टुक्का कविता एक नवकाव्यिक विधा हो । जसको दुवै हरफमा समान अक्षर सङ्ख्या र अनुप्रास हुने गर्दछ । प्रस्तुत छ, यसै टुक्का कविताको नियम र सिद्धान्तको अधीनमा रही टुक्काकारद्वय वसन्त अनुभव र चन्द्रकली मगर बिचको घमासान दोहोरी ।

भन्न त भन्छ्यौ मुटुमै राखेकी छु, राजा बनाएर,
तर किन नआऊ भन्छ्यौ मलाई, बाजा बजाएर ?
🙎वसन्त अनुभव
भन्न त भन्छौ प्यारा राख्छु, दिलकी रानी बनाई,
खोइ कहिले आउँछौ लिन, भन बाजा बजाई ।
🙆चन्द्रकली मगर
तयार छन् जन्ती तयार छ बाजा, खाली हुन्छ भन,
आउँछु डोली लिई छिट्टै अब, नबिगार्नु है मन ।
🙎वसन्त अनुभव
विश्वास पनि लाग्न छोड्यो अब, गइसक्यो मङ्सिर लागिसक्यो पुस,
आफ्नो जन्मघर छोडी जादै गर्दा, कसको हुन्छ होला र मन खुस ?
🙆चन्द्रकली मगर
मन नै मिलिसकेपछि त, के मङ्सिर के पुस,
नजुरे साइत खुवाउँला, पण्डितलाई घुस ।
🙎वसन्त अनुभव
चोखो मायामा नि, के घुस खुवाउनु ?
बिना साइत, के लगन जुराउनु ?
🙆चन्द्रकली मगर
साच्चै माया गर्छ्यौ भने, छोड माइत,
कतिन्जेल बस्छ्यौ यसै, खोज्दै साइत ।
🙎वसन्त अनुभव
प्रकृति साक्षी राखी, जन्म दिने बाआमा त्यागी, तिम्रै परेँ भर,
बिच बाटोमा लगी घर न घाटको पार्छौ कि भन्ने लाग्छ डर ।
🙆चन्द्रकली मगर
भर पनि परे भन्छ्यौ, मनमा राखी डर,
अझै भन्दछु ढुक्क हौ, मेरो विश्वास गर ।
🙎वसन्त अनुभव
त्यसोभए हजुरकै विश्वास गरी, भएकी छु म ढुक्क,
जिन्दगीको गोरेटोमा दु:ख दिई, नपार्नू होला नि हुक्क ।
🙆चन्द्रकली मगर
दु:खका ती कुरा छोड, राख्छु रानी बनाएर,
तिमी खानू बसीबसी, म ल्याउँछु कमाएर ।
🙎वसन्त अनुभव
हुन्छ राजा बसी खाई हुनेछु म मोटो,
फाट्यो भने चोली जामा किनिदिनु भोटो ।
🙆चन्द्रकली मगर
नलेउ केही पिर चिन्ता, भएपनि मोटी,
बनाउँला म पातलो, माया घोटी घोटी ।
🙎वसन्त अनुभव
फूल झरेपनि फूललाई छेक्ने काँडा नझरोस्,
जस्तोसुकै भएतापनि मायालु बाधा नपरोस् ।
🙆चन्द्रकली मगर


गज्जबकाे दाेहाेरी
बधाई छ दुबै जनालाई ।।