साताको तीन लघुकथा

  • २३ असार २०८०, शनिबार २३:१० मा प्रकाशित
  • साताको तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (३१ औँ) शृङ्खलाका लागि लघुकथाकार मुक्ति गौतमको लघुकथा ‘मान्छे र बाँदर’, लघुकथाकार शुक्रराज कुँवरको लघुकथा ‘माया’ र लघुकथाकार प्रभादेवी पौडेलको लघुकथा ‘सम्बन्ध’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा : मान्छे र बाँदर

    मुक्ति गौतम
    लटरम्मै पाकेका आँप कोही भुईँमा झरेका, कुनै रूखमा पाकेका । भोका बाँदरको एउटा झुण्ड आइपुग्यो । कोही रूखमा चढेर कोही भुईँमा बसेर खोजी खोजी आँप खान थाले । बलिया पनि थिए, लुते पनि थिए । बृद्ध पनि थिए, भुरा पनि थिए । खोसाखोस थिएन, लडाइँ थिएन । आरिस थिएन, झगडा थिएन । ढिलो आएका बाँदरले एउटै आँप भेटेनन् । बरू भोकै फर्केर गए । तर खाँदै गरेका बाँदरको आँप कसैले पनि खोसेर खाएनन् । आफ्नो बाँदरीय धर्म छोडेनन् ।

    बरन्डामा बसेर, म यो दृष्यमा रमाइरहेको थिएँ । अचानक किचनबाट श्रीमती चिच्याएको आवाज आयो-
    “कहाँ हुनुहुन्छ ? आउँनु न । राजुले आफ्नो भागको मिठाई खाइसकेर बैनीको मिठाई पनि खोसेर जम्मै खाइदिएछ । यसलाई ठिक पार्नु त ।”

    कालापहाड, मणिपुर (भारत)
    ३-७-२०२३

    २)
    लघुकथा : माया

    शुक्रराज कुँवर
    म जागिरे मान्छे । घर छेउमा सानो पसल पनि थापेको थिएँ । चौकाचुलोको काम सकेर पत्नी नीराले पसल सम्हाल्ने गर्थिन् । शनिबार र अरू छुट्टीको बेला पसलमा म पनि बस्ने गर्थेँ ।

    म बुबाआमा सँगै बस्थेँ । घरमा पढ्दै गरेका भाइबहिनी अनि मेरो आफ्नै एउटा छोरो पनि थियो । पसल, घर दुवै हेर्नुपर्दा नीरालाई काममा धावा धावा पर्थ्यो । तथापि उनी रमाएर बसेकी थिईन् । म खुसी थिएँ । घरपरिवारका सबै खुसी थिए ।

    शनिबारको दिन थियो । म पसलमा थिएँ । साढे नौ बजेतिर नीरा पसलमा आइन् र भनिन्- “म, महिला समूहको मिटिङ्गमा जाँदैछु । भातभान्सा सबै तयार छ । आउन ढिलो हुन्छ । आफैँ पनि खानु अनि सबैलाई पस्केर खुवाउनु है । अनि आमालाई मही मन पर्छ । नबिर्सी दिनु नि फेरि ।”

    एघार बजेतिर उनले भने अनुसार सबै काम गरेँ । उनी एक बजे आइन् ।
    “भोक लाग्यो होला, खाना पस्किउँ ?” -मैले भनेँ ।
    “हुन्छ नि !” -उनले भनिन् ।
    मैले दुइटा थालमा खाना पस्कँदै गरेको देखेर उनले भनिन्-
    -“तपाईँ आफूचाहिँ खाना खानु भा’को छैन कि क्या हो ?”
    “हो त ! खा’को छैन ” -मैले भनेँ ।
    “किन नि ?” -उनले फेरि भनिन् ।
    “तिमीलाई पर्खेर बसेको” -मैले भनेँ ।
    बलभद्रपथ , धरान १० सुनसरी
    २०८०/०३/२०

    ३)
    लघुकथा : सम्बन्ध

    प्रभादेवी पौडेल
    “पिताजी ! हजुरलाई थाहा छैन, मलाई अरू पहिला भएको मन पर्दैनँ भनेर ? कि त्यसलाई रोज्नुहोस् कि मलाई ?” आफ्नो एकमात्र पुत्र अर्जुनको यस्तो जिद्दी देखेर उनी ठुलो धर्मसङ्कटमा परे। उनले छातीमा मुड्कीले हानेर यो निर्णय गरे कि दिकपालको क्षमता अद्भूत हुनाले उनलाई अर्को गुरुको आवश्यकता पर्दछ। त्यसैले आजका मितिबाट उनी यस आश्रम छोडेर जाने छन्।

    आफ्नो रगत भनेर के गर्नु ? अर्जुन निकै घमन्डी र अरूको कुभलो चिताउने व्यक्ति हुनाले पटकपटक उनले आफ्नै छोराको कारणले अपमान सहनुपरेको थियो । दिकपाल प्रति अन्याय भएकोले उनी रातभर निदाउन सकेनन्। यही कुराले उनलाई बिरामी बनायो।

    एकदिन मन्दिर नजिकै मानिसहरूको भीड लागेको देखेर दिकपाल पनि त्यतै सोझियो। ति मध्ये कसैकसैले भन्दै थिए, – ” बिचरा ! धेरै वर्ष भयो यो बुढो यसै ठाउँमा मागेर बस्दै आएको। आज बेहोस भएछ ।” यो देखेर उनले हतार हतार हस्पिटलमा लगे । उपचार खर्चमा कुनै कमी हुन दिएनन् । जब वृद्धाको होस् खुल्यो दुवैको खुशीको सिमा रहेन । दिकपालले गुरुको चरणमा शिर राख्दै मन भारी बनाउँदै भन्यो, -“गुरु ! कसरी भयो हजुरको यस्तो हाल ?”
    “सन्तान कुलङ्गार जन्मेपछि यस्तै हुँदोरहेछ, बाबु !”
    “पीर नगर्नु गुरु ! म छँदै छु नी, हजुरले अर्जुनको आँखा छलेर मेरो घरमै आएर दिनहुँ पढाउनुभएको प्रतिफल म उच्च शिक्षाको लागि बनारस पढ्न जान पाएँ।”

    भरतपुर ९ , चितवन
    २०८० / ०३ / १९

    Leave a Reply