साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ९७ सम्पन्न

  • ३१ श्रावण २०८०, बुधबार १७:१५ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९७ औँ शृङ्खला यही श्रावण २७ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ५३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९७ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    सकिनँ हेर्न तिम्रो दु:ख, म निर्दयी बनेर,
    लिएर आएँ कान्छी प्यारी, सघाउली भनेर।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    कतिन्जेल थेग्ला चिन्ता र पीर बुढाको तनले,
    उपाय सोच अविलम्ब खोज भन्दैछ मनले ।
    -वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    एउटी श्रीमती हुँदा त ! यतिधेरै दु:ख झेल्नुपरेको छ यहाँ,
    झन् अर्की ल्याउँदाखेरिमा, आफूलाई नै हरिबिजोग हुन्छ जहाँ।
    -कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [३]
    कान्छीको माया लाग्दछ भनी पहिलाकीलाई छोड्दा,
    अँध्यारो जीवन बिताउनु पर्ला वाचालाई तोड्दा ।
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिक, बोस्टन।

    [४]
    तिमीले ल्यायौ काम सघाउन कान्छीलाई तानेर,
    मेरा पनि दुईचार जना छन्, राख साथी ठानेर ।
    -राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- काँडाघारी, काठमाण्डौँ

    [५]
    घरको खाना मिठो हुन्न होटल धाउन थालेपछि,
    कस्तो होला त हालत दुई डुङ्गामा खुट्टा
    हालेपछि ?
    -पद्मा पाण्डे
    पथरी मोरङ

    [६]
    ल्याएछौ बुढा मायाले गर्दा यी कान्छीलाई छानेर,
    पख मुद्दा हाल्छु तिमीलाई हेर लानेछन् बाँधेर ।
    -बेदु न्यौपाने
    काठमाडौँ

    [७]
    लुकीछिपी परस्त्रीमा लाग्ने बानी तिम्रो खराब,
    बिग्रियौ साँच्चै बुढा तिमी पिएर सधैँ सराब ।
    -ध्रुव श्रेष्ठ
    खोटाङ ।

    [८]
    बुढी घरमा हुँदाहुँदै कान्छी किन ल्यायाै ?
    त्यसकै पछि लाग्दालाग्दै जायजेथा भ्यायाै।
    -भवानी पाेखरेल बाबू विराज
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु

    [९]
    सुखको खोजीमा दु:खको रास होला,
    स्वर्गको आशा मात्र हो नर्कको चोला।
    -सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    [१०]
    सघाउली सुत्न उठ्न क्रिम पाउडर लगाउन,
    नाम्लाे जाेडी थाप्याै तिमीले सारा इज्जत बगाउन ।
    -निरज कोइराला
    इटहरी

    [११]
    एउटा थाप्लोमा न बोक्नु दुईवटा भारी,
    सौताको रिस पोइ माथि खनाउछन् नारी ।
    -बिके मुखिया
    दार्जीलिङ भारत।

    [१२]
    ल्यायौ तिमीले कान्छीलाई काम सघाउली भन्दै,
    बसौला फेरि अर्काको जारलाई रकम गन्दै ।
    -दुर्गा भट्टराई
    मोरङ

    [१३]
    मेरो माया लागेर होला कठैबरी ! तिम्रो घुँडाबाट आएछ पसिना,
    दुईचार वर्षको चुरीफुरी पछि तिम्रै खप्परमा बर्सिन्छ असिना ।
    -प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [१४]
    सहन सक्छन् नारीले जस्तै दु:खकष्ट विपत्ति,
    सहन सक्तैनन् सौता जीवनमा नारीले रत्ति ।
    -चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।

    [१५]
    छैन लाज घिन मायाजालमा पारी कान्छी ल्यायौ,
    आखिर तिम्रो सारा सम्पत्ति हात पारी पठायौ ।
    -राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर

    [१६]
    कान्छीले सघाउली जेठीलाई ढाड ठटाउन,
    दुवै मिली ठेकान छैन साथी डाँडा कटाउन।
    -दीपक ठटाल जलन

    [१७]
    संसारमा भाग्यमानी त्यो हो जसले पाउँछ अनि दिन्छ माया,
    सबैले मन पराउँछन् अनि चाह पनि गर्छन् उसको छायाँ ।
    -पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [१८]
    जति सक्छौ लिई आऊ बैँस छउन्जेल जोई,
    उमेर सक्दा हुन्न तिम्रो हात समात्ने कोइ ।
    -शंकर कार्की,
    थाहा,३मकवानपुर।

    [१९]
    बैँसमा उर्लिएर थाप्लोमा दुई नाम्लाकाे भार,
    कसैगरि सुख हुन्न पर्ला है बरु मारामार ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे।

    [२०]
    पर्दैन सघाउन कान्छी ल्याई मलाई,
    राख्ने भए मेराे मन सधै नै जलाई ।
    -कल्पना भण्डारी
    सिन्धुपाल्चोक जिल्ला, हाल काठमाडौँ

    [२१]
    मेरो मायाले नपुगेर बुढा ल्याएछौ कान्छी लुरी,
    न्यायालयले तिमीलाई बनाउने छ कुरीकुरी ।
    -टिकाराम पुन टिपु
    सल्यान छत्रेश्वरि गाँउपालिका २

    [२२]
    हे मेरी प्यारी मलाई छोडी, सङ्घार काटेछौ,
    भकानो फुट्यो रुनु न हाँस्नु, जिन्दगी साटेछौ ।
    -एवाइ प्रभात
    छेन्ताङ धनकुटा, हाल मोरङ

    [२३]
    मुखले भन्छौ राम राम बगलीमा छुरा,
    आफ्नो स्वार्थ पूरा गर्न कति जानेको कुरा ।
    -गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ

    [२४]
    वास्तवमा मति बिग्रिएर लोभी आँखाले केही देखिनँ,
    पापी मन गल्ती भयो प्रिया, अब यो भन्दा बढी लेखिनँ ।
    -रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही, नेपाल !

    [२५]
    चोक्टा खान जाँदा झोलमा डुबेर मरौला,
    समस्या बल्झँदै जानेछ विपत्मा परौला ।
    -कमला देवकोटा
    पाल्पा

    [२६]
    दु:ख देखी जेठीलाई नै पो ! पर्थ्यो सघाउनु,
    बाँडीचुँडी माया र प्रेम मिलेर अघाउनु ।
    -त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    [२७]
    तिम्रो माया यति लाग्छ कि हुन्छु साह्रै हुरुक्क,
    चिन्ता नगर कान्छी आई सघाउछे खुरुक्क ।
    -मित्र `उराठी´गाैतम
    अमरपुर गुल्मी हाल तिलाेत्तमा न पा-२,रुपन्देही

    [२८]
    प्याराको काख लाग्दछ लाख, छोडौँ म कसरी,
    राज्यको कुर्सी भत्तामा टिक्ने गर्दछ जसरी ।
    -होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [२९]
    तिम्रो मुटुभित्र बस्ने ठूलो थियो मनको रहर,
    तिमीले मुटु अन्त दियौ मेरो लागि मात्र कहर !
    -नारायण कोइराला
    तानसेन,पाल्पा

    [३०]
    अविरल माया पोखेपछि बुझेछौ प्रिय माया,
    मुटुमा वाण रोपे पनि नयनमा तिम्रो छाया।
    -Susmita Adhikari

    [३१]
    ल्याएछौ अर्की चाटी बस जोईटिङ्ग्रे भएर,
    म पनि अर्को खोज्न हिँडे खर्चबर्च लिएर ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर । हाल सिर्जनाकुटी, सिरहा ।

    [३२]
    सँग सँगै जीवन मिलेर नै बाचौँला,
    आउ प्रिय दुवैले खुसी साटी हासौँला।
    -चन्द्रप्रकाश `कमल´
    पाल्पा,तिनाउ-1

    [३३]
    एउटै नाम्लो बोक्ने थाप्लोमा, दुईवटा खपाउँदा ।
    शान्ति मिल्ला र मलाई ? तिमी कान्छी सँग रमाउँदा ।
    -चन्द्रकली राना मगर
    नौबहिनी गा .पा ३ प्युठान

    [३३]
    झिक्यौ बुढा मुढे बल इज्जत फोकेर,
    आफैँ बस्ने हृदय माथि किलो ठोकेर l
    -बाबुराम गौतम
    गुल्मी

    [३४]
    दुःख देखेरै हो त प्यारा ! मलाई सौता हालेको,
    किन विश्वास गरेँ हरे ! यस्ता बैगुनी कालेको ।
    -सरिता सेढाई
    धादिङ

    [३५]
    कति दुख दिन्छाै भाे ! अब त सहन सक्दिनँ,
    रातोदिन झगडा गरी, म रहन सक्दिनँ ।
    -उर्मिला के.शी.
    धनकुटा

    [३६]
    हुनुपर्छ आपसमा मुनामदनको जस्तो पवित्र माया,
    गराउनु हुँदैन जिन्दगीलाई दुईदिनको घामछाँया ।
    -भेष कुमारी लामिछाने
    देवदह -०५ , खैरेनी रुपन्देही

    [३७]
    लौ छ्क्कै पर्नु छ के भन्छन् साराले ?
    खै कतिन्जेल धान्ला यस्तो पाराले ?
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।

    [३८]
    मन मुटु आफ्नो कस्तो छ कहिले नि खोलेनौ
    आधा दु:ख म लिन्छु भनी मुखले त बोलेनौ।
    -Sushila Thapa
    काठमाडौं कागेश्वरीमनोहरा

    [३९]
    जति नगर्नु गर्‍यौ दियौ जिन्दगीमा बज्रपात,
    गर्‍यौ घात अब नजिक नआऊ नगर बात ।
    -प्रेम थापा “मन”
    बागलुङ

    [४०]
    घरमा एउटी हुँदाहुँदै कान्छी भित्र्याई ल्याएँ,
    जेठी र कान्छी दुवै मिलेर मेरो दिमाग खाए ।
    -राजेन्द्र प्रधान ‘पासा’
    दार्जीलिङ ।

    [४१]
    जेठीको दु:ख देखेर कान्छी ल्याउँ ल्याउँ झैँ हुन्छ,
    अझ भन्नुपर्दा माइलीको यादले मन रुन्छ ।
    -समुद्र

    [४२]
    जति गर्नु गर्‍यौ पहिले छुरा जस्तै बातले,
    अहिले कान्छी ल्याएर ताली बजाऊ हातले ।
    -अच्युत घिमिरे
    भुटानबाट🇧🇹

    [४३]
    दु:ख भो भन्यौ ल्याएको छु साथी बस्नु है मिलेर,
    भएका छौ दुई नखानु मेरो यो छाला छिलेर ।
    -नवशिला
    बेलबारी-२,लालभित्ती, मोरङ।

    [४४]
    जमाना खराब सुख हेर्दाहेर्दै दु:ख छिरेछ,
    हिजो माग्दै हिड्नेको कारमा बस्ने मोह फिरेछ ।
    -अम्विका अधिकारी
    झापा विर्तामोड

    [४५]
    जीवन के नै रहेछ संसार विचित्र देखियो,
    सत्यता मन नपर्ने जस्तो आयो त्यही लेखियो।
    -चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ

    [४६]
    सघाउने कुरा गर्छौ, काम आरो लगाउने
    लाहुरेकी बुढीलाई, कान्छी मानी भगाउने ।
    -रामशरण न्यौपाने
    भक्तपुर

    [४७]
    तिमी मेरी मनकी रानी उता देखावटी पर्छु,
    दुवै मिली घरकाम गर्नु म बाहिरको गर्छु ।
    -जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४८]
    सुख पाउने आसमा कान्छी भित्र्याउने तिमी,
    कलहले धन सम्पत्ति सब मासियो जिमी ।
    -Bhagawati Dawadi

    [४९]
    याे मायाले ओहाे प्रिय अन्धाे बनायो तिमीलाई,
    दुःख देख्न नसकेर कान्छी ल्यायौ मुटु तताई ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ

    [५०]
    तिमीले साथ नदिए एकान्त मै हुन्छु,
    अरू चाहिदैन एक्लै बसेर म रून्छु ।

    • पवनकुमार बुढाथेाकी
      काठमाडौँ

    [५१]
    सक्दैन है छेक्न जुँगाले मुखले चाहेको खानलाई,
    म पनि के कम छु र तयार अर्कैलाई लानलाई।
    -Anmol Rai

    [५२]
    सोझा रहिछन् बरै पत्नी, जे भन्दापनि हुने,
    म भए मुक्का मुक्का दिई बनाइदिन्थे रुने ।
    -Yamuna Pradhanang

    [५३]
    खोज्दैँछौँ माम नगरी काम,
    लक्ष्यमा पुगी बन्नु छ राम !
    -आर्त अकुलीन, कैलाली

    Leave a Reply