‘एक योद्धा’ – कविता

  • २३ असार २०७९, बिहीबार २२:५९ मा प्रकाशित
  • देवकी के.सी.

    ऊ गल्लीमा मरेको युवा
    कसैले भुस्याहा कुकुर नभन्नु है
    पागल पनि नभन्नु है
    कुनै बेला
    ऊ एक
    सहासी योद्धा थियो
    आफ्नो छातीमा
    गोली थाप्ने
    ऊ शासकको
    रक्षा कवच थियो
    समाज रुपान्तरणको
    खोक्रो आदर्श बोकेको
    शासकको अन्धभक्त चेलो ऊ
    शासककै लागि गोली थाप्दा
    उसका छाती गोलीले भरियो
    उसको फोक्सो
    बारुदको धुवाँले भरियो
    फलामजस्तो देह
    उसका काँच जस्तो
    जताततै चर्किए
    त्यसपछि
    शासकको लागि
    उसको शरीर अयोग्य भयो
    शरीरका गोलीको घाउ
    उपचार गर्न
    शासकलाई बिन्तीपत्र चढायो
    उसले भोको पेटको लागि
    एक गास माग्यो
    न्यायको लागि
    अनशन बस्यो ऊ
    शासकले उसको बिन्ती सुनेन
    ऊ माथि उल्टै
    लात बजारी रह्यो
    अन्ततः
    उसले गल्लीमा नै
    प्राण त्याग्यो
    त्यसै गरी
    धेरै योद्धाहरू
    शरीरमा गोली बोकेर
    एक गासको लागि
    चिच्याइरहेका छन् आज पनि
    तर
    शासक बहिरोको अभिनय गरिरहेछ
    विगतदेखि वर्तमानसम्म !

    • देवकी केसी, काठमाडौँ

    Leave a Reply