
काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७३ औँ शृङ्खला यही फागुन १३ गते शनिबार सम्पन्न भएको थियो।
अभ्यासमा नेपाल लगायत विश्वका ५० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ७३औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
देशभक्ति त खाली हौवा हो, गफ गर्ने कुरा,
जाने त उहीँ विदेशै हो, गर्न चाहना पूरा ।
वसन्त अनुभव
घोराही, दाङ

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
देशभक्ति भन्नु त देखाउने दाँत,
विदेशी पुँजीले भरिएकाे छ आँत ।
🌑ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[२]
सबैको यस्तै घटिया सोचले, देश हुँदैछ खाली,
केटाकेटी र वृद्धवृद्धा यहाँ, बस्छन् फटाहा जाली ।
🌑वसन्त अनुभव
घोराही, दाङ
[३]
देशभक्ति त जनतामा भन्दा नेतामा धेर हुनुपर्छ,
देशकाे बजेटले तल्लो स्तरकालाई पनि छुनुपर्छ।
🌑दीपक ठटाल जलन
[४]
देशभक्तिका गर्छन् सधैँ नै कुरा,
मीठाे बाेलेर ढाडमा हान्छन् छुरा ।
🌑केसर बाेहरा (सङ्घर्ष )
सुदुरपश्चिम अछाम ।
[५]
ठूला ठूला कुरा गरी गर्छु भन्छन् देशभक्ति,
जाली कुरा सुन्दासुन्दा मरेका छन् इच्छा शक्ति।
🌑मनोज खत्री अछामी
[६]
बिनासित्ती गफ गर्ने जति बस्छन् यहाँ
काम गर्ने स्वच्छ वातावरण छ जहाँ ।
🌑अर्जुन प्रसाद चौलागाई
रामेछाप:-सुनापति-१
हाल:-अमेरिका,म्यासाचुसेट्स बोस्टन।
[७]
देशभक्तिले मात्र के गर्नु पेटले मााग्छ खाना,
नाङ्गो भुतुङ्गाे शरिरमा, लगाउनु पर्ने नाना ।
🌑धन कुमारी रेग्मी
चितवन
[८]
देशभक्तिको कुरा गरि , दुई हात जोडि बिन्ती बिसाको,
हैन कस्तो खालको ? बाठ्ठो नबन पो भन्दै उल्टै रिसाको ।
🌑अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा
[९]
मानवता छँदैछैन आज मान्छे भित्र,
धनको लोभले रित्तायो समाज मित्र।
🌑सुरेशकुमार पान्डे।
दाङ घोराही १८
[१०]
देशभक्ति बनेर मात्रै पालिदैन जहान,
जाऊ विदेश कमाऊ पैसा बन्नेछौ महान ।
🌑सरिता सेढाई धादिङ
[११]
पहिले झोले बनिएन अहिले लाग्छ पिर,
डोरी लाहुरे बन्छु म त हिडे विदेश तिर।
🌑नवशिला,
बेलबारी-२,लालभित्ती,मोरङ।
[१२]
देशको माटो बिर्सेर गए कुराले के गर्नु ?
जिन्दगी भन्नु सुख र दु:ख आखिर छ मर्नु !
🌑आर्त अकुलीन
कैलाली
[१३]
देशमा चलेको बेरोजगारीको पिडाले गरिबी मर्दैछन्,
अर्काको देशमा पसिना जति बगायो त्यति दुःख सर्दैछन् ।
🌑अम्विका अधिकारी
झापा विर्तामोड
[१४]
विदेशमा बस्दा खोक्दा रहेछन् देशभक्तीको नारा,
फर्किउन् त स्वदेश, देखिनेछ नेताहरूकै पारा ।
🌑राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
हाल- प्रवास
[१५]
भाषणमात्र हो देश लुटाहाको परिवर्तन नठाने,
रोकिदैन बाँच्नको निम्ति कहिले पनि परदेश जाने।
🌑शंकर कार्की
मकवानपुर
[१६]
बनाउँछु देश भन्दै, खाए पोली,
भाषण मात्रै नेताको मीठो बोली ।
🌑हिमा रोका
मेहेलकुना सुर्खेत
[१७]
सत्तामा हालीमुहाली बुढाकै हुन्छ,
युवाको कुरा खोइ कसले पो सुन्छ ।
🌑बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[१८]
बाहिर गए मिल्छ तोडाका तोडा,
देशमा सदा फुटाउनुछ रोडा !
🌑कमला देवकोटा
पाल्पा
[१९]
निकम्मा सरकार बुझ्दैन, जनताको कहर,
नेपाली विदेशिनु बाध्यता हो, होइन रहर ।
🌑बिके माकजु
भक्तपुर ।
[२०]
परदेश पस्ने होइन, देशमै केही गर्नुपर्छ,
भोकै मर्नु परेमा पनि आफ्नै देशमा मर्नुपर्छ ।
🌑बाबुराम पाण्डे
शीतगंगा अर्घाखाँची
[२१]
देशमा अस्थिरता रोप्नेले यो के सोच्थे,
आफ्नो मात्र सोच्नेले आफ्नै भुँडीमा कोच्थे ?
🌑प्रेम थापा “मन”
बागलुङ
[२२]
पार्टीको पछि लागेर नै दाह्री जुँघा फुले,
विदेशीको गुलाम भएँ देशलाई भुले !
🌑बिबस पारदर्शी ।
[२३]
कथा ब्यथा आ-आफ्नै छन् यहाँ, देश छोडेर जाने।
बिकास को मुलधार छैन, कसरी गरिखाने?।।
🌑कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[२४]
कोही छैन देशको लागी अघि बढ्छु भन्ने,
सबै छन् यहाॅं भ्रष्टाचारी, पैसा मात्र गन्ने ।
🌑योगेन्द्र भट्टराई
खोटाङ दि.चु.गा.पा ४
[२५]
देशभक्ति त खाली गफ मात्र देखियो हैन,
आफ्नाे लागि मात्र सत्ता जनताको हित छैन ।
🌑शाेभा अाचार्य गाैतम,
काठमाडौँ
[२६]
के के देख्न पर्ने हो यी आँखाले
देश खत्तम पार्दैछन् डाँकाले ।
🌑पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
[२७]
कृत्रिम सीमा रेखा काेरेर, देश तेराे मेराे बनाएका,
साझा धर्ती बुझाउनु साटाे, याे वैमनस्यता खनाएका।
🌑मित्र उराठी गाैतम
अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा-२,रुपन्देही
[२८]
जुनै नेताहरू आए पनि धेरै हुन्छन् नि जाली,
यस्तो गर्छु उस्ताे गर्छु भनी भाषण गर्छन् खाली।
🌑सहयात्री शोभा अर्याल
रुपन्देही , बुटवल
[२९]
कति बने कति रोए, लागि पर्ने देशभक्तिका बालबच्चा टुहुरा,
गरिदिऔँ न मिलिजुली अब, वीर गोर्खालीका सपनाहरू पूरा ।
🌑चन्द्रकली राना मगर
नौबहिनी प्युठान
[३०]
स्वाभिमानी नेताले, लगाउँछन् हातमा चुरा,
अनैतिक र पतितले गर्दैनन् योग्य कुरा ।
🌑होम प्रसाद
धरान,सुनसरी ।
[३१]
यहाँ सपना देखावटी, आफ्नै हुन्छ पराइ,
बस्छन् तिनै मतियार मिलेर कुर्सी घुमाइ ।
🌑जि कुमार गौतम
भद्रपुर -१ झापा
[३२]
रोजगारी खै पर्याप्त बाहिर गइन्छ,
मिल्यो भने तारतम्य स्थायित्व भइन्छ ।
🌑जमुना आचार्य
सिन्धुपाल्चोक
[३३]
देशभक्ति त छ मनमा,
जीवन भोक छ धनमा ।
🌑सुमित्रा पोखरेल
काठमाडौँ
[३४]
युवा जति फेसबुकमा र हामी सत्तामा,
थाहा हुन्छ देशभक्त रम्न थाले भत्तामा ।
🌑म्यामराज राई
भोजपुर।
[३५]
थोरै तिनो जे भए नि आफ्नै देशमा कमाऊ,
नेपालमा जन्म लियौ यहि माटोमा रमाऊ।
🌑मन्दिरा सेढाई
मलेखु,धादिङ
[३६]
को छर यहाँ यो देशको लागि सही लिडर मान्ने,
पद भ्रष्ट नै नेता भएपछि विदेशीले के जान्ने ।
🌑टिकाराम पुन टिपु
[३७]
जो विदेश नगई छाड्दैन उसले हो गर्ने देशभक्तिका कुरा,
यहाँ बस्ने त छँदैछौँ लरेर बाँकी छाडेको खाने नेताका पुरा।
🌑रामप्रसाद पुरी
बादेल खोटाङ।
[३८]
स्वार्थी नेताकाे सत्तामा मनाेमानी हुँदैछ,
देशभक्त जनता पिरले झनै रुँदैछ ।
🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर
[३९]
नेताहरूलाई फिटिक्कै छैन लाज घिन,
देशलाई उँधोतिर लैजादैछन् दिन्दिन ।
🌑सरस्वती श्रेष्ठ
इटहरी
[४०]
मुखमा जप्छन् राम राम बगलीमा छुरा बाेक्छन्,
देशभक्तिकाे नाटक गरी भ्रष्टाचार पाे ठाेक्छन् ।
🌑त्रिलोचन भण्डारी
मेचीनगर, झापा
[४१]
राजनिती भो कमाउ धन्दा भ्रष्टचारको जालो,
पाखण्डी यी नेता सबलाई दल्दिउ मोसो कालो ।
✍ नवशिला,
बेलबारी-२,लालभित्ती,मोरङ।
[४२]
भाषणमा ठाेक्ने ओठेभक्ति पेट भित्र बाेकेर कालाे,
निम्छरो जनताकाे मुखमा माड छैन हरमा टालाे ।
🌑प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[४३]
खुबै भाषण सुनियाे हजुर सबैकाे देशभक्ति कति कति,
विदेशी कर्मचारी आयाे भेट्न हाेटल धाइएछ अतिअति ।
🌑शम्भु ढकाल
सू न पा १२ आठघरे ,ईलाम
[४४]
लखेटेर युवावर्ग के को गर्छौ शासन,
गरीबका झुपडीमा छैन खाने रासन ।
🌑चूडा निर्भीक
सिम्पानी गोरखा
हालः मुलुकबाहिर
[४५]
देशको लागि केहि पनि सकिएन गर्न,
बेदनाले दुख्छ यो छाती सकिएन मर्न ।
🌑बाबुराम गौतम
गुल्मी
[४६]
देशभक्त देखाएर पूरा गरे आ-आफ्नो आँत,
विदेशीसँग मिलेर लुकाए चपाउने दाँत ।
🌑बेदु न्यौपाने
काठमाडौ
[४७]
भनुँ भने तितो लाग्ला देश भक्तिका कुरा,
विदेशीकै गुलामीले हुन्छ चाहना पूरा ।
🌑ईशहाक हुसैन
जीतपुर सिमरा १४ बारा।
[४८]
रोजगारीका मार्ग बन्द गराए थिए जति,
विदेशीन वाध्य भएका युवाको छ दुर्गति ।
🌑भगवती दवाडी
झापा
[४९]
देशभक्ति भन्दै अरूको बिरोध गर्नुको साटो,
विदेशमा दुख नगरी नेपालमै जोत पाटो ।
🌑मनिला नाल्बो लिम्बू
ताप्लेजुङ्
[५०]
मनभरि देशको माया बोकेर, विदेशिनु पर्ने,
यता देश नै बेचेर शासकले आफ्नो गोजी भर्ने ।
🌑दुर्गा आचार्य
मोरङ