साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५६ औँ शृङ्खला सम्पन्न, १ सय ११ जनाको सहभागीता

  • १७ कार्तिक २०७९, बिहीबार ०७:४० मा प्रकाशित
  • काठमाडौ, ५ कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५६ औँ शृङ्खला कार्तिक ५ गते शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका १ सय ११ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५६ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    किन चाहियो मखमली, सयपत्रीको माला ?
    प्लास्टिकको छदैछ सस्तो, नओइलनेवाला

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    आयो गयो यो दसैँ र तिहार,
    परदेशीको खाली भो निधार ।
    🌑प्रकाश घिमिरे
    बौदिकाली गाउपालिका३ रकुवा नवलपुर हाल कतार

    [२]
    हुनेखानेहरूलाई तिहार,
    नहुनेलाई भारत बिहार ।
    🌑देवराज भट्ट

    [३]
    हेर्दा आकर्षक झिलिमिली देखावटी प्लाष्टिकका फूल,
    न सुगन्ध न उपयोगी ब्यापारीले गरे पैसा असूल ।
    🌑रचना शर्मा प्रतीक्षा
    महालक्ष्मी न. पा. ललितपुर ।

    [४]
    यो जिन्दगीलाई तिहारको न टीका न माला,
    एक्लो बेमतलबी जिन्दगी जता जाला जाला ।
    🌑प्रदीप के रिमाल
    इटहरी, सुनसरी

    [५]
    माया धेरै गर्छु है, नजाने नि मुसार्दिन गाला,
    तिम्रो भाइ लड्छ पहिला दिदी गए ज्यानै जाला ।
    🌑अमर ‘दिपु’
    रूपन्देही

    [६]
    वर्षमा एकचोटि मात्र आउँछ तिहारको दिन भाइटिका।
    मखमली सयपत्री फूल नहुँदा, लागिहाल्छ नि फेरि फिका ।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [७]
    सदियौँदेखि चल्दै आएको हो हाम्रो रीतिरिवाज,
    के गर्यो आधुनिकले छैन यहाँ कसैमा लेहाज ।
    🌑प्रतीक

    [८]
    आधुनिक भाे जमाना याे सबै कुरा नक्कली
    सामान मात्र कहाँ हाे र मान्छे छैनन् सक्कली।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [९]
    सयपत्री मखमली कहिले सुक्ने छैन,
    चेली माइती चोखो माया ओइलिने हैन ।
    🌑संझना काफ्ले
    हाल अमेरिका

    [१०]
    छैन फूलको माला दिदी प्लास्टिकको माया कस्तो,
    दक्षिणा पनि फोन पे गरौँ कि ? त्यही पर्ला सस्तो ।
    🌑सुदिप जोशी
    भानु न.पा. १० तनहुँ

    [११]
    सयपत्री र मखमली मालाले तिहार बोलायो ठान,
    हे साथी प्लास्टिकको माला काम चलाउनु मात्र हो जान ।
    🌑रतन पाण्डे’पारतन’
    दार्जीलिङ।

    [१२]
    आधुनिक जमानाले गरायो सबै नक्कली पारा,
    यस्तैमा भुल्ने भए मान्छे कहाँ छन् र सक्कली सारा ।
    🌑बेदु न्यौपाने
    काठमाण्डौँ

    [१३]
    सक्कली फूल ओइलिएर गयो,
    नक्कली फूल बजारभरि भयो ।
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [१४]
    आयो तिहार नगास चेली सयपत्री र मखमलीको माला,
    यो साल पनि आउँन पाएन अभागी परदेशी यसपाला ।
    🌑रबि दुलाल
    हाल: साउदि

    [१५]
    बाहिर झिलिमिली देखिने सहरियाको चाला,
    गाउँले जीवनमा सुहाउँदो मखमली माला।
    🌑मनोज खत्री अछामी

    [१६]
    आफैँ उत्पादन गरेको चिज लगाउनु हुन्न,
    हतार गरेका छौ विदेशी माला घाँटीमा बुन्न ।
    🌑साहित्य प्रेमी सलिन

    [१७]
    मखमली फूल माला लाउन पाइनँ यसपाली
    परदेशी हुँ परदेशमा छु मेरो निधार खाली ।
    🌑प्रेम सुनार

    [१८]
    आहा ! यसपाली त तिहारमा वसन्त जो छाउने,
    भाइले त वर्षौँ नओइलाउने पो माला लाउने ।
    🌑गिता_ढुङ्गाना
    निलकण्ठ ५, धादिङ

    [१९]
    दसैँ तिहार चाडपर्व नेपालीको परम्परा,
    प्लास्टिक भए खाली हुन्छ हाम्रो खेतीयोग्य धरा ।
    🌑देवराज उप्रेती

    [२०]
    प्लास्टिक माला लाइदैँन सयपत्री त्याे छाेडी,
    माैलिकतामा रमाउने हाे आफ्नै बारी गाेडी ।
    🌑त्रिलोचन भण्डारी
    मेचीनगर,झापा

    [२१]
    मखमली प्राकृतिक सुन्दर फूलको माला,
    लगाइदिए दाजुभाइको आयु बढी जाला ।
    🌑गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [२२]
    जब जब तिहार आउँछ सधैँ रुँनुपर्छ,
    परदेशी आँखाबाट टिलपिल आँसु झर्छ ।
    🌑चेतन खनाल (दाह्रीवाला)
    बङ्गलाचुली १ दाङ्ग

    [२३]
    दाजुभाइका जीवनभर खुसी डुलिरहून्
    मेरो घरको आँगनीमा हजारी फूलिरहून् ।
    🌑माधवी भट्ट
    सुर्नया ३ गोयली ( बैतडी )

    [२४]
    जे छ आफ्नो त्यसमा नै रम्ने गरौँ हामी,
    प्रकृतिले नै दिएको छ सुन्दर फूल दामी ।
    🌑सूर्यमणि रेग्मी
    चितवन(हाल अस्ट्रेलिया )

    [२५]
    विदेशीका प्लास्टिक राम्रा झन् आकर्षक खास,
    खेतका आली गरा बाँझाे राखी अर्कैकाे आस ।
    🌑निरज कोइराला
    बेलका १ उदयपुर, हाल इटहरी

    [२६]
    विदेशी बत्ती किन्यौँ भने मुद्रा उता जाला,
    बाल्नुपर्छ तेलका दिया कति राम्रा पाला ।
    🌑देवी पन्थी

    [२७]
    मखमली र सयपत्री मालामा दिदीको प्यार,
    आजैदेखि गरौँ सबले प्लास्टिकको बहिष्कार ।
    🌑अर्जुन प्रसाद बेल्बासे
    अर्घाखाँची सिद्दारा ४ साविक हाल सितगँगा १० कर्मथलो कपिलवस्तु सिवराज ५ चन्द्रौटा बजार ।

    [२८]
    आधुनिकको विष फूलमा पनि चढ्यो,
    प्लास्टिक आएर यो छातीमाथि नै गढ्यो।
    🌑सुरेशकुमार पान्डे।
    दाङ घोराही१८

    [२९]
    जुटाऔँ फूल तुरुन्त माला बुनौँ मखमली,
    कहिल्यै पनि नओइलिने गुण झलझली ।
    🌑मिम प्रसाद पौडेल
    पोखरा-१७ बिरौटा

    [३०]
    प्लास्टिक फूलको हुने भए धार्मिक अर्थ,
    मखमली, सयपत्री किन फुल्थे र व्यर्थ ?
    🌑म्यामराज राई,
    भोजपुर

    [३१]
    सारङ्गीको धुन लाग्छ भुँ भुँ भमराले डुल्दा,
    सुर मिलाई गाऔँ लाग्छ बारीमा फुल फुल्दा ।
    🌑पदम लुईटेल,
    उर्लावारी -५, मोरङ

    [३२]
    सयपत्री, गोदावरी ओइलिएर जाने,
    प्लास्टिकको माला हुन्छ कटक्कै मन खाने ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [३३]
    प्लाष्टिकले प्रकृतिको अनुपम सृष्टिलाई कहाँ भेट्दछ र हेर नानी !
    टालटुले तरिकाले नमनाउँ पर्व बिग्रन्छ मौलिकता र राम्रो बानी !
    🌑पवन कुमार बुढाथेाकी
    काठमाडौं , हाल सिडनी

    [३४]
    वर्षमा एकपटक आउँने यो तिहार,
    खुसी होऔँ सबैजना नबिगारौँ संस्कार।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:सुनापति-१
    हाल:अमेरिका,बोस्टन

    [३५]
    मखमली सयपत्री सुगन्धित माला,
    प्लास्टिक मालाले छिनमै बिगार्छ छाला।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर थिमी ५ सङ्गम काेलाेनी भक्तपुर

    [३६]
    सानो घर छ सहरमा न छ फूल रोप्ने ठाउँ,
    महङ्गो मान्छन् सयपत्री सस्तो नक्कलीको भाउ ।
    🌑विकलता
    दाङ।

    [३७]
    आँखामात्र तिरमिर सुगन्ध त छैन,
    प्राकृतिक फूल जस्तो कदापि हुँदैन ।
    🌑साँग्रीस मानन्धर मोती
    हाल:- रुपन्देही

    [३८]
    प्लास्टिक फूलमा व्यर्थ के सुवास छ र,
    सयपत्री गोदावरी किन राख्छौ पर ?
    🌑बुद्धराम थिङ
    बागमती, ललितपुर

    [३९]
    बुझ्नसँके कति कति नओइलिने मखमलीको अर्थ,
    भो पर्दैन दिदीबहिनी प्लास्टिकको माला नकिन ब्यर्थ ।
    🌑शंकर कार्की
    थाहा,३ मकवानपुर।

    [४०]
    राम्रै हो मखमली माला,
    सुधारेमा त हाम्रो चाला ।
    🌑राज कुमार कार्की
    कटारी-१उदयपुर

    [४१]
    प्लास्टिकभन्दा सयपत्री छिट्टै ओइलाए पनि,
    शोभनीय गलामा दाजुभाइको भूषण बनी ।
    🌑शान्ति चन्द पाल

    [४२]
    परम्परादेखि मखमली र सयपत्री ल्याइयो,
    आधुनिकमा किन पो आखिर प्लास्टिकको चाहियो ।
    🌑सुजन कटुवाल
    भोजपुर

    [४३]
    विदेशीकै देखासिकी गरी आफ्नो संस्कृति भुल्यौ,
    मखमली र सयपत्री फाली प्लास्टिकमा खुल्यौ ।
    🌑क्यार्थिन घर्ती मगर

    [४४]
    मालाको के कुरा गर्नु सरकार त नक्कली भयो,
    त्यस्ता फूलमालाको जमाना अब त बिस्तारै गयो।
    🌑मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    [४५]
    हामी बुझ्छौँ या बुझ्दैनौँ स्वाधीनता अनि पराधीनता,
    आत्मनिर्भर बन्न नसकेर दिमागी किन हीनता ?
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [४६]
    मान्छे धेरै अल्छी भए बाँझै बारी हेर,
    तिहारमा प्लास्टिककै माला किन्छन् धेर ।
    🌑भगवती दवाडी
    दमक, झापा

    टुक्का माथी टुक्का शृंखला ५६
    [४७]
    सयपत्री रोप्ने बेला टिकटकमा पसे,
    प्लास्टिक फूल मालामा माइती राजा फसे।
    🌑बिके मुखिया
    दार्जीलिङ भारत।

    [४८]
    नओइलने प्लास्टिकको सस्तोवाला माला,
    लगाइदिदा तिहारको अस्तित्व नै जाला ।
    🌑भेष कुमारी लामिछाने
    देवदह ०५ खैरेनी , रुपन्देही ।

    [४९]
    फिक्का लाग्छन् सबै रङ्ग दियो फूल-माला,
    देखावटी भो तिहार अनि टीका-टाला ।
    🌑ख्याम खतिवडा

    [५०]
    विदेशीको नक्कलले नेपाल हाम्रो खोक्रो भयो,
    सयपत्रीको मूल्य छैन्, प्लास्टिक माला किन्न गयो ।
    🌑एवाइ प्रभात
    धनकुटा । हाल मोरङ

    [५१]
    विकृतिलाई फैलन दिन हुन्न अब,
    संस्कृतिको जगेर्ना मिलेर गरौँ सब ।
    🌑सावित्री भण्डारी
    लमजुङ

    [५२]
    फूल रोपौँ थरी-थरी घर वरिपरि सुगन्ध छाउँछ,
    लगाउन मखमली बास्नादार माला तिहार आउँछ।
    🌑तेजप्रसाद खनाल
    लमही दाङ।

    [५३]
    आडम्बरी देखावटी कृत्रिम भो चाला,
    अनर्थ भए ओइलने फूलका माला ।
    🌑बिबस पारदर्शी
    भद्रपुर झापा,

    [५४]
    नक्कली छ सबै यहाँ फूल माला पनि,
    भन्छौँ हामी गर्व गर्दै संस्कृतिका धनी।
    🌑रामजी लामिछाने

    [५५]
    दसौँ वर्ष नओइलने बनाइदिए माला,
    वनमै बस सयपत्री र मखमली वाला।
    🌑होम प्रसाद नेउपाने
    बुढानिलकण्ठ ।

    [५६]
    प्लास्टिकको फूल सजाउने ठिक होइन चाला,
    तिहारको शोभा सयपत्री र मखमली माला ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [५७]
    परापूर्व कालदेखिकाे संस्कृति बचाउँला,
    मखमली र सयपत्रीकाे माला लगाउँला ।
    🌑पूर्णिमा उप्रेती मिश्र
    धनगढी

    [५८]
    कलि आयो बली,
    छन् सबै नक्कली ।
    🌑कृष्ण हरि नेपाल

    [५९]
    सयपत्री मखमली नओइलने फूल,
    चाडपर्व र रीतिथिति संस्कृतिको मूल ।
    🌑कमला देवकोटा

    [६०]
    खेतीपाती गर्न हामी नेपालीहरूको कति अल्छी पारा,
    तिहार आयो फूलमाला भारतबाट भित्र्याउँछन् सारा ।
    🌑रोहित बराम
    गोर्खा

    [६१]
    कस्तो आयाे बेलाबखत फेर्याै आनीबानी ,
    माला बनाई प्लास्टिककाे बेर्याै जानाजानी ।
    🌑रामकृष्ण दुवाडी

    [६२]
    दसैँभर झरी भयो त तिहार बित्यो प्लास्टिकको फूलमा,
    संस्कृति तहसनहस हुँदै गा,को छ विकृतिको भूलमा !
    🌑राधिका अधिकारी

    [६३]
    दियो पाला हराएपछि केको तिहार,
    खुसी सर्वत्र देखिन्छन् र ! भित्रै निहार।
    🌑अङ्गत धामी

    [६४]
    देख्दै तान्यो झ्याप्प आँखा प्लास्टिकको डाला,
    किन उन्नु बेर्थैमा फूलैफूलको माला ।
    🌑शिव कुमारी बस्नेत
    कावासोती ७

    [६५]
    माैलिक संस्कृतिलाई अनुसरण गर्दै,
    हटाएर नक्कली चिज बढौँ अघि सर्दै ।
    🌑वासुदेव पौडेल

    [६६]
    मखमली फूलजस्तो त अरू हुँदैनन् राम्रो,
    नक्कली माला हटाई जोगाऔँ संस्कृति हाम्रो ।
    🌑गीता पौडेल।

    [६७]
    सयपत्री र मखमली पवित्र भेटघाट,
    आत्मियता के रहला र खै त्यो प्लास्टिकबाट ।
    🌑अनिता भुर्तेल
    पोखरा २८ माझठाना

    [६८]
    प्लास्टिकको छाती र घरमा फूलमाला पनि प्लास्टिककै लगाउनु,
    स्थानीयलाई किनार लगाउँदै बाहिरकालाई सधैँ जगाउनु ।
    🌑दीपक ठटाल जलन,२२.१०.२२

    [६९]
    मानिस कमाउ धन्दामा लागेका प्लास्टिककाे माला बेचेर,
    मखमली सयपत्री पलायन गरि आफ्नाेपन बिर्सेर ।
    🌑शर्मिला खतिवडा
    विर्तामोड ,झापा

    [७०]
    सुक्दछन् सुन्दर फूल, बगैँचामा कठै फुली,
    नक्कली माला किन्छ मान्छे बजार डुली डुली ।
    🌑कौशिला चौहान
    सिदिङ्वा गा.पा.ताप्लेजुङ!

    [७१]
    मखमली र सयपत्रीको बास्ना आउँछ हरर,
    प्लास्टिकको फूल आँखा बिगार्ने झिलिमिली सरर ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [७२]
    पौराणिक रौनक तिहारको खै कता भाँसियो?
    सुगन्धित सयपत्री, मखमली सारा नाँसियो ।
    🌑बि.कुलुङ
    दार्जिलिङ

    [७३]
    मखमलीझैँ नओइलिने कायम राख्नू सम्बन्ध,
    सक्कलीमा जस्तो नक्कलीमा कहाँ मिल्छ र सुगन्ध ?
    🌑पेम्बादोर्जे भोम्जन तामाङ
    बकैया गाउँपालिका -११, गमल्टार, मकवानपुर ।
    हाल श्री जनजागृति माध्यमिक विद्यालय बकैया -०८, मकवानपुर ।

    [७४]
    नओइलने प्लास्टिकको मालामा सुगन्ध हुँदैन,
    यसले सच्चा चेली र माइतीको हृदय छुँदैन ।
    🌑अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [७५]
    सयपत्री र मखमलीकै तिहारमा चाहिन्छ माला ।
    प्लास्टिक त विष हो हजुर, बालौँ ज्योती बनाई पाला ।
    🌑राजु भुसाल “रुपेक्स”
    फलेवास न. पा. ३ पर्वत

    [७६]
    नक्कली सामानकाे चलनचल्तीले सक्कली विस्थापित भयो,
    के जमाना आयाे हेर्दाहेर्दै, दुनियाँनै नयाँ चलनमा गयाे।
    🌑शाेभा आचार्य गाैतम
    काठमाडौ

    [७७]
    नगरौँ अब यस्ता नक्कली सामानको उपभोग
    प्रकृति प्रदत्तलाई मिलेर गरौँ सदुपयोग ।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया

    [७८]
    मखमली, सयपत्रीले जुन सुगन्ध छर्छ,
    पाइन्न त्यो प्लास्टिकमा जानकारी बुझ्नुपर्छ ।
    🌑विनोद प्रसाद जोशी
    दशरथ चन्द नगरपालिका ०९ ग्वाल्लेक बैतडी

    [७९]
    प्लास्टिक र भारतका फूलमा आयात नहुँदा बन्द,
    गाउँघरमा फूलका बोट खेती आजकाल भो मन्द ।
    🌑रन्जना के सी
    हाल पोखरा

    [८०]
    रोपेकी छु सयपत्री अनि मखमली फूल,
    प्लास्टिकको राम्रो लाग्नु हजुरको सोच भुल।
    🌑कौशली तामाङ
    काभ्रे,तेमाल -८

    [८१]
    खेतबारी बाँझै छन् नक्कलीकाे बिगबिगी छ हिजोआज यत्रतत्र ,
    पसिनाले भिजेन धर्ती विदेशी प्लास्टिक माला राज छ एकछत्र ।
    🌑प्रद्युम्न चालिसे

    [८२]
    चेली माइती सम्बन्धलाई सुगन्धित बनाउन,
    झिलिमिली यो तिहार पर्व हाँसीखुसी मनाउन ।
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [८३]
    धेरै महङ्गो भो मखमली र सयपत्री कहाँ पाउँनु,
    प्लास्टिककै माला धेरै सस्तो सजिलो छ काम चलाउँनु ।
    🌑परिक्रमा श्रेष्ठ
    धरान- १५

    [८४]
    मखमली र सयपत्रीसरि दिदीभाइको मायाको सुवास,
    मधुर सुगन्धले मिल्छ गाउँ परिवेशको आनन्द आभास ।
    🌑असिराम डंगौरा
    जोशीपुर कैलाली

    [८५]
    प्लास्टिकको नओइलने माला त केवल कामचलाउ मानिन्छ,
    सयपत्री र मखमली मालामा दाजुबैनीको सम्बन्ध बाँधिन्छ ।
    🌑नेहा खनाल
    सैनामैना ११ रुपन्देही (सालझण्डी)

    [८६]
    झुठो होइन साँचो हो आस्तिक,
    पक्कै पुग्छ देउँसीको आसिक ।
    🌑विष्णु रिजाल

    [८७]
    प्लास्टिकका माला लगाऊँ, केक पिज्जा खाऊँ,
    सेलरोटी र फिनी खान किन जाने गाउँ ?
    🌑मित्र `उराठी´ गाैतम
    अमरपुर,गुल्मी हाल ति न पा-२ ,रुपन्देही

    [८८]
    मखमली र सयपत्रीको भन्दा सस्तो प्लास्टिक माला,
    सस्तो भनेर लगायौभने हाम्रो संस्कृति कता जाला ।
    🌑करन बहादुर शाह
    हात्तिगौडा, काठमाण्डौँ

    [८९]
    तिहारको जस्तो आभास हुदैँन नक्कली मालामा,
    मखमली सयपत्री लगाऔँ तेल बाली पालामा ।
    🌑सरु खत्री
    पोखरा-कास्की

    [९०]
    गमलामै भएपनि रोप्नुस् चट्ट फूल,
    बजारको माला किन्ने नगर्नुस् है भुल ।
    🌑सरिता सेढाई
    धादिंग

    [९१]
    संस्कृति जोगाउनलाई फूलको माला चाहियो,
    प्लास्टिक माला हटाउँदा खुसी हामीले पाइयो ।
    🌑ज्ञानु भाट क्षेत्री

    [९२]
    गाउँघर छोडेर सहर बसेँ करेसाबारीमा फूल कहाँ पाउँनु,
    बाध्यताले अहिले सक्कली छोडेर नक्कली माला परेको छ लाउनु ।
    🌑सुरेखा चाम्लिंग राई
    –भक्तपुर

    [९३]
    छलकपट र झेलीको यो दुनियाँमा सबै नक्कली भए,
    नेताले समेत नक्कली विकासको नारा लगाएर गए ।
    🌑राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ

    [९४]
    अनावश्यक झल्लर ती घरभरी टाँस्ने,
    कृत्रिमताकाे खाेल ओँढी संस्कृति माँस्ने ।
    🌑मीरा ज्ञवाली
    बुटवल

    [९५]
    नक्कली सामान किन चाहियो हाम्रै माया गहिरो,
    दिदीभाइ भएर छेकौँला जान लागेको पहिरो ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [९६]
    सकल नेता भए भ्रष्ट,
    भोट दिने नगरौँ कष्ट ।
    🌑नवराज उप्रेती

    [९७]
    अरूको धेरै के कुरा गराैँ मान्छे नै नक्कली भए,
    संस्कृति, रीतिरिवाज, चाडपर्व बदलिँदै गए ।
    🌑सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [९८]
    किन चाहिँयो अब प्लास्टिकका नओइलने फूल,
    खेतबारी बाँझो राखेको परिणाम हो यो नभूल !
    🌑गोपीगोविन्द कृष्ण कँडेल
    विराटनगर १५

    [९९]
    ए टु जेड नक्कली छ फूलमात्र हैन,
    दियो बाल्ने तेल पनि खासै शुद्ध छैन ।
    🌑ईशहाक हुसैन
    जीतपुर सिमरा १४ बारा

    [१००]
    ओइली झर्छ सयपत्री र मखमली फूल,
    विदेशी संस्कारमा रमाउने नगर्नू भुल ।
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [१०१]
    वर्षदिनको झिलिमिली तिहार हाँसीखुसी मनाऔँ है जुटेर,
    जोगाऔँ हाम्रो मौलिक संस्कृति पर्व आ-आफ्नो ठाउँबाट उठेर ।
    🌑रमेश पौडेल

    [१०२]
    झल्को आउँछ भाइ तिहारमा घर आएको,
    सयपत्री उनेर सप्तरङ्गी टीका लाएको ।
    🌑कुसुम
    पोखरा

    [१०३]
    चलन गयो जिन्दगीबाट सरक्क सरेर,
    फूलका माला सियोले उन्ने त गयो टरेर ।
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [१०४]
    मखमलीको माला छोडी प्लाष्टिकमा लायौ,
    बिना लाज संस्कृति यो पर पर धपायौ ।
    🌑गुणनिधि घिमिरे
    अमेरिका

    [१०५]
    तिमी पनि रोयौ होला दिदी म पनि यता रोएँ,
    वर्षदिनको तिहार सम्झी परेली डिल धोएँ ।
    🌑पवन अधिकारी(~Pawan)
    इटहरी – ११ , खनार – ७ सुनसरी(सिमरबोना)

    [१०६]
    घामपानीले प्लास्टिक फूल रङ्गहिन हुन्छ,
    मखमली बाहेक् अरू नओइलिने कुन छ ?
    🌑बाबुराम गौतम
    गुल्मी

    [१०७]
    जताततै छ्यापछ्याप्ती नओइलाउने प्लाष्टिक फूलका माला,
    नेताजीकाे घाँटीलाई आराम छ छुटे माला सयपत्रीवाला ।
    🌑टीकाराम जाेशी
    टीकापुर

    [१०८]
    ताराहरूको मण्डल निधारमा सजाउँनु,
    सयपत्री फूलको माला उनेर लगाउँनु ।
    🌑जि कुमार गौतम
    भद्रपुर -१ झापा

    [१०९]
    छ्यापछ्याप्ती बजारभरि प्लास्टिकका माला,
    फूलको त पाउनै छोड्यो अल्छे तिघ्रा साला ।
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [११०]
    आजभोलि देखावटी भए हाम्रा चाडपर्व,
    रौनक छैन तिहारको कतै के गर्नु गर्व ।
    🌑नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [१११]
    अल्छेले सयपत्री नरोपी खोज्छ चाडमा माला,
    चाइनाले पठाइदियो दुरुस्तै नक्कली साला ।
    🌑कमल पोख्रेल

    Leave a Reply