
काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९६ औँ शृङ्खला यही श्रावण २० गते शनिबार सम्पन्न भएको थियो।
अभ्यासमा नेपाल लगायत विश्वका ५१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९६ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
बसेकी छु व्रत उसको दीर्घायु होस् भनेर,
भोकी प्यासी म घरमा ऊ हिँड्छ कृष्ण बनेर।
वसन्त अनुभव
घोराही, दाङ

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
म तिम्रो कृष्ण कन्हैया, तिमी मेरी राधा,
तिमी बस ढुक्क बाँडिन्छु म आधाआधा।
-वसन्त अनुभव
[२]
व्रत बसेको फल मिलोस् दुवैको होस् जिवन नै आहा,
नरबाट नारायण र नारीबाट लक्ष्मी बन्ने चाहा ।
-भेष कुमारी लामिछाने ( चापागाईं ) देवदह ०५ खैरेनी ,रुपन्देही
[३]
केही मिल्ने साथीहरू बनाउनुपर्छ, जीवनमा एकफेर,
सधैँभरि मायाप्रेमले मात्र काम चल्दैन जिन्दगीमा हेर ।
-कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[४]
श्रीमानको आयु बढाउन तीर्थ र व्रतले हुन्छ कहाँ ?
बाँचुन्जेल खानपान र स्याहारसुसार गरिन्छ जहाँ।
-अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[५]
जति व्रत बसेपनि सप्रिएन त्यो तिम्रो मति,
इतिहास मै कलङ्क लायौ गर्यौ देशको क्षति ।
-बेदु न्यौपाने
काठमाडौँ
[६]
निराहार व्रत बस्छु उसकै नाम जपी,
ऊ चाहिँ भट्टी पसी रक्सी धोक्छ अझै थपी ।
-डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा. -६, दोलखा ।
[७]
तिमी व्रत बस वा नबस खासै फरक नपर्ला
बरु पेटभरि नै खाऊ जसले तिम्रो हित गर्ला।
-सुरेशकुमार पाण्डे
दाङ घोराही १८
[८]
कृष्णै बनाउनु पतिलाई व्रत यदि बस्छौ भने,
कृष्णै बन्यो त ऊ के भो ? राधा बन सदैव सम्झने ।
-ध्रुव श्रेष्ठ,
खोटाङ ।
[९]
तिम्रा निम्ति बाहिरफेराे हजार काम गर्ने,
शङ्का गरेर तिम्राे मनले सधैँ आँखा तर्ने !
-निरज कोइराला
इटहरी
[१०]
देखाउनलाई मात्र व्रत बसे दीर्घायु कहाँ हुन्छ ?
कलियुग हो यस्ताे व्रत बस्दा ईश्वरले कहाँ सुन्छ ?
-दीपक ठटाल जलन, ५.८.२३
[११]
मलाई एकलौटी बनाउने प्रयास नगर,
रामभन्दा बढी चर्चा हुन्छ कृष्णको जगैभर ।
-पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
[१२]
कि बस व्रत कि बस नजिक आएर,
माया गर्छु भन्दै आऊ कसम खाएर ।
-प्रेम थापा “मन”
बागलुङ
[१३]
तिमी भोकै व्रत बस्छ्यौ टन्नै फलफूल खाएर,
कृष्णको उपनाम भिरायौ राम जस्तो पाएर।
-समुद्रआचार्य
जल्जला ७ गण्डकी
[१४]
शङ्का धेरै नगर्नु नारी तिमी शङ्काले जल्छ लङ्का,
सती सावित्रीले बजाए’थे यमदुत माथि डङ्का ।
-बिके मुखिया
दार्जीलिङ, भारत।
[१५]
मेरै लागि व्रत बस्यौ भोको पेट पारी पारी,
पिउन मन लागेर हिँडे म कुराले टारी ।
-बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[१६]
तिमी बन राधा पार्वती, म बनौँला नि कृष्ण शिव,
प्रकृतिमा स्त्री पुरुष मिलेर नै बनेको छ जीव ।
-टिकाराम पुन टिपु
सल्यान
[१७]
तिम्रो डुलन्ते बानीले गर्दा भएकी छु चुरचुर,
बाहिर नौलो के भेट्टियो र बन्न पुग्यौ तृष्णातुर ?
-बाबुराम गौतम
गुल्मी
[१८]
आइनौ साथ तिम्रै छबि खोज्दै हिँडे प्रत्येक नारीमा,
पुजियो प्रेम प्रख्यात बनेछु म बहुपत्नी धारीमा ।
-सुमित्रा
[१९]
कलियुग लागेको छ त ! व्रत बसेर के गर्नु ?
कृष्णलिला देखाउनेलाई ठाउँको ठाउँ धर्नु ।
-राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौ
[२०]
तिमी पनि कम्ताकी छैनाै साैता माथि आएकी,
त्यति राम्री रूक्मिणीलाई किन पाखा लाएकी।
-भवानी पाेखरेल (बाबू विराज)
कपिलवस्तु
[२१]
व्रत बसेर हरियो लाएर नहोला है भलो,
पिँडालुभन्दा मिठो लाग्छ श्रीमानलाई कर्कलो ।
-कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[२२]
जल समेत नखाई व्रत बसी तीर्थ गएँ,
घरमा अर्की भित्र्याएछन् फर्कदा सौता भएँ ।
-बिके माकजू
[२३]
व्रत बस्नु संस्कार र संस्कृति पवित्र हाे हाम्राे,
सद्भाव र सप्रेमले मिलीजुली बस्नु नै राम्राे ।
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[२४]
तिम्रै लागि बसेकी छु व्रत, साउनभर मैले,
सुरासुन्दरी तिर भुलेर राती आउछौ जैले।
-शोभा आचार्य गौतम
काठमाडौँ
[२५]
संस्कारलाई मान्दै आउने चलन यो राम्रो,
देख्दा किन किन अनर्थ भो संस्कृति नै हाम्रो ?
-दुर्गा आचार्य
मोरङ
[२६]
ज्यान सुकाएर भोकै बसेको व्रत किन व्यर्थ,
नसुन्ने, नदेख्ने देवधाममा धाएको के अर्थ ?
-रबि श्रेष्ठ
सन्धिखर्क-१, अर्घाखाँची । हाल : बुटवल, रुपन्देही, नेपाल
[२७]
सुनेका भरमा जथाभावी बक्दै नहिँड
कपटी मन देखाई सबलाई नगिँड ।
-नन्दलाल आचार्य
उदयपुर
[२८]
कर्मभित्रै अटेको छ, धर्म संस्कार यो जति,
कर्मकै आडले पायौ, कृष्ण झैँ सारथि पति ।
-रामशरण न्यौपाने, भक्तपुर
[२९]
दान र धर्म व्रत गर्ने, सती पतिव्रता नारी,
रन्डीबाजी गर्दै हिड्ने उनकै पति दुराचारी।
-बिबस पारदर्शी
झापा
[३०]
भोकभोकै व्रत बसी गर्छन् पतिदेवको सेवा,
पतिको मन परस्त्रीमा नहोस् प्राप्त हुन्छ मेवा ।
-पद्मा पाण्डे
पथरी मोरङ
[३१]
केलाई बस्छौ व्रत तिमी भोको पेट बनाई,
मुखले राम बगलीमा हुन्छ छुरा हनाई ।
-नवशिला,
बेलबारी-२,लालभित्ती,मोरङ।
[३२]
व्रत बस्नुको के अर्थ ? मनमा शङ्का उपशङ्का बोकेर,
राम वा कृष्ण जे बनोस् तर, नआओस् जाँडरक्सी धोकेर ।
-चिरञ्जीवी श्रेष्ठ,
धनकुटा ।
[३३]
पवित्र शुद्ध भएर तिमी हरदम व्रत बस्ने गर,
पवित्रतामा के बिटुलाे गर्नु, जान्छु तिम्रो साथीकाे घर।
-मित्र `उराठी´ गाैतम
अमरपुर गुल्मी हाल तिलाेत्तमा न पा-२,रुपन्देही
[३४]
कति भन्न सक्यौ प्रिया बस्छ्यौ घण्टा गनेर,
तिमी भने आफैँ हिँड्छेउ द्रौपदी बनेर ।
-प्रभादेवी पौडेल
चितवन
[३५]
यस्तै हुन्छ चोखो मायाको फल हात लाग्छ खाली,
के थाहा र पाप र पुण्य छन् ती कृतघ्नी र जाली।
-गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ
[३६]
हाम्रै लागि हो उनले गरेको कर्म,
बुझेर हिँडौ सबले आ-आफ्नो मर्म।
-अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा
[३७]
कुवाभित्र जम्ने इच्छा पूरा गर व्रत बसेर,
अनुमति छ भने झट्टै आउॅंछु फन्को लाएर।
-म्यामराज राई
भोजपुर
[३८]
नबस भोकै अकालमा रोगको सिकार हुन्छौ,
आज ममा कृष्ण देख्यौ भोलि राधा भएको सुन्छौ ।
-अम्विका अधिकारी
झापा विर्तामोड
[३९]
भाेकभाेकै बस्छाैँ व्रत मङ्गलकाे कामना लिएर,
तर हिड्ने गर्छन् उनीहरू चुराेट, रक्सी पिएर ।
-उर्मिला के.शी.
धनकुटा
[४०]
पतिभक्त बनी व्रत बस्छौ मन अरूतिर,
देखावटी माया गर्नेले मान्दैन खासै पिर।
-राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[४१]
कति बसौँ राधा बनी तिम्रै नाम जपी,
तिमी भने भट्टीतिर हिँड्छौ थपी थपी ।
-सरिता सेढाई
धादिङ
[४२]
म सधैँ व्रत बस्ने गर्छु उसकै नाममा,
जुवाडे सदा धोकेर जान्न भन्छ काममा ।
-कमला देवकोटा, पाल्पा
[४३]
पुरुष जति भट्टीमा बसी मदिरा चलाए,
बसेर व्रत नारीले आज जीवन गलाए ।
-आर्त अकुलीन
कैलाली
[४४]
साेमवार साेमवार व्रत बसेकी छु सधैँभरि मैले,
बाहिर बाहिर तरुनीसँग मुख पर्छाै श्रीमान जैले।
-सहयात्री शाेभा अर्याल
बुटवल रुपन्देही नेपाल
[४५]
व्रत बस्छौ प्यारी मेरै नाम जपेर,
मेरो आयु उसैलाई दिनु थपेर ।
-रितु बुढाथोकी
[४६]
व्रतको नाममा नहोस् देखावटी दान,
स्वाभिमानी नेपालीको आफ्नै पहिचान ।
-जमुना आचार्य
सिन्धुपाल्चोक
[४७]
म पनि त बसेको छु श्रीमतीको भरमा,
उनी भने हिँड्ने गर्छिन अर्काकै घरमा ।
-हुमाकान्त
[४८]
अस्वस्थ छु म हेर ! गाह्रो हुन्छ मलाई व्रत बस्न,
सच्चा मनले माया गर्छु, सक्दिनँ भोको पेट कस्न ।
-चन्द्रकली राना मगर
नौबहिनी 3 प्युठान
[४९]
भोको बसेर पियारी तिमी मन्दिर मन्दिर धाउछाै,
म पनि गए भट्टीतिर तिमी जहिल्यै ढिला आउछाै ।
-सुशिला
[५०]
भालुलाई पुराण अझै कति कहनु,
व्रतको भोक प्यास छैन बरु सहनु।
-अच्युत घिमिरे
भुटानबाट🇧🇹
[५१]
व्रत धर्म सबै भयो देखावटी शान,
खै कहाँ छ सच्चा धर्मको सच्चा सम्मान ?
-रचना शर्मा प्रतीक्षा
ललितपुर