साताका तीन लघुकथा

  • २५ भाद्र २०७९, शनिबार ०८:५५ मा प्रकाशित
  • ‘साताका तीन लघुकथा’को अठारौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (विष, सौभाग्य र अनपेक्षित प्रश्न) छनोट गरी प्रकाशन गरिएको छ।

    [१] लघुकथा : विष

    ✍️ नन्दलाल आचार्य
    ‘म जान्न भन्दाभन्दै जान बाध्य पार्नुभयो, आमा !’ दीपकले घरबाट छुट्टिने बेलामा आमासँग भनेको थियो ।

    ‘तेरा बाबु त जाँडमा हराइरहेका छन् । तँ पनि लुकिछिपी हराउन थालिस् र पो ।’ यसो भन्दै आमाले गहभरि आँसु बनाइन् ।

    आमाले भएको एक्लो छोरालाई पराइ मुलुकमा पठाउने दुईटा काइदा थिए– पहिलो, दीपकले पढ्न छाड्यो । दोस्रो उसका दौंतरीलाई भाँड्यो भन्ने व्यापक गुनासो थियो । अमिलो मन बनाएर दीपकका पाइला अघि बढे ।

    उसको मनमा मन्द विष फैलिरहेको थियो । ‘दीपकले दौतरी भाँड्यो’ भन्ने उक्तिलाई ऊ हरदम सम्झन्थ्यो । उसले निकै मेहनत गर्यो । कृषिफर्मको नोकरीमा उसले काम मात्र गरेन सीप पनि सिक्यो ।

    दीपकले जीवनमा कहिल्यै नसिकेको र सिक्ने कल्पना पनि नगरेको कुरा सिक्यो । आफू विदेश आउँदा लागेको ऋण चुक्ता गरिदियो । त्यसपछि एक पैसा पठाएन ।

    ‘सन्तान बढेर सुख देलान् भनेको आफैँ कमाएर एक्लै कुपुकुपु हसुर्दा रहेछन् ।’ दीपकको पैसा नपठाउने बानीलाई कटाक्ष गर्दै एक छिमेकी भने ।

    अर्का छिमेकीले सिधै थपे; ‘दीपके जस्तो पाखण्डी छोरो त कसैको नजन्मियोस् ।’

    ‘म पैसा दिन्छु तर अहिले असमर्थ छु ।’ बाबुआमालाई दीपक हरदम यसै भन्दै थप्थ्यो; ‘भीडको पछि लागेर मलाई नसराप्नु । तपाईंहरूको छोरो मान्छे बन्न गइरहेको छ ।’

    नभन्दै आठ वर्षपछि दीपक घर फिर्यो तर सुको देखाएन । यस पटक सबैले उसलाई हकारे । पैसा कहाँ उडाइस् र किन भनेर कारण सोधे ।

    उसले भन्यो; ‘मैले कमाएको पैसा अरू पैसा तान्न गएको छ । फर्कनासाथ ब्याजसहित फर्काउँछु ।’

    सुन्नेले ओठ लेप्र्याए ।

    तीन महिनापछि बाबुआमाको नाममा ‘विष्णु+भगवती’ कृषिफर्म खुल्यो । अहिले सात जनालाई रोजगार र मासिक डेढ लाख आम्दानी गर्न थाल्यो फर्मबाट ।

    पहिले बद्ख्वाइँ गर्नेहरू अहिले दीपक स्तुति गाएर थाक्दैनन् । दीपक भने त्यस क्रियाकलापलाई समेत अधोगति यात्राको मन्द विष सझिरहेछ ।

    • सिर्जनाकुटी, सिरहा ।

    [२] लघुकथा : सौभाग्य

    ✍️ राज कुमार कार्की
    महिमा दैनिक कार्यालय जाँदा टाइट पेन्ट टिसर्ट लगाएर जान्थिन् । उनका श्रीमान् महेश भन्थे, “तिमी साधारण पोसाकमा हिड्ने गर । सौभाग्यमा सजिने गर । यो तिम्रो सुरक्षाको लागि भनेको…….!”

    “भयो, भयो ! म सत्य युगकी नारी हैन्; घुम्टोमा मुन्टो लुकाउने ।” झर्किदै महेशलाई आँखा तरिन् । महेश दिक्क मानेर चुप हुन्थे।

    महिमा प्रायः नयाँ नयाँ जिन्स पेन्ट र टिसर्टमा सजिएर काममा जान्थिन् । यसरी जाँदा आउँदा बाटोभरि सुसेल्ने, अश्लील शब्दको प्रयोग, छेडछाड गर्ने, टाँसिन खोज्ने जस्ता अनेक गिद्धे हर्कत भोग्नु पर्थ्यो ।

    एकचोटि ढोकामा उभिएर भान्से बज्यै महिमातिर हेरेर भन्दै थिइन्, “सारी चोलोमा नानीलाई कस्तो देखिन्थ्यो होला ?” महिमा केही नबोली कोठाभित्र पसिन् ।

    महेश काममा गइसकेका थिए । महिमा पनि आज सारी चोलो र सिन्दुर पोतेमा सजिएर काममा हिँडिन् । आज बाटो शून्य थियो । महिमा अगाडि बढिसकेकी थिईन्, पछाडिबाट आवाज आयो, “यार विवाहित पो रहिछ । जिस्काउनु हुन्न ।”

    महिमा घर आएर ऐना अगाडि उभिएर शिरदेखि पाउसम्म आफूलाई नियालिन् ऐनामा अनि आफैँलाई चुम्दै ,”वाउ ! मेरो सौभाग्य” भन्दै मस्किइन् ।

    [३] लघुकथा : अनपेक्षित प्रश्न

    ✍️ मिसु श्रेष्ठ
    विद्यालयदेखिकै नजिककी साथी मानवी । लामो समयको अन्तरालमा सामाजिक सञ्जालले नजिक पार्यो । उनको सामाजिक सेवाप्रतिको लगावले म प्रभावित भएँ । रुचि मिलेकोले हाम्रो मित्रता प्रगाढ बन्यो । उनको सामाजिक गतिविधिका फोटो, भिडियो लाइक र कमेन्ट गर्ने म नै पहिलो व्यक्ति थिएँ ।
    केही समयदेखि उनलाई कतै देख्न नपाउँदा खिन्न थिएँ । फोन गर्न त सक्थेँ तर ….।

    फेसबुक नोटिफिकेशनले उनको स्टाटस अपडेटको जानकारी दियो । तीजका विभिन्न स्थान र समयका तस्बिर/ भिडियोहरू थिए । लाइक गरेँ । शुभकामना दिएँ । अनलाइन देखेर प्रश्न राखेँ,- “समाजसेवी मानवीको रङ्गीन गतिविधि उचित हो त ?”

    “नेपाली हिन्दु नारी हुनुको नाताले तीजका गतिविधिमा सामेल हुनु अनुचित हो र ?”

    “तीज आउनु कता कता … थरीथरीका साडी, खानपिन, भड्किलो नाच अति भएन र ?”

    “टीका, पोते, चुरा, साडी भड्किलो हो र ? के अङ्ग प्रदर्शन छ र त्यहाँ ? फेरि, दुई चार हजारको खाना खर्च र बाह्र महिनामा दुई चार दिन रमाइलो गर्नु अति हो र ?”

    उनी रिसाए झैँ लागेर हत्तपत्त बोले,- “होइन्, होइन् ! जिस्केको मात्र हो नि !”
    “हेर न सामाजिक सञ्जालमा पनि नाना आलोचनाहरूको ओइरो छन् । सधैँ घर र कार्यालयमा व्यस्त नारी तिजको बहानाले साथीहरूसँग भेटघाट गर्नु अन्यथा हुन्छ र ? यी सब नारीलाई चुल्हो र चौकामा मात्र देख्न चाहने पुरुष मानसिकताको उपज हो ।” उनको बोलीमा रुष्टता थियोे ।

    “ठिक छ त ! झन् राम्रा राम्रा फोटो हेर्न पाइएको छ ।” मैले सम्बन्ध बिग्रन नदिने कोसिस गरेँ ।
    “साथी ! तिमीले वर्षभरिमा रमाइलो गर्दा कति खर्च गर्यौ, लेखाजोखा छ त ? उताबाट रुखो स्वर सुनिँदै थियो ।

    Leave a Reply