साताका तीन लघुकथा- ३६

  • १ भाद्र २०८०, शुक्रबार १८:२७ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (३६ औँ) शृङ्खलाका लागि लघुकथाकार अनन्त राज उपाध्यायको लघुकथा ‘प्रेम’, लघुकथाकार खेमलाल पहारीको लघुकथा ‘नयाँ व्यवसाय’ र लघुकथाकार बोधराज प्याकुरेलको लघुकथा ‘दुरी’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)लघुकथा: प्रेम

    ✍️ अनन्त राज उपाध्याय

    एकदिन नातिनीले हजुरबालाई सोधिन्- “बाबा ! मैले जीवनमा कसरी सफलता पाउन सक्छु ? बुझ्दा कोही धेरै पढेर, कोही राम्रो काम गरेर, कोही धन कमाएर, कोही स्वस्थ रहेर भन्छन् । तर नेताजस्तो पढी धन र बदनामी कमाएर के गर्नू ? म त अन्यौलमा परेकी छु । हजुरको विचारमा आखिरमा के गरेपछि जीवन सफल हुन्छ, त ?”

    हजुरबाले भने- “नानी ! जीवनलाई सफल बनाउनुपर्ने रहेछ भनी तिमीमा ज्ञान आएछ । असाध्यै खुशी लाग्यो ।”

    नातिनीले पुन: सोधिन्- “लौ ! जे सोधेको त्यो कता हो कता ? मैले जीवनलाई कसरी सफल बनाउने भनी हजुरको अनुभव बाड्न भनेको ।”

    हजुरबाले सम्झाए- “जीवनलाई प्रेमले सफल बनाउन सकिन्छ, नानी ! जस्तै- प्रकृतिवादीहरूले मन र कर्म दुवैले सिरसिरे हावा, डाँडाकाँडा, झरना र प्रकृतिले दिएका सबैलाई प्रेम गर्ने हुँदा तिनको स्याहार गर्दछन् । सहीदहरूले आफ्नो राष्ट्रलाई प्रेम गर्दछन् । सही नेताले देशको विकासलाई प्रेम गर्दछ । तर प्रेम नि:स्वार्थ, परोपकारी र हृदयदेखि गरिनु पर्दछ ।”

    नातिनीले भनिन्- “अझै भन्नुस् न !”

    हजुरबाले थपे- “हेर ! इश्वरले जीवहरूसँग प्रेम गरेरै उद्धार को लागि यत्रो संरचना रची सञ्चालन गरिरहनुभएको छ । प्रेमले मात्र सम्बन्धित पक्षको नि:स्वार्थ परोपकारी सपना बुझ्दछ र ती पुरा गर्दछ । यसरी हामीले यस संसारमै स्वर्गको सुखको अनुभूति गर्नेछौं ।”

    हेटौडा
    २०८०।०४।३१

    २.
    लघुकथा: नयाँ व्यवसाय

    ✍️ खेमलाल पहारी

    तीन दशकको परदेश बसाइँमा झण्डै देशको बाटो बिर्सेको कुमार अकस्मात् स्वदेश फर्कने कुराले उसका बाआमाको जीर्ण शरीरमा एउटा नौलो शक्ति सञ्चार भएको छ l परिवारका अन्य नातेदार पनि अचम्मको अनुभव हुने कुराले दङ्ग छन् l कुमारकी धर्मपत्नी घरी घरी ऐना अघिल्तिर उभिन थालेकी छन् l कतिखेर उनी ऐनामा गएर औँलामा थुक लगाएर आफ्नो आँखीभौँ मिलाउँछिन् त कतिखेर बुढी औँला र चोर औँलाको सहाराले निधारको छाला तन्काएर मुसुक्क हाँस्छिन् l बजार जानु, नयाँ पहिरन गर्नु, कोरीबाटी शृङ्गार गर्नु उनको दिनचर्यामा पर्न थालेका छन् l

    लगभग दुई अढाई महिनाको कानुनी प्रक्रियामा हिरासतको बसाइँ, पुलिस अनुसन्धान, वकिलको बहस पैरवी, न्यायाधिसको हथौडाको अर्डर अर्डरको अलापको बीचमा फन्को मार्दामार्दै बल्ल उनले खुला आकाशमुनि प्राकृतिक हावामा सन्तोषको सास फेरे l

    फेसबुक म्यासेन्जरमा किरिरी किरिरी घण्टी बज्यो l उताबाट मितले जवाफ फर्काए l आफ्नो मित यतिका वर्षपछि घर आउँदै गरेको खबरले मिते पनि दङ्ग नपर्ने कुरै थिएन l ‘अब घर आएर मैले के काम गर्नेहोला त मितज्यू ?’ भन्ने कुमारको प्रश्नले मितेलाई गम्भीर बनायो l

    ‘सम्पूर्ण जवानी त परदेशमा बित्यो । अब बुढेसकालमा देशमा आएर के काम गर्छौ ?’ भन्ने हिम्मत उसमा पनि थिएन l मितेले वरपर नियाल्यो l उसको मित मात्र हो र सम्पूर्ण देशै उल्टेर परदेश गएको थियो l धन्न कुमार फर्किँदै थियो । नत्र यहाँ त गाउँका गाउँ रित्तै भएका छन् l अहिलेको पिँढी अस्ट्रेलिया, युरोप र अमेरिकामा जन्मिन्छ । पुरानो पुस्ता घाटमा पैताला चोबेर मृत्यु कुरिरहेको छ l देशमा डलर छ, तर रहर छैन l देश छ, राष्ट्रियता छैन l जनसङ्ख्या छ नागरिक छैन l कार्यक्रम भ्याइ नभ्याइ छ, संस्कार छैन l
    मितेले गम्भीर भएर भन्यो- “तपाईं आउनुस् त सही । यहाँ एउटा नयाँ व्यवसायको थालनी म तपाईँबाटै गराउन चाहन्छु l
    आजभोलि दुई मितको व्यवसाय खुब चलेको छ l अगाडि साइनबोर्डमा लेखिएको छ– ‘यहाँ भाडामा जन्ती, मलामी र छाती पिटी पिटी रोइदिने मानिसहरू पाइन्छन् ।’

    भरतपुर-४, चितवन
    २०८० श्रावण २९

    ३)
    लघुकथा: दुरी

    ✍️ बाेधराज प्याकुरेल

    “तिमी त समुद्रसम्म पुग्छाै हाेला ? कति टाढा छ ?” -ढुङ्गाले पानीलाई साेध्याे ।
    “मलाई त पुग्नु छ, रुखलाई साेध ।” -पानी झरनाबाट खाेलामा हामफालेर खाेलैखाेला अगाडि बढ्यो ।
    “समुद्र कति टाढा छ ?” -ढुङ्गाले रुखलाई साेध्याे । रुखले पहाडलाई साेध्याे । पहाडले बादललाई साेध्याे ।

    “नजिकै छ ।” बादलकाे जवाफ सबैले सुने तर कसैलाई विश्वास लागेन । सबैले बादललाई झुटाे ठहर्‍याए ।

    रुखकाे हाँगामा बसेर तिनीहरुकाे कुरा सुनिरहेकाे चराले भन्याे- “निरन्तर हिँडिरहनेहरूका लागि कुनै ठाउँ टाढा हुँदैन भन्ने कुरा सधैँ एकै ठाउँमा बसिरहने तिमीहरूलाई के थाहा ?”

    बाँके,खजुरा ।

    Leave a Reply