
अभिभावक संघ नेपालको केन्द्रीय स्टेन्डिङ्ग कमिटीको बैठक साउन ३१ गते ललितपुरको मान भवनमा सम्पन्न भएको छ । संघका अध्यक्ष केशव पुरीको सभापतित्व, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीको प्रमुख आतिथ्य र कोशी प्रदेशका संयोजक देवी पन्थीको विशेष आतिथ्यमा बैठक सम्पन्न भएको हो ।
बैठकले निम्नलिखित बुँदामा व्यापक छलफल गरी निर्णयमा पुगेको थियोे ।
१. नेपाल सरकारले शिक्षा ऐन परिमार्जन गर्दै शिक्षा विधेयक २०८० सरोकारवालासँग छलफल नगरी ल्याउने प्रयास गरेकोमा अभिभावक संघ नेपालको विरोध रहेको छ। बैठकले निजी विद्यालय गुठीमा जाने या कम्पनी ऐन अन्तर्गत रहने सम्बन्धित विद्यालयको ऐच्छिक विषय भएकाले गुठीमा जान बाध्य गराउनु नेपालको संविधान २०७२ विपरीत रहेको ठहर गरेको छ। शिक्षा उपभोगमा सरोकार राख्ने सरोकारवाला संघसंस्थाको भूमिका निश्चित नगरी विधेयक ल्याएमा शिक्षा मन्त्रीको राजीनामा माग गर्ने निर्णय गरिएको छ। यसका लागि संघको एक प्रतिनिधि मण्डल सचेत गराउन अविलम्ब शिक्षा मन्त्रालय पुग्ने निर्णय गरिएको छ।
२. बैठकले सामुदायिक विद्यालयले कक्षा बाह्रसम्मको शिक्षा अनिवार्य निशुल्क शिक्षा प्रदान गर्नुपर्नेमा अंग्रेजी माध्यममा पढाउने बाहानामा चन्दा, सहयोग आदि शीर्षकमा लिइरहेको शुल्कलाई अवैध ठहर गरेको छ।
३. बैठकले संघको जिल्ला , प्रदेश र केन्द्रीय सम्मेलन ६ महिनाभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ।
४. बैठकले अभिभावक संघ नेपालको मुखपत्र
“अभिभावक आवाज ” प्रकाशित गर्ने निधो गरेको छ।
५. बैठकले अभिभावक संघ नेपालको सदस्यता शुद्धीकरण अभियान चलाउने निर्णय गरेको छ।