साताका तीन लघुकथा- ३७

  • ९ भाद्र २०८०, शनिबार ०८:५४ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (३७औँ) शृङ्खलाका लागि लघुकथाकार डा.विदुर चालिसेको लघुकथा ‘छाती’, लघुकथाकार एलपी पराजुलीको लघुकथा ‘फाँसी’ र लघुकथाकार शिवहरि अधिकारीको लघुकथा ‘भत्केको घर’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा: छाती

    ✍️ डा. विदुर चालिसे
    सास अड्किएकाे थियाे । नि:श्वास पनि थिएन । चिकित्सक हैरान थिए । अफसाना लत्रक्क परेर ओछ्यानमा पल्टिरहेकी थिइन् । उनकाे मुटुकाे सञ्चालन लगभग गतिहीन भइसकेको थियो । पसिना पसिना भएका चिकित्सकले नजिकैकाे ताेदीरामलाई साेधे-
    “कति भयाे बिरामी परेकाे ?”
    “केही दिन भयाे हाेला !”

    थप जिज्ञासाले ताेदीरामकाे मन बतासिएकाे थियाे नै । उनले वेदना, संशय, निरू परायता र करूणाकाे भाव घुलित शब्दले बिरामीकाे माया माथि प्रश्न थपे-
    “बिरामीलाई के भएकाे रहेछ ?”
    “उसलाई मानसिक तनाव चर्काे चढेकाे थियाे ।”
    बाँच्ने आशामा अस्पतालमा पुर्‍याइएका अफसानाकाे अवस्था देखेर ताेदीराम कालाेनिलाे भए । छेउमा बसेर रुन र कराउन थाले । चिकित्सकले उनीहरूलाई सम्झाउँदै भन्न थाले-
    “यस बिरामीकाे मुटु पनि सानाे थियाे ।”
    ताेदीराम खुम्चिएकाे निधार चाउरी पारेर चिकित्सककाे मुख हेर्न थालिन् । रुन्चे रुवाइमा फेरि साेधे-
    “अनि अरू ?”
    “अरू त कलेजाे पनि सानाे ।”
    “मन नि ?”
    “त्याे पनि निकै सानाे थियाे ।”
    “हृदय ?”
    “त्याे त छँदै थिएन ।”
    “उसाेभए बिरामी बामपुड्के हाे र ?”

    चिकित्सक भने अफसानाकाे राेकिएकाे सास ब्युँताउन उनकाे शरीरभरि मसाज गरिरहेका थिए । प्रयास असफल भएपछि उनले ताेदीराम लगायत आफन्तहरूलाई अन्तिम घाेषणा गरिदिए-
    “यसलाई पार्किन्सनकाे दीर्घ राेग पनि रहेछ ।”
    “अर्थात ?”
    “बेलाबेला नसा कामिरहने ।”

    ताेदीराम अफसानालाई अत्यन्त बेदित भावमा अबिर, फूल, माला र धुप चढाएर अफसाेची किर्तन भट्याउन थाले-
    “यस्तै रहेछ चलेकाे लघुकथा ।”
    ठुला छातीका मानिसहरूकाे छातीभरि किलाेका किलाे माला लत्रिएकाे थियाे । तर अत्तरकाे साथमा झिङ्गा पनि भन्किरहेकाे थियाे ।

    २)
    लघुकथा: फाँसी

    ✍️एलपी पराजुली
    “हाम्रो पूजनीय जनावरलाई मार्ने अपराधीहरूलाई सिधै फाँसी दिनुपर्छ ।” -धर्मगुरूले आक्रोशित हुँदै भनेपछि हजारौँ भक्तजनहरूले जोसका साथ ताली पिटे र जयजयकार गरे । सधैँ शान्त रहने धर्मगुरु आज आक्रोशित थिए ।

    अनुहार रातो पार्दै उनले थपे- “परम्परा छोड्दैनौँ, संविधान मान्दैनौँ भन्दा रहेछन् । त्यसो भन्न पाइन्छ ? नेपाली भएपछि नेपालको संविधानमा जे लेखेको छ, त्यो त मान्नुपर्छ नि ! संविधानमा नलेखेको मागेर पाइन्छ ?”

    धर्मगुरूको कुरा बुझेर हो वा नबुझेर हो यसपटक धेरै कमले मात्र ताली पिटे । भिडियो खिचिरहेको एक सञ्चारकर्मी युवकलाई धर्मगुरुको भनाइमा चित्त बुझेनछ, उसले क्यामेरा बन्द गर्दै प्रश्न गर्‍यो :

    “अनि नेपालको संविधानमा व्यवस्थै नभएको मृत्युदण्ड वा फाँसीको अनुचित माग चाहिँ राख्न मिल्छ र गुरुजी ?”

    कपन, काठमाडौँ
    ५ भाद्र २०८०

    ३)
    लधुकथा: भत्केको घर

    ✍️ शिवहरि अधिकारी
    गहभरि आँसु लिएर आमाले भनिन् – “बाबु ! घर भत्क्यो ।”
    “घर बनाउने ठेगदार नै गतिलाे नभएपछि । यता टाल्याे उता भत्किन्छ, उता टाल्याे यता भत्किन्छ । जताततै मुसाहरूले भ्वाङ मात्रै पारेका छन् ।” छाेराले गुनासो पाेखे।

    “कुरा गरिसाध्य छैन बाबु ! मुसापनि साना छन र ! बिराला भन्दा ठुल्ठुला छन् । बिरालाेदेखि मुसा डराउनु पर्नेमा, यहाँ त मुसादेखि बिरालाहरू डराउँछन् । उनीहरूकै राज चलेको छ । बिरालाे पनि छटटु रहेछ; साना मुसालाई च्याप्पै समाउँछ । ठुलो मुसा देख्ना साथ म्याउँ गर्छ, पछि पछि सर्छ ।” फाटेकाे मजेत्राेकाे छेउले आँसु पुछ्दै भनिन्।

    आमाको कुरा सुनेपछि छाेराले भने- “आामा अब याे भत्केको घर टालटुल गरेर हुँदैन । अब मुसाहरू नपस्ने गरि नयाँ घर बनाउनु पर्छ ।”
    २०८०/५/७
    भरतपुर महानगर पालिका वडा नं ७ कृष्णपुर ।

    Leave a Reply