लघुकथा-उज्यालो नेपालको पाठकीय टिप्पणी

  • २८ भाद्र २०७९, मंगलवार ०७:४१ मा प्रकाशित
  • **नौलो प्रकृतिको पाठकीय टिप्पणी
    वसन्त अनुभवको लघुकथामा नौंलो खोजी **

    योगप्रसाद उपाध्याय चापागाईं, काठमाण्डौं ।

    वसन्त अनुभवसँग मेरो साक्षात् भेट भएको छैन । वसन्तजी दाङ जिल्लाको घोराही सदरमुकामबासी भनेर जानेपछि मलाई अन्यतम् मित्र भएझैँ लाग्यो । किनभने म घोराही नजिक तुल्सीपुरमा बसेर कोभिड-१९ को पहिलो चरणका दिनहरू बिताएको छु । वसन्तजीलाई मैले लघुकथा, टुक्का, मुक्तक विधाका पेजहरूमा भेटेको हो । उहाँ प्रतिष्ठित साहित्यकार हुनुहुन्छ । टुक्का साहित्यका अग्रणी सर्जक भएको म राम्रो जान्दछु ।

    आज मलाई वसन्त अनुभवले लेखेको लघुकथा उज्यालो नेपाल पढेपछि मनमा उब्जिएका केही टिप्पणी राख्न मनलाग्यो । लघुकथामा राम्रो दखल लिईसक्नुभएका लघुकथाकारहरूमा वसन्त अनुभवको स्थान अघिनै आउँछ भन्ने मलाई लागेको छ । समाजमा घटिरहेका घटना, राजनीति, पारिवारिक समस्या, सामाजिक चालचलन आदि इत्यादि विषयमा वसन्त अनुभवका कथा सजिव छन् भन्ने मेरो बुझाई छ ।

    स्रष्टाले कहिलेकाहीँ समसामयिक घटनाका रुपमा भिन्न दृष्टि निक्षेप गर्नु पनि स्वभाविक हो । कुनै कुनै यस्ता विषयहरूमा स्रष्टाले रचना सृष्टि गरिदिन्छन्  जसले पाठकलाई चकित तुल्याउने गर्छ । मेरो बुझाईमा वसन्त अनुभवको “उज्यालो नेपाल” लघुकथा त्यस श्रेणीमा पर्छ; जुन कथा भिन्न सोचमा लेखिएको हुन्छ । विसङ्गतिका पनि आआफ्नै गौंडा हुन्छन् । एउटै कुरा मात्र स्थायी नहुनु स्वभाविक छ । विकासले पनि नयाँ नौला समस्या ल्याएको हुदैन भन्न सकिदैन । यस अर्थमा वसन्त अनुभवको कथा उज्यालो नेपाल लघुकथा पाएको छु ।

    कथा अनुसार शीर्षक सटिक छ । स्रष्टाले आफ्नो देश प्रगति पथमा देखेका छन् । र सम्पूर्णमा एउटा कुरामा देशलाई उज्यालोको पक्षमा देखेका छन् ।

    कथावस्तु राम्रो छ । मन्त्रीले आफ्नो जिम्मेवारी पुरा गरेका छन् । विजुली उत्पादन गरेका छन् र भारतमा समेत बेचेका छन् । यही समय मन्त्रीले देश बिजुलीमा आत्मनिर्भर भैसकेको, लोडसेडिङ नहुने र अब चौबिसै घण्टा बिजुली उपलब्ध हुने भाषण दिदैँ गर्दा  बिजुली जान्छ र लाउडस्पिकरले काम नगर्ने हुन्छ । उनले जुँगामा ताउ लाउँदै भनेको भाषण बिजुली गएपछि असत्य हुन पुग्दा मन्त्री आफ्ना आयोजक प्रति खनिन्छन् र भन्छन्, विकल्प व्यवस्था गर्नुपर्थ्यो, चार्जेबल लाइट, ब्याट्रीको व्यवस्था गर्नु पर्थ्यो । यो लापरवाही गरेको भन्छन् ।

    “लोडसेडिङ मुक्त नेपाल’ घोषणामा जुटिरहेको थियो ।” यस वाक्यले सत्य प्रमाणित गरिरहेको देखिन्छ । “उर्जा मन्त्रीले जुङ्गामा ताउ लगाउँदै भने ।” र “अब यो लोडसेडिङ भन्ने शब्द नै हराएर जानेछ ।” जस्ता वाक्यहरू लघुकथामा शसक्त बनेका छन् ।

    हुनसक्छ देश केही कुरामा अघि बढ्दैछ । स्वीकार गर्नु/नगर्नु आफ्नो ठाउँमा छ । बिजुली उत्पादनमा देशले सबल पक्ष ल्यायो तर व्यवस्थापन मिलेन । यो स्वभाविक हो ।

    कथामा देखिनसक्ने विसङ्गतिहरूमा के देखिन्छ भने लघुकथाको कथावस्तुमा उद्धृत वाक्य “उर्जा मन्त्रीले जुङ्गामा ताउ लगाउँदै भने” भन्नुको अर्थ अर्को पनि नलाग्ने होइन । यसको अर्थ आडम्बरी पनि हुन्छ । मन्त्रीले घमण्ड गरेको भन्ने पनि बुझ्नमा आएको छ ।

    यसरी यो कथा द्वन्दका माझमा छैन भनेर भन्न सकिदैन । कथाकारले यस द्वन्दलाई हटाउन सक्ने एकतर्फि बुझाउने शब्द वा वाक्यको प्रयोग गर्न सक्नु भए अझ स्पष्ट हुन सक्ने छ ।

    वसन्त अनुभवबाट सत्य र यथार्थ परक लघुकथा आईरहून् । शुभकामनासहित मैले मेरा पाठकीय दृष्टिले देखेका कुरा राख्ने प्रयास गरेँ ।

    **************************

    लघुकथा : उज्यालो नेपाल
              ✍️ वसन्त अनुभव

    खुला मञ्चमा भव्य कार्यक्रमको आयोजना गरिएको थियोे । सरकार ‘लोडसेडिङ मुक्त नेपाल’ घोषणामा जुटिरहेको थियो ।

    “नेपाल बिजुली बत्तीमा आत्मनिर्भर भइसकेको छ । यस वर्ष  …… मेघावाट बिजुली त हामीले छिमेकी मुलुक भारतमा मात्र निर्यात गर्‍यौँ ।” उर्जा मन्त्रीले जुङ्गामा ताउ लगाउँदै भने ।

    “अब यो लोडसेडिङ भन्ने शब्द नै हराएर जानेछ । चौबिसै घण्टा उज्यालो हुनेछ । तपाईंहरू जतिसक्दो धेरै विद्युत खपत गर्नोस् । विद्युत महसुल पनि घटाउँछौँ …… ।” मन्त्री माइकमा बडो जोसका साथ बोल्दै थिए । बत्ती झ्याप्प गयो । माइक पनि बन्द भयो ।

    “यस्तो विशेष कार्यक्रममा चार्जेबल लाउडस्पिकर ल्याउनु पर्दैन् ? वैकल्पिक ब्याट्रीको व्यवस्था गर्नु पर्दैन् ? लापरबाही गर्नुको पनि हद हुन्छ नि, यार !” मन्त्रीज्यू आयोजक तर्फ खनिँदै थिए ।

    घोराही उपमहानगरपालिका १४, दाङ
    २०७९/५/१५

    Leave a Reply