
काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६३ औँ शृङ्खला मङ्सिर २४ गते शनिबार सम्पन्न भएको थियो।
अभ्यासमा नेपाल लगायत विश्वका ६२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६३औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
पढ्ने बेलामा गुच्चा खेलियो भनेको मानिएन,
आज जोड घटाउ चाहिँदो रहेछ जानिएन ।
🙎 वसन्त अनुभव

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
किन चाहियो जोड घटाउ, किन चाहियो दाउ,
पालैपालो देश लुट अनि, सबै मिलेर खाउ ।
🌑वसन्त अनुभव
घोराही, दाङ
[२]
किन पढ्ने जोड घटाउ केलाई चाहिन्छ दाउ,
पालैपालो देश लुटेर उसै लिएका छन् भाउ ।
🌑बेदु न्यौपाने
काठमाण्डौँ
[३]
राजनीति गर्न दुर्गम स्थानमा त लोग्नेभन्दा स्वास्नी धेरै जान्ने,
दुई पैसा खर्च नगरी ठाउँमा पुगेपछि भन कस्लाई मान्ने ।
🌑पवन कुमार बुढाथोकी
काठमाण्डौँ
[४]
तिमीले जतिसुकै कमाए पनि लगाउने एक सरो,
घरमै भेटियो हेर न मुख्य कलहको महान जरो ।
🌑सन्जना शर्मा
[५]
पढ्न जाने बेलामा लुक्दै हिँडे घारीघारी,
क ख अक्षर जान्दिनँ म खन्छु मकैबारी
🌑सरीता सेढाई
चरौंदी धादिङ
[६]
भन्थे बा’ले बैगुनीलाई लाउनुपर्छ गुन,
अर्ती बुद्धि मानेको भैदिए किन पर्थ्यो रुन ।
🌑रिता लामा
[७]
खाेजी गर अब जाेड घटाउ खाेजी गर दाउ,
कुनै देशमा नभएको यहीँ बेकारका झ्याउ ।
🌑भवानी घिमिरे
[८]
हाम्रो बाबाले भन्नुहुन्थ्यो अनुशासित र लगनशील भई पढ्नुपर्छ,
कडा परिश्रमपछि देशको हितमा अटल रही शिखर चढ्नुपर्छ।
🌑कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[९]
नामका मात्रै छन् देशमा नेता कार्यकर्ता,
यो देशले कहिले जन्माउँला हर्ताकर्ता ?
🌑प्रकाश घिमिरे
[१०]
पढ्ने बेला भने पौडी खेल्न खाेला खाेल्सी मात्रै धाईयाे,
हिसाब किताब राख्न नजान्दा अहिले दुख पाईयाे।
🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५सङ्गम काेलाेनी भक्तपुर ।
[११]
कर्म मेरो यस्तै रहेछ सधैँ गोठ गोठाला धाउने,
घरमा छिन् कान्छी आमा भाग्यमा रहेछ दुख पाउने ।
🌑मन पुन मगर
सुर्खेत
[१२]
धन सम्पत्ति सिध्याए तिमीलाई पढाउँदा,
इज्जत गयाे साेध्ने बेला टाउकाे कन्याउँदा।
🌑धन कमारी रेग्मी
भरतपुर चितवन
[१३]
बल्ल चाहियाे पढाइ जब देश हाँक्ने भइयाे
बरालिएर उमेर बित्याे गुच्चा खेल्न गइयाे ।
🌑ताराप्रसाद चापागाईँ
धुनिबेसी
[१४]
निरक्षर भइयो साथी पाइएन काम,
जोड घटाउ जान्नेले नै कमाएछन् दाम ।
🌑डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[१५]
पढ्ने बेला बाल मजदुर भइयो खानलाई,
अहिले पछुताई के काम भयो र दाजुभाइ ।
🌑सुरेशकुमार पान्डे
घोराही १८, दाङ
[१६]
कमाई खाने भाँडाे बनाई कलङ्क नै छर्यौ,
माखो केही नमारी केवल आफ्नै पेट भर्यौ ।
🌑त्रिलाेचन भण्डारी
मेचीनगर ,झापा
[१७]
शिक्षाको महत्व बुझ्नलाई उसबेला चेतना भएन,
बाहिरको फाइँफुट्टी देखाइन्छ भित्रको कालो गएन!!
🌑प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
[१८]
किन चाहियो जोड घटाउ भाग लगाएर खाने,
पढाइ नभए के भो देश लुट्न पालैपालाे जाने
🌑मन्जु जोशी
डिलासैनी बेैतडी
[१९]
पढ्ने बेला हाँस्यो, खेल्यो चुपचाप बसियो,
आउन्न अहिले केही यार, लास्टै फसियो।
🌑सुशान्त सुनिता लिम्बु
ताप्लेजुङ्
[२०]
चाहिँदैन जोड घटाउ , चाहिँदैन शिक्षा,
राजनीति गर्नलाई दिए पुग्छ है भिक्षा ।
🌑बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[२१]
बेकारमा हाँस्दै, खेल्दै आधा उमेर गयो,
पढाई बिनाको जिन्दगी अन्धकार भयो ।
🌑रत्ना पुन मगर
रुकुम पश्चिम्
[२२]
बच्चैमा कुरो बुझिएन सम्झाउँदा मानिएन,
फेरि भविष्य बिग्रिएला भन्ने ठान्दै ठानिएन ।
🌑इमानसिंह केसी
[२३]
उबेलाको रमाइलो अहिले पछुतो भएछ,
बल्ल थाहा पाए अब पढाई अमुल्य रहेछ !
🌑नबिन बिष्ट
सुदुरपश्चिम डडेल्धुरा
[२४]क' लेख भन्थ्यौ नि बाबा छेउमै परिनँ म किन ? त्यहीँक´को भारी मुस्किल हुनेछ भन्ने जानिनँ ।
🌑कमल भट्टराई
खाँडाचक्र न. पा. ६, सेरा, कालिकोट
[२५]
जालझेल पढाइले गर्नु सम्म गर्यो,
घटाउनु भन्दापनि जोड्न बढी पर्यो ।
🌑होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[२६]
पहिलो बेञ्चमा बसेको भए पक्कै धेरै पढिन्थ्यो होला,
अब गर्ने भनेको बोकेर हिँड्ने हो राजनैतिक झोला ।
🌑राजेशराज गड्तौला
रतुवामाई-१०, मोरङ । हाल- प्रवास
[२७]
पढ्ने बेला अरूलाई अति जिस्काउन थाल्ने,
आखिर अहिले त्यहीँ ब्यथाले बनायो गाल्ने ।
🌑प्रेम थापा “मन”
बागलुङ
[२८]
बाल्यकालमा बा-आमा र सरले भनेको नमान्दा,
आजकल पछुतो लाग्छ, हिसाब किताब नजान्दा !
🌑रबि श्रेष्ठ
सन्धिखर्क-१, अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही, नेपाल !
[२९]
बाआमाले पढ भन्दा पहिले सरियो पर,
नेता झैँ भ्रष्टाचारी बन्छु कि भन्ने लाग्यो डर ।
🌑हिमा रोका
मेहेलकुना सुर्खेत
[३०]
नेताको घरमा ह्वार्रै पस्छ कालोपैसाको भेल ,
नपढ्नेलाई राम्रो रहेछ राजनैतिक खेल ।
🌑बिके माकजु
भक्तपुर ।
[३१]
गुच्चा खेल्नेहरू खाडी पुगे, पैसा फालाफाल,
म जस्तो किताबको किरो, गरीबीले बेहाल।
🌑ख्यामराज खतिवडा
सूर्योदय 7 कन्याम इलाम
[३२]
पहिला आफूले बाआमाले भनेको मानिएन कत्ति,
मानेको भए दुःख पाउँनु पर्दैनथ्यो होला है रत्ति ।
🌑अर्जुन प्रसाद चौलागाई
रामेछाप:-सुनापति-१
हाल:-अमेरिका,बोस्टन।
[३३]
पढ्ने बेलामा गुच्चा खेल्ने भयो देशको प्रधानमन्त्री,
धेरै पढेर आफू चाहिँ भएँ प्रधानमन्त्रीको सन्त्री ।
🌑दीपक ठटाल जलन
खरसाङ
[३४]
जोड घटाउ सिकाउने नेता छन् गुरु,
मिलीजुली कुर्सी तान्ने दौडाहा छ सुरु।
🌑रामशरण न्यौपाने
भक्तपुर
[३५]
भाँडभैलोतन्त्र हेर गठबन्धनले ल्यायो,
बेथिति तथा भ्रष्टाचार नै चारैतिर छायो।
🌑कृष्ण हरि नेपाल
[३६]
किन चाहियो जोड घटाउ, किन चाहियो भाग,
टन्न पैसा कमाउने भए, राजनीतिमा लाग ।
🌑बाबुराम गौतम
गुल्मी
[३७]
गुच्चा खेल्नेहरू राजनितीमा अगाडि बढे,
बाध्यताले खाँडी जानेहरू मरिमरी पढे ।
🌑असिराम डंगौरा
जोशीपुर कैलाली
हाल भारत
[३८]
दुईचार अक्षर जानेर प्रधानमन्त्रीको कुर्सी रचाऊ,
किन चाहियो जोड घटाउ देश बेचेर नगद पचाऊ ।
🌑अम्विका अधिकारी
झापा विर्तामोड
[३९]
विद्यालय पठाउँदा बाटोबाट फर्कियो,
आज यो जीवन अन्धकारतिर लर्कियो।
🌑भुपेन्द्र राना मगर
धादिङ
[४०]
नपढेर दुःख पाइयाे, भयाे सबै झेल,
सबकाे यस्तै हाे हजुर नियतिकाे खेल!
🌑राधिका अधिकारी
[४१]
हिसाब जान्ने आए भने, पख्नुस् त ! पत्ताल भसाइदिन्छु,
टाठाबाठा विदेशीन्छन् डाडु पनिउँ आफ्नै हातमा लिन्छु ।
🌑रामप्रसाद पुरी
बादेल,खाेटाङ ।
[४२]
बुद्धि पलायो त अबेर भयो,
सिक्ने कुरा नसिक्दै खेर गयाे ।
🌑भागु खत्री
दार्चुला
[४३]
किन गर्छौ जोड घटाउ घुँडा धसीधसी,
राजनिती गर्न सिक त खान्छौ बसीबसी।
🌑मन्दिरा सेढाई
मलेखु,धादिङ
[४४]
पढ्ने बेलामा ध्यान पुग्यो हाँस्न तिर,
सम्झिँदा त्यो दिन अहिले लाग्छ पिर ।
🌑चन्द्रकली राना मगर
प्युठान
[४५]
देश चलाउने नेताहरू पैसामा बिके,
आउने सन्तान कसको हुने सबै सिके।
🌑एवाइ प्रभात
धनकुटा, हाल मोरङ
[४६]
पढ भन्दा पढिएनँ सानामा,
बुद्धि बिग्रियो अल्लारे पारामा ।
🌑जमुना आचार्य
सिन्धुपाल्चोक
[४७]
समय बितेपछि मात्रै पछुताएर के गर्नु,
नयाँ सोच बनाऊ बाबु अन्धकारमा नपर्नू ।
🌑दस्ता कौशिक
पाँचथर।
[४८]
लाग्थ्यो घाम प्रशस्त ग्रीष्म ऋतुमा चाहिन्न सोचेँ घर,
छेपारोसरि चाल भो अब बुझेँ चाहिन्छ आफ्नै तर ।
🌑घनश्याम रेग्मी
[४९]
म त हेर्छु घर बसी, सत्ता नाङ्गो नाँच,
नाच्नेलाई लाज छैन, लौ कम्मर भाँच ।
🌑विजय राज
[५०]
पढ्न लेख्न जान्नु पर्दैन नेपालमा मात्र गर हाउभाउ,
देशका ठूला दलका झण्डा बाेक्न सक्ने बलबाहु देखाउ।
🌑प्रद्युम्न चालिसे
[५१]
एउटा सुन्दर रोग हो यो, बन्ने लक्षण नेता,
हिसाब नजानी कालो धन पार्छन् खर्लप्पै सेता।
🌑म्यामराज राई
भोजपुर।
[५२]
जोड पढे घटाउ पढे, पढे जम्मै नेपाली,
व्यवहारिक भएपछि दिमाग भयो खाली |
🌑लक्ष्मण देउवा
डोटी
[५३]
बेलैमा बुद्धि पुराउँदा हुन्छ अति राम्रो,
पढ्ने बेला दिमाग किन घुम्छ होला हाम्रो ।
🌑गंगा खड्का
बूढानीलकण्ठ काठमाडौँ
[५४]
जति पढेपनि आफ्नो, पहिचान जनाउनु,
जाने पनि नजाने नि, चट्ट पैसा कमाउनु ।
🌑दिपक सुन्चेउरी
संखुवासभा, चैनपुर
प्रदेश न. १, नेपाल
[५५]
डुलियाे, घुमियाे सबैलाई पढे भनी ढाँटियाे,
रिजल्ट आउँदा सबैका अगाडि नाकै काँटियाे ।
🌑कमला भट्टराई
खोटाङ
[५६]
उतिबेला लेख्न पढ्नभन्दा हुन्थ्यो मन गह्रुङ्गाे,
अहिले भा’छ मलाई, दाँतमा लागेजस्तो ढुङ्गाे ।
🌑रामकृष्ण रिजाल
बाग्लुङ
[५७]
जिन्दगीमा जाेड, घटाउ, गुणन, भाग सबै चाहिन्छ
त्यतिबेला बुझिएन, अहिले खाेजेर कहाँ पाइन्छ ?
🌑रामप्रसाद बेल्बासे ‘एक्लो यात्री’
शीतगङ्गा -५, अर्घाखाँची
हाल : बुद्धभूमि -३, कपिलवस्तु।
[५८]
पढ्ने बेलामा स्कुल छाडी बरालिदैँ भागेँ,
विदेशी नोकर हुँदा बल्ल अहिले जागेँ।
🌑शाेभा अाचार्य गाैतम
काठमाडौँ
[५९]
पढ्ने बेलामा पाठ मात्र लेखियो,
त्यसको परिणाम आज देखियो।
🌑जीवन जैशी अछाम
हाल कैलाली
[६०]
गुच्चा खेले, फिलिम हेरेँ पढ्ने बेलामा,
जोत्दैछु म हलो अचेल गैरी मेलामा ।
🌑नवशिला
बेलबारी-२,लालभित्ती,मोरङ।
[६१]
बाबाले भन्थे पढ्ने रहर, कहिले जाग्छ,
सकेन पढ्न आज आएर, पछुतो लाग्छ !
🌑आर्त अकुलीन
कैलाली
[६२]
पढ्ने बेला खेल्ने मात्रै हतार,
आजभोलि जानुपर्छ कतार ।
🌑भगवती दवाडी
झापा, दमक

