
काठमाडौ, १८ असार । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४०औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ४३ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४०औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
कृषिमा क्रान्ति हुन्छ भन्थे भित्र्याउँछौ नयाँ प्रविधि,
साच्चिकै भित्र्याएरै छाडे, मान्नैपर्छ ज्ञानका निधि।
वसन्त अनुभव

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
नयाँ प्रविधिमा कृत्रिमता छ पौष्टिकता छैन,
विषादी खाएपछि कहाँ हुन्छ र जीवमा चैन।
✍️
दीपक ठटाल जलन, ०१.०७.२३
[२]
धानको अपमान गरी, के लागे अब छोप्न,
खेतको फाँट सम्झेर, गमलामै आँटे रोप्न ।
✍️
प्रेम थापा
[३]
गमलामा रोपेर धान पुर्याउने कहिलेसम्म,
चित्रमा हेर्दा पनि मलाई त लाग्यो साह्रै अचम्म।
✍️
लालीमाया थापा मगर
प्युठान
[४]
गुनासो अब केही गर्दिनँ, भन्दिनँ मल पाइन्न,
व्यर्थ किन खेत जोत्नु, धान रोप्न खेत नै चाहिन्न ।
✍️
वसन्त अनुभव
घोराही -१४, दाङ
[५]
क्रान्ति अरे धन थाेपर्ने, खाेज्दै लोकप्रियता सस्ताे,
इज्जत भुली पैसासँग आमा नै साट्ने रुचि कस्ताे ।
✍️
निरज कोइराला
बेलका१ उदयपुर हाल इटहरी
[६]
धान दिवसको नाममा सम्पूर्ण खल्ती टन्न भर्यौ,
गमलामा धान राेपी किसानको बदनाम गर्यौ ।
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे
भक्तपुर ।
[७]
कृषि उब्जनी बढाउन गमलामा छरेर पुग्छ मल,
खेतमा मलजल पुर्याउन सकिन्न गरौँ छलफल ।
✍️
भगवती दवाडी
दमक ,झापा
[८]
पुरानै हो प्रविधि, गमलामा धान रोप्ने,
नयाँ रहेछ, आङ पुरै हिलोले नै छोप्ने।
✍️
सीता रेग्मी
सुन्दरहरैचा मोरङ।
[९]
कृषिमा ल्यायौ नयाँ क्रान्ति, लगायौ बीउको माला,
किसानलाई मल नदिई रुवायौ, कस्तो चाला ।
✍️
बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[१०]
धान राेपाैँ गमलामा राेपाैँ अनि जिउमा,
नष्ट पारौँ सबै आयात बढाऔँ बीउमा ।
✍️
मित्र `उराठी´ गाैतम
अमरपुर- गुल्मी हाल तिलाेत्तमा-२ रुपन्देही
[११]
बीउको माला लगाउँदै, बस्छौ ठाँटले,
कि त गर्छ कार्य आँटले, कि त ढाँटले ।
✍️
प्रदीप के रिमाल
इटहरी – आठ।
[१२]
देशका जनता भोको हुन्नन् अब आयो कृषि प्रविधि नौलो,
नेताहरू सबै वैज्ञानिक फल्दछ धान गमलामा पौलो ।
✍️
बेदु न्यौपाने
काठमाण्डौँ
[१३]
चाहिँदैन प्रविधि बुझ पचाउने मतिको,
गमलामा धान रोपेको हुन्छ कुन गतिको?
✍️
अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[१४]
चाइनाले जस्तै गर्न खोज्या होला सिको,
यस्तै पाराले के बच्लान् त नुनको ढिको?
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन – ६ संखुवासभा हाल मलेसिया
[१५]
धान रोप्छन् पहाड हिमाल मधेशले पनि,
आयात हुन्छ देशभित्र अनिकाल भो भनी ।
✍️
सुरेशकुमार पान्डे।
दाङ घोराही १८
[१६]
कृषिमा आधुनिक चामलको छ बर्षात,
अन्नको हुन्छ आयात रुपैयाको निर्यात।
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी
[१७]
गाई पाल्न छोडेर कुकुर पाल्न थाले,
खेत बाँझो राखेर कसरी खाला काले।
✍️
बिके मुखिया
दार्जीलिङ भारत।
[१८]
यस्तै गरी हुन्छ विकास उन्नति र प्रगति,
हेर्न पाइन्छ यस्तै दृश्य लागेपछि कुमति ।
✍️
रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
[१९]
रमिता देखाउने हाेइन हजुर अब त बाँझो जमिन खनौँ,
बाँझो जमिनलाई उर्वर बनाई कृषिमा आत्मनिर्भर बनौँ ।
✍️
रामप्रसाद बेल्बासे ‘एक्लाे यात्री’
शीतगङ्गा – ५, अर्घाखाँची; हाल- बुद्धभूमि -३,कपिलवस्तु
[२०]
विज्ञ नेता, गमलामा धान रोपे, घाँटीमा बीउ,
नौटङ्की असारमा हिलोले रङ्गाएका छन् जिउ !
✍️
रबि श्रेष्ठ, सन्धिखर्क, अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही !
[२१]
उता गाउँमा खेत छ बाँझो छतमा नाटक गर्छौ,
यही पाराले अनिकाल लाग्छ के खाई पेट भर्छौ ।
✍
नवशिला ,
बेलबारी-२,लालभित्ती,मोरङ।
[२२]
कोही रोप्छन् गमलामा त कोही कोहीले शिरमा,
भोकमरीले लाने हो कि, जनता सधैँ पिरमा ।
✍️
मन्दिरा सेढाई
मलेखु,धादिङ
[२३]
कृषिमा क्रान्ति ल्याउँछाैँ भन्थे हमलामा,
देखियो हेरियो आज साँच्चै गमलामा ।
✍️
केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[२४]
मोडेल पनि देखिएछन् झण्डै नाङ्गा, लाज शरम पूरै पचाएर,
घाँटीमा धानको दाम्लो बेर्नेले के राख्लान् देशको इज्जत बचाएर ।
✍️
राजेशराज गड्तौला
रतुवामाई- १९, मोरङ; हाल- प्रवास
[२५]
ल्याउनु छ कृषिमा क्रान्ति बीउको माला लगाउँदै,
गरौँ भागबन्डा सबै किसानका आँसु बगाउँदै ।
✍️
दुर्गा आचार्य
मोरङ
[२६]
खिया लागेका कृषि औजारहरू त्यत्तिकै छोपेर,
कृषि क्रान्ति कसरी हुन्छ गमलामा धान रोपेर ।
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।
[२७]
कृषिमा क्रान्ति आयो हजुर गमलामा धान रोपी,
कोही टुप्पी बीउ सिउँरिने त कोही छातीमा छोपी ।
✍️
मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार, बिर्तामोड झापा
[२८]
गमलामा धान रोपी कृषि क्रान्ति गर्छु,
बिना खेती मुरी धान भकारीमा भर्छु ।
✍️
बिके माकजु
भक्तपुर ।
[२९]
युवाहरू बेच्याै खाडीतिर बाँझाे बनाई खेत,
जिउ र गमलामा धान राेप्छाै विकसित चेत ।
✍️
ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३०]
भकारीमा धान भए नाइटोमा कुटेर खाइन्छ,
अब गमलामा धान फलाई निर्यात गराइन्छ ।
✍️
देबकी के.सी
दक्षिणकाली ,काठमाडौं
[३१]
कस्तो आयो जमाना यो गमलामा धान रोप्ने,
भएछ तिम्रो बुद्धि भ्रष्ट, बीउले अङ्ग छोप्ने ।
✍️
योगप्रसाद उपाध्याय चापागाईं
गोठाटार, काठमाण्डौं ।
[३२]
गमलाकाे राेपाइँले दियाे सन्देश राम्रो,
बीऊ मासेर माला भिर्ने नेता मन्त्री हाम्रो ।
✍️
रामकृष्ण दुवाडी
[३३]
कस्तो समस्या हो किसानको जल भए मल नपाउने,
कृषि क्षेत्रमा यही हो उन्नति पशुलाईझैँ धपाउने ।
✍️
अम्विका अधिकारी
झापा, विर्तामोड
[३४]
कोही बीउको माला लगाउने कोही ढाक्ने नाङ्गो जिउ,
नयाँ प्रविधि कस्तो ? के होला रोपेर गमलामा बीउ ?
✍️
अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत
[३५]
कुराको छ खेती सर्वत्र, गाउँभरि निम्तो छ रे,
किसानका रोपाइँमा नेता आई भाषण गरे ।
✍️
मनोहरी पौडेल
गैडाकोट १ मिलन टोल, नवलपुर
[३६]
अन्त ठाउँ कतै नपाई गमलामा धान राेप्रे,
निकै भाइरल बनिन् होला हिलोले अङ्ग छोप्ने ।
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[३७]
असारमा गलामा बीउ मङ्सिरमा अब के फल्दछ,
देखेर विधि उच्च पदस्थको यो मन त्यसै जल्दछ ।
✍️
त्रिलोचन भण्डारी
मेचीनगर, झापा
[३८]
बीउ जति माला बनाई, लगाएछौ गलामा,
बाँकी टाँस्यौ छातीमा अनि रोपेर गमलामा ।
✍️
गोपालकृष्ण डंगोल
काठमाण्डौँ, हाल इटहरी ।
[३९]
गमलामा फलाउने, कृषि प्रविधि आयो,
शरीरमै धान रोपी, नयाँ विकास छायो ।
✍️
जमुना आचार्य
[४०]
देश उकालो लाग्दैछ धान रोपेर सुनको साटो,
मुरी फलाऔँ किसान मानो छरी भत्काइ चौबाटो ।
✍️
जि कुमार गौतम
भद्रपुर १ पृथिविनगर झापा
[४१]
आधुनिक युगमा प्रयाेग गरे विज्ञान र प्रविधि,
गमलामा धान राेपी बचाएर राख्छु देशकाे निधि ।
✍️
प्रद्युम्न चालिसे
देवघाट तनहुँ
[४२]
आयो नौलो प्रविधि अहिले धान रोप्ने गलामा,
हाम्रा नेता सकल अगुवा पर्न थाले थलामा ।
✍️
सुर्य मणि रेग्मी
चितवन
[४३]
असारभरि पसिना बगाउने त भोकै पर्छन्,
कोही हिलै नटेकी गमला र फेसबुक भर्छन् ।
✍️
तारा घिमिरे

