
काठमाडौं । हुन्डाईले नेपालमा विक्री गर्ने सबै कारहरु विशेषत आरामदायी मानिन्छन् । आकर्षक डिजाइन, उत्कृष्ट
फिनिसिङ र निकै परिचित इन्जिनको कारण हुन्डाई आई १० नेपालमा सफल कारको रुपमा स्थापित मोडल हो ।
जेनेरेशन अनुसार आई १०, ग्राण्ड आई १० र ग्राण्ड आई १० नियोस नाम भएको यो ह्याचव्याक बाहिरबाट हेर्दा जति आकर्षक देखिन्छ । भित्र पनि त्यति नै उत्कृष्ट बनोट र फिचर लोडेड छ ।
सामान्यतया टलह्याच डिजाइनबाट प्रेरित रहेको कारण सुजुकी स्वीफ्ट र फक्सवागेन पोलोभन्दा ग्राण्ड आई १० नियोस अग्लो र बल्की देखिन्छ । यसको प्रतिस्पर्धी स्वीफ्ट स्पोर्टस् डिजाइनमा तयार भएको मोडल हो भने पोलो प्रिमियम ह्याचव्याक सेग्मेन्टको कार हो ।
ग्राण्ड आई १० नियोस टप भेरियन्टमा बाहिरी बनोटलाई उत्कृष्ट बनाउन प्रोजेक्टर हेडल्याम्प, ठूलो र फराकिलो रेडियटर ग्रिल, ड्यूलटोन डायमण्ड-कट अलोय ह्वील, सार्क फिन एन्टेना, रुफरेल दिइएको छ । यसको इन्ट्री भेरियन्टमा यी फिचर उपलब्ध छैनन् ।
हुन्डाईको सबैभन्दा बलियो पक्ष यसको इन्जिन हो । विशेषत कम्पनीले प्रयोग गर्ने १.२ लिटर नेचुरल्ली एस्पीरेटेड फोर सिलिण्डर कप्पा इन्जिन निकै सफल र प्रमाणित भएको छ । उक्त इन्जिनले प्रदान गर्ने अधिकतम ८३ पीएस पावर र ११४ एनएम टर्क नेपालको सहरी क्षेत्र वा हाइवे जहाँ चलाउँदा पनि पुग्ने पावर हो । यसले प्रतिलिटर १५ किलाेमिटर हाराहारी माइलेज दिन्छ ।
अघिनै भने जस्तो हुन्डाईले गाडीमा आरामदायी यात्रा प्रदान गर्न सधैँ क्याविनलाई फिचर लोडेड बनाउने गरेको छ । ग्राण्ड आई १० नियोसमा पनि कम्पनीले ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटीक क्लाइमेट कन्ट्रोल, पछाडि यात्रा गर्नेको लागि एसी भेन्ट, किलेस इन्ट्री, हाइट एड्जस्ट गर्न मिल्ने चालक सिट, ५.२ इन्चको डिजिटल स्पीडोमिटर, अटो फोल्डेवल साइड भ्यू मिरर जस्ता फिचर दिएको छ ।

मूल्य र मासिक किस्ता
हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मग्ना, मग्ना एएमटी र स्पोट्ज भेरियन्टको विक्री गर्दै आएको छ । मग्ना म्यानुयल भेरियन्टको ३२ लाख ९६ हजार, मग्ना एएमटीको ३५ लाख २६ हजार र स्पोट्ज भेरियन्टको पनि ३५ लाख २६ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।
अहिले नयाँ वर्ष स्कीममा ग्रान्ड आई १० नियोस किन्ने ग्राहकलाई कम्पनीले १ लाख नगद छुट र १९ हजार अतिरिक्त नगद छुट प्रदान गरिरहेको छ । मग्ना भेरियन्टको मूल्य ३२ लाख ९६ हजारमा १ लाख १९ हजार रुपैयाँ घटाउँदा ३१ लाख ७७ हजार पर्छ । त्यसको ५० प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ लाख ८८ हजार ५०० रुपैयाँ बैंकबाट कर्जा लिन सकिन्छ ।
कर्जा वापतको रकम ७ वर्षमा अनुमानित १२ प्रतिशत ब्याजदरका दरले तिर्दा हरेक महिना २८ हजार ४१ रुपैयाँ तिर्नु पर्ने हुन्छ । यसको मग्ना अटोमेटीक र स्पोट्ज भेरियन्ट किन्ने ग्राहकले भने करिब ३० हजार रुपैयाँ मासिक किस्ता तिर्नुपर्छ ।

