
साताका तीन लघुकथाको पाचौँ शृङ्खलामा यो साता नमस्ते आधुनिक लघुकथा मञ्चमा प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (नयाँ जुका, विरोधाभास र उपहार) छनोट गरी प्रकाशन गरिएको छ।
१) लघुकथा : नयाँ जुका

✍️ खगेन्द्र बस्याल
पहाडबाट उसले मधेसमा रहेको साथीलाई सोध्यो “के छ त्यतातिरको हालखबर ।” उसले जवाफ दियो “जुकाहरूले सताइरहेका छन् । अरू त ठीकै छ।”
त्यो सुनेर उसले सल्लाह दियो । “उसो भए खेततिर नजानू । जङ्गल जाने कष्ट नगर्नू । तपाईंलाई अपुग्दो केही छैन ।” उनले भने “यताका जुकाहरू बाह्रैँ महिना सक्रिय हुँदा रहेछन् । बाहिर भन्दा घर, बजारमा बढि लाग्दा रहेछन् । हेर्न मन भए आउनु नि यता।”
ऊ ती जुका कस्ता हुँदा रहेछन् , हेर्ने चाहनाले भोलिपल्ट नै तहाँ पुग्यो ।
रातभरि पहाडतिरकै कुरा भए । बिहान उसले सोध्यो “यता लाग्ने नयाँ जुका कस्ता हुँदा रहेछन् ? मलाई देखाऊ न । मैले फोटो खिचेर फेसबुकमा राख्छु । उनले भने फोटो खिच्न त पाइन्न । कसैले खिचे, ऊ कारवाहीमा पर्छ । फोटो नखिच्ने शर्तमा देखाउँछु । मनमै राख भनेपछि उसले पनि मञ्जुरी जनायो । उनी सँग दिनभरिको घुमघाम पछि थाहा पायो । ती नयाँ जुकाहरू त नेता, ब्यापारी, बिचौँलिया र कर्मचारी मध्ये मुसोको भूमिकामा सक्रिय छोटो समयमै चिल्ला अनुहारका पो रहेछन् ।
तिलोत्तमा ९ रुपन्देही
२) लघुकथा : विरोधाभास

✍️ मनोहर पोखरेल
सास फेर्न गाह्रो हुँदाहुँदै दाजु मुर्छित् भएका थिए । आत्तिएर म दाजुलाई बोकेर अस्पताल कुदेको थिएँ ।
अस्पतालले थमाएको बिलमा ६ सय रुपैयाँ अपुग भएपछि बिचैमा उपचार रोकियो । बाँकी पैसा भोलि दिने हारगुहारको सुनवाइ भएन । रात छिप्पिदै थियो भने दाजुलाई च्याप्दै लगेको थियो ।
दाजु कार्यरत संस्था, संगठन, आफन्त, साथीभाइ समक्ष फोन घुमाएँ । केहीको फोन लागेन, केहीको उठ्दै उठेन । केहीले भने बहाना बनाए । तर पैसा दिएर सघाउने कोही भएनन् ।
दाजु विभेदका विरुद्ध कलम चलाउँथे । सामाजिक न्यायको पक्षमा लेख्थे । आफ्नो घरमा रासन नभए पनि देशको चिन्ता गर्थे । भोकै रहेर भोको पेटको कथा लेख्थे । जीवनजल र सिटामोल नपाउनेहरूको सजीव चित्र उतार्थे ।
यतिबेला उनै मृत्युसँग कुस्ती खेल्दै थिए । म भने थोरै रुपियाँ जोहो गर्न नसकेर तड्पिरहेको थिएँ । उपचार गरिरहेको अस्पतालले हामीसँग पैसा नभएको चाल पाएर सरकारी अस्पताल प्रेषण गर्यो । अस्पताल पुर्याएको आधा घण्टासम्म उपचार शुरुआत भएकै थिएन । पैसाको जोहो गर्दागर्दै दाजुले इहलोक छाडिसकेका थिए ।
मृत्युपछि संगठनले विज्ञप्ति निकाल्यो । साथीहरू अस्पतालमा खनिए । छानविन सहित कारवाहीको माग उठ्यो । क्षतिपूर्तिको आवाज गुञ्जियो । दाजु कार्यरत संस्थालाई तलब खर्च नदिएकोमा सत्तोसराप गरे ।
जीवन छँदा आँखा चिम्लनेहरूले आँखा रसिला बनाए । अगाडि थाहा पाएको भए बचाउन सकिन्थ्यो भन्दै केहीले गोहीका आँसु बगाए । फोन नउठाउने आफन्तहरूले घटना विवरण ध्यानपूर्वक सुने ।
नेता र मन्त्रीहरू आएर समवेदना दिए । दाजु कार्यरत संस्था सहयोगका लागि अग्रसर बन्यो । मृत्युपछि आर्थिक, भौतिक र नैतिक सहयोग गर्नेको कमी रहेन ।
राजविराज–६, सप्तरी नेपाल
३) लघुकथा : उपहार

✍️ यमुना प्रधानाङ्ग ‘मुना’
भावनाको पतिले रातको १२ बजे उठेर भन्दै थिए, “जून जस्ती मेरी भावनालाई कहिल्यै सुख दिइनँ । मलाई माफ गर है !”
भावनाले अचम्म मान्दै पतिको मुखमा हेर्दै भनिन् -“होइन्, आज हजुरलाई कताबाट आयो यस्तो कुरा ?”
“यो कुरा मलाई पहिल्यै आउनु पर्थ्यो भावना ! तिमीलाई कति दुःख दिएँ । सधैँ आफ्नै कुरा माथि राखेँ । तिमी पनि बाहिर काम गर्छौ, कहिल्यै पनि तिम्रो कामको कदर गरिनँ । तिमीलाई बिहान उठे देखि भ्याइनभ्याइ हुन्थ्यो, कहिल्यै सहयोगको हात बढाइनँ, हगि ?” भन्दै गर्दा, “बुबाआमा ! हजुरहरूलाई विवाह वर्षगाँठको हार्दिक मङ्गलमय शुभकामना !” भन्दै छोराछोरीले झ्याम्म अँगालो मारे र फूलमाला लगाइ दिदै उपहार दिए ।
भावनाले भनिन् – “बाबु नानी ! तिमीहरुले भन्दा पहिले नै तिम्रा बाबाले मलाइ उपहार दिइसक्नु भयो ।”
छोराछोरी- “खोइ , बाबाले दिनुभएको उपहार ?” भन्दै यताउति खोज्न थाले ।
उनीहरूका भने आँखामा आँसु टिलपिलाइ रहेका थिए । सायद, श्रीमतीको हर्षको, श्रीमानको पश्चातापको ।
वीरगन्ज, पर्सा ; हाल : इमाडोल, ललितपुर

