
‘साताका तीन लघुकथा’को सत्रौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका जनैपूर्णिमा विशेष लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (जनैको कथा, बाचा बन्धन र जनै) छनोट गरी प्रकाशन गरिएको छ।
१) लघुकथा : जनैको कथा

✍️ लक्ष्मण अर्याल
“यसपालि तिब्बती भोटेले जनै पठाउँदै पठाएन । यो त पोहोरको जगेडा हो ।” पूजा सामग्री पसलका बुढा बा भन्दै थिए ।
“धन्न हाम्रो संस्कृति त्यही भोटेले भने पनि जोगाइदिएको छ बा ।” उसले कुराको पुच्छर जोड्यो ।
“जनै मन्तर्नु (मन्त्रनु) अनि मन्तरिएको (मन्त्रिएको) जनै लगाएर त्यसको विधिविधान पालना गर्नु, यी सबै दन्त्यकथा भए । सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला, यो संस्कृति खाल्डोमै जाला, पैसा जति भोटेले लाला ।” पसले बुढा पनि कहाँ कम थिए र । उनले ठट्टैठट्टामा गहिरो कुरा गरे ।
“हो त नि बुबा ।” उसले बुढाका कुरामा सही थाप्यो ।
“तिमीलाई पुराना कुरा था’छैन बाबु । उहिले एक जना ज्ञान दिलदास भन्ने सन्त कविले भनेका थे, ‘धर्म र कर्म गुरुङले गर्यो छक् पर्योे बाहुन’ यो बाहुनलाई हेप्या हो भन्लाऊ नि फेरी । हैन, सत्ते कुरा बोलेको हो ।” बुढा अझ कुरामा गहिरिए ।
बुढा आफ्ना कुरा सुनिदिने र सही थाप्ने मान्छे भेट्टाए यसरी कुरामा बगिरहन मनपराउँछन् । घर बसेर काम नहुँदा उनी दिक्क थिए । यसैले छोरालाई कर गरेर एउटा पूजासामग्री पसल राखे । यो पसल राखेपछि उनी झनै तेजिला बन्दै गएका छन् ।
उसले भन्यो, ” तपाईं पनि यही जनै लाउनुहुन्छ बा ?”
बुढाले कुरालाई निथारेरै भने, “मेरा लागि जनै म आफैं बनाउँछु बाबु । मन कहाँ मान्छ र यस्तो जनै भिर्न । अड्डी ब्राह्मणका लागि होइन यो जनै, हड्डी बाउनले मात्र यस्ता लाउँछन् ।”
रत्न नगर, टाँडी, चितवन
२) लघुकथा : बाचा बन्धन

✍️ निरज कोइराला
“येनबद्धु बलीराजा दानवेन्द्रो महाबल: …… “
पण्डितले डोरो बाँध्दै थिए । मैले गुरुलाई डोरो बाँध्नुको कारण बताउन कर लगाएँ ।
“सचि पुराण, स्कन्द पुराण, पद्म पुराण र श्रीमद्भागवत् पुराणमा समेत दानवीर असुर राजा बलीले देवताहरूलाई जितेपछि स्वर्गमा अधिकार जमाएका थिए । असुरराजको घमण्ड चरम् सीमामा पुगेको थियो । असुरराजको अहङ्कारलाई चकनाचुर बनाउनका लागि भगवान् विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राह्मण भेषमा राजा बलीकहाँ भिक्षा मागे ।
राजा बली महान् दानवीर थिए । उनले ब्राह्मणलाई जे माग्छौ दिने छु भनेर वाचा गरे । ब्राह्मणरुपी भगवान् विष्णुले बाचा बन्धनमा तीन पाउ जमिन मागे । दुई पाउले आकाश र मर्त्य ढाकी पाताल पठाए ।” गुरुलाई रोकेर सँगै बसेका मित्र गणेशले प्रश्न तेर्स्याउनुभयो, “यो पुराण गुरुहरूले पहिल्यैदेखि असुर नेताहरूलाई पढाएर कपटी विष्णु बनाउनुभएछ । हामी सबै दानवीर बलीराजा । अब मङ्सिर चारको हाम्रो दुई भोट, त्यस्तै दुई पाउ त हुँदैन ?”
बेलका १ । हालः इटहरी
३) लघुकथा : जनै

✍️ नारायण कोइराला
बस आफ्नै गतिमा अगाडि बढ्दै थियो । नजिकै एउटै सिटमा बसेको साथीले फोनमा ठूला गफ गर्यो, “घाँटीमा धागो लगाउँदैमा के नै हुन्छ र ?” म कुरा बुझ्न सकिरहेको थिइनँ । मनमनै सोचेँ, “कुनै भ्रम होला, उसमा ।”
मौसम खराब हुँदा रोड भाँसियो । सौभाग्य ! ठूलो रुखमा बस अडियो । म आफ्नो जनै समाउँदै भगवानलाई सम्झिएँ । हत्तपत्त ऊ, मेरो जनै समाउन पुग्यो । मैले जोडसँग भगवानलाई पुकारेँ । उसले पनि ।
हामी दुवै बिस्तारै बसबाट उत्रियौँ । मैले प्रश्न गरेँ, “तिम्रो जनै खोइ ?” उसको शिर झुक्यो । मैले कुरा बुझेँ । उसले धागो भनेर साथीसँग कुरा काटेको त्यो धागो त ! पूजा गरिएको जनै पो रहेछ ।
तानसेन पाल्पा

