विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३८ सम्पन्न

  • १६ असार २०७९, बिहीबार ००:२८ मा प्रकाशित
  • काठमाडाैँ असार १५,
    राष्ट्रिय धान दिवसकाे अवसर पारेर टुक्का साहित्य समाजकाे आयाेजनामा “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३८” सम्पन्न भएकाे छ । २०७९ असार १५ गते टुक्का पाठशालामा सञ्चालन भएकाे उक्त कार्यक्रमकाे संयाेजन तथा प्रशिक्षण टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंले गरेका थिए । कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट ७८ टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे ।

    कार्यक्रममा सहभागीहरूले ” धान राेपाइँ तथा असार ” विषयमा केन्द्रित भएर चाेटिला टुक्का कविताहरू सिर्जना गरेका थिए । अभ्यासकाे क्रममा सङ्कलन गरिएका टुक्का कविताहरूकाे भाषिक सम्पादन सक्रिय टुक्काकार बिना राेकाले गर्नु भएकाे थियाे ।

    कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष/ संयाेजक चापागाईंले धान रापाइँ तथा असार सम्बन्धी सुन्दर टुक्काहरू सिर्जना गर्ने सम्पूर्ण टुक्काकारहरूमा हार्दिक आभार व्यक्त गर्दै सबै टुक्काकारहरू, टुक्का प्रेमीहरू तथा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा राष्ट्रिय धान दिवसकाे अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका थिए।

    अभ्यासका क्रममा सङ्कलन गरिएका टुक्का कविताहरू

    [१]
    १.
    असारको चटारोमा, बेसी झरियो,
    हल गोरु नारेर, रोपाइँ गरियो।
    २.
    खेतका गरा टम्म हेर, वर्षा भएर,
    हिलो खेल्दै खेत रोपियो, गीत गाएर।
    ✍️ प्रदीप के रिमाल
    इटहरी सुनसरी।

    [२]
    १.
    पानी मात्रै जताततै हिलो खेतभरी
    पापी पेट पाल्नुपर्ने  सधै यसै गरि ।
    २.
    हिलो खेलौ,खेत रोपौ मिलीजुली साथी
    परिश्रमी सधैँ  हुन्छ अरुभन्दा  माथि।
    ✍️ दस्ता कौशिक
    पाँचथर,सिंहपुर।

    [३]
    १.
    रोपेर मानाे मुरी पो फल्ने सिजन हो अरे,
    कसरी जोड्नु हात र मुख काम नै नगरे ।
    २.
    सकेको काम जानेरै गर्नु पर्दछ सबैले,
    अहिले दु:ख गरेमा दिन कट्दछ मजैले ।
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ

    [४]
    १.
    बेसी टारखेत रोपाइँ भयो घाम हाँस्यो  मुसुक्क,
    रोपाइँको थ्यो पीडा सकियो अब लौ बस टुसुक्क।
    २.
    खेत हिलाे पार्दै रोपाइँ गरौं आफ्नै देशमा आएर,
    भर्नलाई पेट गर्नुछ खेती त्यो लेक  बेसी धाएर।
    ✍️ बेदु न्यौपाने
    काठमाडौ

    [५]
    १.
    असारे झरी पसिना सरी बोकेर कोदाली ,
    दही चिउरा खाइ बेठी गाई झरे ओराली ।
    २.
    मानो खाइ मुरी फलाउने किसानको धोको
    मल र जल  गर्दागर्दै नि आफ्नै पेट भोको।
    ✍️ अम्बिका गिरी
    विराटनगर

    [६]
    १.
    सबेरै उठी किसान हामी खेतमा झरौँला,
    लगाई कुलो सम्म्याई गह्रा रोपाइँ गरौँला ।
    २.
    रोपेर  धान खेतमा आफ्नै यसैले धानौँला,
    खाएर मानो उब्जाई मुरी आनन्द मानौँला ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [७]
    १.
    असार मास चटारो धेरै गैरी खेत झरियो
    रोप्नु छ धान मातृभूमिलाई पार्नु छ हरियो।
    २.
    रोपेर मानो फलाउला मुरी असार पन्ध्रमा
    दिनको सूर्य घमाइलो राती शीतलु चन्द्रमा।
    ✍️ नवशिला।
    बेलबारी -२, लालभित्ती , मोरङ।

    [८]
    १.
    असारे झरी हिलोको होली खेलेर खेतमा
    किसान साथी भर्दछ पेट सबैको देशमा।
    २.
    असार पन्ध्र चिउरा खाजा दहीमा मलेर
    बाउसे हली रोपार खान्छ आलीमा बसेर ।
    ✍️ बिके मुखिया
    दार्जीलिङ भारत।

    [९]
    १.
    खेत भएकाले त रोपे खेत न भएका के गरौँ,
    रिन लाग्छ भात खाँदा निमेक गर्न विदेश झरौँ।
    २.
    राती बाट झरी लागेकोछ छायो शीतल,
    धान रोप्ने रोपारलाई झन मिल्यो बल ।
    ✍️ सुरेशकुमार पान्डे
    दाङ घोराही १८

    [१०]
    १.
    छुपुमा छुपु धानै राेपौँ खेतमा गएर
    चेली र माइती सबै एकजुट भएर।
    २.
    असार मास धान राेप्नलाई बेसी झरियाे
    बाउसे र राेपार मिलेर राेपाइँ गरियो ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    [११]
    १.
    कहाँ सकिन्छ हजुर किसानको काम,
    खट्नु पर्छ यहाँ, नभनी पानी र घाम ।
    २.
    खाजामा खानु चाम्रे र राेटी,अमिलाे अचार
    यता नि पानी उता नि पानी लागेछ असार ।
    ✍️ टङक खुलाल कार्की
    छथर गा.पा-०५ तेह्रथुम

    [१२]
    १.
    झरीमा हामी बेंसीमा गई राेपाइँ गराैँला
    धानको बिउ डाेकाेमा राखी खेत है भराैँला ।
    २.
    छुपुमा छुपु धान है राेपी असारे गाओैँला
    साथी र सँगी मिलेर त्यहाँ कम्मर भाँचाैला ।
    ✍️शर्मिला खतिवडा
    विर्तामोड ,झापा

    [१३]
    १.
    आयो महिना असारको धान रोप्ने बेला
    आउन साथी सम्पन्न गरौँ भएर भेला ।
    २.
    हतार भयो साथीभाइसँग आज मेला जानलाई
    असारै मास धान रोप्नु पर्ने वर्षभरी खानलाई ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १९, मोरङ, हाल- प्रवास

    [१४]
    १.
    भेला भै हली, बाहुसे र रोपारहरू आए कति,
    असारे गाउदै मेलो चलाउ ज्यानले सके जति।
    २.
    बर्खामास झरी पानी बर्सिएको रोपाइँको मेलामा,
    पन्ध्र असार दही चिउरा खाजा जोहाे गर्नुस् बेलामा।
    ✍️ अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [१५]
    १.
    असारे भाकामा गुन्जियो सारा  गाउँ बस्ती
    छ्याप्दै खेल्दै हिलाम्मे भै गर्दैछन्  मोज मस्ती ।
    २.
    यै हो बेला कृषक जन हो धान रोपौँ गरामा
    सारा धर्ती जल पतनले सौम्य बन्दै पलामा ।
    ✍️ सुर्य मणि रेग्मी
    चितवन

    [१६]
    १.
    असारको खेती लाउन बर्खालाई कुर्ने,
    छ महिनाको पर्खाइमा भित्र्याउन जुर्ने ।
    २.
    न हिलो, पानी केहीको पनि प्रवाह नमानी,
    असारे गीत गाएर रोप्दा रमाइलो  सानी ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक

    [१७]
    १.
    पानी धेरै पर्यो साथी असारको मास
    कृषकले बाली रोपे धेरै फल्ने आस।
    २.
    असारको पन्ध्र दही चिउरा खाने दस्तुर क्या राम्रो
    हरेक महिना  पर्व  मनाउने परम्परा  छ  हाम्रो ।
    ✍️ दीपक ठटाल जलन
    खरसाङ

    [१८]
    १.
    असारे मेलाे  हलगाेरु बेसी खेतमा पसेर
    छाता ओढेर साहुले हेर्छन् नि आलीमा बसेर ।
    २.
    खाली छ पेट पटुकी कसि बाल बच्चा छाेडेर
    गर्दछ गाली सामन्त शाेषक छाडा जाे बाेलेर ।
    ✍️ सीता ढुङ्गाना काफ्ले
    सिद्धार्थ साहित्य परिषद, भैरहवा ।

    [१९]
    १.
    असारे मास, रोपेर धान, जहान पालौँला
    बसेर खाने,कुरा नि काट्ने, प्रवृत्ति फालौँला ।
    २.
    निर्भर बन्न , कर्तव्य ठान्न , छोडेर भ्रमले
    वर्ष यो दिन,गर्नु छ काम,पसिना श्रमले ।
    ✍️ प्रेम थापा ‘मन’

    [२०]
    १.
    आएको असार किसानको साथमा,
    लिए बिउ रोपारले हात हातमा ।
    २.
    मानो रोपी मुरी धान फलाउने बेला
    खेतमा लाग्छ जहिल्यै यो असारे मेला।
    ✍️ लक्ष्मण समिर
    बर्दिया

    [२१]
    १.
    हतार सधैँ किसानी काम मेलामा जानलाई 
    असार मास धान रोप्नु वर्ष दिन खानलाई ।
    २.
    बिहानै उठी किसान मिली खेतमा झरौँला
    लगाई बेठी सम्याई गह्रा रोपाइँ गरौँला ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ

    [२२]
    १.
    छर्केर मल गोरुको हल खेतमा जोतौँला,
    गाउँदै नाच्दै धान नि रोप्दै हिलोमा रमौँला।
    २.
    ए! मेरी लुरी ,तिहुन पुरी , खेतमै खाउँला,
    छुपुमा  छुपु, रोपौँला धान, मस्त रमाउँला।
    ✍️ पारस भट्ट( प्यासी)
    मेलौली दुई बैतडी

    [२३]
    १,
    असार पन्ध्र दही र चिउरा मुछेर खाउँला,
    मैझारो गरी खेतमा सबै धानरोप्न लाउँला।
    २,
    पञ्चे है बाजा बजाई लौ न असारे गीत गाई,
    छुपुमा छुपु  रोपौँला धान सबैलाई  बधाई।
    ✍️ मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार, बिर्तामोड झापा

    [२४]
    १.
    बिहानै उठी हलो र जुवा बोकी बेसीमा झरियो
    किसानीहरुलाई नछुट्ने भयो नाम्लो र बरियो।
    २.
    बाउसे अनि खेताला मिली रोपाइँ गरौँला
    धानको बाला झुलाई हामी पाथीले भरौँला ।
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी

    [२५]
    १.
    असारे  मासकाे दबदबे हिलाे, राेपाैँ न गाएर ।
    दही च्युरा खाउँ है आलीमा बसी, गाेडाैँ न धाएर ।
    २.
    हलीले जाेत्याे नारेर गाेरु ब्याडे छ बिउमा
    राेपार आए फालेर हिलाे बाउसे जीउमा ।
    ✍️ निरज काेइराला
    बेलका १ उदयपुर , हालः इटहरी

    [२६]
    १.
    असार लाग्यो
    किसान जाग्यो ।
    २.
    असारे महिना, खेतमा रोपाइँ सुरु
    धानका बिउ रोप्ने गर्छौ नि खुरुखुरु ।
    ✍️रिता खराल
    रुपन्देही

    [२७]
    १.
    हलो र जुवा साथैमा दाँदे बोकेर आएको,
    असार मास रोपाइँ गर्न खेतमा धाएको।
    २.
    जन्तरे सोल्टी फ्याउरी बोकी मेलोमा आएछन्,
    रोपाइँ सकी सोल्टिनीसँग रसिया गाएछन्।
    ✍️ अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [२८]
    १.
    खेत रोप्नलाई अब  छोप्न पर्छ असारे झरी
    काम गर्नु पर्छ नगर आफ्नो मात्र मन परी ।
    २.
    मानो रोपी मुरी फल्ने तरिकाले धानको बाला झुलाऊँ
    आगामी दसैँ तिहारको लागि आम्दानीको श्रोत खुलाऊँ।
    ✍️ पवन कुमार बुढाथेाकी
      काठमाडौं

    [२९]
    १.
    हिलोसँग लाप्पा खेल्ने किसान दाइको गति,
    जग्गा धनी शहर बस्ने लान्छन् फसल जति।
    २.
    आफ्नो छैन खेतबारी बाध्यताको छ कर्म ,
    कसले बुझ्ने किसानको दुःख पीडा मर्म ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [३०]
    १.
    पानी पर्यो सिमसिमे सुखद मौसम यसपाली,
    स्वर्गको राजा इन्द्रले आज खुसी पारे बालीनाली।
    २.
    बाउबाजेको पेसा हो भन्दै त्यही खेती त्यही तरिकाले हुन्न अब,
    आधुनिक ज्ञान प्रयोग गरी बढीभन्दा बढी उब्जाउनु छ जब।
    ✍️ म्यामराज राई
    हतुवागढी-६, होम्ताङ्,भोजपुर,हाल:-जापान

    [३१]
    खले गह्रो आउनै लागे बाउसे रोपाहार
    खाजा खान दही च्युरा अब लाै थकाइ मार ।
    ✍️ दिनेश निराैला
    ओखलढुंगा, हाल सुनसरी

    [३२]
    १.
    असार मास जोत्नु  र खन्नु रोपाइँ गर्नु,
    धानका बाला फलाई साँच्चै भकारी भर्नु ।
    २.
    हलो र जुवा काधमा हाली खेताला साथमा,
    झरियो बेसी रोपेर खेत फर्कन्छु रातमा ।
    ✍️ रामजी लामिछाने
    पाेखरा

    [३३]
    १.
    असारमा धान रोप्न बेँसी हुँदै ओराली झरे
    बर्षायामको पानी झरी सँगै हेंवा खोला तरे ।
    २.
    असार पन्ध्र मनाउदै दही चिउरा खाएको
    धान रोप्न छिमेकीकाेमा पर्म लाउन आएको ।
    ✍️ अम्विका अधिकारी
    झापा विर्तामोड

    [३४]
    १.
    बर्खा मास बेसी झरी, धान रोपाइँ गरौँला ,
    हातमा हलो काँधमा जुवा लिएर झरौँला ।
    २.
    दबदबे हिलो छेउकुना सम्याई खेत रोपौँला ,
    मलजल लगाई साउनमा आई ,रोपाे गोडौँला ।
    ✍️ बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [३५]
    १.
    आउ राेपौं गैरी खेत सबै मिलेर साथी,
    जानुपर्छ डाँडैडाँडा केही उकालो माथि ।
    २.
    झरी नै परिरहोस् केही दिन यसैगरि,
    चारैतिर राेपेर सकिन्छ कि खेतभरी।
    ✍️ सहयात्री शाेभा अर्याल
      रुपन्देही  १४ बुटवल

    [३६]
    १.
    उर्लेर आयाे असारे भेल बगायाे झिँगटा
    धान राेप्न भनी बेसी जाँदा चलायाे रिँगटा ।
    २.
    बाबा र जी काे टारी छ खेत ढुकुर लुक्ने बिउ
    कसरी तर्नु समुन्द्र नदी मुरली जस्ताे जिउ ।
    ✍️ प्रेम कला चापागाईं( सिटौला )
    मेचीनगर -१२ झापा

    [३७]
    १.
    असारे झरी उघ्रियाे घाम लाग्याे घमाइलाे
    छुपुमा छुपु हिलोमा धान रोप्दा रमाइलाे।
    २.
    मंसिरकाे खुसी कल्पिदै दुखमा बित्छ असार
    अन्यत्र केही नसाेची किसानलाई भाे हतार ।
    ✍️ रश्मि रिमाल
    झापा

    [३८]
    १.
    असारको बेला, किसान मेला देख्दछु चटारो,
    मानोमा रोपी, फलाउन मुरी  हानेको झटारो।
    २.
    मौसमी खेती, छ मरिमेटी, गरेर मरिन्न,
    बेलामा छैन, मल र बिउ, भकारी भरिन्न।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १, नवलपुर

    [३९]

    चिउरा दही खाएर मिठो धान है रोपौंला,
    झरीमा लागे नरुझ्नलाई घुमले छोपौंला।

    पहिराे बाढी जाेखिम अति कसरी खेप्ने,
    असार मास नराेपे धान पछि के चेप्ने ?
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [४०]

    असारेकाे भाका फेरि धान राेप्दै गाउँला,
    बिचमा थकाई मार्दै खाजापानी खाउँला ।

    तिमी आली लगाउनु म राेप्छु बिउ धान,
    कर्म गरे फल पाईन्छ कुरा आफैँ जान ।
    ✍️ शान्ति याक्साे
    काठमाडौं ।

    [४१]
    १.
    कुन खेतमा धान रोप्ने, खेत लग्यो साहुले
    बाँच्न धेरै गार्हो भो, बजारको बढ्दो भाउले।
    २.
    जमिन्दारको खेतमा गै, असार भरी धान रोपियो
    आफ्नो भाँडो सधैँको रित्तो,गोदाम चै उसको भरियो।
    ✍️ पदमा शर्मा आँचल
    कालचिनी, प. बंगाल

    [४२]

    रिमी र झिमी पनि है पर्याे चार दिशा ढाकेर,
    टारी खेत न राेपी हुन्न लेराउ लाठे डाकेर ।

    भाराेपर्म हाे हाम्राे धर्म  सद्भाव गाँसेर ,
    मिलीजुली गर्ने हाे काम रमाइ हाँसेर ।
    ✍️ प्रद्युम्न चालिसे
    देवघाट, तनहुँ

    [४३]
    १.
    असार महिना रोपेर धान मंसिरमा काटौँला,
    मेला र पर्व धाउदै गर्दा हामी पिरती साटौँला।
    २.
    खेताला सँगै रमाए हेर मुखिया बा आएर ,
    असारे गीत गाइएको देखे मेलामा धाएर।
    ✍️ दुर्गा आचार्य
    मोरङ

    [४४]
    १.
    टारी खेत रोपाइँ गर्न हम्मेहम्मे भयो
    बादल फाटी घाम लागि खडेरी पो गयो।
    २.
    असारमा झरी पर्छ भन्थे बुढापाका
    बदलिए जस्तो लाग्यो मौसमको खाका।
    ✍️ मन्दिरा सेढाई
    मलेखु, धादिङ

    [४५]
    १.
    पर्म तिर्न आऊ है सानु राेपाइँ हाे आज ,
    हाम्रा बिचकाे सम्बन्धकाे खाेल्नु पर्याे राज ।
    २.
    माैका अवसर घरिघरि आउँदैन  हाेला ,
    छदै उमेर कसाैँ कम्मर बुढ्याैलीले छाेला ।
    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा ।

    [४६]

    रतुवा खोला बाढीले सारा शहर बगायो,
    बेलैमा बन्नु सचेत भनि मानिस जगायो ।

    असार पन्ध्र मनाऊँ हामी रोपाइँ गरेर,
    खाउँला खाजा चिउरा दही आलीमा बसेर ।
    ✍️ भगवती दवाडी
    दमक, झापा

    [४७]
    १.
    हलो र जुवा काँधमा झाले र माले साथी
    गरागरामा धान फल्छ नि पाथीका पाथी ।
    २.
    डाँडामा पनि फूल फुल्छ माली चाहिन्न
    इन्द्रै दिन्छन पानी सरकार पर्खिन्न ।
    ✍️ योगप्रसाद उपाध्याय चापागाईं
    काठमाडौं ।

    [४८]
    १.
    काँधमा हलो र जुवा बोकेर साँइला निस्केको मेलैमा
    मेलो है सकि फर्कनुपर्छ चाँडै आऊ साँहिली बेलैमा ।
    २.
    हस् हुन्छ हजुर म आउँदै गर्छु तपाईं  हिँड्दै गर्नुहोस्
    बनाइ कुलो लगाइ पानी गह्रामा समतल भर्नुहोस् ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन – ६ संखुवासभा
    हाल मलेसिया

    [४९]
    १.
    लगाउनु छ खेती काटौँ कुलाे नाली
    पाक्याे बर्खे धान मिली निकालौँ बाली ।
    २.
    असारे महिना कामकाे धेरै चटारो ,
    मौका छाेपी आउ असारकाे छ हतारो ।
    ✍️ रिना योल्मो
      दार्जीलिङ

    [५०]
    १.
    असाध्यै  ठुलो  परेर  पानी धान रोप्न दिएन
    ब्याड पनि बगायो होला बिउ काडेको थिएन।
    २.
    छुपुमा छुपु रोपौ है धान असारे भाकामा
    अहिले रोपौँ काटौँला पछि मङ्सिर ताकामा।
    ✍️ तिला लेकाली
    बेलबारी, माेरङ्ग

    [५१]
    १,
    सिमसिम पानीले भन्दैछ असार आइसक्यो
    हलो कुट्टो कोदाली चेपेर आलीमा धाइसक्यो।
    २.
    मानो रोपेर मुरी भित्र्याउने खेती किसानीको आसले
    हलगोरु पछि रोपारेहरूले गाइरहन्छन् सासले।
    ✍️ इश्वरी अधिकारी
      लमजुङ

    [५२]
    १.
    असारे गीत गाउँदै कोदाली खनी
    धान रोपौँ सबैले एकजुट बनी ।
    २.
    मलाई प्यारो लाग्छ कुट्टो अनि कोदाली
    आउ साथी मिली रोपौँ धान यसपाली ।
    ✍️ अम्बिका कोइराला
    धादिङ

    [५३]
    १,
    फर्कि आऊ परदेशी,बादलले ढाक्यो,
    लहलह बिउ भयो, तिमीलाई डाक्यो।
    २.
    उत्ताउला रोपारले,छ्यापे पछि हिलो,
    किन गर्थे  बाउसेले, समाउन ढिलो ?
    ✍️ चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके

    [५४]
    १.
    तिथि र मिति, पानीको  माैका, सकेको छाेप्दछ,
    छुपुमा छुप, हिलोमा धान, किसानी राेप्दछ ।
    २.
    बाेकेर भारी ,गाउँ र बेसी, किसान गर्दछ,
    काटेर जुडी, असार मास ,भकारी  भर्दछ ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [५५]

    किसान दाइ गर्छौं इमानको काम,
    असार भरी छैनन् चयन आराम ।

    साझको बेला झ्याउँकिरी बास्यो विरह छरेर,
    असारे गाउँला रोपौँला धान बेसीमा झरेर ।
    ✍️ काजी ग्याबा तामाङ
    चैनपुर-४ संखुवासभा

    [५६]
    १.
    असार पन्ध्र दही चिउरा खाई हिलो मथौला,
    रोपेर धान असारे भाका लोकगीत कथौला ।
    २.
    साउने झरी तर्काई प्यारी घुम राडी ओढौँला,
    मिलेर सँगै खेतमा गएर मायाले गोडाैँला ।
    ✍️ बिबस पारदर्शी
    भद्रपुर  झापा

    [५७]
    १.
    असार महिना किसानकाे ठुलाे राेपाईँ चाडपर्व,
    खाएर मानु उब्जाउँछन् मुरी हर्षित भई सगर्व ।
    २.
    जाे जसले अहिले दशै नङ्ग्रा हिलाेमा खियाउँछन्
    तिनले धान पहेँला सुन झैँ मंसिरमा भित्र्याउछन्।
    ✍️ रामकृष्ण रिजाल
    बा न पा १३ बाग्लुङ

    [५८]
    १.
    असार मास गर्नु छ काम खेती र किसानी
    हे! माई तिम्री बुहारी परी खेतमा नजानी।
    २.
    किसान सारा खेतमा जान्छन् गरेर एकता
    अन्नले सारा मानव पाल्छन् बनेर देवता।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर

    [५९]
    १.
    असारे  हिलो  रोपाइँ  गर्ने बनाई उर्भर
    नेपाली हामी उहिले देखि कृषिमा निर्भर ।
    २.
    घाँसको भारी बोकेर डाेकाे बेसीमा झरौँला
    पुर्खाको पेसा सम्मान गर्दै  रोपाइँ  गरौंला ।
    ✍️ तारा घिमिरे
      संखुवासभा

    [६०]

    असार लाग्यो वर्षाले छोप्यो खेतमा जानुछ ,
    खेताला सबै भाेकाए होलान् खाजा नि लानुछ।

    खेलेर हिलो रोपेर धान यो चाड मानाैँला,
    असारे भाका टपक्क टिपी वेदना साटाैँला ।
    ✍️ सरू बस्नेत
    निजगढ -७ ,बारा

    [६१]
    १.
    असारे गीत लाएर प्रीत, कोदाली बजाउँला,
    खेती को अन्न उब्जाई टन्न, नौ मुरी  फलाउँला।
    २.
    समूहको कामले सबैको नामले, गर्ने हो धान खेती,
    उखुम राम्रो खाएर चाम्रो, कमाउला एक मानु रति।
    ✍️ पहलमान क्षेत्री कृष्ण
    बैतडी हाल धनगढी

    [६२]
    असारे महिना परेको पानी वारपार भाे बगर                           
    घरखेत सबै डुबान भयाे हेलचेक्राइँ नगर ।
    ✍️ तारा खत्री
    धरान

    [६३]
    १.
    असार पन्ध्र हलखेतला गैरी खेत झरे,
    बढी आयाे त्यो ठाडाे खाेला खै कसरी पाे तरे?
    २.
    मेलो मिलाउ बाउसे दाइले रोपारले रोप,
    धान राेप्दै हिलो खेल्दै, नाच्दै असारे गीत छोप।
    ✍️ नानीबाबा अधिकारी
    काठमाडौँ

    [६४]
    १.
    बर्खा लायो हजुरको याद आयो
    मुटु चर्यो कुटुक्क यो मन खायो ।
    २.
    असारे महिना सिमसिम पानी
    बिरामी हुन्छौ ख्याल गर है!सानी ।
    ✍️ बिनिता विश्वकर्मा बिनु
    बाजुरा

    [६५]
    १.
    सबेरै हामी जाऊँ साथीभाइ खेतकाे मेलैमा
    उब्जनी राम्राे गर्नु छ भने श्रम गराैँ बेलैमा ।
    २.
    उर्लेर आयाे खहरे खाेला बगायाे सम्पत्ति
    राेएर बसे बाल र बच्चा राेएरै दम्पती ।
    ✍️ सुस्मिता नेपाल
    इटहरी

    [६६]
    १.
    न दिनमा रह्यो न रातमा नै रह्यो मुसलधारे पानी
    रुझेरै पनि रोपाइँ गर्नुपर्ने किसानको जिन्दगानी ।
    २.
    रोपाहार बाउसे असारे गाउँदै रोपाइँ गर्दछन्
    मानोको बिउ रोपेर मुरी फलाई भकारी भर्दछन् ।
    ✍️ रचना शर्मा प्रतीक्षा
    महालक्ष्मी नपा, ललितपुर ।

    [६७]
    १.
    सधै हिलो असार यो तमाम नाम रेतमा,
    म भिर्छु यो हलो जुवा र गर्छु काम खेतमा ।
    २.
    गरा गरा हराभरा दिनेछ सूर्य चन्द्रमा,
    सबैजना रमाउला यही असार पन्ध्रमा ।
    ✍️ ऋषिराम खनाल
    मध्यबिन्दु – ६ टाँडी नवलपुर ।

    [६८]
    १.
    असार महिना परेको छ सिमसिमे पानी ,
    गर्नुपर्छ आफ्नै देशमा यहाँ ठुलो लगानी ।
    २.
    हिलोमा धान रोप्दै रमाउला हामी पनि मित्र,
    बाहिर जसरी  हाँस्नुपर्छ दु:ख पीडा छन् भित्र।
    ✍️ विक्रम तिरूवा सलिन
    जुम्ला

    [६९]
    १.
    मानो रोपेर मुरी फलाउने दिन
    आउनुहाेस् धान रोपौँ है एकै छिन।
    २.
    छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौला
    असारे पन्ध्र दही चिउरा, दुख याे माेडाैला।
    ✍️ साधना पाैडेल
    ओखलढुङ्गा

    [७०]
    १.
    आली लगाई, धान रोपी, दही च्युरा खाउँला
    हिलो छ्याप्ने निहुँ पारेर माया  छेऊ आउँला।
    २.
    बाँझो छ खेेत बाँझै छ बारी झन
    हुन्छ भतभती ती वृद्बका मन ।
    ✍️ मिसु श्रेष्ठ
    काठमाडाैँ

    [७१]
    १.
    पारिपटि गैरी खेतमा रोपाइँ  छ है आज
    असार पन्ध्र दही चिउरा खाने सकि काज।
    २.
    दुई हल गोरु दुईटा बाउसे दश जना छन् रोपार
    घडेरीको जमनामा खेती भन्ने भइगो अब अपार।
    ✍️ गोमा गुरागाई पोखरेल
    इटहरी

    [७२]
    १.
    असारे झरी दरर दर्क्यो खुसीले धरामा
    किसान आज रमाइ पुगे खेतका गरामा ।
    २.
    छुपु र छुपु हिलोमा धान हाँसेर रोपेका
    असार पन्ध्र चिउरा दही खाएर नाचेका।
    ✍️ बिना रोका
    घोराही दाङ।

    [७३]
    १.
    मातृभूमि नेपाल देशको झण्डा सूर्य र चन्द्रकाे,
    किसानकाे जय यो धान दिवस असार पन्ध्रकाे ।
    २.
    गैरी खेत आउनु है बर्खे भेल तरी,
    सकाैँ चाँडो मेलापात गाेडमेल गरी ।
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [७४]
    भारापर्म गर्दै दु:ख साटे त सबैले  दु:ख पिडा भुल्नेथे
    आज धान रोपे मात्रै पछि फाँटमा धानका बाला झुल्नेथे।
    ✍️ सुमिना तिमल्सिना
    भक्तपुर

    [७५]
    १.
    छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला
    बनाइ कुलो लगाइ पानी आएर गोडौँला ।
    २.
    असारे महिना धान रोप्ने चटारो आयो
    माना खाइ मुरी उब्जाउने मनमा छायो।
    ✍️ आर्मित्मा थापा मगर
    पु.ब.न.पा- ७ स्याङ्जा

    [७६]
    १.
    नभनि घाम नभनि झरी किसान आली कोदालो गर्छ
    लागेको छ असार वर्षा ऋतु हो अन्न उब्जाउनु पर्छ ।
    २.
    बाबाले भन्दैछन् सबेरै उठी सबै हुनु छ भेला
    यही हो छोरा मानो रोपेर मुरी फलाउने बेला ।
    ✍️ प्रकाश बुढाथोकी
    असम भारत।

    [७७]
    १.
    असारको खेती सुनैको उब्जनी
    किसानको जीवन अरू के छ नि?
    २.
    आउन साथी धानको खेती मिलेर गरौँला
    आत्मनिर्भरताको बिउ यहीँ देशै छरौँला।
    ✍️ विक्रम वली “नेपाली बाबु”
    घोराही -११- दाङ

    [७८]
    १.
    टारी खेतमा राेपाइँ भयाे माैसम मुस्कुरायाे
    चटाराे नि सकिएर तनमनले शान्ति पायाे ।
    २.
    हाल गाेरु, बाउसे, राेपार हाैसला छ धेरै,
    स्वदेशमा नै कृषि कर्म गर्ने प्रतिज्ञा मेरै ।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेसी

    >> जय टुक्का! जय साहित्य!! <<

    Leave a Reply