छवि किरण अधिकारीका दमदार १२ मुक्तकहरू

  • २३ कार्तिक २०७९, बुधबार २०:४१ मा प्रकाशित
  • छवि किरण अधिकारीका दमदार १२ मुक्तकहरू

    १)
    हो तिमी नै मेरो तन मन जीवन भन्नेले!
    म मुटु तिमी चाहिँ मेरो धड्कन भन्नेले!!
    आज घर न  घाटको बनाएर गएकी छे,
    हिजो म  मुना तिमी  मेरो मदन भन्नेले!!

    २)
    हो एकपछि अर्को गर्दै लगातार आउँछ!
    एकाबिहानै बजारमा अखबार आउँछ!!
    विचरा गरीब भोकै मर्छ केही थाहा हुन्न,
    नेताज्यू घुम्न  गएको समाचार आउँछ!!

    ३)
    हजारौं कथा कहानी किताब पढेर!
    सकियो बरू जवानी किताब पढेर!!
    र पनि  अझै  बुझ्न  सकिएन साथी,
    के  हो  जिन्दगानी ? किताब पढेर!!

    ४)
    हो म साह्रै  बहकिन्छु, झरी परेको बेला!
    यादै यादमा तड्पिन्छु, झरी परेको बेला!!
    किसानले आफ्नो खेत बारीलाई सम्झेझै,
    म उनीलाई सम्झिन्छु, झरी परेको बेला!!

    ५)
    हो यो छाती त्यतिबेला चर्किएर आउँछ!
    रसाउँछन् आँखा आँसु दर्किएर आउँछ!!
    हजारौं सपना बोकी  परदेशिएको छोरा,
    जब  बाकसभित्र  घर फर्किएर आउँछ!!

    ६)
    खै  खुसीहरू   यसरी   कसले  भगाउँछ?
    यी   आँखाले  भने  आँसु  मात्रै बगाउँछ!!
    समयले चोटैमाथि चोट  दिन्छ हिजोआज,
    नियतिले ओखती भन्दै नुनचुक लगाउँछ!!

    ७)
    घाउ हेरेर अनि उठेका ठेला, हेरेर!
    हेरेर  चिसै  भिजेका परेला, हेरेर!!
    अझ धेरै दु:ख  पाउलास्  भन्छन् ,
    ज्योतिष हात हेरेर, हत्केला हेरेर!!

    ८)
    समयले  पनि  यसरी  नै  छल्छ होला कहिलेसम्म?
    तड्पिएरै नि जिन्दगी यो चल्छ होला कहिलेसम्म?? 
    छोडी  जाने  निष्ठुरीलाई  अझै  भुल्न  सक्या  छैन,
    यादै यादमा मन मुटु यो जल्छ होला कहिलेसम्म??

    ९)
    न छ  उपचार न छ  ओखती, यस्तै हुन्छ!
    जल्छ  मुटु, पोल्छ  भतभती, यस्तै हुन्छ!!
    न  दिनमा  भोक लाग्छ, न  रातमा  निद्रा,
    साँच्ची छुटेपछि माया पिरती,यस्तै हुन्छ!!

    १०)
    न चिन्ता  लिन्थे न पीर, यसैमा खुसी हुन्थें!
    एकदिन मर्नैछ आखिर यसैमा खुसी हुन्थें!!
    देशकै  लागि  जन्मेको  हुँ  देशकै   नाउँमा,
    चढाउन  पाएँ  यो  शिर, यसमै खुसी हुन्थें!!

    ११)
    आज यस्तो होला त्यतिबेला सोचेकै थिइनँ!
    समयले  यसरी  धोका  देला सोचेकै थिइनँ!!
    हिजो फूलसरी मन मुटुमा सजाएको मान्छे,
    आज  काँडा  भएर निस्केला सोचेकै थिइनँ!!  

    १२)
    न  त  वार  भएको छ, न त  पार भएको छ!
    आफ्नो जिन्दगी आफैलाई भार भएको छ!!
    मनको मान्छे एकाएक ढुङ्गा भई निस्केपछि,
    उसलाई  पगाल्ने  प्रयास बेकार भएको छ!!

    ✍️ छवि किरण अधिकारी

    Leave a Reply