‘मेरो धरती, गणतन्त्र र हुटिट्याउँले थामेको आकाश’ – कविता

  • १६ जेष्ठ २०८०, मंगलवार २२:०९ मा प्रकाशित
  • मेरो धरती, गणतन्त्र र हुटिट्याउँले थामेको आकाश’ – कविता

    मेरो निलो
    आकाशमाथिको
    कालो बादललाई चिरेर
    मेरो धरतीको माझ
    खुसीले उदाएको हो
    गणतन्त्र!
    र ल्याएको हो
    मेचीदेखि
    महाकालीसम्म
    अनेक थान खुसीहरू !

    कतै
    अस्तव्यस्त छ
    कतै
    कसैलाई गजब मस्त छ
    बारीमा छेपारोहरू
    रङ्ग फेर्छन्
    र आफ्नो काम गर्छन्
    राज चलिरहन्छ
    गणतन्त्रको आवरणमा
    रमाउँछन् उनीहरू !

    कोही
    डुबुल्की मार्छन्
    कोही
    तीरमा बसेर
    रमिता हेर्छन्
    यो गणतन्त्रको तलाउमा
    भ्यगुताहरू!
    निर्दोष माछाहरू खान्छन्
    तिनै भ्यागुताहरू!
    काला सर्पद्वारा समातिन्छन्
    मारिन्छन्
    र खाइन्छन्
    अनि लाग्छ
    कुनै उत्सव मनाउँदै छ !

    यो मेरो हाँडी गाउँ हो
    जहाँ
    एक पृथक जात्रा लाग्दछ
    र त भनिन्छ
    हाँडी गाउँको जात्रा
    हो
    त्यहाँ पनि आएको छ
    गणतन्त्रको नाउँमा
    महाकुम्भ मेला !

    एकातिर
    मौसम फेरिएको छ
    हुरी चलेको छ
    आँधी आएको छ
    अर्कोतिर
    गणतन्त्रको नाउँमा
    काला भोटे कुकुरहरू!
    खैरा स्यालहरू!
    बिरालाहरू!
    क्रमशः
    -याल निकालिरहेका छन्
    मासुभात खाने
    हाडहरू चुस्ने बाहानामा
    बगैँचामा
    वरिपरि घुमिरहेका छन्
    लाग्छ
    हुटिट्याउँले
    आकाश थामिरहेको छ !

    कुर्सीको वरिपरि
    सिंहहरू!
    क्रमशः घुमिरहेका छन्
    गणतन्त्रको गन्ध
    चारैतिर फैलिएको छ
    प्रदुषित
    यो वातावरणमा
    सुगन्ध खोज्दै
    वनचरीहरू उडिरहेका छन्
    आफ्नो गन्तव्यमा
    क्षितिज हेर्दै
    सगरमाथा उक्लिरहेका छन् !!

    • आर्त अकुलीन, कैलाली

    Leave a Reply