साताका तीन लघुकथा

  • २८ चैत्र २०७८, सोमबार १९:३९ मा प्रकाशित
  • साताका तीन लघुकथाको बाह्रौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (चुनावी मेल, धुलौटे मानसिकता र भाषण) छनोट गरी प्रकाशन गरिएको छ।

    [१] लघुकथा : चुनावी मेल

    ✍️अवधेश सिंह
    रानीवनका नव पल्लवित तथा पुष्पित बोटविरुवा, लता लतिकाले त्यहाँको वसन्ती वातावरणलाई साह्रै नै मनोहारी बनाएका थिए । तिनीहरूले फैलाएको सुवास बोकेको शीतल मन्द पवनको नरम मादक स्पर्श र अन्य चराहरूको चिरबिरसँगै कोइलीको कुहुकुहुले मर्निङ वाक गर्नेहरूलाई आह्लादित बनाएको थियो भने नवोदित आदित्यको नरम किरणको उष्माले सबैमा उर्जा भरेको थियो । हिँड्दै जाँदा मैले नजिकैको झाडीमा खस्र्याक खुस्रुक सुनेँ। मेरो ध्यान त्यतै तानियो । म रोकिएँ । नियालेर हेरेँ। चक्राशनमा बसेको गोमन र भद्रासनमा बसेको न्याउरी मुसोले साउती गरेको देखेँ ।

    अचम्मको यो घटना कसलाई सुनाउँ भन्ने खुल्दुलीले मलाई चिया पसलतिर डोर्यायो । मैले त्यहाँ घटनाको वर्णन गरेँ । बडो गम्भीरतापूर्वक मेरो कुरो सुनेर विवेक माड्साबले गल्लीतिर सङ्केत गर्दै भने, “ऊ त्यता हेर्नु त।”

    मेरा आँखा त्यतै तेर्सिए । त्यहाँ एउटा कुकुर र एउटा बिरालो बडो शान्ति र शालिनता साथ सँगसँगै हिँडिरहेको देखेँ । एक अर्कोको कट्टर दुश्मन कुकुर र बिरालो त्यसरी मिलेर हिँडेको देखेर म हैरान भएँ र भनेँ, “यो मेल कलियुग समाप्त भई सत्ययुग आएर भएको हो कि वसन्त वहार आएर भएको हो, माड्साब ?!”

    “त्यस्तो केही पनि होइन हौ ! यो मेल चुनाव आएर भएको हो ।” विवेक माड्साबले भने ।
    लक्ष्मीपुर – ४ ब्रह्मपुरी, सिराहा

    [२] लघुकथा : धुलौटे मानसिकता

    ✍️ हेमराज अधिकारी
    बाटोमा दुईवटा माटाको हाँडी भेट भए । एकअर्कालाई देख्नेबितिक्कै दुवै घमण्डले चूर भए। एउटाले भन्यो-
    ” तँ पाजी रित्तो भाँडो ! चुबुर्को पनि नअट्ने मुला !”
    ” तँ चैँ के होस् नि लुते पाखण्डी ?! अनिकालको तिते फापर !?”
    दुवै लड्न थाले। गल्ली, गोरेटो, सडक पार गर्दै बजार पुगे। झगडा गर्न छोडेनन्। कुमाले पनि थिएन ।

    बाटोमा हिड्ने मान्छेहरूले बौलाहा भएका हाँडीलाई हेर्दै भने – “एक लोटा पानी हाले चुहिन थाल्छ । अझ ठूलो बन्छ, फोक्से माटो !”
    अर्कोले भन्यो – “अलिक कमेरे, चिम्टे, राते माटो भएपनि एउटा कुरा !? पाखाबारीको धुलो !”

    हाँडीहरूले तमासा देखाउन छोडेनन् । लडाइँ गरिरहे । अन्तमा दुवै हाँडी ध्वस्त भएर धुलोपिठो भए । दुवै भित्र रित्तै थिए । हाँडीको घमण्ड चूर भयो।

    बेलुका कुमालेका छोराछोरी बाझ्न थाले। छिमेकीले भन्यो-
    “बाबुले रित्तो हाँडी बनाउँछ अनि छोराछोरी के गतिलो हुन्थे?
    धुलौटे मानसिकता ! “
    सिक्किम

    [३] लघुकथा : भाषण

    ✍️ अनु विज्ञाति
    “यदि कसैले महिलाहिंसा विरुद्धका विषयमा सहयोग माग्दा वेवास्ता गर्छ भने त्यसलाई चड्कन लगाइदिनुस् । तपाईँको सुरक्षा गर्ने जिम्मा मेरो भयो। त्यस्ता गद्दारहरूको स्थान जेल हो । उनीहरूलाई बाहिर बस्ने कुनै अधिकार छैन ।” महिला तथा बालबालिका मन्त्री क.कमरेड ज्वाला स्टेजमा महिलामैत्री भाषण दिँदै थिइन्।

    उनको भाषण सकिनसाथ जीर्ण शरीर भएकी एक वृद्धाले उनलाई भेट्ने इच्छा गरिन्।
    नजिकिँदै गरेको चुनावी माहोल सम्झिन् क्यारे मन्त्री ज्वालाले पनि उनलाई भेट्न सहमति जनाइन्।
    वृद्धा सकी नसकी स्टेज चढिन् । सबैका नजर उनीमाथी खनिए।

    ज्वालाले उनीप्रति सहानुभूति देखाउँदै श्रद्धापूर्वक सोधिन् – “आमा तपाईंलाई केही भन्नु छ भने निर्धक्क भन्नुहोस्।”

    “मन्त्री भएर पनि सर्वसाधारण मान्छेलाइ सहज भेट दिने अझ स-सम्मान आफ्नो कुरा राख्न अवसर दिने; आहा ! सहृदयी नेतृ रहिछन् ।” भाषण सुन्न भेला भएकाहरू बिच खासखुस कुरा चल्यो।

    “मेरी कलिलो मुना जस्ती नातिनीलाई बलात्कार गरेर मार्ने विरुद्ध सजाय दिलाउनुको सट्टा आफ्नो पार्टीको भन्दै कारवाहीसम्म अगाडि बढाउन नदिने गद्दारलाई मैले चड्कन हाने भने हजुरले मेरो सुरक्षा गर्नुहुन्छ नी होइन् ? वृद्धा पुनः एकिन हुन खोजिन्।
    “अवश्य ! यी सुरक्षाकर्मी हजुरहरूकै शान्ती सुरक्षाका लागि त हुन् नी ।” उनले आफ्ना अङ्गरक्षक र उनका सुरक्षाका लागि वरिपरी खटिएका सुरक्षाकर्मी तिर सङ्केत गर्दै उँचो स्वरमा आश्वस्त पारिन्।
    “अहो ! नेता होस् त यस्तो‌ ।” भीडबाट पुन: पनि प्रशंसाका आवाज निस्किए।

    वृद्धा ज्वालाको अझै नजिक गईन् र जोडले चड्कन हानिन् । अङ्गरक्षक र अन्य सुरक्षाकर्मीहरू वृद्धालाई नियन्त्रणमा लिन दौडिएर आए र घेरा हाले।
    वृद्धाले निडर भएर आफूलाई घेरा हाल्ने सुरक्षाकर्मीका आँखामा आँखा जुधाएर भनिन् “उहाँलाई जेल हाल्नुहोस् ।”
    बेलबारी मोरङ

    Leave a Reply