
काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९५ औँ शृङ्खला यही श्रावण १३ गते शनिबार सम्पन्न भएको थियो।
अभ्यासमा नेपाल लगायत विश्वका ४९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
संसारमा नेपाली झैँ, कसको होला र दम,
कामभन्दा पनि कुरा गर्छौँ छैनौँ हामी कम।
वसन्त अनुभव
घोराही, दाङ

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
कुरै खाने कुरै लाउने गर्नुपर्छ बानी,
काम नगरी बस्नुपर्छ बन्दै राजारानी।
-वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[२]
पैसा देखेपछि जहाँको देखे पनि टिप्ने भए,
झन आन्दोलन पछि धेरै मान्छे विदेश गए ।
-पवनकुमार बुढाथेाकी
काठमाडौँ
[३]
अरूभन्दा नेपाली त हुन्छन् बडबोला,
यो पाराले मेरो देश के विकास होला ?
-सुसान्त सुनिता लिम्बु
ताप्लेजुङ
[४]
नेपाली हामी गोर्खाली, सबैले भन्ने गर्छन् बहादुर,
कुनै पनि काममा पछि नहट्ने, सधैँ गर्छन् आतुर।
-कबिताहरी
सुन्दर हरैँचा नगरपालिका १ मोरङ
[५]
कुनैबेलाको गोर्खाली भनी कहलिएका हामी,
कामभन्दा कुरा गर्ने अहिले भयौँ यस्मा दामी।
-अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[६]
हामीलाई संसारले भन्नथाल्यो बात बहादुर,
पहिलेका वीर गोर्खाली भयौँ कुरौटे भरपुर।
-सुरेशकुमार पाण्डे दाङ घोराही १८
[७]
युवा जति विदेशमा घरभित्र सुन,
बुढा नेता सास थप्ने जनताकाे खुन ।
-निरज कोइराला
[८]
त्यसै भनेका होइनन् हामीलाई वीर गोर्खाली,
हिड्छौँ हामी उच्च शान गरी सधैँ शिर उचाली।
-अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
[९]
आफू परेँ औद्योगिक मेसिन मजदुर,
भोको छैन देशभर पुर्यायो भरपुर ।
-चुडामणी देबकोटा
चनपा १३ काठमाडौँ
[१०]
गफैको भात दाल साग बनाएर खान छ बाँकी,
नेपाली झैँ कसले देखाउँछ गफैगफको झाँकी।
-समुद्र
जल्जला- ७ गण्डकी
[११]
गोलीसित सामना गर्दा खुकुरी नचाउने हुन् नेपाली,
विश्वमा साहसी कहलिएका थिए बहादुर गोर्खाली।
-भगवती दवाडी, झापा
[१२]
काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर,
देशमा उल्टो छ कसलाई पर्दैन र पिर ।
-प्रेम थापा “मन”बागलुङ
[१३]
तिमी र म मिली गफाडी विद्यालय खोलौँला,
लौ ! पहिले त संसदमा चलचित्र हेरौँला।
-म्यामराज राई, भोजपुर
[१४]
नेपाली हो वीर योद्धा भन्ने हराएर गयो,
पत्रु बन्यौ विश्वमाझ चित्तभित्र दुख्ने भयो।
-चूडा निर्भीक
हालःचन्द्रागिरि काठमाण्डौ
[१५]
नेता भए तस्करीमा रङ्ग फेर्ने छेपारोको चाल,
मालामाल बन्न ती सुन ल्याउँदा भरियाको काल।
-टिकाराम पुन टिपु
सल्यान
[१६]
देशभन्दा व्यक्ति धनी नेपाली नै होला,
तिनको रक्षा गरिदेउ शङ्कर भोला ।
-सरिता सेढाई, धादिङ
[१७]
कुराले पश्चिमबाट सूर्य उडाउँछ,
पानीजहाज चलाई रेल गुडाउँछ ।
-कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[१८]
नेपाली हौँ हामी, बानी हाम्रो कामभन्दा धेरै बोल्ने,
विदेश पुगेर समेत जिल्ला जिल्लाका पार्टी खोल्ने ।
-राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौ
[१९]
कामभन्दा कुरा गर्न नेता हुन्छन् सिपालु,
यिनका कुरा सुन्दासुन्दै खुइलियो तालु ।
-बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[२०]
देशै लुट्न पठायौ त यसै कसरी बस्नु,
सामान्य हो हाम्रा लागि भ्रष्टाचारमा फस्नु।
-मन्दिरा सेढाई
मलेखु,धादिङ
[२१]
काम गरुँ काम छैन गर्यो गफगाफ,
गफलेनै गर्ने भयो हाम्रो पत्तासाफ ।
-ध्रुव श्रेष्ठ
खोटाङ ।
[२२]
वीरताको थियो शान, नेपाली पहिले अति,
शेरबाट झरेको छ, मुसाको झैँ गति पति।
-रामशरण न्यौपाने, भक्तपुर
[२३]
काम छैन दाम छैन खाली लाउँछ धाक,
कसरी जोगाउने हो यही पाराले नाक ।
-चिरञ्जीवी श्रेष्ठ
धनकुटा ।
[२४]
देश बाँचे हामी बाच्छौँ हेक्का लिनुपर्छ,
जन्मभूमि जोगाउन ठेक्का दिनुपर्छ ।
-पद्मा पाण्डे
पथरी मोरङ
[२५]
कुनै पनि नगरेर काम,
चाह हेर लेखाउने नाम।
-आर्त अकुलीन
[२६]
कामभन्दा कुरा धेरै हाम्रो देशमा भयो,
ठुला हौँ भन्नेहरू सुन तस्करीमा गयो ।
-शोभा आचार्य गौतम
काठमाडौँ
[२७]
पुर्खाहरूले वीर गोर्खाली भनेर विश्वलाई चिनाए,
सन्ततीहरूले भएको इज्जत पनि पानीमा मिलाए ।
-रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही, नेपाल
[२८]
गफैगफले आकाशका तारा झारिदिन्छौँ,
कामै विना दुनियाँ नै चकित पारिलिन्छौं ।
-बिबस पारदर्शी
झापा
[२९]
अरूकाे कुरा काट्दै हिँड्ने नेपालीकाे बानी, मनमा कति पालेका हुन् कुराैटेकाे खानी।
-भवानी पोख्रेल
[३०]
कामकाज ज्यादा गरौँ कुरा चाहिँ कम,
कुरा मात्रै गर्नेको त हुन्न खासै दम ।
-बाबुराम पाण्डे
अर्घाखाँची
[३१]
जति खाए नि नअघाउने रहेछन् हेर नेताको चाल,
भन्सार छलेर नि सुन ल्याइकन भए ती मालामाल
-अम्विका अधिकारी
झापा विर्तामोड
[३२]
विकासको नाममा नेताले विदेशीलाई देश बुझाउने दाउ,
स्वाभिमानी वीर गाेर्खालीकाे देश नेताहरू मिलेर बेची खाउ।
-राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५संगम काेलाेनी भक्तपुर ।
[३३]
पुर्खाको कामले आर्जेको गोर्खाली नाम,
कुरै मात्र गर्छन् छैन कसैको नि काम ।
-भेष कुमारी लामिछाने देवदह ०५ ,
खैरेनी रुपन्देही ।
[३४]
नेपाली हुँ को सक्छ आऊ झगडा गर्छु,
कोहीभन्दा कम छैन म मार्छु कि मर्छु ।
-बिके माकजू , भक्तपुर ।
[३५]
कामभन्दा कुराको नै पाे यहाँ खेती धेरै चल्छ,
त्यही खेतीले नेतागणकाे व्यर्थै दिमाग गल्छ ।
-त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[३६]
विश्वले मानी ल्याएका वीर जातिको सन्तान हामी,
कुरा गर्नमात्र नभई ढाँट्न छल्नमा पनि दामी ।
-राजेन्द्र प्रधान ‘पासा’, दार्जीलिङ ।
[३७]
भोग्दा पनि ब्युँझिदैनौँ, फेरि दिन्छौ भोट,
सुम्पिन्छौँ देशको भाग्य, सुकाउँदै कोट ।
-सुस्मिता अधिकारी
[३८]
वीर गोर्खाली भनी चिनिएका नेपाली सगरमाथामा शिर,
खेतबारी बाँझै राखी ओछ्यानमा सुतेरै पुग्छन् चन्द्रमातिर ।
-सुशीला थापा
[३९]
देश विदेश कमी छैन गफमै हामी गर्छौँ काम,
भ्रष्टहरूले चिनारी छोडे नेपालीहरूमा नाम ।
-बेदु न्यौपाने
काठमाडौँ
[४०]
इलम गर्न नचाहेर कुरै गर्छौँ दामी,
बातैबातको टेवा लिस्नो नेपाली हौँ हामी।
-अच्युत घिमिरे-भुटानबाट🇧🇹
[४१]
उन्नति देखेर नेपालीको,संसार पर्छ छक्क,
भ्रष्टाचारको सयपत्री फूल, फुल्छ ढकमक्क।
-होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[४२]
कुरै लाउनु कुरै खानु माखो पनि मार्ने हैनन्,
भ्रष्टचारको चलखेलमा कोही अछुतो छैनन् l
बाबुराम गौतम, गुल्मी
[४३]
बाजेले घिउ खाएका थिए, सुँघ मेराे हात,
समयले काेल्टे फेर्यो, अल्छी तिम्राे फुस्राे बात ।
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे
[४४]
भ्रष्टाचार गरेर कमाए हजारौँ करोडौँ दाम,
देश विदेशमा गरेका छन् नेपालकाे बदनाम।
-सहयात्री शोभा अर्याल
बुटवल, रुपन्देही , नेपाल
[४५]
परदेश गए त्यतैतिर बिगार्दिन्छौँ थिति,
नेपाली हौँ जहाँ गए पनि हाम्रै चल्छ नीती।
-नवशिला
[४६]
पुर्खाकाे चिनाे छ गाेर्खाली वीर,
युवाकाे उन्नति तस्कर तिर।
-काेपिला अधिकारी
गाेरखा सिरानचाेक
[४७]
देश डुब्न लाग्यो माझी धेरै बनेर ,
पानी कटाउने को हो ? कुलो खनेर ।
-जमुना आचार्य
[४८]
नेपाली युवा जति बाध्यताले जान्छन् विदेश तिर,
नेताहरू ढुकुटी लुट्नैमा ब्यस्त छन् नमानी पिर।
-शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
[४९]
कामभन्दा ठुलो यहाँ पैसा भएपछि,
के नै राख्यौ बाँकी नैतिकता गएपछि ।
भवानी घिमिरे
सर्लाही