
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीअरबले २९ जुलाई २०२२, शुक्रवारका दिन आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको छ। साउदीअरबको राजधानी रियाद स्थित एक सभाहलमा एनआरएनए एनसीसी साउदीअरबका अध्यक्ष डमर कुमार यादवको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
वार्षिकोत्सव कार्यक्रममा संघका संगठनिक कार्यप्रगती विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै श्रमिकहरूको समस्याको सुनुवाईका लागी अन्तर्क्रिया कार्यक्रम र विभिन्न सांगीतिक कार्यक्रम रहेको थियो ।कार्यक्रममा आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष मनिष कोईराला द्वारा प्रस्तुत गरिएको थियो भने कार्यप्रगती विवरण संघका महासचिव उमेश भट्टराई द्वारा प्रस्तुत गरिएको थियो । महासचिव भट्टराई द्वारा प्रस्तुत भएको कार्यप्रगती विवरण अनुसार गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको ३० जुलाई २०२१ मा सम्पन्न भएको आठौँ महाधिवेशन बाट गठन भएको कार्यसमितिले २९ जुलाई २०२२ सम्ममा बाहिरी र आन्तरिक स्रोत बाट विभिन्न सहयोग, उद्धार तथा सहजीकरणका कार्यहरू भएको उल्लेख गरिएको थियो ।

महासचिव भट्टराईका अनुसार बाह्य स्रोतबाट कोरोना महामारी केन्द्रित रही संघले दम्माम, रियाद र जेद्धा गरी साउदीअरबका मुख्य ठूला सहरहरूमा समस्यामा परेका नेपाली श्रमिकहरूको लागि अस्थायी आवास गृह क्रियाशील रहेका छन्| जसबाट हालसम्ममा २ सय ३१ जना भन्दा बढीले लाभ लिएका छन् भने कोरोना प्रभावितहरु मध्ये स्वदेश फर्किन असमर्थ भएकाहरु ४४ जना पुरुष र ११ जना महिला गरी ५५ जना नेपाली श्रमिकहरुलाई हवाई टिकट उपलब्ध गराई स्वदेश फिर्ता पठाईएको थियो भने स्वदेश फर्किएकाहरु मध्ये विमान स्थल काठमाडौँ देखी घरसम्म जान १० जनालाई संघले यातायात सेवा प्रदान गरिएको थियो ।
कोरोना महामारीका दौरान अस्थायी आवास बाहिर विभिन्न स्थानहरुमा रहेका १ सय ६० जना नेपाली श्रमिकहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको र यसै अवधिमा ३८ जना नेपाली श्रमिकहरूलाई RT PCR परीक्षण सेवा उपलब्ध गराईएको थियो। यसका साथै विभिन्न साउदी सरकारी ऐन तथा कानुनको उलंघन गरी समस्यामा परेका ५ जना नेपाली श्रमिकहरूलाई सरकारी जरिवाना भुक्तान गरी बहिर्गमन भिषा उपलब्ध गरि दिएको उक्त विवरणमा भनिएको थियो ।

साउदीअरबको दम्माम, जुवेल, अलकासिम, हायल र जेद्ध गरी ५ स्थानहरुमा नेपाली श्रमिकहरूको निःशुल्क स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको र जसबाट ६ सय ७२ जना नेपाली श्रमिकहरूले सेवाको लाभ लिएका थिए।
भट्टराईका अनुसार संघले नेपाली दूतावासको आयोजना र संघको सहजिकरणमा साउदी अरबको पूर्वी क्षेत्रमा ४ अलकासिममा १, जिजान/आवाहमा २ ताबुकमा १ गरी ८ वटा राहदानी सहजिकरण शिविर सञ्चालन गरिएको र ३ हजार ३ सय ५८ जना नेपाली श्रमिकहरूले उक्त शिविर बाट लाभ उठाएको थियो ।त्यसैगरी उक्त कार्यप्रगति विवरणमा एक एनसीसी एक परियोजना अन्तर्गत सिराहा जिल्ला विष्णुपुर गाउँपालिका वडा नम्बर १ र ४ स्थित रहेको सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई aama foundation USA र एनसिसी साउदी अरबको संयुक्त पहलमा २ लाख २० हजार बराबरको शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको उल्लेख गरिएको थियो ।
संघका महासचिव द्वारा प्रस्तुत गरिएको विवरणमा एनसीसी साउदीको आन्तरिक स्रोतबाट एनआरएनए एनसीसी साउदीका पंजीकृत सदस्यहरू रविन्द्र थापा(SA0200472),
चित्रबहादुर गुरुङ(SA070002009) र धनपति माझी(SA04000104) को कामको सिलसिलामा साउदीमा मृत्यु भएको हुँदा संघको विधानतः मृतकको परिवारलाई जनही नेपाली रुः ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको थियो छ भने विभिन्न समस्यामा परी हवाई टिकटको आभावमा नेपाल फर्किन प्रतिक्षारत १० जना महिला र २ जना पुरुष गरी जम्मा १२ जनालाई हवाई टिकट उपलब्ध गरिदिएको उक्त विवरणमा उल्लेख गरिएको थियो ।

प्रस्तुत प्रगति विवरण अनुसार संघले साउदी अरबको पूर्वी क्षेत्र दम्माममा नेपाली राजदूतावास रियाद र एनआरएनए एनसीसी साउदीअरबको संयुक्त सहकार्यमा संचालन गरिएको श्रमिक सचेतना कार्यक्रम बाट ६ सय २३ जना श्रमिकहरुले लाभ प्राप्त गरेका थिए। त्यसै गरी संघको आन्तरिक स्रोत बाटै नेपाली महावाणिज्य दूतावास जेद्धा र एनआरएनए साउदी अरबको संयुक्त सहकार्यमा साउदी अरबको अबाह र जिजानमा एक/एक गरी २ वटा राहदानी सहजीकरण कार्यक्रम सम्पन्न गरिएको थियो, जसबाट २ सय ४८ जना नेपाली कामदारहरु लाभान्वित भएका थिए।
महासचिव भट्टराई द्वारा प्रस्तुत उक्त विवरणमा एनआरएनए एनसीसी साउदीअरबको उपाध्यक्ष रबिना अर्याल संयोजक रहेको लेभर टास्क फोर्स समिति र नेपाली नियोगहरु सँगको समन्वय र सहकार्यमा संघले विभिन्न समस्यामा परेका नेपाली श्रमिकहरूको उद्दार तथा पैरबी पहल गरिएको उल्लेख गरिएको थियो ।
उक्त कार्यप्रगति विवरणमा एनसीसी साउदीअरब द्वारा संचालित श्रमिक अस्थायी आवसीय गृहमा रहेका १ सय २२ जना पीडित नेपाली कामदारहरुलाई खाद्यान्नको व्यवस्थापन गरिनुका साथै अस्थायी आवास बाहिर रहेका ४९ जना पीडितहरूलाई खाद्यन्न सहयोग गरिएको समेत उल्लेख गरिएको थियो ।
त्यसैगरी खेलकुदमा एनआरएनएको सहभागिता अन्तर्गत एनसिसी साउदी अन्तर्गत रहेका RCC र LCC हरूले नेपाली खेलाडीहरूको खेलकुदलाई प्रवर्धन गर्ने उद्देश्य अनुरुप साउदीको पूर्वी प्रान्तका दम्माम र कतिफमा एक/एक गरी दुई वटा भलिबल प्रतियोगिताहरु सम्पन्न गरिएको थियो ।
संघको वार्षिकउत्सव कार्यक्रममा क्षेत्रिय समन्वय समिति दम्मामका अध्यक्ष विष्णु भण्डारी, अलकासिमका उपाध्यक्ष काजिमान कान्धाङ्वा र जेद्धाका सचिव चिरञ्जीवी बस्नेतले आआफ्नो सांगठनिक प्रगति प्रस्तुत गरिएको थियो भने सोही कार्यक्रममा अल अविर ईन्टर्नेशनल मेडिकल सेन्टरले निःशुल्क स्वास्थ्य शिविर संचालन गेको थियो, जस बाट कार्यक्रममा उपस्थित नेपाली नागरिकहरूले स्वास्थ्य परि़क्षणको लाभ लिएका थिए।
वार्षिकोत्सब समारोह कार्यक्रमका दौरान नेपाली श्रमिकहरुसँग सम्बन्धित अन्तरकृयात्मक कार्यक्रम पनि संचालन गरिएको थियो। सोही चरणमा हलमा सहभागीहरु मध्येबाट विभिन्न ८ वटा शिर्षकमा श्रमिक गुनासा र समस्याहरुका बारेमा प्रतिनिधि जिज्ञासा राखिएको थियो । सोहि चरणमा उठेका जिज्ञासा र गुनासाहरुलाइ नेपाली दूतावास रियादका श्रम काउन्सिलर देवेन्द्र कार्की, प्रथम सचिव ऋषि आचार्य, द्वितीय सचिव टिकाराम तिमलसीना लगायत नेपाली नियोगका प्रतिनिधिहरुले सम्बोधन गरिएको थियो । वहाहरुले विशेषगरी पछिल्लो समयमा नेपाली श्रमिकहरुले भोगि रहेका समस्या, समाधानका पहल र निराकरणका लागी नेपाली राजदुतावासले खेलेको भूमिकाका बारेमा प्रस्ट्याईएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली दूतावास रियादका लागी कार्यवाहक राजदूत दिलिप कुमार पौडेल संगै विशिष्ट अतिथिको रूपमा दूतावासका प्रथम सचिव ऋषि आचार्य, श्रम सहचारी देवेन्द्र कार्की, द्वितीय सचिव टिकाराम तिमलसीना र पूर्वी प्रान्तका लागी नेपाली दूतावासका जनसंपर्क अधिकारी नारायण पासवानको उपस्थिती रहेको थियो । अतिथिहरूमा एनआरएनए आईसीसीका महिला उपाध्यक्ष यास्मिन वैगम, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, सदस्य तेज थापा संगै एनआरएनए एनसीसी साउदीअरबका राष्ट्रीय, क्षेत्रिय र स्थानीय तहका पदाधिकारीहरूको उपस्थिती रहेको थियो । अतिथिकै रूपमा साउदीअरब स्थित क्रियाशील विभिन्न राजनीतिक र सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, व्यवसायी तथा वुद्धिजीवीहरू र विभिन्न संचार क्षेत्रमा आवद्ध संचारकर्मीहरूको उपस्थिती रहेको थियो ।