साताको तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (२९ औँ) शृङ्खलाका लागि आमा विशेष लघुकथाहरू लघुकथाकार डा.श्यामप्रसाद न्यौपानेको ‘आमाको माया’, लघुकथाकार अनुराग अरुणको ‘आमाको मन’ र लघुकथाकार नन्दलाल आचार्यको ‘माया’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१)
लघुकथा: आमाको माया
✍️ डा. श्यामप्रसाद न्यौपाने
सधैँको ऐय्या ! ऐय्या !! सुनिरहनुपर्दा उसलाई वाक्क लागिरहेको थियो । अतिथिहरूले पनि आमाको स्वास्थ्योपचारमा ध्यान नदिएको भन्ने लाञ्छना लगाउँछन् कि भन्ने आशङ्काले पनि ऊ भित्रभित्रै प्रताडित थियो ।
वृद्धाश्रममा राख्ने निश्चय गरी उसले “आमा ! केही दिन हजुर मन्दिरमा बसी भजनकीर्तन गर्नुहोस् ।” भन्यो ।
“बाबु ! आमाबाबुको लागि जहाँ आफ्ना छोरानाति छन् त्यही मन्दिर हो, त्यही तीर्थ हो । अब मलाई कतै जान मन छैन ।”
“होइन आमा, हामी दिनभरि कामको सिलसिलामा घरबाहिर हुने, हजुर एक्लै बस्दा दिक्क लागेको होला । त्यहाँ हजुरजस्ता अरू वद्धवृद्धा पनि छन् । दिन बिताउन सजिलो होला भनेर पो त ।” उसले भन्यो ।
आमा केही भन्न खोज्दै थिइन्, उसले झोला बोकेर “लौ हिँड्नुहोस्, बुढाबुढीले त भजनकीर्तन पो गर्ने हो ।” भनी आमालाई लिएर हिँड्यो ।
आमालाई वृद्धाश्रम पुर्याएर फर्कँदै गर्दा उसलाई ठेस लाग्यो । आश्रमको ढोकाबाट हेरिरहेकी आमाले उसलाई ठेस लागेको देखेर भनिन् “बाबु ! बेस्सरी दुख्यो कि ! बाटो हेरेर हिँड न ।”
सुनवल १२ पश्चिम नवलपरासी
२०८०/०१/०५
२)
लघुकथा : आमाको मन
✍️अनुराग अरुण
विष्णुमायाका दुई छोरा र तिन छोरी छन् । दुइटै छोराहरू अमेरिकामा घरजम गरेर बसेका छन् भने दुई छोरी र ज्वाईंहरू अष्ट्रेलियामा छन् । कान्छी छोरी र ज्वाईं क्यानडामा छन्। घरमा बुढा र बुढी मात्रै छन्। घर र खेतबारीको स्याहार सुसार गर्न एकजना मान्छे राखेका छन्।
आज मातातीर्थ औँसी, बिहानैदेखि बुढाबुढीको अनुहार न्यास्रो छ । किन हो, मनले मानिरहेको छैन। छोराछोरीहरू टुप्लुक्क आउँछन् कि भनेर बेलाबेलामा विष्णुमाया दैलोबाहिर गएर सडकतिर नियाल्छिन् । उनको यो चालामाला देखेर बुढाले भन्छ,- “ए विष्णुमाया तैँले छोराछोरी आउँछन् कि भनेर हेरेको हो ?”
आँचलले आँसु पुछ्दै मुन्टो हल्लाएर बुढाको कुरामा स्वीकृति जनाउँछिन्, विष्णुमायाले ।
- “भो सुर्ता नगर् ! छोराछोरीहरू आउँदैनन्। मजाले कमाएर विदेशमा घरजम गरेकाहरू के काम पाएर आउँथे र गाममा।”
विष्णुमाया केही नबोली न्यास्रो अनुहार लगाएर बसेकी छन्। एकछिनपछि फेरि सडकतिर हेर्न जान्छिन् । अति भएपछि बुढाले भन्छ,- “के हेरेकी ? आउँदैनन्, भो नहेर् !”
मलिन अनुहार लगाएर भन्छिन्,- “आमाको मन न हो। हत्तपत्त मान्दैन। छोरा-छोरीहरू टुप्लुक्क पो आइहाल्छन् कि भनेर हेरेको।”
यसरी बाटो हेर्दाहेर्दै दिन बित्छ, साँझ अनि रात पर्छ। बुढी भात नखाई सुत्न लागेकीले बुढाले भन्छ,- “अलिकति भात त खाएर सुत् । जिउँमा अलि बल मिल्छ । छोराछोरीहरू आएनन् भनेर कत्ति चिन्ता नले।”
- “खाने मन छैन।”
- “खाएन भने, मर्छेस्।”
- “यसरी मन कुडाएर बस्नुभन्दा बरु मर्नु जाति” भक्कानिदै भन्छे । “चाडपर्वको बेलामा छोराछोरीहरू घरमा नआउँदा कस्तो नरमाइलो लाग्छ। मन न्यास्रो भएर आउँछ।”
- “रोएर के गर्छेस् । आउँदैनन्।”
बुढाको कुरा सुनेर हिक्क हिक्क गरेर ओछ्यानमा पल्टिन्छिन् । निन्द्रा लाग्दैन । कतै छोराछोरीहरू टुप्लुक्क आउँछन् कि भनेर ननिदाई जागा बस्छिन् । बिहान भाले बास्छ, “कुखुरी काँ।”
- महालक्ष्मी, ललितपुर
७ बैसाख, २०८०
३)
लघुकथा : माया
✍️नन्दलाल आचार्य
“बाँचेँ धेरै कुरा पाइएला, भाग्नुस् ।” खुट्टा लरबराउँदै बच्चाले आमालाई भन्यो ।
चारैतिरबाट शत्रुले घेरा हालिसकेका थिए । आमा, बच्चो बिचमा असाध्यै बिचल्लीमा थिए । कारुणिक दृश्य देखेर शत्रुहरू हाँसे ।
शत्रुहरू आलो रगत मासुको खोजीमा थिए । बलियी आमा र कमजोर बच्चो ! उनीहरूले साधन साध्य दुवै ठान्न पुगे । मुख मिठ्याउँदै नजिकै आइसकेका थिए । आमालाई परिबन्दमा फँसाउने दाउमा थिए ।
“तपाईं बाँचे मजस्तै अर्को जन्मन्छ ।” आमालाई भागेर ज्यान बचाउन उकास्यो । आमाको कानमा शब्दहरू मज्जाले ठाेक्किए । बच्चो फँस्दा भागेकी आमा फर्किन् । शत्रु मिलेर उनलाई ङ्याक्न थाले ।
बच्चाको ममताले आमालाई क्वाप्लाक्कै पार्यो । पिठ्युँ फर्काएर दौड्दा पनि बचिनन् । “तैँले तुरुन्तै मुर्दा बनेर बच्नू !” आमाले भनेको बच्चाले बरोबर सम्झियो । स्वविवेकले आमा कालको मुखमा परिन् ।
“म भाग्थेँ वा मरिदिन्थेँ ।” बच्चाले आमाको आत्मसमर्पणमा असन्तुष्टि जनायो । फर्केर आउनुको कारण खोतल्न खोज्यो । आमाले जीवनको अन्तिम श्वासमा भनिन्; “मलाई खाएर तँलाई छाड्लान् भनेर !”
२०८०/०१/०७ मातातीर्थ औँशी सिर्जनाकुटी, सिरहा ।