी,
    नबनोस् हाम्रो कथा र व्यथा जीवन कहानी ।
    ✍️ विवश पारदर्शी
    झापा

    ::::: जय टुक्का! जय साहित्य !! :::::

    Leave a Reply