फागु पुर्णिमा अर्थात हाेली पर्व काे अवसर पारेर टुसासद्वारा विशेष टुक्का लेखन कार्यक्रम सम्पन्न

  • ४ चैत्र २०७८, शुक्रबार १०:०६ मा प्रकाशित

  • काठमाडाैँ, ३ चैत्र ।
    फागु पुर्णिमा अर्थात हाेली पर्व काे अवसर पारेर २०७८ चैत्र २ गते टुक्का साहित्य समाजकाे आयाेजनामा “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३४” सम्पन्न भएकाे छ ।

    टुक्का साहित्य समाजकी सचिव विमुन्स पाैडेलकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण समेत उहाँले नै गर्नु भएकाे थियाे । कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट ३२ टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमका सहभागी टुक्काकारहरूले हाेली सम्बन्धी चाेटिला टुक्काहरू सिर्जना गरेका थिए ।

    कार्यक्रमकाे समापन गर्दै सचिव पाैडेलले असत्य माथि सत्यकाे विजय भएकाे खुसियालीमा मनाइने रङ्गहरूकाे पर्व हाेली हर्साेल्लास पूर्वक मनाउने क्रममा टुक्का साहित्य समाजले आयाेजना गरेकाे हाेली पर्व विशेष टुक्का लेखन अभ्यास कार्यक्रममा सहभागी भई चाेटिला टुक्काहरू सिर्जना गर्ने सम्पूर्ण टुक्काकारहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे । 

    अभ्यासका क्रममा सङ्कलन गरिएका फागु पुर्णिमा अर्थात हाेली पर्व सम्बन्धी टुक्का कविताहरू

    [१]
    आऊ आज होली खेलौँ रमाएर मनले,
    टुटेपछि जिन्दगानी लछार्दैन धनले।

    ✍️ पौडेल विमुन्स
    पोखरा कास्की

    [२]
    १.
    आयो रङ्गको पर्व होली उमङ्ग बोकेर
    खेलौँ साथी सबै एकैछिन काम रोकेर ।
    २.
    मन हुनेलाई मात्रै दलौँ रङ्ग, जबर्जस्ती नगरौँ
    रमाइलो गर्ने भन्दैमा कानूनको फन्दामा नपरौँ ।

    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ, हाल- प्रवास

    [३]
    रङ्गमा रङ्ग घोलेर खेल्नुपर्छ होली ,
    जिन्दगानी तिम्रो हाम्रो आज हो कि भोलि ।

    ✍️ बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [४]
    १.
    उमङ्ग र उत्साह बाेकी आउ है साथी सङ्गी,
    रङ्हरूले गाला रङ्गाई बनाैँ रङ्गीबिरङ्गी ।
    २.
    मनकाे मैलाे फाली जीवन रङ्गीन बनाओैँ
    यस वर्षकाे हाेली पनि नाची झुमी मनाओैैँ ।

    ✍️ गाेपालकृष्ण डंगाेल
    इटहरी, सुनसरी ।

    [५]
    १.
    दलेर रङ्ग निधार भरी बनौला रुपौली,
    होलिको दिन खुसीले प्यारा मज्जाले रमौली।
    २.
    मानेर पर्व गरेर गर्व होलीमा रमाऊँ,
    अाफन्त जन मिलेर झन रंगले सजाऊँ।

    ✍️ होम प्रसाद न्याैपाने

    [६]
    १.
    आऊ मनका इच्छा र चाहना खोली,
    छरेर   रङ्ग  अनकौं   मनाऔँ   होली ।
    २.
    त्यागेर चिन्ता पीरहरू जो छन् मनमा,
    बाडौँ खुसी हर्ष दली अबिर तनमा ।

    ✍️ वसन्त अनुभव
          घोराही, दाङ

    [७]
    १.
    भ्रष्टचारी नेतागिरी सधैँभरि मनाउँछन् होली,
    रगतमा रङ्ग्याउन जनतामा बर्षाउछन् गोली ।
    २.
    सर्व साधारण जनतामा चैँ दुई दिन आज भोलि,
    छुट्टी मिल्यो बल्लतल्ल वर्षदिनमा खेल्न रङ्ग गोली ।

    ✍️बिबस पारदर्शी भद्रपुर – २  झापा

    [८]
    १.
    के छ र लानु जीवन छोटो नबिर्से छिनमा,
    नाचेर  खेलौँ  रङ्गिन होली पूर्णेको दिनमा।

    ✍️ अच्युत घिमिरे
    भुटान ।

    [९]
    १,
    रङ्गै रङ्गको तिहार हो होली,
    खेलौँ सबले रङ्गलाई घोली।
    २,
    एक आपसमा सम्बन्ध गाँसी,
    रिसराग द्वैष  जो सबै  मासी।

    ✍️ लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [१०]
    रङ्ग सँग खेली मनाएका छन् होली आज
    पहिरेका  छन्  मिलिजुली उमङ्गको ताज।

    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [११]
    हाेली पर्व अनेक रङ्गमा रङ्गिऊ आऊ
    पिर चिन्ता छाेडी जीवन रङ्गिन बनाऊ ।

    ✍️ ताराप्रसाद चापागाई
    धुनिबेसी ।

    [१२]
    १.
    हामीलाई मन पर्छ  नेपाली होली,
    अबिरका रङ्गमा खेलौँ पानी घोली।
    २.
    होलीको रङ्ग सजाएर गालामा,
    खुसी बाडौँ होली दीप पालामा ।

    ✍️मेनुका खड्का
    धुलिखेल

    [१३]
    १.
    वर्षमा एकपल्ट आउने होली
    खेलौं है सबैले लौ! हृदय खोली।
    २.
    होली एक पर्व अनेक रङ्ग
    खेलेर जगाऊँ जोश – उमङ्ग।

    ✍️ परिक्रमा श्रेस्ठ
    धरान, सुनसरी ।

    [१४]
    १.
    साथी साथी मिलीजुली  खेलौं अब  होली
    दु:ख दर्द हटाउन आऊ मन खोली।

    ✍️दुर्गा भट्टराई
    मोरङ

    [१५]
    शुभकामना छ सबलाई रङ्गहरूको त्यौहार होलीमा
    बहारै बहार छाओस् यो रङ्ग जस्तै सबै सबैको झोलीमा।

    ✍️ दीपक ठटाल जलन
    खरसाङ।

    [१६]
    १.
    मानव समाजलाई खुसी पार्छ मेला पर्व,
    होली तिहारले समाजका गहनाहुन् सर्व।
    २.
    आऊ दुस्मनी छाडेर लगाऊ गुलाल,
    बरु आदान प्रदान गरौं हालचाल।

    ✍️ सुरेशकुमार पान्डे
    दाङ घोराही-१८

    [१७]
    आऊ है साथी मिलेर खेलाैँ हाेलीमा रमाई
    दुःख र कष्ट त्यो सबै भुलाै रङ्गमा सजाई।

    ✍️  प्रेम कला चापागाईं( सिटौला )
    मेचीनगर १२ झापा ।

    [१८]
    १.
    नखेल पानीको लोला
    बग्नेछ रक्तको खोला।
    २.
    रमाऊँ होली रमेर
    रङ्ग लगाऊ जमेर ।

    ✍️अम्विका  अधिकारी
    झापा विर्तामोड

    [१९]
    १.
    हाेलीकाे पर्व छरिन्छ रङ्ग ,
    मायालु सँग परिन्छ दङ्ग ।
    २.
    खेलिन्छ हाेली पिच्कारी लाेली ,
    छेपिन्छ रंङ्ग जाेखिम माेली ।

    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा ।

    [२०]
    १.
    दुलहा सङ आए पन्चेबाजा,जन्ती लस्कर
    भरिभराउ हर्षबढाइँ दुलही का घर ।
    २.
    तिमी सजिया मण्डपमा, सोह्र शृङ्गार
    दन्त टलक्क दुलहा, सत्र चमत्कार ।

    ✍️ जि कुमार गौतम
    भद्रपुर -१, पृथिविनगर झापा

    २१]
    पूर्णिमाको होली मिलेर खेलौं उमङ्ग लिएर ,
    होलीको पर्व मिठाई प्रसाद खाउँला दिएर ।

    ✍️ बेदु न्यौपाने
    काठमाडौ ।

    [२२]
    १.
    आउँहै साथी धुमधामले मनाउँ होली,
    मीठो बिचार  नै सकारत्मक रंग घोली।
    २.
    दुईसाल व्यर्थै गयो आएन जीवनमा कहिलै रङ्ग,
    यो वर्ष हेरन तपाईं हामी खुशी दुनियाँ हुन्छ दङ्ग।

    ✍️ कमला पाण्डे पराजुली

    [२३]
    १.
    लोला नहान प्यारा लौन, दल अनुहारमा रङ्ग
    शरिर मेरो बनाऊ रङ्गिन ,केलाई अङ्ग अङ्ग ।
    २.
    होली जस्तै रङ्गिन जिन्दगी भए वाहा,
    मन्त्रमुग्ध हुन्थ्यो मानव जीवन अाहा ।

    ✍️  बिके माकजु
    भक्तपुर ।

    [२४]
    १.
    सप्तरङ्गि रंगहरु मिलाएर घाेली,
    खेलाै साथी सङ्गीहरु सबै मिली हाेली।
    २.
    आयाे याे साल पनि रङ्गको पर्व हाेली,
    खेलाै घर परिवार सबै  मनै खाेली।

    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही  १४ बुटवल ।

    [२५]
    होलीको पर्व गरेर गर्व खुशीले मनाऊ,
    दाजु र भाइ दिदी र बैनी सबैमा जनाऊ।

    ✍️ सरस्वती श्रेष्ठ

    [२६]
    १.
    खेलाै है हाेली दिलनै खाेली रमेर रमाई ,
    फागुकाे पर्व जमेर खेलाै खुशीनै जमाइ ।
    २.
    जीवन हाम्राे के छर भाइ  जीउन रमाई ,
    मनकाे मैलाे पखाली खेलाै रङ्गीन बनाइ ।

    ✍️ प्रद्युम्न चालिसे

    [२७]

    होलीमा साथी रमाई हामी खेलिन्छ योरङ्ग
    दलेर एक अर्कामा रङ्ग भएर उमङ्ग।

    बालक मात्र  हुँदैन  युवा युवती सगर्व,
    शहर गाउँ सम्पूर्ण ठाउँ मान्दछन्  योपर्व ।

    ✍️भगवती दवाडी
    झापा ।

    [२८]
    उखरमाउलो गर्मी नै सम्झेर नै त होला बेलुन हानिन,
    माया नपाएर जिउ चिसिएकेा थ्येा मलाई बेस्सरि ढालिन।

    ✍️ पवन कुमार बुढाथोकी

    [२९]
    १.
    नगरौँ जातको बोली
    मिलेर नै खेलौँ होली ।
    २.
    रङ्गको  होलीमा मनाऊ है मनले
    साथी भाईचारा  बडाउन रङ्गले।

    ✍️ रुद्रराज श्लोक

    [३०]
    शुभकामना सँगै झरुन् होली पर्वका रङ्गहरू
    एकार्काको सहारामा सुध्रिएर हाम्रा ढङ्गहरू ।

    ✍️ गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [३१]
    आत्मियता र सद्भावको महान पर्व
    होलीकाे रङमा रङ्गिएर लाग्छ गर्व।

    ✍️ साधना पाैडेल
    रगनी-१, ओखलढुङ्गा ।

    [३२]
    १.
    वर्ष दिनको होली पर्व आएको राम्रो,
    चाड शताव्दी देखिको संस्कार हो हाम्रो।
    २,
    रङ्गै रङ्गले मनाउने पर्व हो होली,
    हामी सबै खेलौँ मिलेर रमाई भोलि ।

    ✍️ दुर्गा आचार्य
    मोरङ

    >>> जय टुक्का! जय साहित्य!! <<<

    One thought on “फागु पुर्णिमा अर्थात हाेली पर्व काे अवसर पारेर टुसासद्वारा विशेष टुक्का लेखन कार्यक्रम सम्पन्न

    1. हार्दिक आभार हिमालयन दृष्टि परिवार। तथा आदरणीय वसन्त अनुभव सर। सम्पूर्ण टुक्का सर्जक ज्यू हरूमा हार्दिक बधाई तथा शुभकामना।

    Leave a Reply