
काठमाडौं। नेपाल वायुसेवा निगमले आउँदो अप्रिलबाट साउदी अरेबियामा नियमित उडान सुरु गर्ने भएको छ। साउदीको जनरल अथोरिटी अफ सिभिल एभिएसनबाट उडान अनुमति पाए लगत्तै निगमले साताको तीनवटा उडान गर्ने योजना बनाएको हो।
सुरुवाती चरणमा निगमले साताको मंगलबार र शुक्रबार उडान गर्ने योजना रहेको निगमका एक उच्च पदाधिकारीले बताए।
‘हामीले उडान तालिका बनाइसकेका छौं। साताको तीन दिन उडान गर्न अनुमति आए पनि हामीले सुरुमा साताको दुईवटा उडान गर्ने योजना बनाएका छौं। भाडादर निर्धारण हुन बाँकी नै छ। यस लगत्तै बुकिङ खुला गर्नेछौं,’ उनले भने।
साउदीको जनरल अथोरिटी अफ सिभिल एभिएसन (जीएसीए) ले गत फागुन २२ गते निगमलाई औपचारिक रूपमा उडान अनुमति दिएको थियो।
यो उडान सुरु भएसँगै वैदेशिक रोजगारीका लागि साउदी आउजाउ गर्दै आएका नेपालीका लागि लिइँदै आइएको भाडादर सस्तिने निगमले जनाएको छ।
निगमले साउदीको रियाद, दमाम र जेद्दा लगायत तीन सहरमा उडान अनुमति पाएको हो। निगमले सुरुमा काठमाडौं-रियाद-काठमाडौं रुटमा उडान गर्न लागेको हो। आगामी अप्रिलबाटै साताको तीनवटा नियमित उडान थाल्ने तयारी गरेको छ।
निगमका अनुसार साउदी उडानका लागि जेद्दास्थित एम/एस फैसालिआ मोडर्न एभिएसनलाई जीएसएमा छनोट गरिएको छ।
हाल निगमले दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी गरी कुलव चारवटा जहाजमार्फत भारत, दुबई, कतार, मलेसिया, हङकङ, जापान लगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

