
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (३२ औँ) शृङ्खलाका लागि लघुकथाकार म्यामराज राईको लघुकथा ‘दृश्यहरू’, लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘लाछी छोरा’ र लघुकथाकार शारदा दहाल भण्डारीको लघुकथा ‘दृष्टिकोण’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१)लघुकथा : दृश्यहरू

✍️ म्यामराज राई
कृष्ण मेरो मिल्ने साथी । जो, प्रत्येक बिहान सूर्यको किरण धरतीमा आइपुग्नु पहिले ऊ मेरो पसलमा आइपुग्छ । तातो चियाको सट्टा दुई गिलास रक्सी पिउॅंछ । सितनमा एक खिल्ली चुरोट । बल्ल उसको मन प्रसन्न हुन्छ ।
“ओइ ! यो कुरो उनलाई नसुना है । थाहा पाई भने मार्छे ।”
उसले रक्सी र चुरोट पिएको कुरो उसकी श्रीमतीलाई नभन्न मलाई जहिल्यै कसम खुवाउॅंछ ।
साथीको आज्ञा पालना गरेँ ।
…
राधा उर्फ कृष्णकी श्रीमती हरेक दिन साँझ पर्नु अघि मेरो पसल आउॅंछे । खाजाको सट्टा उसले एक गिलास रक्सी र सितनमा एक खिल्ली चुरोट पिउॅंछे ।
“दाई ! यो कुरो उहाँलाई नसुनाउनुस् ल । थाहा पाउनुभो भने त मार्नुहुन्छ ।” घर फर्किनु अघि उनले श्रीमान् कृष्णलाई पिएको कुरो नसुनाउन विनम्र अनुरोध सधैँ गर्छे । कहिल्यै कसैलाई सुनाइनॅं ।
माथिका दुवै दृश्यहरू विगत वर्षदिन पहिलेदेखि निरन्तर चलिरहेका छन् । प्रत्यक्षदर्शीमा म छु । मनमनै सोच्छु, ‘एक अर्कासित डराउॅंदै तिमीहरूले मेरो पसल चाहिॅं चलाइरहेका छौ, हैन ?’
- २०८०/०३/२६, मङ्गलबार
हतुवागढी-६, होम्ताङ्, भोजपुर (हाल:-जापान)
२) लघुकथा : लाछी छोरा

✍️ सुरेशकुमार पाण्डे
“म कतै जान्नँ ! मेरो यही मर्ने ईच्छा छ ।” नब्बे वर्षिय वृद्धाले पत्रकारसँग भनिन् । उनी विगत १० वर्षदेखि वृद्धाश्रममै बस्दै आएकी छिन् ।
“किन आमा ? यहाँभन्दा घरमा हजुरको राम्रो स्याहारसुसार हुन्छ ।” पत्रकारले आमालाई सम्झाउने प्रयत्न गर्यो।
“केको स्याहारसुसार हुनु नि बरै ! घरमा अर्घेलो भएर त आश्रममा आएकी हुँ । छोरा हाकिम छ । बुहारी र छोरी पनि सरकारी जागिरे छन् ।” वृद्ध आमाले आफ्नो दुःखले भरिएको कथा पत्रकारलाई सुनाइन् ।
“तर आमा ! हजुरको छोराबुहारी लगातार यहाँ आएर हजुरलाई घर जान आग्रह गर्दापनि हजुर जान मान्नुहुन्न, किन आमा ?”
“उनीहरू मेरो माया लागेर आएका होइनन् नि बाबु ! मेरो नाउँमा रहेको करोडौँ मूल्यको जमिनले खिँचेर ल्याएको हो ।” लामो सुस्केरा हाल्दै वृद्धाले भनिन् ।
दाङ घोराही १८
११-०७-२०२३,
३) लघुकथा : दृष्टिकोण

✍️ शारदा दहाल (भण्डारी )
“बाबु ! तिमी पनि अब त आफ्नो सामान चेक गर्न, राख्न सक्ने भयौ नि ! हेर्नुपर्दैन ?”
“तपाईँले रुमाल र स्थानीय विषयको कापी नहालिदिएर मैले कुटाइ खानुपर्यो आज ।” भन्दैआएको छोरोसँग गुनासो गर्दै थिइन् सुदीपा।
“आफूलाई चाहिँ बिहानभरि घरको काम । दिनभर उत्तिकै तनाव । फेरि घर आयो उही चटारो । मैले नहेरी गृहकार्य पनि गर्दैनौ ! मलाई चाहिँ आराम चाहिँदैन भन त ?” सुदीपा खिन्न मुद्रामा बोलिन् ।
“मामु भएपछि गर्नुपर्छ त !” प्याच्च बोल्यो सुयश । “ऊ हेर्नू त बिरालो, कति जाती ! बच्चालाई पानीले भिजायो भनेर मतानमा सार्दैछ । तपाईँलाई चाहिँ मेरो हेरचाह गर्दा हैरान लाग्छ ?”
ऊ थप्दै थियो- “हिजो दोभाने जाँदा देखेको बाँदर्नीले छोरालाई बोकेर खोलामाथिको जङ्गलमा, एउटा रुखबाट अर्को रुखमा हामफालेको । फेरि अर्कोमा झ्वाम्मै हामफाल्दा बच्चा खोलामा झर्यो तर बच्चालाई टिपेन।”
सुदीपाले छोराको कुरा सुन्दै लुगा फेराइदिन थालिन् र सोधिन्- “उसोभए अब भन, तिमीलाई बाँदर्नी आमा कि बिरालो आमा मन पर्यो ?
“मलाई त फुत्त फुत्त फ्लाई गर्दा त बादर्नी मनपरेको फेरि बच्चा नटिपी भागेको देखेर घृणा जाग्यो। जुनसुकै परिस्थितिमा बच्चा स्याहारेको देख्दा बिरालो आमा नै ठिक लाग्यो।”
“ए ! अनि बाँदर र बिरालाको बच्चाले कसो गरिरहेका थिए, हेर्यौ ?
“अहँ ! आमाको बारे मात्रै नियालेँ ।”
“अब सुन, बाँदरको बच्चाले आफैँ दह्रोसँग आमालाई च्याप्प समाउँछ र आफ्नो ज्यान बचाउने प्रयत्न गर्छ, देख्यौ पनि होला । तर बिरालाको बच्चालाई आमाको एक्लो प्रयासमा बचाउनुपर्छ । उसले कतै समाउँदैन । केवल आमाको सहारामा हुन्छ। अब आफैँ भन, तिमी कसको बच्चा जस्तो हुन चाहन्छौ ?
केहीछिन नबोली सोचनीय हुन्छ सुयश । पुनः आमाले भन त सुयश भन्दा “म त बाँदरको जस्तो ।” भन्दै च्याप्प समाउँछ र अगाडि भन्दै जान्छ “अब म आफ्नो काम आफैँ गर्छु । अर्कालाई मात्र हेर्ने काम छोडिदिन्छु ।”
पाँचखपन -९ हाल मोरङ।