
काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९४ औँ शृङ्खला यही श्रावण ०२ गते शनिबार सम्पन्न भएको थियो।
अभ्यासमा नेपाल लगायत विश्वका ४२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
एक क्विन्टल सुन ल्याँउदा, चट्ट सलाम ठोके,
के भाका हुन् यी भन्सारे ? एउटा मोबाइल रोके ।
वसन्त अनुभव
घोराही, दाङ

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
सुन ल्याउन छोडी छोडी मोबाइल ल्यायौ ?
थुइक्क तिम्रो काँचो बुद्धि बल्ल चोक्टा खायौ ।
-वसन्त अनुभव
घोराही, दाङ
[२]
सुन ल्याउनेलाई खुसी भएर भाग पाउँला भनी सलाम ठोके,
आफ्नै मोबाइल ल्याउनेको चैँ जबर्जस्ती गरी खोसेर नै पो बोके ।
-पवन कुमार बुढाथेाकी
काठमाडौंं
[३]
त्यत्रो सुन भित्र्याउँदा तिमी बसेर के हेर्यौ,
चोक्टा खाने आस गरेका झोल पिएर छेर्यौ ।
-बेदु न्यौपाने
काठमाडौँ
[४]
एउटा मोबाइल ल्याउँन गाह्रो एयरपोर्ट भन्सारमा,
सुन तस्करको माखेसाङ्ग्लो हेर विदेशदेखि धन्सारमा ।
-टिकाराम पुन टिपु
सल्यान
[५]
चोर्नेको सेटिङ्ग भएरै छिराउन सफल भए सुन,
कहाँ सम्झन्थेँ सानाले ठूलालाई हिजो लगाएको गुन।
-अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[६]
धन्सारे र भन्सारे त उस्तै उस्तै साथी,
तलबाट रोकेजस्तो छिराउने माथि ।
-गुणनिधि घिमिरे, अमेरिका
[७]
यतिधेरै सुन भित्रिँदा भन्सार विभागले कतै लुकाएन ?
त्यो चेकजाँच गर्ने मेसिनले हरे किन यहाँ चाल पाएन ?
-कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[८]
अझै आफैँ ठुला हुँदै झुटाे भाषण गर्ने,
जनतामात्र हुन् खाली घेराबन्दीमा पर्ने।
-धनु रेग्मी
भरतपुर
[९]
कतिबेला देखाउँछौ ङिच्च दाँत, पारिकन लोलोपोतो,
चेकजाँच भन्ने त्यस्तै रहेछ, खास रहेछ मिलोमोतो ।
-प्रेम थापा “मन”बागलुङ
[१०]
भित्रभित्रै मिल्या होला पाइन्छ भनी अंश,
के थाहा ! देखेको छैन एउटै हुन् कि वंश ?
-अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा
[११]
अलिअलि भाग रोक्नेलाई पनि लाए,
त्यत्रो सुन सबै मिली खर्लप्पै पो खाए ।
-सरिता सेढाइ धादिङ
[१२]
ठुलालाई उम्काई हाल्छन् साना पर्छन् घानमा,
अचम्मको कानुन बन्छ साेझासाझा तानमा ।
-त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[१३]
बाहिरबाट गरेको छ जनताको काम,
भित्रभित्रै छ अर्कै खेती कमाउने दाम ।
-भवानी घिमिरे
सर्लाही ।
[१४]
थाहा छैन यो घर कसरी चल्दैछ,
भित्रभित्रै माटो जस्तै गरी गल्दैछ !
-आर्त अकुलीन, कैलाली
[१५]
व्यापारी ब्वाँसाकाे अवतार हाम्रो सधैँ लुटिरहन्छाैँ,
नाटक गर्छाैँ अनेकन् जनताकाे गिदी भुटिरहन्छाैँ ।
-निरज कोइराला इटहरी
[१६]
चेकजाँच गर्ने मेसिन कस्तो नुन ल्याउदा चुई चुई कराउने,
भारीकाे भारी सुन भित्रिँदा सुन छ भनेर बाेल्न पुरै डराउने ।
-राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[१७]
पित्तल भनेर छोडेको सुन पो परेछ,
हात्ती फुकाऊ भनेको थिएँ भेडो झरेछ।
-म्यामराज राई, भोजपुर
[१८]
भन्सारेको के कुरा गर्नु, रोक्ने कुरा छिराउँछन्,
धनीलाई काखी च्यापी गरीबलाई पिराउँछन्।
-दीपक ठटाल जलन,२२.७.२४
[१९]
भन्सारेले गर्ने भनेको सर्वसाधारणलाई रोक्ने काम,
अलिक ठुला सामान आए त मिलीजुली नदेखाई हाम ।
-राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौ
[२०]
एकसय किलो सुन ल्या’को छु बोराभित्र भरी,
अब आफ्नो नाम खोपेर बनाउँछु जलहरी ।
-नवशिला,
बेलबारी-२,लालभित्ती,मोरङ।
[२१]
मोबाइल र पैसा राख्न त छ जतासुकै ठाउँ,
एक क्विन्टल सुन सरकार कहाँ तह लाउँ ?
-बिबस पारदर्शी
झापा
[२२]
जनताले ल्याएको एउटा मोबाइल किन झार्ने,
सुन ल्याउने हाकिमले सलाम ठोकी आँखा मार्ने ।
-अम्विका अधिकारी
झापा विर्तामोड
[२३]
सुनको लङ्का भन्थे नि पैला, लौ अहिले नेपाल
सुनको भारी वोक्ने भरियाको, छ छाती विशाल ।
-ध्रुव श्रेष्ठ,
खोटाङ ।
[२४]
‘लाेके’तन्त्रमा जनतालाई ‘भुकतन्त्र’ तर्फ जाल छ माेड्ने,
माैका थियो’ अनि ‘यही’ सत्ता पूजारीकाे सुन सम्पत्ति जाेड्ने ।
-रामप्रसाद पुरी, बादेल खाेटाङ ।
[२५]
ठुला माछा समात्ने हुनुपर्छ आँट,
भुरा खाने बाहेक देखिएन छाँट ।
-कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[२६]
जे गर्छ यहाँ फटाहाले नै सबै थोक गर्छ,
चेकजाँचमा त केवल सोझो मान्छे पो पर्छ ।
बाबुराम पाण्डे
अर्घाखाँची
[२७]
कस्ता आँखा होलान् चेकजाँचकर्ताको अमुल्य बस्तु छेक्ने,
कमिशन नआउने समान चैँ टाढैबाट प्रष्ट धेक्ने ।
-शंकर कार्की
थाहा नगरपालिका ३ मकवानपुर।
[२८]
सबै मिली गरीबको पसिनाको कमाईमा आँखा गुडाए,
स्वार्थ पूर्तिकै लागि सरकारी कानुनको खिल्ली नै उडाए ।
-रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही, नेपाल !
[२९]
ठुला माछा चिप्लेर भाग्छन् साना पर्छन् जालमा,
भित्र भित्र षड्यन्त्र बुन्छन् ठुला बस्छन् खालमा।
-दुर्गा आचार्य
मोरङ
[३०]
काले आए गोरे आए सुनकै खेती गर्छन्,
मर्ने बेला मुखमा राखी वैतरणी तर्छन् ।
-पद्मा पाण्डे
पथरी मोरङ
[३१]
एक क्विन्टल त्यो सुन ल्याउँदा देख्ने काेही नि भएन,
कसरी आयाे एयरपोर्टमा, चेकजाँचमा गएन।
-शाेभा आचार्य गाैतम
काठमाडौँ
[३२]
मिल्दैन भाग तेराे र मेरो हुन् कुकुर बिराला,
टाउके लुक्छन् भरिया थुन्दै दुखी देश निकाला।
-इन्दिरा प्रयास
[३३]
नेपाल गरिब छ भनी सुन ल्याउन थाले,
व्यक्तिगत सम्पत्ति दाखिला गर्नुहुन्न काले ।
-जमुना आचार्य सिन्धुपाल्चोक
[३४]
रोल्पा, रुकुममा छैन खाने नुन,
तस्कर गर्दैछन् नेता मिली सुन।
-शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
[३५]
एउटै गतिलो छैन सरकारी संयन्त्र,
बिस्तारै घाँडो बन्दैछ देशमा गणतन्त्र।
-प्रदीप के रिमाल
इटहरी, सुनसरी।
[३६]
मोबाइल होइन सुन छिराउने गौँडो थियो,
चुन्नलाई सानो गल्ती भयो गेटमै खसाल्दियो।
-अच्युत घिमिरे-भुटानबाट🇧🇹
[३७]
आउँदा नुन भनेर आयो भन्सारभित्र,
एक क्विन्टल सुन रहेछ कस्तो बिचित्र।
-होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[३८]
सादा तलबले त आधुनिक भवन बन्दै बन्दैन,
भन्सारले जाँचपास गर्यो, म चाेर कसैले भन्दैन ।
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[३९]
विदेशको चिनो ल्याए अहो ! कस्तो दु:ख पाइन्छ,
सेटिङ छ सुन तस्करीबाट मात्र कमाइन्छ ।
-भगवती दवाडी
[४०]
भारे भुरे सामान रोक्नु भान्सारेहरूको काम,
बहुमुल्य सामान भेट्टिए आफैँले पार्छन् झ्वाम ।
-बाबुराम गौतम, गुल्मी
[४१]
भयो नेपाल नै खाने, भ्रष्टाचार अजिङ्गर,
अवैध सुन भित्र्याए, बनाए स्वर्णकै घर ।
-रामशरण न्यौपाने,भक्तपुर
[४२]
सुनौली पारि घरीघरी लुकिछिपी गर्छिन्,
देखिन चाहे समातिन्छिन् नत्र ढुक्क पर्छिन् ।
-सुस्मिता अधिकारी