
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (३४ औँ) शृङ्खलाका लागि लघुकथाकार नानि भारद्वजको लघुकथा ‘समानता’, लघुकथाकार बिष्णु उप्रेतीको लघुकथा ‘भाइरल’ र लघुकथाकार ‘हिमा आर.सी’को लघुकथा ‘पाप’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१)
लघुकथा: समानता

नानि भारद्वज
“छोरा र छोरीमा भेदभाव गर्नु ठुलो अपराध हो।” महिला हकका विषयमा उनी यसरी गाउँलेलाई चेतना दिने गर्छिन्। धेरै टाढा टाढासम्म उनको चर्चा छ। भाषणले सबै मन्त्रमुग्ध हुन्छन्। मानौँ अब छिट्टै महिला क्रान्ति हुँदैछ। हाम्रो गाउँमा एउटा ठुलै महिलासभा हुनेभयो। हामी आयोजकको तर्फबाट ती महिला नेतृलाई निम्तो दिन उनको घरमै पुग्यौँ।
अभिवादन आदानप्रदान पश्चात् उनले हामीलाई चिया पिउने अनुरोध गरिन्। चिया गफमा पनि आफ्नोे क्रान्तिकारी विचार पोखिन्- “हेर्नुस् ! छोरी भनेर हेलाहोचो गर्नु धेरै अमानवीय कर्म हो।”
“हो त मेम् ! अहिलेको युगमा त्यसो गर्नु ठुलो अन्याय हो ।” भन्दै हामीले उनका कुरामा सही थाप्यौँ।
“त्यसैले त यहाँको यो अग्रगामी सोचको कदर गर्दै हामी कार्यक्रममा निम्तो गर्न आएका छौँ ।” -मैले पनि केही थपेँ। माहोल सर्वसम्मत बन्
त्यसैबेला तीन/चार वर्षे दुईजना वालक खुरुरु कुदेर आए र नेतृको काखमा बसे।
वालकका सम्बन्धमा हाम्रा साथीमध्ये कसैले चासो राखे। चासो मेटदै उनले भनिन्- “यो चैँ मेरो नाति; ऊ चैँ छोरीको छोरो ।”
विराटनगर,मोरङ्ग।
२)
लघुकथा: भाइरल

बिष्णु उप्रेती
ए बाबु ! लौन याे मेराे माेबाइल समातेर एउटा राम्राे भिडियो खिचिदेउ न। लु त बाबुु।” -मैले मलामीका भिडमा एउटा युवकलाई भने।
उसले हाँस्दै हाँस्दै मेराे माेबाइल समातेर क्यामेरा खाेल्न थाल्यो ।
“ए ! पख पख । म लासका छेउमा गएर साेला समाउँछु । अनि चारैतिर आउने गरी घुमाइ घमाइ खिचिदिनु है बाबु !”
उसले मैले भनेकै तालमा भिडियो बनाउँदै भन्याे- “हैन हजुरबा ! याे वृद्धअवस्थामा मलामी जाँदै गरेकाे बेला, हजुरलाई याे भिडियो किन चाहियाे।”
“भरे मार्मिक गाना खाेजेर, टिकटक बनाएर पाेष्ट गर्न नि बाबु । लाइक र कमेन्टकाे त कुरै छोडौँ। भाइरल नै हुन्छ नि ! याे भिडियो त।”
उसले माेबाइल बन्द गरेर फिर्ता दियाे। थपक्क गाेजीमा राखेँ ।
बेलुका अन्य सबै काम सकेर भावुक गीत सम्झिँदै माेबाइल खाेल्छु त त्यहाँ भिडियो थिएन। बरु यस्तो लेखिएकाे थियाे- ‘समवेदना, भावना र मानवीयता हराएका बुढा। अलिकति लाज छैन। मलामीकाे रुवाबासीमा, सडक दुर्घटनामा, आगजनीमा, अरूको दु:ख र पीडाको भिडियो बनाएर भाइरल बन्नुपर्ने। तिमीभन्दा पापी अरू काे हाेला?’
२०८०/०४/१०
बिर्तामोड झापा।
३)
लघुकथा: पाप

हिमा आर.सी
“यस्ताको सास जानपनि कति गाह्राे भएको हो, कुन्नि? कुन पापले यस्तो भएको ?” -भन्दै काकीले अलिकति भात मुछेर समीरलाई अलग्गैबाट भातको थाल फालिदिइन् ।
कुरा सुनिरहेकी आमाको मन अमिलो भयो। हात कमाउँदै समीरले गाँस मुखसम्म लगेपनि मुखमा पर्दैनथ्यो। समीरलाई आमाले खाना खुवाउँदै भन्नुभयो- “म पँधेरोबाट पानी लिएर आउँछु । यहीँ बस्, केही बदमासी नगर्नु।”
उहाँ पानी लिन जानुभयो । कसैले पनि आफ्नो बच्चाहरू उसको नजिक खेल्न दिएनन्। ऊ जस्तै बच्चाहरू पनि अशक्त र अपाङ्ग हुन्छन् भनेर। उसलाई साच्चिँकै पाप गरेको रहेछु भन्ने लाग्यो। उनीहरूको यस्तो व्यवहारले उसलाई बाँच्न मन लागेन। आमा नभएको बेला उसले मर्ने बिचार गर्यो। केही दिन अगाडि आफ्नो आमाले तरकारीमा किरा लागेको छ भनेर विषादी औषधी ल्याएको उसले देखेको थियो । त्यहीँ विषादी औषधी खाएर मर्ने भनेर नजिकै रहेको विषादीको सिसा लिने कोसिस गर्दा हातबाट फुस्किएर फुट्यो । विषादी भुइँमा पोखियो ।
यो आमाले देख्नुभयो । उसले आमालाई भन्यो- “आमा म पापी हुँ रे ! मसँग खेल्न कोही मान्दैनन्, त्यसैले मर्न लागेको।”
आमाले काखमा लिएर निधारमा चुम्बन गर्दै भन्नुभयो- “छोरा! मलाई माफ गरिँदे। त कुनै पापले यस्तो भएको हैनस्। तँलाई जन्म दिन सक्दैन्थे । बाध्यतामा परेर गर्भपतनको औषधि खान पुगे। जसको कारण तेरो यो हाल भयो ।”
मेहेलकुना सुर्खेत

