आइपिएलमा कमिन्सद्धारा १४ बलमै अर्धशतक!

  • २४ चैत्र २०७८, बिहीबार ०३:३२ मा प्रकाशित
  • अष्ट्रेलियाका टेस्ट कप्तान तथा तीव्र गतिका बलर प्याट कमिन्सले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग(आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सविरुद्ध १४ बलमै अर्धशतक प्रहार गरेका छन् ।

    १ सय ६२ रनको विजयी लक्ष्य पछ्याउनेक्रमा कमिन्सले १४ बलमै अर्धशतक पूरा गर्दै कोलकातालाई १६ ओभरमै जित दिलाए । ५ विकेटको सानदार जित निकाल्न कमिन्सले १५ बलमा ४ चौका र ६ छक्कासहित ५६ रनको विष्फोटक इनिङ खेले । १४ बलमै कमिन्सले अर्धशतक पूरा गरेका थिए । आइपिएल इतिहास कै सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान बराबरी हो ।

    सन् २०१८ मा पन्जाब किंग्सका लोकेश राहुलले दिल्ली क्यापिटल्सविरुद्ध पनि १४ बलमै अर्धशतक पूरा गरेका थिए । कमिन्स १४ औं ओभरको दोस्रो बलमा मैदान प्रवेश गरेका थिए । तीव्र गतिका बलर टाइमल मिल्सको १४ औं ओभरको पहिलो बलमा आन्द्रे रसेल एज लागेर प्वाइन्टमा डेवाल्ड ब्रेभिसबाट ११ रनमा क्याच भएपछि कमिन्स मैदान छिरेका थिए ।

    त्यसपछि कमिन्सले बाउन्ड्रीको वर्षा बनाए । त्यसै ओभरको पाँचौं बलमा छक्का र छैटौं बलमा चौका प्रहार गरे । १५ औं ओभरको चौथो बलमा कमिन्सले जस्प्रित बुमराहलाई छक्का र पाँचौं बलमा चौका प्रहार गरे ।

    कमिन्सले १६ औं ओभरमा तीव्र गतिका बलर ड्यानियल साम्सलाई ४ छक्का र २ चौका प्रहार गर्दै कुल ३५ रन जोडेपछि आइपिएल इतिहासकै सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बराबरी गरेका थिए । कमिन्सले आफ्नै देशका साम्सलाई पहिलो बलमा लङअनमा छक्का प्रहार गर्दा अर्को बलमा मिडविकेटमा चौका प्रहार गरे ।

    त्यसपछि डिम मिडविकेट र फाइन लेगमा लगातार दुई छक्का प्रहार गरेका थिए । पाँचौं बलमा कमिन्स सूर्यबाट लङअफमा क्याच भए । सूर्यले छक्का बचाउँदै उत्कृष्ट क्याच लिएका थिए । जसको कारण १३ बलमै अर्धशतक हुन पाएन । तर नो बलको कारण जीवनदान पाए । पाँचौं बलमा कमिन्सले चौका प्रहार गर्दै १४ बलमा आफ्नो आइपिएल इतिहासमा तेस्रो अर्धशतक पूरा गरेका थिए ।

    अन्तिम बलमा छक्का प्रहार गर्दै कोलकातालाई ४ ओभर अगावै जित दिलाए । यसअघि कोलकाताबाट युसुफ पठानले २०१४ मा सनराइजर्स हैदराबादविरुद्ध र सुनिल नारायणले बेंगलोरविरुद्ध २०१७ मा समान १५ बलमा अर्धशतक प्रहार गरेका थिए । साम्स आइपिएलमा एकै ओभरमा सर्वाधिक रन खाने तेस्रो बलर हुन् । बेंगलोरका हर्षल पटेल र प्रशान्त परमेश्वरनले एकै ओभरमा ३७–३७ रन खर्चेका थिए ।

    कमिन्सले जारी आइपिएलमा पहिलो खेल खेलेका हुन् । पाकिस्तानसँगको तीन टेस्ट खेलेर फर्किएको हुँदा सुरुवाती तीन खेल गुमाएका थिए । कमिन्सलाई यस पटक अक्सनमा कोलकाताले ७.२५ करोड भारुमा किनेको थियो । २०२० मा कोलकाताले अक्सनमा १५ करोड ५० लाख भारुमा किनेको थियो ।

    Leave a Reply