बढ्नियारस्थित सारथी लघुवित्त वित्तीय संस्थालिमिटेडका शाखा प्रबन्धकसहित ४ जना कारागार

  • ३ फाल्गुन २०७८, मंगलवार २१:३३ मा प्रकाशित
  • वीरगञ्ज, ३ फाल्गुन । बचतकर्ता सदस्यहरुको जानकारीबिना ऋण लिएको ५ करोड ५७  लाख ४२ हजार २ सय ७४ रुपैयाँ हिनामिना गरेको आरोपमा शाखा प्रमुखसहित ७ जना पक्राउ परेका छन् ।

    काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ३ स्थित नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको पर्साको पर्सागढी नगरपालिकाको बढ्नियारस्थित शाखा कार्यालयका शाखा प्रबन्धक भोजेन्द्र ठाकुर लोहारसहित अन्य ७ जना कर्मचारीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो । 

    संस्थाको मुख्य कार्यालयले मंसिर २४ गते दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । शाखा प्रबन्धक लोहारले अन्य कर्मचारीको सहयोगमा ३ सय ८ जना बचतकर्ता सदस्यहरुको जानकारी बिना उनीहरुको नाममा नक्कली ऋण आवेदन र अन्य नक्कली कागज तयार गरी ऋण स्वीकृत गरी आफैले ५ करोड ३४ लाख ५५ हजार ४ सय १९ रुपैयाँ हिनामिना गरेको जाहेरी दरखास्तमा उल्लेख छ । 

    अनुसन्धानको क्रममा शाखा प्रबन्धक लोहारले १५ जना बचतकर्ताको बचत रकम र कर्जाको ब्याजबापतको रकमसमेत गरी जम्मा ५ करोड ५७ लाख ४२ हजार २ सय ७४ रुपैयाँ संस्थालाई नोक्सानी गराएको खुलेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । 

    अनुसन्धानपश्चात जिल्ला सरकारी वकिल कार्यालय पर्साको निर्णयअनुसार ३ जना व्यक्तिमाथि मुद्दा नचल्ने निर्णय भएपछि छाडिएको खनालले बताए । खनालका अनुसार ४ जनालाई कारागार चलान गरिएको छ । 

    शाखा प्रबन्धक लोहारलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने अन्य ३ जनालाई जनही १/१ करोड धरौटी तोकिएकोमा धरौटी रकम बुझाउन नसकेपछि उनीहरुलाई पनि कारागार चलान गरिएको खनालको भनाई छ । 

    कारागार चलान हुनेमा शाखा प्रबन्धक रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी भोजेन्द्र ठाकुर लोहारसँगै पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ७ निवासी गेनालाल पटेल, वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ निवासी प्रदीप कुमार पटेल र वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ कै शेषनाथ कुश्वाहा रहेका छन् ।

    Ref.यात्रा डेली.कम

    Leave a Reply