टुक्का माथि टुक्काको २०औँ शृङ्खला सम्पन्न; ७२ जना टुक्काकारको सहभागीता

  • २५ माघ २०७८, मंगलवार १७:४३ मा प्रकाशित
  • काठमाडौ, । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको २० औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ७२ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको २० औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    तिमीले खायौ हिजोसम्म, आज मेरो पालो,
    मिलीजुली नै जनतामा, फ्याक्नु पर्छ जालो ।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    पालै पालाे मिलिमिली देश लुट्दै जानुपर्छ,
    कानुन बनाउने हामी नै हाे कस्ले के गर्छ ?

    ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [२]
    खाने मात्रै कुरा तिम्रा केही त गर्देउ विकास,
    ऋण थुपार्छौ जनता माथी देउ छिटो निकास।

    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३,काभ्रे

    [३]
    सके जति खानुपर्छ, फुटे भुँडी फुट्छ,
    सिलाऔँला फुट्यो भने खुटेपछि जुट्छ ।

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [४]
    तिमी हामी मिलिजुली नै देश लुट्ने ठाउँ,
    देश लुटी सकेपछि त हामी अन्तै जाउँ ।

    💕बेदु न्यौपाने काठमाडौ💕

    [५]
    पाएसम्म खानुपर्छ है, समय हुँदै आज,
    भेटेसम्म खाने हामी, हामीलाई के को लाज ।

    प्रदीप के रिमाल
    इटहरी -८ सुनसरी

    [६]
    हाम्रो देश बनिसक्यो लुटी खाने भाँडो,
    यस्तालाई सबै मिली कटाउ है डाँडो।

    ललिता अभागी
    सुनकोशी५सिन्धुली

    [७]
    हामी नै संसद देशका लुट्ने वरिष्ठ नेता पनि,
    देश तहसनहस पार्न बाँकी कहाँ राख्छौ अनि।

    हरिनारायण चौधरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [८]
    लुटेको नै होस् आफूसँग पैसा भएकै राम्रो,
    जे गर्छौ सफल हुन्छ राजनीति पनि हाम्रो।

    दस्ता कौशिक
    पाँचथर।

    [९]
    मिलीजुली यिनीहरू खेलिरहन्छन् सधैं खेल,
    जनता मिली नधपाउन्जेल गर्छन् जालझेल।

    म्यामराज राई
    हतुवागढी,भोजपुर

    [१०]
    जनता बाठो भए, हटाउन्छन् अब जालो,
    फेरि गाउँमा गयौ भने घसी दिन्छन् कालो

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [११]
    हिजोसम्म भनेर कहाँ हुन्छ जतिसक्दो एक्लै हो खाने,
    आफू खाएर जनतालाई झुटो आश्वासन तिर लाने ।

    अनिश बाबू उपाध्याय
    पाँचथर

    [१२]
    जतिसुकै गरेपनि रोइ कराइ नेताले टेर्दैनन्,
    जनताको पीडा र छट्पटी मरिकाँटे पनि हेर्दैनन् ।

    गोमा गुरागाई इटहरी – २

    [१३]
    ढिला किन नेता साथी आऊ आजै जुटौँ,
    बाडीचुडी खानुपर्छ देशलाई लुटौँ ।

    ✍ नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [१४]
    भोलि यो सत्ता नरहला हसुर्छु भेटेजति,
    पचाउन नसके घरै डाक्टर कति कति।

    अनिल खग्रास
    फनपा ९ पर्वत

    [१५]
    घरकाे खाई सकियाे अब अरूसँग मागाैँ,
    बिराेधी जन बढे घेरै घर बेचेरै भागाैँ ।

    निरज कोइराला

    [१६]
    रोडबाट करोड भएँ, यस्तै धन्दा गरी,
    आफूलाई हाइ सुख छ, यो जिन्दगी भरि।

    घनश्याम पौडेल
    सृजना चोक, पोखरा

    [१७]
    नातागोता पैसावाला जाऔँ टिप्दै नाम,
    सबै खाले पद भरौँ ढुक्क आफ्नो ठाम।

    मनोहरी पौडेल
    गैडाकोट १, नवलपुर

    [१८]
    आलोपालो मिली खाऊ तिम्रै भयो बिर्ता,
    होस् गर जनताले कुट्दै गर्ने छन् फिर्ता।

    लक्ष्मी प्रसाद फुयाल
    मोरङ पथरी शनिश्चरे

    [१९]
    सबै मिलौ खुसी पारौँ जनता हसाउँने,
    सत्ता छ प्यारो, तिम्रो हाम्रो भाँडो कमाउँने ।

    होम प्रसाद
    धरान,सुनसरी ।

    [२०]
    हिजो अस्ति तिम्रो पालो अब मेरो पालो,
    सकेजती लुटने हो फ्याकेर भ्रम जालो ।

    कमला देवकोटा, पाल्पा

    [२१]
    जहिल्यै तिम्रो मात्रै हालीमुहाली गर्ने देश,
    अहिले मेरो पालो सपार्नु परेको छ भेश।

    भगवती दवाडी ,दमक

    [२२]
    मै खान्छु मै लाउँछु तिमीलाई के को पीर,
    खान नपाए कहाँ हुन सक्छु र म धीर ।

    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ, हाल- प्रवास

    [२३]
    तिमी कुटे झैँ गर , म रोए झैँ गर्छु,
    म र तिमी आलोपालो ढुकुटी भर्छु ।

    बिके माकजु , भक्तपुर ।

    [२४]
    जब फिजाउँछन् उनले दम्भ स्वार्थको जालो,
    जुट्नु र उठ्नुपर्छ समाउन अब कठालो ।

    प्रेम थापा

    [२५]
    देश खाने धमिरा हो कुटु-कुटु खाऊ,
    कहाँ कस्ले कति खाने मिली पालो लाऊ ।

    रामजी लामिछाने

    [२६]
    जतिसक्दो खानुपर्छ पाए जति सारा,
    हाम्रा लागि उभिनेछन् तिनै सर्वहारा ।

    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा

    [२७]
    हामी भ्रष्टाचार सधैँ गर्ने,
    आफ्नो खल्ती मात्र हामी भर्ने ।

    साहित्य प्रेमी श्री लिम्बू ( प्रयासी)
    पाँचथर

    [२८]
    खाइदेऊकाे संस्कार हुर्कियो यो देशमा हलहली,
    खान नपाउनेको चित्र आउँछ आँखामा झलझली।

    दीपक ठटाल जलन
    खरसाङ।

    [२९]
    सहिदले देखाएको बाटाे भुल्याै दाजै ,
    रगतले सिंचाएकाे माटाे पुर्याै आजै ।

    रामकृष्ण दुवाडी

    [३०]
    धुर्त नेताको भयो देश, संसद अनि कानून,
    जनताले अब भोट हाल्दा धुर्त साधु जानून।

    बिके मुखिया
    दार्जीलिङ भारत।

    [३१]
    जसरी नि जनतालाई नियत रैछ मार्ने,
    साँचिलो भई सदैव गोहीको झैँ आँसु झार्ने ।

    गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [३२]
    त्यसै भन्या होइन रहेछ लुट्न सके लुट,
    कसै गरे भ्रष्टाचारीलाई दिने हैन छुट ।।

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [३३]
    कमाइ खाने भाँडो भयो राजनीतिक खेल,
    आलो पालो लुट्नु पर्छ सबैलाई पुगुञ्जेल ।

    सरस्वती वली
    बर्दिया

    [३४]
    जनतालाई भेडा बनाई मुखमा बाँधी टालो,
    भागबण्डा मिलाई खानुपर्छ गर्दै आलोपालो ।

    बिबस पारदर्शी
    भद्रपुर – २ ( झापा )

    [३५]
    पहिले त लुटे आफैले देश रित्तियो के गरूँ,
    अब कमिसनमा ल्याउँन थाले अंग्रेजहरू।

    सुरेशकुमार पान्डे
    दाङ घोराही१८

    [३६]
    मिलेर खायौ या छलेर खायौ देश यो सिध्दियो,
    लुट्नुसम्म लुट्यौ सारा ढुकुटी आज त्यो रित्तियो ।

    सुर्य मणि रेग्मी
    चितवन

    [३७]
    मैले पिटे जस्तो तिमी रोए जस्तो गर,
    अहिले म पेट भर्छु, पछि तिमी भर ।

    इन्दिरा देवकोटा

    [३८]
    पुरानालाई माँस्ने भन्थे आफू बन्न रहेछ,
    सामन्तका नयाँ रुप फेरिनलाई रहेछ।

    अमर सन्तती

    [३९]
    भाग्यले पाएको हो यो कुर्सी र लगाएको यो बर्दी,
    पाइयो घुस अनि झ्वाम्म खाइयो लाग्दैन कि सर्दी

    ओमकुमारी बन्जारा रानाभाट
    सामाखुसी काठमाडौं

    [४०]
    म रोए तिमी फकाऊ, गर्नुपर्छ पालो पालो,
    जनतालाई यसैगरी, फिजाऔँ हाम्रो जालो ।

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [४१]
    खानु खायौ देश भण्डारनै पार्ने गरि रित्तो,
    काम केही भएन ठ्याप्पै बिकास छैन बित्ताे।

    बिमला पौडेल
    भरतपुर ७ कृष्णपुर

    [४२]
    हिजो पनि लुटेकै थियो, आज पनि लुट्छौँ,
    ढुकुटी त हाम्रो बिर्ता हो आनन्दले भुट्छौँ।

    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [४३]
    बेचिसके नेताहरुले नदी चुरे डाँडो ।
    जति लुटेपनि नपुग्ने कस्तो रैछ भाँडो ।

    चुडामणी ध्रुव देवकोटा
    सुर्य नेपाल सिमरा बारा

    [४४]
    झुकेको छैन अहिले नेपाली जनता वीर,
    बैरीको सामुन्नेमा गएर नटेकाऊ शिर ।

    अम्विका अधिकारी
    झापा बिर्तामोड

    [४५]
    कस्तो मज्जा आलोपालो घुमिघुमी खाने,
    फेद देखि टुप्पैसम्म आफ्नालाई लाने।

    दुर्गा आचार्य
    मोरङ

    [४६]
    आफ्नो मात्र पालो नसम्झ नेता जनता रुवाएर,
    भोलि अरुको पालो आउँदा छोड्लान नी डुबाएर ।

    तारा घिमिरे संखुवासभा

    [४७]
    राजनीति गठबन्धन सत्ता चलाई मिलिजुली खाने,
    समावेशीको नाममा आफ्नै श्रीमतीलाई कुर्सीमा लाने ।

    राम कुमारी खडका
    तुल्सिपुर उ न पा १९ बिजौरी , दाङ्ग ।

    [४८]
    खानलाई लुछाचुँडी गर्छाै पालाे हाली,
    देशै टाट पल्टाउने फटाहा र जाली ।

    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [४९]
    मैले खाए तिमी खाऊ नमानी डर रत्तिभर,
    चोख्या भनेर फाल्दै गर नत्र भुँडी फुट्ने डर।

    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [५०]
    देश लुट्ने लुटेरा हाे मिलीजुली खाऊ,
    कस्को कति भाग लाग्छ बराबर लाऊ ।

    दुर्गा भट्टराई
    मोरङ

    [५१]
    राष्ट्रका अध्यक्ष भई दिए फरार,
    जन्ता अब कहाँ गई माग्ने गुहार ।

    संझना कुसुम

    [५२]
    तिमीले देश सिध्याई सक्यौ अब मेरो पालो,
    सबै मिली गर्नुपर्छ है देशमा धन्दा कालो।

    निर्मला शाही ठकुरी
    दैलेख

    [५३]
    हाम्रै पालो पुग्या छैन, अरु कसलाई दिनु,
    भ्रष्ट गरि कमाएकै छ, कोसँग पर्छ लिनु ।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [५४]
    खाँदै गर पालैपालो फ्याक्दै गर जनतामा जालो,
    मरेको जनता जागेको दिन चैँ दलिदिन्छ कालो।

    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [५५]
    कति खान्छौ खाऊ मनपरि गरेर खाऊ,
    तिम्रै छ पालो जनतामा भ्रम छरी खाऊ ।

    सुरेश विश्वकर्मा
    डोटी

    [५६]
    कति दिन फ्याँक्दो रहेछौ मिलीजुली जालो,
    आउने छ निमुखाको नि एक दिन पालो ।

    रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    [५७]
    जालझेल कस्ताे राजनीतिक खेल ,
    अब जनताकाे पालाे, पाराैँ है फेल ।

    प्रद्युम्न चालिसे

    [५८]
    मेरो देशको राजनीतिक देखेर आफैँ दु:ख लाग्दो,
    कठै हाम्रा नेताको दुर्गतिदेखि मनमा मायाजाग्दो ।

    विक्रम तिरुवा सलिन
    जुम्ला

    [५९]
    लाज छैन सरम छैन पालैपालो लुटमार,
    गतिहीन देशद्रोही लाइ थुक्नु पर्छ खकार ।

    जि कुमार गौतम
    (भद्रपुर -१) पृथिविनगर झापा

    [६०]
    तिमीले खायौ मेची र कोशी म खान्छु महाकाली,
    पालो आउँदा लुट्नुपर्छ राख्न हुन्न हात खाली।

    गणेश तामाङ वाइबा
    ताल्ती,धादिङ नेपाल।।।

    [६१]
    फेरि पनि आउँन लाग्यो निर्वाचनको पालो,
    कोही पनि नपर्नु है लोभ लालचको जालो ।

    माहादेब भट्ट
    दशरथ चन्द नगरपालिका 01 गुरुखोला कलौन बैतडी

    [६२]
    जनता धेरै बाठा भए अब सक्दैनौं लाउन जालो,
    चुनाव आयो भनी भोट माग्न गए घस्छन् उल्टै कालो।

    सरस्वती श्रेष्ठ
    इटहरी

    [६३]
    चुनाव आउँदा हात जोडी गाउँघर सँगै धाउँला,
    मिलीजुली राज्यकोषको ढुकुटी बिस्तारै सकाउँला ।

    सुमिना तिमल्सिना
    चाँगुनारायण 8 भक्तपुर

    [६४]
    लुट्नु जति लुटिसके अझैँ कति लुट्छ्न्,
    बाउको पार्टी नमिले छोरा आई कुट्छन्।

    निरु भट्ट
    सुर्नया३बैतडी

    [६५]
    खाऊ खाऊ खानुपर्छ भुँडी फुटुञ्जेल,
    यस्तै गरि खेलिन्छ राजनीतिकाे खेल।

    मित्र गौतम `उराठी´
    अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा-२

    [६६]
    पालैपालाे मिलीजुली खानुपर्छ बाँडीचुँडी ,
    नेतृत्व तहले पैला भर्नुपर्छ आफ्नाे भुँडी।

    रामकृष्ण रिजाल
    बागलुङ

    [६७]
    राज्यसत्ता चलाउँनु, मिलेमतो गरी,
    दुनियाँ सबै घुम्ने छन् हाम्रै वरिपरि ।

    कर्ण दयाल
    मेलौली नगरपालिका ७, बैतडी

    [६८]
    राम्रा राम्रा पहिरन गरी उनी आएका,
    चिन्ने गाह्रो बनाउन अनुहार भ्याएका।

    पौडेल विमुन्स
    💕 पोखरा कास्की 💕

    [६९]
    कहिले मेची खायो कहिले खायो काली,
    आलोपालो सबै जनाले इज्जत फाली।

    राम रावल सागर
    कैलाली

    [७०]
    भ्रष्टाचारको कालो धन बिदेश पुगे देश लुटे,
    कालाे धन्दा गरेका नेताकाे छाेरा जेलबाट छुटे।

    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [७१]
    पालो मिलाई मिलाई देशलाई लुटलाट गरौँ,
    कानुन हाम्रै हातको मैलो, आफ्नो गोजी टन्न भरौँ।

    अच्युत घिमिरे
    भुटान

    [७२]
    आलोपालो गरी खाऊ हुन्छ तिम्रै दिन गनाइ,
    कहिलेकाही त सुन्ने गर जनताको भनाइ ।

    धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला

    जय टुक्का ! जय साहित्य !!

    Leave a Reply