
काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७६ औँ शृङ्खला यही चैत ४ गते शनिबार सम्पन्न भएको थियो।
अभ्यासमा नेपाल लगायत विश्वका ४७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७६औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
संसारमा अरू को छ, म झैँ जान्ने हेर ?
दुनियाँ सारा भुसुना हुन्, म सवा शेर ।
वसन्त अनुभव
घोराही, दाङ

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
यतिविधि दम्भ किन ? गर्छौ आडम्बर,
आज छ भोलि फुस्स, छैन सासको भर ।
🌑वसन्त अनुभव
घोराही, दाङ
[२]
अरूले तपाईं भनुन् या नभनुन् आफैँ ठूलो बन्नुहुन्न,
आफैँलाई फसाउने खाडल कवै आफैँले खन्नुहुन्न ।
🌑गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ
[३]
जीवनको भर छैन है कतिबेला के हुन्छ ?
मान्छे बिग्रिएको देखेर भित्री हृदय छुन्छ।
🌑अम्विका अधिकारी
झापा विर्तामोड
[४]
पैसा फिँजेर ज्यादा, सामर्थ्य नै किनेर,
नेपालभित्र ऐले, बन्छन् नि स्याल शेर।
🌑रामशरण न्यौपाने
भक्तपुर
[५]
जान्ने सुन्ने मै हुँ भन्दै तिमीले धक्कु लाउने,
हेर्दै जाऊ न आखिरमा पक्का दु:ख पाउने।
🌑धन कुमारी रेग्मी
चितवन
[६]
मै जान्ने, मै तान्ने, मै छान्ने, अरू काे सक्ने ?
म जतिको ठूलो कुरा को छ र बक्ने ?
🌑दीपक ठटाल जलन,१७.०३.२३
[७]
यही दम्भ लिएर हो तिम्रो भाउ छैन,
दुनियाँले के भन्या छ कुरो बुझ्ने हैन ।
🌑सरिता सेढाई
धादिङ
[८]
अहङ्कार ले भरिएको पोको, कुनैदिन अवस्य नैँ फुट्छ,
त्यसैले घमण्ड गर्नुहुँदैन, स्वतन्त्र भई अधिक जुट्छ।।
🌑कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[९]
ठूला मान्छे जान्ने बुझ्ने आफू नै हाे भन्छन्,
अरूलाई तल झार्दै नजान्नेमा गन्छन्।
🌑शाेभा आचार्य गाैतम,
काठमाडौँ
[१०]
काम कुनै गर्नुछैन, बकम्फुसे गफै चाहिँ धेर,
गाउँमा खान नपाउने, सिंहदरबारको शेर।
🌑शंकर कार्की
मकवानपुर
[११]
देखियाे देखियाे धाकभन्दा धक्कु ठूलाे,
तिमीले चालेकाे पाइला त साह्रो लुलाे ।
🌑प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[१२]
अहिलेसम्म बोलेको कुरा गएको छैन खेर,
गर्व गर्ने गर्छु आफूले आफूलाई यहाँ हेर ।
🌑हिमा रोका
मेहेलकुना सुर्खेत
[१३]
शेर भनी ढाेगी रा’काे भए छ नि धेर,
एक भई पुल्ठाे बाल्छाैँ गर्जिएर हेर ।
🌑निरज कोइराला
बेलका१ उदयपुर, हाल, इटहरी
[१४]
महान् भनी कसैले गिन्ती गर्ने हैन,
बुद्धि भन्ने शून्य छ काम छँदै छैन ।
🌑योगेन्द्र भट्टराई
खोटाङ
[१५]
आँखामा त पट्टी रैछ त्यही माथि लाएछ घमण्डको जालो,
आफूलाई शेर मान्ने रैछौ बस्छौ होला मन बनाई कालो ।
🌑पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
[१६]
धन सम्पत्तिको के धाक लगाउँछौ, पछाडि फर्की हेर,
धनाढ्य पनि मर्छ एकदिन, कुबुद्धिले के हुनु शेर ।
🌑टिकाराम ओउन टिपु
सल्यान छत्रेश्वरि गाँउपालिका २
[१७]
जो शक्तिमा गए पनि यहाँ त आफ्नो मात्रै भुँडी भर्ने,
सामान्य जनताको भलाइ हुने काम कसले गर्ने ?
🌑पवन कुमार बुढाथेाकी
काठमाडौं
[१८]
दम्भको भाव बोकेर हिँड्ने गाउँ र सहर,
संसार सारा सबैमा बढ्यो हेर लौ कहर !
🌑आर्त अकुलीन, कैलाली
[१९]
तिम्रै नाम तिम्रै जप म गर्दछु,
कुर्सी पाइन्छ भने साँच्चै मर्दछु !
🌑राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौँ
हाल- प्रवास
[२०]
जान्ने सुन्ने आफैँ भई नगर त्यो दम्भ धेर,
दुनियाँ अगाडि लम्पसार बन्नु पर्ला शेर ।
🌑बेदु न्यौपाने
काठमाडौ ❤️
[२१]
सर्वेसर्वा हुँ भन्नेको झार्नुपर्छ सेखी,
सावधान हुनुपर्छ त्यस्ता मान्छे देखी ।
🌑बाबुराम पाण्डे
शीतगंगा अर्घाखाँची
[२२]
आफूलाई ठूलो ठानी मात्र अरूलाई दिँदा दुःख,
सधैँ यस्तै नहोला कुनै बेला कुच्याईदेलान् मुख।
🌑अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,म्यासाचुसेट्स बोस्टन।
[२३]
सबै छन् जान्ने सुन्ने मपाइँ बन्नेहरू,
आफू मात्र महान् देख्छन् भुसुनाे झैँ अरू।
🌑ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[२४]
ठूलो गर्जन निकालेर आकाश छुन खोज्छु,
जेसुकै भनून् साराले फराकिलो बाटो रोज्छु ।
🌑डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[२५]
मै हो संसार देखेको र अरू सबै अन्ध
मै हो दुधले नुहाएको अरू सबै गन्ध ।
🌑प्रेम थापा “मन”
बागलुङ
[२६]
गधाले बाघको खोल ओढेर बाघ बन्दैन,
असली बाघ भेटिएमा यसको काम छैन।
🌑सुरेशकुमार पान्डे।
दाङ घोराही १८
[२७]
मै हुँ जङ्गलको राजा, म नै हुँ शेर,
म गर्जिए थर्कमान हुन्छ, लौ हेर ।
🌑बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[२८]
घमण्ड नगर एकदिन त्यो अवश्य तोडिन्छ,
भुल स्वीकार गर, जीवन असलमा मोडिन्छ ।
🌑अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा
[२९]
घमन्डले यहाँ हेर न को अघि बढेको,
कुर्सीको धाकमा महङ्गाे गाडी चढेको ।
🌑सुमित्रा पोखरेल
काठमाडौं
[३०]
दम्भको झण्डा गाडेपछि हल्लिरहने भो तुल,
वरिष्ठ मै हुँ भन्नेले कैले देख्दैन आफ्नो भूल।
🌑बि.कुलुङ
दार्जिलिङ
[३१]
म नै हुँ देशको राजा मलाई सम्मान गर,
हो तिमी जस्ता सोझासाझाको लाग्दैन नि डर !
🌑विक्रम तिरूवा सलिन
जुम्ला
[३२]
भाषण मात्र ठूला काम छैन उस्तै मति पारा,
भुलाएर जगत दुनो आफ्नै सोझ्याउँछौ सारा।
🌑जमुना आचार्य
सिन्धुपाल्चोक
[३३]
मान खोज्दछन्, घरकी स्वास्नी कुट्ने,
इमानदारी भन्दछन् देश लुट्ने।
🌑होम प्रसाद
धरान,सुनसरी ।
[३४]
दम्भ बोकी हिँडिराख लड्नेछौ एकफेर,
सत्यताकै जीत हुन्छ जहिले पनि हेर ।
🌑कमला देवकोटा
[३५]
स्यालले पनि बाघ हुँ भन्छ, कुरा के गर्छौ धेर,
भुसुनै काफी हुन्छ पक्कै, हात्तिका शिरमा हेर ।
🌑लक्ष्मण अधिकारी ” प्रयास “
हाल : काठमाडौ
[३६]
आफ्नो ओैकात भन्दापनि लगाउँछन् धाक नै ठूलाे,
आइपर्दाखेरि अघि सर्न परे खुट्टा हुन्छ लुलाे।
🌑सहयात्री शाेभा अर्याल
बुटवल , रुपन्देही
[३७]
संसारमा मपाईँत्व चुलिएर गयाे,
स्वार्थसँगै दम्भकाे ठूलै राज पाे भयाे ।
🌑त्रिलोचन भण्डारी
मेचीनगर, झापा
[३८]
आँट गरेउ बधाई छ, बुद्धि पनि चाहिन्छ,
घमन्डले नै जित्छु, भन्ठानेमा दुःख पाइन्छ।
🌑रोजिन श्रेष्ठ
खोटाङ
[३९]
सर्वश्रेष्ठ आफूलाई नै ठान्छौ भने हेर,
फोस्रो घमण्ड चुर हुन लाग्ने छैन बेर ।
🌑बाबुराम गौतम
गुल्मी
[४०]
स्यालले पनि त्यसै भन्छ, म हुँ जङ्गलको राजा,
जब पर्छ सिंहको सामुन्ने, बनाइदिन्छ खाजा।
🌑मन्दिरा सेढाई
मलेखु,धादिङ
[४१]
मानवता क्षीण हुँदै जान थाल्यो हेर,
परायाकाे संस्कृतिमा चासो दिँदा धेर ।
🌑केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[४२]
जहिल्यै घमण्ड गर्ने हो हामी अमिलाले,
हात्ती ठूलो हुन्छ नि तर खान्छ कमिलाले।
🌑रामप्रसाद पुरी
बादेल खोटाङ
[४३]
मै हुँ जान्ने मै हुँ सुन्ने यो सन्सारका कुरा,
मै हुँ ठूलो व्हेल माछा अरू सब हुन् भुरा।
🌑नवशिला,
बेलबारी-२,लालभित्ती,मोरङ।
[४४]
आफूभन्दा दायाँबायाँ कोही छैन भन्ने,
सबै भए सानातिना आफैँ ठूलो बन्ने।
🌑दुर्गा आचार्य
मोरङ
[४५]
संसारमा आफूलाई मात्र ठुलो ठान्ने,
अरूलाई हेर यहाँ भुसुना झैँ मान्ने ।
🌑दुर्गा भट्टराई
मोरङ
[४६]
म नै जान्ने सुन्ने बन्दै छु नभन धेर,
कहिलेकाहीँ बाहिर तर्फ पनि हेर।
🌑भगवती दवाडी
[४७]
आफूमात्र जान्ने भनी भाषणमात्र गर्छन्,
केही काम गर्नुपरेमा हठात् पछि सर्छन्।
🌑सरस्वती श्रेष्ठ इटहरी