
साताका तीन लघुकथाको आठौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (बा ! राम राम भन्नोस्, उनी र नाम) छनोट गरी प्रकाशन गरिएको छ।
[१] लघुकथा : बा ! राम राम भन्नुस्

✍️ अनुराग अरुण
तुलसी मठ नजिक सुकुलमा लम्पसार पारी सेतो कपडा ओढाएर सुताएको छ । कोही बाँस काट्न र कोही कफन कात्रोको जोरजाममा छन् । बुढोको ओछ्यान घाटमा फाल्न भनेर गुन्टो बाँधेर आँगनमा राखेको छ । बुढो हिक्क हिक्क गर्दै चारैतिर आँखा घुमाएर हेर्छ । वरिपरि स्वास्नी, छोरा, बुहारी र नाति-नातिनाहरू आँखाबाट अश्रुधारा बगाउँदै कल्पेर रुँदैछन् । आँगनभरि मान्छेको हुल छ। बाजेले गौदानको मन्त्र पढेर गाई दक्षिणा लिदैं कर्मकाण्ड प्रकृया पूरा गर्दै भन्छन्, ´बाबु ! अलिकती सुनपानी बुबाको मुखमा राखिदेऊ । सास्ती हुन्न, सजिलै प्राण जान्छ ।`
आचमनीमा राखेको सुनपानी मुखमा राखिदिदैँ जेठा छोराले भन्छ, ´बा ! राम राम भन्नुस् ।` बुढो बोल्न खोज्छ, बोल्न सक्दैन् ।
बाजेले भन्छन्, ´बाबू ! अन्तिम अवस्था हो । बुढाले केही खाने रहर गरेको होलान् । बुबालाई जे राम्रो लाग्थ्यो, त्यही खुवाइदेऊ । मरेपछि आत्माले शान्ती पाउँछ । स्वर्गमा जान्छ ।`
माहिला छोरालाई बुबाले जिलेबी अति नै रुचाउँछन् भन्ने थाहा थियो । झोलाबाट तात्तातो जिलेबी झिकेर देखाउँदै सोध्छ, ´बा ! जिलेबी खाने ?` सुनेर बुढोले हिक्कहिक्क गर्दै बिस्तारै मुन्टो हल्लाउँछ । स्वास्नीले बिस्तारै बुढोको टाउको उचालेर जिउले अडेस दिन्छिन् । माहिला छोराले जिलेबी मुखमा राखिदिन्छ । बुढोले कपाकप जिलेबी खान थाल्छ ।
खाएको देखेर बाजेले भन्छन्, ´अन्तिम घडी हो ,बाबू ! मन प्रसन्न हुने गरी जति खानुहुन्छ, मजाले खुवाइदेऊ !` पालैपालो छोराहरूले जिलेबी खुवाउन थाल्छन् । जिलेबी सकिएपछि पानी पिलाउँछन् । पानी पिएपछि बुढो जुरुक्क उठ्छ । सबै अचम्म र जिल्ल हुन्छन् ।
बुढोले छोराहररूलाई सोध्छ, ´मलाई तुलसी मठमा किन सुताएको ?`
जेठो छोराले भन्छ, ´हजुर ओछ्यानमा सुतेर हिक्क हिक्क गरिरहनु भएकोले हजुर परमधाम जान लागेको ठानेर सुताएको बा ।`
जेठा छोराको कुरा सुनेर बुढोले भन्छ, ´ए बज्या ! आफू कुखुराको मासुको हड्डी घाँटीमा अड्केर हिक्क हिक्क गरेर बोल्नै नसक्ने अवस्थामा थिएँ । कम्ति सास्ती भो, मलाई ! तिमेरुलाई बा मर्छ अनि सम्पती खाउँला भनेर कति हतार ! थुइय्य, तिमेरुको बुद्धि !”
[२] लघुकथा : उनी

✍️ नारायण कोइराला
धेरै समयपछि म आज बिहानै उठेँ । आँगनमा राखिएको पिर्कामा बसेँ । घरका बाँकी पुरूष भने मस्त निद्रामा थिए ।
गाई भैँसी घाँस खाँदै थिए । आँगनको छेउमा कुँडो पाकिरहेको थियो।
लिपपोत गरेर टिलिक्क टल्किएको पिँढीले मलाई रिसाउँदै हेरेजस्तो मानेँ । मैले वास्ता गरिनँ । बोराले बारेको मलखाल्डो मुनिको चर्पीमा जाँदै थिएँ, गोठबाट भर्खर फालिएको गोबरले पनि अपराधीलाई हेरे झैँ हेर्यो, मलाई ! चर्पीभित्र पस्दा प्लाष्टिकको भाँडोमा पानी भरिएको थियो । चर्पी सफा । चर्पीले पनि मलाई घुरेर केही भन्न खोजेको जस्तो लाग्यो। तर म आफैँले फालेको गन्धले गर्दा हतारिँदै बाहिर निस्किएँ।
आँगनमा पुग्दानपुग्दै मेरो लागि चिया तयार थियो । चिया लिदै गर्दा उनको अनुहार हेरेँ । अनुहारमा मुस्कान, हाँसो र खुसी सबै थियो । म पनि फिस्स हाँस्दै चिया समातेँ ।
म आजभोलि उनीसँगै उठ्ने गरेको छु । उनी र ममा काम आधा आधा बाँडिएको छ, खुसी भने डब्बल।
तानसेन,पाल्पा
[३] लघुकथा : नाम

✍️ लक्ष्मी रिजाल
“मलाई एक कुनाे देऊ बुहारी ! त्यहीँ थुप्रन्छु ।”
सासू आर्तनादमा बुहारी स्वर थियोे; “कुनाे हैन, पुरै संसार दिएकी छु । यतै विलाैना बिसाऊ तर हाम्रो नाम नबेच ।”
“पाप धर्म सम्झी छाेरा !” उनकाे अर्को क्रन्दनमा पुत्र बाेली छरियाे; “मैले सेवा गरेरै यत्रो भवनमा बस्ने अवस्था सिर्जना गर्देकाे छु । मेराे नाम भुल्नू र राम नाम जप्नू । किनभने म आफ्नो नामलाई असाध्यै प्रेम गर्छु ।”
सिराहा

