साताको तीन लघुकथा

  • २ बैशाख २०८०, शनिबार १८:०० मा प्रकाशित
  • साताको तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (२८ औँ) शृङ्खलाका लागि लघुकथाकार समीर पाख्रिनको ‘ढुक्क’, लघुकथाकार प्रभा देवी पौडेलको ‘मनोवृत्ति’ र लघुकथाकार गम बयम्बु मगरको ‘सुरक्षा’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा : ढुक्क

    ✍️ समीर पाख्रिन
    भूकम्पको धक्का महसुस गरियो । मानिसहरू उहीँ पुरानै पारामा आतत्तिँदै कराउँदै हुरूहुरू घर बाहिर निस्किए । र, सडकमा जम्मा भए ।

    भीडबाट एकजना बोल्यो- “खै त खुलानन्द बा ? देखिएनन् त ? “
    सबैले भीडमा खोजे । उनलाई नदेखेपछि नाता पर्ने एकजना केटो खुलानन्दको नवनिर्मित तीन तले घरमा छिर्‍यो । र, सिँढी उक्लदै तीन तलामा पुग्यो । बुढा आफ्नो कोठामा सुस्ताइरहेका थिए ।

    “ए, हजुरबा ! तपाईं एक्लै के गर्दै हुनुहुन्छ ? भूकम्प गएको थाहापाउनु भएन ?” केटोले सोध्यो ।
    “ए हो, कहिले ? मैले त थाहै पाइन त ! आएर फर्की पनि सक्यो कि ? ” बुढाले ठट्यौँली पारामा सोधे ।

    “हिँडनोस् बाहिर फेरि पनि आउन सक्छ ।” केटोले पाखुरामा समातेर तान्दै भन्यो ।
    “हरे शिव ! त्यैँ भाग्न नपरोस् भनेर त यति बलियो घर बनाको । तँ जा बाबु मलाई आराम गर्न दे ।” खुलानन्द ढुक्क साथ विछ्यौँनामा पल्टिए ।
    ०००
    हेटौडा, मकवानपुर ।
    २०७९/ १२/ २६

    २)
    लघुकथा : मनोवृत्ति

    ✍️ प्रभादेवी पौडेल
    “एकछिन पख त बहिनी ! के गर्न लागेकी यस्तो ? छिटो तल झर।”
    “अहँ दिदी ! मलाई नारोक्नुहोस् । म बाँच्न चाहन्न ।”
    “त्यसो भनेर कहाँ हुन्छ र बहिनी, बरू के भयो भन ?”

    मन्दिर जान हिँडेकी मञ्जुले आत्महत्या गर्न रुखमा चढ्दैगरेकी चन्दालाई अकस्मात् रोकेपछि उनी तल झरेर छाती पिटीपिटी रुन लागिन् र भनिन्- “दिदी ! म अब कस्को आधारले बाँचौँ ?”
    “किन र बहिनी ! त्यस्तो के भयो तिमीलाई ?”
    “के भएन भन्नु न दिदी ! रातदिन जाँड खाएर हिँड्ने बेइलमी लोग्ने । भनेको नमान्ने तन्नेरी छोरो । एकबारको जिन्दगीमा कति सहनुँ ?”

    “आत्म हत्या गर्दैमा समस्या समाधान हुन्छ त लाटी ? नारी त पृथ्वी हो रे भन्छन् । आ-आफ्नो भागमा जे पर्छ त्यहीँ भोग्नुपर्छ ।” भन्दै मञ्जुले सम्झाएर चन्दालाई कोठामा लगिन् ।
    धेरै दिनको भोकले होला उनी निकै कमजोर देखिएकी थिइन्। मञ्जुले छिटो छिटो गरेर चिया पकाइन् र एक पुरिया बिस्कुटसँगै दिइन् । चिया पिउने क्रममा मञ्जुले भनिन्-,
    “बहिनी ! तिम्रो बुढाले त रक्सी मात्रै खाने रहेछन् । मेरो बुढाले त हातपात पनि गर्दथे । यी हेर, यो दाहिने हात चिर्पटले हानेर भाँचिदिएका । अझैपनि झरी बादलमा दुख्छ।”

    यो सुनेर चन्दाले आफ्नो बुढासँग तुलना गरी र अलिकति मुस्कुराई।
    “कुनैसँग लसपस छ कि छैन नी ?”
    “त्यो त छैन दिदी ।”
    “हाम्रोले त अर्कोसँग मिलेर मलाई घरबाट निकालेको हो । त्यसैले त म दस वर्षदेखि यो ठाउँमा बस्दैआएकी छु । अझ छोराले त उड्नेमा जहाज र गुड्नेमा बस बाहेक सबै खान्थ्यो । बिहे पनि आफूखुसी गरेर बाहिर बसेको थियो ।”
    यो सुनेपछि त झन् चन्दाको मुहारमा कान्ति छायो । उनले यहाँभन्दा बढी सुन्न चाहिनन् र बसेको ठाउँबाट जुरुक्क उठिन् र भनिन्,-
    “दिदी कुनै दिन धेरै अत्यार लागेछ भने हजुरलाई सम्झिएर आउँछु है ?”

    यी सबै कुरा सुनेकी पल्लो कोठाकी पार्वती आमा उनी जानेबित्तिकै आइन् र भनिन्,-
    “नानी तिम्रो त बिहे नै नभएको भन्या होइन र ?”
    “हुन त हो आमा ! तर अरूको उपकार हुन्छ भने कहिलेकाहीँ झुट पनि बोल्नुपर्छ भन्छन् । मलाई महाभारतले सिकाएको ।”
    भरतपुर ९ ,चितवन
    २०७९ / १२ / ३०

    ३)
    लघुकथा : सुरक्षा

    ✍️ गम बयम्बु मगर
    शुक्रबारको दिन । दिउँसोको एक बजेतिरको घटना हो । छोरोलाई लिन स्कुलतिर निस्कँदै थिएँ । घाम उखरमाउलो थियो । घरबाट दस मिनेट जति पाइला बढाउँदै गर्दा हान् हान्, पकड् पकड् भन्ने होहल्लाको आवाज कानमा ठोक्किन आइपुग्यो। टक्क रोकिएँ । के भएछ भेउ पाउनु थियो मलाई । पक्की सडक सुनसान थियो । अलमलमा परेँ ।

    अलिपर मान्छेहरूको भीड देखियो । टोलको एक घरबाट सुनको सिक्री र पैसा चोरेर भाग्दै गरेका चोरहरूलाई टोलबासीले घेरा हालेका थिए । चोरहरू खुकुरी नचाउँदै थिए भने पाँच छ जना टोलका युवाहरू हातमा रड, चिर्पट लिएर तयारी अवस्थामा थिए ।

    त्यही छेउको पक्की सडकबाट साईरन बजाउँदै प्रहरीको गाडी आयो । भीडमा जम्मा भएकाहरूले सोचे “ढुङ्गा खोज्दा देवता मिल्यो।” अघिपछि दुई दुई वटा भ्यान र बीचमा एउटा चिल्लो गाडी खुल्ला सडकमा आइरहेको थियोे । सायद प्रहरी भ्यानले सरकारका ठूलै मन्त्रीको सवारी सुरक्षा दिँदै थिए ।

    त्यो भीडबाट चार/पाँच जना मान्छे प्रहरी भ्यानतिर दौडिए । चोरलाई नियन्त्रणमा लिन प्रहरीलाई गुहारे । तर एक सयमा डायल गरी खबर गर्न सुझाएर सुरक्षाकर्मीको भ्यान गन्तव्यतिर हुँइकियो ।
    निस्दी गाउँपालिका-६ अर्चले, पाल्पा
    मिति-२०७९/१२/२९

    Leave a Reply