सविता के.सी.का २० उत्कृष्ट पञ्चाङ्गहरू

  • ५ श्रावण २०७९, बिहीबार ००:५२ मा प्रकाशित
  • पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

    सविता के.सी.


    सुध्रिनुपर्थ्यो, सुधार्ने भए मतिमा सबले
    रफ्तार विस्तार गर्नुपर्थ्यो गतिमा सबले
    यसै हुन्न देश विकास, भरिन्न भोको पेट
    नआत्तिकन सम्हाल्नुपर्थ्यो क्षतिमा सबले
    संयम भई लाग्नुपर्थ्यो उन्नतिमा सबले ॥


    फूल र माहुरीको जस्तो सम्बन्ध रहोस् भन्छु
    हिंसाको निकटतम कोही पनि नहोस् भन्छु
    प्रकृतिमा हराभरा बनाइरहनुपर्छ
    फूलले पनि काँडालाई कहिले सहोस् भन्छु
    काँडाले आफ्नो बाध्यता फूललाई कहोस् भन्छु ।


    व्रजमा कृष्णलाई कुर्ने राधा वनमा
    कृष्णकै मुरली सुनिन्छ आधा वनमा
    कालान्तरसम्म बाँचेकाे प्रेम कहानी
    गाेठालाे कृष्णकाे सम्झना बाधा वनमा
    कृष्णकै खाेजी चलिरह्याे साधा वनमा ।


    कर्तव्य नै मुख्य बाटाे राम भन्छन्
    पिताकाे वचन आफ्नाे काम भन्छन्
    रामकाे राज्य भन्ने उखान सम्झाैँ
    सुविचारले नै बन्छ नाम भन्छन्
    मातापिताकाे चरण धाम भन्छन् ।


    समाजले बाेलेकाे देखाइदियाै जात तिमीले
    नारीपुरुषमा पनि गर्याै पक्षपात तिमीले
    आधा आकाश हैन सिङ्गाे धर्ती हूँ म जानिराख
    बहुलता देखाउन नै जाेर्याै जमात तिमीले
    चिप्लाे घस्याै, ब्वाँसे चाल देखायाै औकात तिमीले


    खेतीयोग्य कता गयो, पर्यो टार मलाई
    राम्रो बाली अन्तै फल्ने भयो झार मलाई
    अभागीको भागमा आँधीबेहरी नै भन्थे
    सबैको भागमा खुसियाली हार मलाई
    नमचिनेको सय झड्का बेकार मलाई ॥


    सधैँ जान्छाै छाडी मलाई एक्लाे हुन्छु म
    एकान्तमा बसेर दिनरात रुन्छु म
    चखेवा झैँ भाे तिम्राे मेराे प्रेमकहानी
    कल्पनामा आउँनु है सुस्तरी छुन्छु म
    विपनामा प्रायः आँसुले मन धुन्छु म


    निःस्वार्थ निश्चल माया आमाकाे लाग्छ
    विश्वास भराेसा सधैँ मामाकाे लाग्छ
    मिठाे जिन्दगी त्यही बालापनकाे है
    स्वदमा मिठाे वासना तामाकाे लाग्छ
    सुन्दर रूप फरिया जामाकाे लाग्छ ।


    समय आयाे वसन्त पालुवा पलाउन थाले
    बेमाैसमी फल पनि बाेटमा फलाउन थाले
    मानिसले सबथाेक गर्छ प्रकृतिलाई जित्न
    हिजाेआजका स्वार्थी मान्छे वन जलाउन थाले
    प्रकृति विराेधी भई पहाड गलाउन थाले ।

    १०
    मान्छेको जीवन चामल अनि दालमा हजुर
    मान्छे पनि सिपालु फसाउँछ जालमा हजुर
    खुसीको जीवन जिउन भएछ नसकिने नै
    झम्टन्छ फर्की फर्की बिरालाको चालमा हजुर
    सरलता छैन म अल्मलिएँ झालमा हजुर ॥

    ११
    सम्झनाले हृदय चर्केर आयो
    दोबाटोबाट आज फर्केर आयो
    आउजाउ भइरहन्छ बाँचेमा
    आकाशको झरी यो दर्केर आयो
    मायाले बोलायो तर्केर आयो ॥

    १२
    अलिकति माया उतातिर दिनु छ
    सापटीमा मायामा माया नै लिनु छ
    कहिले बन्दाबन्दी, कोभिड कहिले
    हृदय काट्ने यो सम्झनाको छिनु छ
    दिनरातको यादले यो मन झिनु छ ।

    १३
    दुध जम्यो दही बन्यो तर फेरियो
    हिमालको हिउँ पग्ल्यो झर फेरियो
    प्रकृति र मानिसको नियम उस्तै
    छोरी जाति दान भए थर फेरियो
    जन्मघर छाडेपछि घर फेरियो ॥

    १४
    भएन जसले पनि भन्छ बरै
    आफूलाई परेपछि कन्छ बरै
    स्वीकार्य भएछ आफैँ अनजान
    आफ्नाे भुली अर्काकाे जाे गन्छ बरै
    भ’काे जग फर्की फर्की खन्छ बरै

    १५
    भएन जसले पनि भन्छ बरै
    आफूलाई परेपछि कन्छ बरै
    स्वीकार्य भएछ आफैँ अनजान
    आफ्नाे भुली अर्काकाे जाे गन्छ बरै
    भ’काे जग फर्की फर्की खन्छ बरै

    १६
    सम्झना बनेर तिम्रा मनभरि डुल्न मन लाग्छ
    हृदयको छहारी शीतलतामा भुल्न मन लाग्छ
    आशै आशाको मात्र हुने हो कल्पनाका भावहरू
    उखुको स्वादमाथि फूल बनेर फुल्न मन लाग्छ
    फलेको हाँगो भएर आदरले झुल्न मन लाग्छ ।

    १७
    आदि कविले लेखे रामायण गुन भएको छ
    घरघरमा सजिने पहेँलो सुन भएको छ
    हराउँदै गए संस्कृत भाषा अन्धो हुने गरी
    मस्तिष्क उर्वरा त्यो माटोलाई चुन भएको छ
    अँधेरी रातमा चम्किलो चन्द्र जुन भएको छ

    १७
    स्वदेशमा बेरोजगारी पीडा जलन सधैँ मनमा
    परदेशी भई गुजारा गर्ने चलन सधैँ मनमा
    बाध्यताले पसिना पैसा साट्नुपर्ने पेट पाल्नुपर्ने
    घर, गाउँ, देश छाड्दा चर्केमा मलन सधैँ मनमा
    विदेशी कमाइ देश धान्ने संबलन सधैँ मनमा ।

    १९
    छर्छौ कि माया तिमीले भनी आश लागिरहेछ
    तिम्रा ती मुखका शब्दहरू खास लागिरहेछ
    मलाई मात्र लाग्यो कि माया तिमी पनि त गर्छौ
    मिठा ती बोलीले, हृदयमा बास लागिरहेछ
    जब बन्द गर्छौ मन आफैँ लास लागिरहेछ ।

    २०
    माया गर्थिन् कहिले उज्यालो दिन आफैँ बल्थिन् उनी
    कसले मन दुखाउँथ्यो भित्रभित्र नै जल्थिन् उनी
    प्रकृतिले दिन्छ उपभोग मात्र गर्न जान्नुपर्ने
    दुखेको बेला शब्दका रचना मलम दल्थिन् उनी
    खुसीमा गुराँस, चम्पा, चमेली फूल फल्थिन् उनी ।

    सविता के.सी.

    Leave a Reply