पानी बलियो कि पत्थर ? (कविता)

  • २७ फाल्गुन २०७९, शनिबार ०५:३५ मा प्रकाशित
  • तेजप्रसाद खनाल

    पानी बलियो कि पत्थर ? (कविता)

    घर बनाउन
    पत्थर चाहिन्छ
    हिलो मुछेर
    गार्‍हो लगाउन
    पानी चाहिन्छ
    पानी बग्दै
    पहाडबाट
    ढुङ्गा कुँदेर
    गोलो बनाउँछ
    लाग्छ पानी नै
    बलशाली छ
    मसिनो गरी नियाल्दा
    दुबै अब्बल छन्

    दुबै महत्त्वपूर्ण छन्
    आपसमा
    जति सङ्घर्ष चले पनि
    यी दुबै नभई हुन्न
    यी अलगिन खोजे पनि
    प्रकृतिले
    अलग हुनै दिँदैन
    प्रकृतिले समेत
    दुबैको अस्तित्व देख्छ
    महत्त्वपूर्ण मान्छ

    त्यसो त
    धर्तीमा पत्थर नभएको भए
    पानीको अस्तित्व हुन्थेन होला
    एकले अर्कोको अस्तित्व
    स्वीकार गरेमा मात्र
    प्रकृति खुसी हुन्छिन्

    आफ्ना सजीव
    वा निर्जीव
    सन्तान प्रकृतिलाई
    समान लाग्छ
    हामी मानवले
    यसको कसरी
    मूल्याङ्कन गर्नू र ?
    घर निर्माण गर्दा
    ढुङ्गाले मात्र घर अडिन्न
    पानीले मात्र घर ठडिन्न
    साथमा माटो चाहिन्छ

    त्यसैले
    दुबै
    र अन्य
    महत्त्वपूर्ण
    र बलवान् छन्
    विद्यार्थी छन्
    शिक्षकको अस्तित्व छ
    प्राणी छन्
    पृथ्वीको अस्तित्व छ
    मान्छे बस्छन्
    घरको अस्तित्व छ

    आ-आफ्नो ठाउँमा
    सबै ठुला छन्
    र महत्त्वपूर्ण
    प्राणी
    माटो
    ढुङ्गा सबै
    प्रकृतिकै सिर्जना हुन्
    त्यसैले लाग्छ
    प्रकृति नै
    बलिई
    र ठुली हुन् ।

    -तेजप्रसाद खनाल
    लमही दाङ।

    Leave a Reply