साताका तीन लघुकथा

  • १२ कार्तिक २०७९, शनिबार ११:१६ मा प्रकाशित
  • साताका तीन लघुकथाको एक्काइसौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (भैलोको मूल्य, सडकको समृद्धि र ऊ पनि मरेछ) छनोट गरी प्रकाशन गरिएको छ।

    १. लघुकथा : भैलोको मूल्य

    ✍️ रञ्जुश्री पराजुली
    रुपा, कविता, रमा, गोमा टोलका दौँतरी थिए । उनीहरूले धेरै अगाडिदेखि भैलो खेल्ने सल्लाह मिलाएका थिए । उनीहरू दस, एघार वर्षका बालिका थिए । एउटै स्कुल र एउटै कक्षामा पढ्ने नभएपनि उनीहरू वल्लोपल्लो घरका साथी भएकाले सँगै खेल्ने, आफूले जानेको सीपहरू जस्तै चित्र कोर्ने, सुइटर बुन्ने, गीत गाउँने जस्ता कलाहरू एक अर्कासँग साटासाट गर्दथे ।

    दसैँको बेलादेखि नै उनीहरूले सँगै भैलो खेल्ने चाँजो मिलाएका थिए । टोलमा चिनेको घरमामात्र जाने, अबेरसम्म नडुल्ने भन्ने सर्तमा उनीहरूले भैलो खेल्न जाने स्विकृती पाएका थिए । भैलो खेल्दा जम्मा भएको पैसा दामासाही रूपले बाँड्ने भन्ने थियो ।
    सबैकुरा सुनिरहेको रमाको भाइले “म पनि जान्छु है, भैलो खेल्न । म धेरै माग्दिनँ । पचास रुपैँयामात्र दिए हुन्छ ।” भन्यो । सानो भाइलाई माया गर्दै सबैले “हुन्छ भाइ ! हामी तिमीलाई लान्छौँ, तर ज्ञानी हुनुपर्छ है ।” भने ।

    कुरा मिल्यो । लक्ष्मीपूजा सुरु भएपछि उनीहरू कविताको घरमा सबै भेट्ने सल्लाह अनुसार सबै त्यहाँ जम्मा भए । त्यसैबेला गोमा बाथरुम गएर आइहाल्छु भनेर भित्र पसी ।
    भैलो सकेर फर्किँदा कविताको आमाको तिलहरी हराएर हल्लाखल्ला भएको रहेछ । उनीहरू सबै आ-आफ्नो घरतिर लागे ।

    गोमाकी आमाले “गोमा एक्लै माथि गएकिले पक्का पनि त्यसैले चोरेको हुनसक्छ ।” भन्ने हल्ला फैलिएको सुनिसकेकी रहिछन् । उनले रिसको झोकमा छोरीलाई थप्पड लगाउँदै ” तैँले चोरेको भन्छन् हो ? हाम्रो नाकै काटिस् ।” भनेर रिस पोख्दै, “जा मलाई मुख नदेखा ।” भनेर छोरीसँग मुन्टो बटारिन् । पछि पक्का कुरा नबुझिकन छोरीलाई किन पिटे हुँला ? भन्ने पश्चाताप लाग्यो । गोमा चाहिँ रुँदै सुत्ने कोठाभित्र पसी ।

    भोलिपल्ट बिहान ढिलासम्म सधैँझैँ “चिया पाक्यो आमा ?” भन्दै छोरी नआएकीले आफैँ उसलाई बोलाउँदै ढोका खोल्दा छोरी त झ्यालको डन्डीमा उनको पटुकाको पासोमा झुण्डिएको अवस्थामा फेला परिन् ।
    २०७९.७.१०

    २. लघुकथा : सडकको समृद्धि

    ✍️ डा.शेखरकुमार श्रेष्ठ
    “हामी त जिल्लाको सीमामा आइपुगेछौँ । एकछिन यहाँ बसौँ न, हाकिम साहेब !” निजी बैङ्कमा कार्यरत अर्थशास्त्री नरेशलाई मेयर साहेबले रोके ।

    जिल्लाको दक्षिण दिशामा बग्दै गरेको सुनकोसी हेर्दै हरिया पहाडको तातो हावा खाँदै दुवै टोलाए । आधा घण्टापछि नरेशले भने, “मेयर साहेब ! हामी दुवैजना मौन व्रतमा बसेर प्रकृतिको यो दृश्य नियालेको आधा घण्टा भएछ ।” मेयर साहेबले झसङ्ग हुँदै टाउको उठाए ।
    नरेशले आफूलाई हेरिरहेको मेयरसाहेबलाई सम्बोधन गर्दै अझ थपे, “म तपाईँका यी कन्सिरीका नसाहरू फुलेको देख्दै छु । कतै तपाईँ, गम्भीर भएर केही सोच्दै हुनुहुन्छ कि ?”

    “कसरी थाहा पाउनुभयो ? तपाईँ अर्थशास्त्री मात्र नभएर मनोविज्ञ पनि हुनुहुन्छ कि कसो ? हेर्नुहोस् न, म पहिलोपटक मेयर भएर विकास निर्माणको काममा त लागेँ । तर मेरै कार्यकालमा १७९१ जना युवाहरू विदेश गएछन् । हामीले काम त गर्‍यौँ, तर …।”
    “तर के मेयर साहेब ? तपाईँ त काम गर्ने ठाउँमा हुनुहुन्छ, गर्नुहोस् न ।”, नरेशले भने ।
    “तपाईँ त अर्थविज्ञ पनि हुनुहुन्छ । हेर्नुहोस् न, मलाई त हाम्रा विद्यालय र परिवारले विदेशमा काम गर्ने कामदार बढाएजस्तो मात्र लाग्छ । हामीले सडक बनाएर जमिनको समृद्धि त बढायौँ, तर मानिसको जीवन परिवर्तन गर्न सकेनौँ ।”, मेयरले सुनाए ।

    “मेयर साहेब ! हामी यहाँ बसेको चालिस मिनेट भएछ । मैले यहाँ बसुन्जेल् जिल्ला छाड्ने ठुला ट्रक गनेँ । तपाईँलाई थाहा छ ? यहाँबाट हरेक दुईदेखि साँढे दुई मिनेटमा एउटा खाली ट्रक फर्कँदो रहेछ ! यदि यी ट्रकलाई जिल्लाभित्र पस्दा जस्तै निस्कँदा पनि भरी पठाउन पाएको भए यो सडकको समृद्धि अझै बढ्थ्यो ।”
    दक्षिणकाली ।

    ३. लघुकथा : ऊ पनि मरेछ

    ✍️ सरण राई
    “ऊ पनि मरेछ !”
    “को ऊ ?”
    दुईजना किसानहरू खेतको आलीमा बसेर खाजा खाँदै बात मारिरहेका छन् ।
    “ऊ क्या ! नेता, मन्त्री के नाम ? अँ अँ, ठुलामान मरेछ ।”
    ” ठुलामान मर्‍यो ? तर के फरक पर्छ र ? हामी सर्वसाधारण आम मान्छेहरूको जीवनमा ।”

    “फरक पर्ला कि ! असाध्य भ्रष्टाचारी, सर्वसाधारण विरोधी ऊ सरकारमा पुगेपछि जनतालाई रैती सम्झन्थ्यो । विकास निर्माणको काममा पनि कमिसन खोज्थ्यो । समाजमा विशिष्ट र सर्वसाधारणको वर्ग विभाजन गरेर सामन्ती समाज संस्कृति कायम गर्ने ऊ । गरिब, दुखीहरूलाई शोषणमा पार्ने । ऊ आफू राजा महाराजा भएझैँ अरूलाई ‘बक्सियोस्’ भन्न लगाउँथ्यो । ऊ मरेपछि त्यो ठाउँमा राम्रो मान्छे आयो भने फरक पर्ला कि .. ?”

    दुवैजना केही नबोली सुस्ताउँछन् । आफ्नै किसिमले सोच्छन् । साइँला पनि आइपुग्छ ।
    “राम्रो मान्छे नै अब कहाँ छन् र ? माथिदेखि तलसम्म सबैको चरित्र बिग्रेको छ । पार्टीको प्रशिक्षण नै भ्रष्टाचारमुखी भएको छ .. ।”

    “त्यसो चाहिँ नभनी हालौँ ।” साइँला भन्छ ।
    “पार्टीको झोलेहरू जसले बुद्धि, विवेक पार्टीमा धरौँटी राखिसकेका छन् । नचाहिँदो वकालत गरेर भ्रम फिँजाउँछन् । खासमा यस्तैहरूले पार्टी बिगारेका हुन् । व्यवस्था बिगारेका हुन् ।”
    “तिमी खुबै जान्ने ! नेताजस्तो जान्ने नहाेऊ ।” साइँला झनक्क रिसाउछ ।

    “हामीले ठुलामान मरेको बारे कुरा गरिरहेका थियौँ ।”
    “हो, उसले जनता मारेर, देश लुटेर अकुत सम्पत्ति कमायो । माफियाको मतियार बनेर घृणित काम गर्‍यो । आखिर उसले के लिएर गयो ?”
    “निम्न कोटीको ऊ ..।”
    “घृणित् ऊ … ऊ मर्यो । हामी सर्वसाधारण आम मान्छेहरूको भन्दा तुच्छ जीवन उसको ।”
    “हो नि, मौका पाएर पनि महान् काम नगर्ने कमसल ऊ …मरेछ । कसैलाई शोक लागेको छैन । असल मान्छे मर्दा पो सबै शोकाकुल हुन्छन् ।”
    विशालचौक

    Leave a Reply