साताका तीन लघुकथा

  • २४ चैत्र २०७९, शुक्रबार १२:२७ मा प्रकाशित
  • साताको तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (२७ औँ) शृङ्खलाका लागि वरिष्ठ लघुकथाकार डा.विदुर चालिसेको ‘लय’, लघुकथाकार किशन पौडेलको ‘निरुत्तर’ र लघुकथाकार विवेक दुलाल क्षेत्री ‘दमक’को ‘लालायित’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा : लय

    ✍️डा. विदुर चालिसे
    “कति जल्छौ आरिसैले, अझै जल्दै गर ! म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर !”
    जति याे बाेलकाे गीत कानमा पर्थ्याे, अगाडि बढ्ने सङ्कल्प त्यति नै दृढ थियाे । त्यसैले सङ्कल्प घाेरिएर बस्थ्याे । उसकाे साथमा रहेका ध्वनिले निकालेका शब्दहरू झ्याउँकिरीकाे लय निकालेर पुन: साथमा कराउँथे। आरिसका साथ वेदना र पीडा उकुसमुकुस हुन्थे । सहन एक अभियान थियाे । भावुकताकाे लय र करूणाकाे भयमा मन बर्बराउँथ्याे ।

    “म त उसै झ्याउँकिरी, कराइरहने झ्याइँ झ्याइँ !” नजिकै रहेकाे अल्लारे गुनगुनाउन थाल्याे । उसलाई जीवनकाे वैराग्य थियाे । पुतली र झिँगाहरूकाे एक विशेषसभामा उसले पन्डित्याइँपूर्ण आराेपमा घाेषणाा गर्‍यो।
    “अब बाटाे बन्द गर ।”
    “के काे बाटाे ?”
    “त्यसकाे बाटाे ।”
    दर्शकहरू सबै वाल्ल परे । कसैले कुनै पनि कुरा बुझ्न सकेनन् । अल्लारेकाे गलामा माला थियाे । सायद प्लाष्टिककाे थियाे । प्लाष्टिककाे रङ्गिन मालाकाे अत्तरकाे सुगन्ध घट्दैगएकाे थियाे । नक्कली मालाकाे सुगन्ध उडेपछि पाेतिएका रङ्गले आँखा तिर्मिराएकाे थियाे । अत्तरकाे सुगन्धमा झुम्मिएका पुतली र झिँगाहरू बिस्तारै गलाबाट भाग्न थाले । अल्लारे चिच्याउन थाल्याे ।
    “अब बन्द गर, बन्द गर ।”
    उसकाे अत्तालिएकाे स्वर सुनेर सबैले मुख बन्द गरे । सङ्कल्प दृढविश्वासमा अगाडि बढिरह्याे । पुतली र झिँगाहरू नयाँ गीत गाउन थाले ।
    –“बन्द गर । अब तिम्राे मुख बन्द गर ।”
    अल्लारेलाई रिस उठ्नथाल्याे । उसले एक नयाँ सङ्गीतकाे धुनले फेरि लय भरेर लघुकथाकाे प्रवचन दिन थाल्याे ।
    “सिम्फाेनीमा तिम्राे माया । माया गर्दै गर !”

    २)
    लघुकथा : निरुत्तर

    ✍️किशन पौडेल
    “यो गरिबलाई केही सहयोग गर्नुस् ! पुरानो कपडा र केही खानेकुरा भए दिनुस् हजुर !”
    घरको बरन्डामा आएर एउटा मैलो बोरा बोकेको झुत्रो मान्छे ठिङ्ग उभियो । म हत्तपत्त मास्क लगाएर बाहिर निस्किएँ ।

    “हामी महामारीले मरिन्छ कि भन्ने डरले घरभित्र लुकेर बसेका छौँ । तिमी चाहिँ निस्फिक्री मास्क पनि नलगाई घुमिरहेछौ । तिमीलाई कोरोनादेखि डर लाग्दैन ?” म अलिक कडा स्वरमा म झोक्किएँ । मेरो त्रासदीपूर्ण कडा प्रश्नले ऊ झस्कियो ।

    “कस्तो कोरोना ! के हो कोरोना भनेको हजुर ?” उसको अनभिज्ञता देखेर म झन् अचम्मित भएँ ।

    “अहिले सारा विश्वमा महामारी फैलिरहेको छ । मान्छेहरू मरिरहेछन् । थाहा छैन तिमीलाई ?” मैले उसलाई कोरोना महामारीको बारेमा बुझाउने कोसिस गरेँ ।

    “खै हजुर ! पत्रपत्रिका पढ्न आउँदैन । हातमा मोबाइल छैन । त्यहीँ खोला किनारमा प्लास्टिकले बेरेको झोपडीमा जिन्दगी चलिरहेको छ । लालाबालाहरू छन्; भोकले कराई रहन्छन् । हामीलाई रोगसँग त्यति डर लाग्दैन । भोकले चाहिँ मरिन्छ कि भन्ने डर लाग्छ । केही खानेकुरा भए दिनुस् हजुर !”
    उसको दयनीय पूर्ण अनुनयले म निरुत्तर भएँ ।
    °°
    हेटौंडा-४
    २०७९ चैत २४

    ३)
    लघुकथा : लालायित

    ✍️ विवेक दुलाल क्षेत्री’दमक’
    “उनीहरू किन गैरहेका छन् जुनकीरी ?”
    “चोक्टा खान ।”

    “चोक्टा भनेको के हो नि, जुनकीरी ?”
    “चोक्टा मासुभन्दा मिठो खानेकुरा । अर्थात् स्वादिलो चिज । त्यो पाउन मान्छे लालायित हुन्छन् । झन् पाइसकेपछि कसैलाई गन्दैन ।”

    “त्यही भएर पो कर्मचारीहरू, राजनितिकर्मीहरू विद्यार्थीहरू, शिक्षकहरू, व्यापारीहरू, डाक्टरहरू, समाजसेवीहरू, स्रष्टाहरू, पत्रकारहरू त्यता लागेका रहेछ्न् है ?”

    “लागेका रहेछन् मात्र होइन लागे । सबैले नीति नियम पालना गर्नुपर्छ । अनुशासनमा बस्नुपर्छ पनि भनिन्छ । तर यिनीहरू नै तोड्छ्न अनि केही नगरे झैँ पन्छिन्छ्न् ।”

    “अमूर्त कुरा नगर्नु न, जुनकीरी ! खासमा के चाहिँ गर्छन् भन्न खोजेको ? मैले बुझिनँ ।”

    “ल सुन ! कर्मचारी तलबको सट्टामा घुसमा निर्भर हुन खोज्नु । विद्यार्थीले पढ्न छोडेर राजनीति गर्नु । शिक्षकले विद्यालयको सट्टा निजी बोर्डिङमा गएर पढाउनु । डाक्टरले बिरामीको रोगभन्दा कति लुट्न सकिन्छ, भन्नेमा ध्यान दिनु । व्यापारीले चामल, पिठो, तेल आदिमा मिसावट गर्नु । नेताले जनताको पीरभन्दा राजधानीमा घर बनाउन जोड गर्नु । समाजसेवीहरूले अनाथालयको नाममा केटाकेटीहरूलाई परोक्षमा यौन शोषण र बालमजदुरीमा खटाउनु । लेखकहरूले जिम्मेवार प्रतिपक्षको भुमिका बिर्सेर सत्ताले दिने पुरस्कारहरूमा र्‍याल काढ्नु । पत्रकारहरू हरदम शक्तिको भजन मन्डलीमा लाग्नु ।”

    “भनेपछि चोक्टाको लागि यत्रो जालो ? यसको अन्त्य नै हुँदैन त जुनकीरी ?”

    “हुन्छ, किन नहुनु नि । त्यसमा सम्पूर्ण निकायका मानिसहरूले आत्मशुद्धीमा ध्यान दिनुपर्छ । माटो र सर्वसाधारणमा आफूले गर्ने कर्मबाट बाधा नपरोस् भन्ने सोच्नुपर्छ । पीडितको मुद्दालाई सत्ताको या प्रतिपक्षको प्रभावमा नपरी पिडकलाई सजाय दिनुपर्छ । हरेक नागरिकको मन खराबी हटाउने कुरामा लालायित हुनुपर्छ ।”

    दमक बजार ,झापा
    हाल – अबुधाबी ,युएइ ।

    Leave a Reply