साताका तीन लघुकथा

  • ७ श्रावण २०८०, आईतवार २२:४६ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (३३ औँ) शृङ्खलाका लागि लघुकथाकार अवधेश सिंहको लघुकथा ‘अन्धोको लट्ठी’, लघुकथाकार तुलसी पण्डितको लघुकथा ‘उपेक्षित’ र लघुकथाकार ललिता ‘दोषी’को लघुकथा ‘महान् गुरु’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा : अन्धोको लट्ठी

    अवधेश सिंह
    आँखाको शल्यक्रियापछि पट्टी खोल्ने दिन थियोे । नयन सिंह बडो व्यग्र भई उसको आँखाको पट्टी खुल्ने घडीको प्रतीक्षामा थियोे । घरी ऊ पट्टी छाम्थ्यो, घरी दुई हात जोड्थ्यो । सायद दृष्टिकालागि भगवानसँग प्रार्थना गरेको होला ।

    प्रतीक्षाको प्रहर सकियो । चिकित्सकले उसको आँखाको पट्टी खोले र बिस्तारै आँखा उघार्न भने । दृष्टि पाउने/नपाउने आशा/निराशाको द्वन्द्व, उसको हाउभाउमा झल्किरहेको थियोे ।

    मन थामेर नयन सिंहले बिस्तारै आँखा उघार्‍यो ।
    “धन्यवाद ! धन्यवाद डाक्टर सा’ब ! म देख्न सक्ने भएँ !” -प्रथम ज्योति प्राप्तिको हर्षातिरेकको स्थितिमा थियो, नयन सिंह ।

    अस्पतालबाट डिस्चार्ज हुने बेला आयो । नयन सिंहले औषधि लगायत आफ्ना एक एक सामग्री समेट्यो; सिवाय एउटा सेतो लट्ठी, जुन वार्डको एक कुनामा ठडिएको थियोे । वार्डबाट बाहिरिने बेलामा उसले एकपटक फेरि कोठालाई नियाल्दा त्यो लट्ठीले उसको ध्यान तान्यो। तर ऊ त्यसलाई उपेक्षाभावले हेर्‍यो र वार्डबाट निस्क्यो ।

    त्यहाँ उपस्थित परिचारिकाले टुइँटुइँ भर्‍याङ ओर्लँदै गरेको नयन सिंहलाई हेरिन्; अनि हेरिन् हिजोसम्म उसको जीवनलाई सहारा दिने त्यस परित्यक्त लट्ठीलाई र उच्छवास लिइन्- “अन्धोको लट्ठी !”

    सानो भर्याङ, साकेत मार्ग, काठमाडौँ
    २०८०/०३/०३

    २)
    लघुकथा : उपेक्षित

    तुलसी पण्डित
    आरक्षण ! आरक्षण ! आरक्षण । के का लागि हुन्छ एउटै देशमा बस्ने मानिसहरूको बिचमा यो आरक्षण ? केही टाठाबाठा बाहुन सत्तामा पुगे भन्दैमा तीनै सरह अरू बाहुनक्षेत्रीलाई तुलना गर्न मिल्छ र ? कति दयनिय अवस्थामा छन्, बाहुनक्षेत्रीहरू । खानकै लागि समस्या छ । पढ्न उपचार गर्न झन् कठिन् छ । अनि किन आउँछ मधेसी, दलित, लोपोन्मुख, जनजातिलाई मात्र आरक्षण दिने कुरा ? के दरिद्र गरीब बाहुनक्षेत्रीहरूलाई चाहिँदैन ? के बाहुनक्षेत्री, यो देशको नागरिक हैनन् ? के अरू सरह उसले अधिकार पाउनु पर्दैन ? के उसको पढाइको मूल्याङ्कन हुनु पर्दैन ?” -हर्के एकोहोरो बोलिरह्यो । ऊ गरीब र जेहन्दार विद्यार्थी हो ।

    “श्याम हेर न ! म बर्बाद भए ।”
    “के भो तिमीलाई ?”
    ” के भएन भन त ! यो देशको आरक्षण प्रक्रियाले म डुबेँ। बाबाआमाले कति दुख गरेर पढाउनु भयो । छोरो पढ्न तेज छ । लोकसेवामा सहज रूपमा नाम निकाल्छ भन्ने उहाँहरूको आशामा तुषारापात भयो । म नब्बे प्रतिशत ल्याएर पास गर्नेले नाम न निकाली आरक्षणको नाममा पचपन्न प्रतिशत ल्याउनेले नाम निकाल्यो ।”

    “हो, तिमीले ठिक भन्यौँ । अब राम्रा मान्छे यो देशमा नअटाउने भएँ । सबै विदेश पलायन हुने भएँ । यो देशमा बस्ने भनेका आरक्षणको नाममा सहुलियत दिएका मात्र हुने भए ।”

    “त्यही त म पनि बुझ्दिनँ, यो देशको नीति । किन बाहुनहरू यो देशको उपेक्षित तेस्रो दर्जाका नागरिकहरू हुन पुगे ?”

    ३)
    लघुकथा : महान् गुरु

    ललिता ‘दोषी’
    खोक्दै नरहरिले भने- “हेलो नानी ! तिमीले खातामा पैसा राखिदिएको कुरा बाबुले गर्थे । बैङ्कमा त पैसा छैन पो भन्छन् गाँठे ! डाक्टरले चेक गर्न मात्र बाह्र हजारजति लाग्छ भनेका छन् ।”
    “हैन, जापानमा पैसा फल्ने रूख नै हुन्छ भन्ठान्नुभएको छ कि क्या हो ? खाईनखाई दुईचार पैसा कमायो; तपाईंलाई पुर्दैमा ठिक्क छ । उमेरले डाँडा काटिसक्यो । जँचाउनुसचाउनु पर्दैन बरु हरिभजन जपेर बस्नु, सब ठीक हुन्छ ।” एउटी कर्कसा नारीआवाज चारैतिर फैलियो ।
    नरहरि ढुनमुनिँदै गएर मेचमा बसे । आँखाबाट बरबरी आँसु झरिरह्यो ।


    बैङ्ककी कर्मचारी उपमाले बाहिर आएर भनिन्- “हजुरको छोराको नाम कञ्चन होइन ? हजुरको खातामा बीस हजार आएको छ । अर्को सरले राम्ररी हेर्नु भएनछ । हजुरलाई जति पैसा चाहिन्छ । यो नम्बर हो, फोन गरिसेला । हजुरले दुःख पाउनु नै पर्दैन ।”


    नरहरि पैसा लिएर खुसीको आँसु झार्दै बाटो लागे । उपमातिर हेर्दै प्रितमले भने- “होइन के अचम्म हो उपमाजी ? नआएको पैसालाई आएको छ भनेर दिनुभयो । फेरि उहाँको नालीबेली कसरी थाहा भयो नि ?”
    आँसु पुछ्दै उपमाले भनिन्- “मेरो बाबा बितेपछि उहाँले नै मलाई फिस माफी गरेर चार कक्षादेखि बोर्डिङ स्कुलमा पढाउनुभयो । आज म जे छु उहाँकै कृपा हो । पार्टनरसिपको स्कुलबाट पापीहरूले उहाँलाई निकालेकोसम्म थाहा थियो । अहिले यो अवस्थामा हुनुहोला भन्ने कल्पनासम्म गरेकी थिइनँ ।”


    “तपाईँले आफूलाई चिनाएको भए हुन्थेन र ?” -प्रितमले जिज्ञासा राखे ।
    उपमाले उत्तर दिइन्— “प्रितमजी ! उहाँकी बुहारीको कुरा सुनेपछि उहाँको एउटै छोराप्रतिको भरोसा टुटाउन मन लागेन । मरी लानु के नै छ र ? मलाई आकाश छुवाउने महान् गुरुका लागि केही सहगोग गर्न पाउनु मेरो पनि सौभाग्य हो ।”
    २०८०।३।२०
    बुद्धनगर काठमाडौँ

    Leave a Reply