“सफल” शिर्षकमा सृजित सुन्दर टुक्काहरू

  • ११ माघ २०७८, मंगलवार १०:२३ मा प्रकाशित
  • टुक्का साहित्य समाजकाे नियमित टुक्का लेखन अभ्यासकाे सिलसिलामा “सफल” शीर्षकमा टुक्का लेखन अभ्यास गरिएको थियो । जसको प्रशिक्षण टुक्का प्रवर्तक ताराप्रसाद चापागाईंले गर्नुभएको थियो । उक्त अभ्यासमा ५६ जना टुक्काकारको सहभागीता रहेको थियो ।

    अभ्यासमा सृजना गरिएका टुक्काहरू

    [१]
    अभियानमा अघि बढ्दा बाधा थिए पलपल
    निरन्तरकाे साधनाले आखिर भयाे सफल ।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [२]
    गरे काम असम्भव हुनै छैन कुनै पल,
    इमान्दार र मेहनतले होईन्छ सफल।
    ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [३]
    तिमीलाई भेटाउने बाचा थियो हरपल
    इन्टरनेटले साथ दियो भएँ म सफल ।
    ✍️ गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [४]
    आदर्शले चुमिराख्नु सुन्दर जीवन पल,
    उत्साहित नै सधै बनुन हुनुलाई  सफल।
    ✍️ रामजी लामिछाने
    पाेखरा २७ ।

    [५]
    हरेक कुरामा उ थियो र पो अब्बल,
    भएरै छाड्यो आज जीवनमा सफल।
    ✍️ लालीमाया थापा मगर
    प्युठान

    [६]
    शिलाबाट टुसाएको पिपल नै हेर
    लड्दै उठ्दै गर्छु म त नगरेर देर।
    ✍️ महेन्द्र मान बलामी
    दक्षिणकाली-९ ,फर्पिङ ,काठमाडौ।

    [७]
    जब देशमा जनसागर उम्लियो त्यो पल,
    गणतन्त्र ल्याउँन हामीहरू भयौं सफल।
    ✍️ सुरेशकुमार पान्डे
    दाङ घोराही-१८

    [८]
    असफलता नै हो सफलताको कडी,
    चिन्नु र समात्नु पर्दछ बरु त्यो घडी।
    ✍️ घनश्याम पौडेल
    सृजना चोक, पोखरा

    [९]
    बासुरीको धुन सुन्दै लेखे गित गजल
    टुक्का लेख्ने कलामा नि आज भए सफल ।
    ✍️ माधवी भट्ट
    सुर्नया ३ (बैतडी )

    [१०]
    विदेशमा काम गर्दा याद आउछ घरको हरपल,
    साहुको गुलामी गरेर कहिले हाेला जीवन सफल ?
    ✍️ लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [११]
    खन्दाखन्दै अग्लो पहाड नि बन्दोरैछ सम्म,
    सफल हुन मेहनतले बन्नुपर्छ टम्म ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ  काठमाडौँ

    [१२]
    प्रयास जारी गरिराखे, भइन्छ एकदिन सफल,
    खाली लक्ष्य स्पष्ट हुनुपर्छ हाम्रो नभई अलमल ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [१३]
    गर्दा काम हुन्न कुनै असम्भवको पल
    मेहनतको कमाई हुन्छ सधैं सफल ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ

    [१४]
    हार भयो भन्दैमा नसोच्नु त्याे अन्तिम असफल
    संघर्ष गरे भइन्छ एकदिन अवस्य  सफल ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१५]
    आकाङ्क्षा रोपेर आयौं बगैंचामा सृजनाका फूल राम्रा,
    माली बनेर निरन्तर सेवाले सफलता दिन्छ हाम्रा।
    ✍️ होम प्रसाद न्यौपाने
    धरान,सुनसरी ।

    [१६]
    जस्तो राेप्याे उस्तै मिल्छ हामीलाई फसल,
    निरन्तर कर्म गराैँ  हुनलाई  सफल ।
    ✍️ केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा ।

    [१७]
    उच्च शिखरमा पुग्न प्रयास गर्दै हिंडेथें  पलपल,
    हरेक दिनको प्रयासले भएँ म पुग्नलाई  सफल ।
    ✍️ बेदु न्यौपाने
    काठमाडौ

    [१८]
    रिस राग गरेर हुन्न है सफल
    माया र ममतामा हुनुपर्छ बल ।
    ✍️ बिनिता विश्वकर्मा बिनु
    बुढिगंगा नगरपालिका ९, बाजुरा

    [१९]
    असफ़ल हुन्न कदापि परिश्रम गर्दा,
    लाग्छ पछुतो त्यतिखेर सधैपछि पर्दा ।
    ✍️ अम्बिका गिरी
      विराटनगर

    [२०]
    कान्तिपथ रोजेर पुग्नुछ सफलताको बाटोमा
    नाम लेखाइ कर्म गरि मर्नुछ नेपाली माटोमा ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२१]
    मनबाट गरौंँ सबले असल
    हुनेछौं हामी अब यहाँ सफल ।
    ✍️ नीमा भोटिया
    जलढक्का /कालेबुङ

    [२२]
    सफलता हासिल गरेर जान थालेको  अगाडि
    विफलताले लात्ती हानेर फेरि पुरायो पछाडि।
    ✍️ संझना कुसुम
    कास्की

    [२३]
    लक्ष्य लिएर हिँड नगरी अलमल
    एक दिन अवस्य नै हुनेछौ सफल।
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी ।

    [२४]
    चलमलाएका क्षणहरु शिखर चुमेर बढ्न सम्झिएओरालो भिरमा पनि पाइलाहरु अगाडि चढ्न तम्सिए ।✍️ अम्विका अधिकारी
    विर्तामोड झापा।

    [२५]
    बाधा अड्चन आए नि काम गराैँ हरपल
    निरन्तरकाे प्रयासले भइन्छ है सफल।
    ✍️ प्रेम कला चापागाईं
    मेचीनगर १२ झापा।

    [२६]
    हारे पनि रत्तिभर नघटाउनु आत्माबल
    मेहनत गरि अगाडि बड्दा भइन्छ सफल ।
    ✍️ दुर्गा सानु खड्का
    खोटेहाङ-२ खोटाङ
    हाल काठमाडौं

    [२७]
    सुकर्म गर्ने गरे हुन्छौ तिमी असल,
    तिम्रो कार्यक्षेत्र बन्ने छ यसै सफल ।
    ✍️ भगवती दवाडी
    झापा

    [२८]
    जीवन हुन्छ सफल गरे राम्रो कर्म
    यही नै हो पालना गर्ने मानव धर्म ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरंग
    हाल- प्रवास

    [२९]
    लगनशीलता नै त सफलताको सूत्र
    देश बचाउन लागि पर्ने नै भूमी-पुत्र।
    ✍️ परिक्रमा श्रेस्ठ
    धरान- सुनसरी ।

    [३०]
    अथक अभ्यास गर्नु पर्छ हरपल,
    एकदिन अवश्य नै भइन्छ सफल।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [३१]
    पहरा नचढी शिखर पुग्न सफल कोही भा’काे छैन
    पौरखीलाई शिखर नपुगी त आउँछ र कहाँ चैन। 
    ✍️ दीपक ठटाल जलन
    खरसाङ, दार्जीलिङ।

    [३२]
    अन्धकारमा रुमल्लिई कति हामी त्यसै घुम्ने,
    उद्देश्य लिनुपर्छ सफलताको मन्जिल चुम्ने ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [३३]
    छैन धन दिनलाई खाली एउटा मन
    सफल हुनु नै जीवनको अमुल्य धन।
    ✍️ दुर्गा आचार्य
    मोरङ

    [३४]
    असफल भएपनि मेहनत जारी राख्नु ,
    सफल हुन्छ अवश्य नै सुस्त-सुस्तरी चाख्नु ।
    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा ।

    [३५]
    गरेका काम सबै कहाँ कसको हुन्छ सफल,
    निरन्तर काममा लाग्ने को छ खोइ असफल ?
    ✍️ बिके माकजु
    भक्तपुर ।

    [३६]
    निरन्तर गरेपछि, हुन्छ कार्य सफल ,
    खुशी हुन्छ मनमा, हरदम हरपल ।
    ✍️ बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा ।

    [३७]
    असफलता त सधैं अनाथ हुन्छ
    सफलताले आफन्तको मन छुन्छ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु, धादिङ ।

    [३८]
    अध्ययन अभ्यासले चुलिनेछ सफलताकाे सिँढि ,
    टुक्का लेखन अभ्यासमा लम्किउन् नव-युवा पीँढि।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर ।

    [३९]
    महामारी चल्छ गास, बास, कपास,नहुदा धनले
    सफल हुन्छन ति कर्मठ प्याक्ति आनन्दित मनले।
    ✍️ जि कुमार गौतम
    भद्रपुर -१ पृथिविनगर, झापा।

    [४०]
    सफल हुन नम्रताको आवश्यक थियो
    परिस्थिति ले पनि आज धेरै साथ दियो।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका- ॰४, जुम्ला

    [४१]
    बोकेर मनमा साहस अघि हामी बढें
    रोकिन्न पाइला सफलताको सिँढी चढे।
    ✍️ इन्दिरा देवकाेटा
    कपिलवस्तु ।

    [४२]
    संघर्ष गरि अघि बढ्न सके जीवन सफल बन्छ
    याे मनले पनि सधैं प्रगतिको शिखर चुम्छु भन्छ ।
    ✍️ तारा घिमिरे
    सङ्खुवा सभा

    [४३]
    मेहनतकाे पसिनाले सगरमाथा चुम्नु
    निराशाकाे पर्दा च्यातेर उल्लाससँग झुम्नु।
    ✍️ मित्र उराठी गाैतमड
    तिलाेत्तमा न पा-२, रुपन्देही ।

    [४४]
    सत्मार्गमा लागि नित्य गरौं कर्म हामी असल,
    श्रम र सीप मिलेपछि हुन्छ जीवन सफल।
    ✍️ शम्भु लाल श्रेष्ठ
    नागार्जुन -१ रानीवन, पानीट्यांकी, काठमाडौं।

    [४५]
    सफलता खोज्नु पर्छ,बोले टर्छ हाँने मर्छ,
    उद्धेश्य र लक्ष्य भेट्न सही बाटो रोज्नु पर्छ !
    ✍️ बिबस पारदर्शी
    भद्रपुर न० पा-२, झापा ।

    [४६]
    गरेपछि राम्रो काम जीवन सफल बन्छ
    असल कर्म गर्नेलाई दुनियाले नि गन्छ ।
    ✍️ विक्रम तिरुवा सलिन
    तिला गाउँपालिका-३ कुडारी जुम्ला।

    [४७]
    राम्रो काम को राम्रै हुन्छ नि त फल
    हिक्मत नहारी बढाओैैँ आत्मा बल ।
    ✍️ प्रेम सुनार
    दैलेख ।

    [४८]
    उमेर भन्नु नम्बर हाे जान्छ गन्दै दिन
    चाहना छेकिदैन सफलतालाई चिन।
    ✍️ मेनुका खड्का
    धुलिखेल ।

    [४९]
    काम गर्दा दुख हुन्छ नहुनु कतै अलमल
    अठोट अनि परिश्रमबाट बनिन्छ सफल ।
    ✍️ रामकुमारी खड्का
      दाङ ।

    [५०]
    सफलता नै दुइ हातको कमाइ
    जीवन चल्छ दुइ साथको थमाइ ।
    ✍️ सुरेखा चाम्लिंग
    भक्तपुर ।

    [५१]
    लाएर दिल गरेमा काम बनिन्छ सफल
    जाँदैन खेर पसिना पनि भनिन्छ असल।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा ।

    [५२]
    भाग्यले पनि मलाई नै साथ दियाे,
    सफलता हासिल गर्ने मन थियो।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही-१४ बुटवल ।

    [५३]
    नित्य ध्यान पूर्वक गरेको छ भने बल
    कठिन कार्यपनि हुनेछन् सधैँ सफल।
    ✍️ प्रकाश बुढाथोकी
    असम, भारत।

    [५४]
    संघर्षको रुख धेरै बढ्यो झ्याङ्गिएर
    शीतल देला सोचेको गयो बाङ्गिएर।
    ✍️ लिली अधिकारी
    पाेखरा ।

    [५५]
    जिन्दगीमा हर्दम सफल भई जिउँछु भन
    असफल भए कोसिस गर, नदुखाऊ मन ।
    ✍️  रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    [५६]
    टुक्का कवितामा हात समाएर लेखाउछन्
    नयाँ सर्जक लाई सफल बाटो देखाउछन्।
    ✍️ राम रावल सागर
    कैलाली ।

    [५७]
    लक्ष्य प्रतिकको कठिनाईहरु कति आउँछन कति,
    जिवन सफल हासिल गर्न राम्राहरूको सिक मति।
    ✍️ अच्युत घिमिरे
    भुटान ।

    [५८]
    सफलताको कथा लेख्न गर असल काम,
    दुनियाले सम्झिरहोस् सधैँभरि तिम्रो नाम।
    ✍️ नवशिला
    बेलबारी-२, लालभित्ती,मोरङ ।

    [५९]
    असफल भन्ने शब्दकाे खाेजिनिन्दा नगर,
    सफल तिमी सदा छाै अरू भ्रममा नपर ।
    ✍️ शान्ति याक्साे
    काठमाडौं ।

    [६०]
    सफल त्यो होइन जो सधैँभरि सुखी हुन्छ
    सफल त त्यो हो जस्ले दुख झेल्दै सुख बुन्छ।
    ✍️ धर्मराज पाेख्रेल
    माेरङ्ग ।

    [६१]
    ज्ञान हासिल गर एकदिन सफल बन्नेछौं
    सफलता प्राप्तिले एकदिन शिखर चुम्नेछौं।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ।

    [६२]
    निर्धक्क भई काम गरेँ सफल हुन गाह्रो भयो
    आज ती सपना सबै चकनाचुर भै उडि गयो ।
    ✍️ ललिता अभागी
    सुनकोशी-५ सुनकोशी ।

    [६३]
    इमान्दारमा लुकेको हुन्छ नैतिकताको बल,
    उछिन्छ खराबीलाई एक दिन हुन्छ सफल ।
    ✍️ कर्ण दयाल
    मेलौली नगरपालिका ७, बैतडी ।

    [६४]
    आफ्ना मान्छे ठाँउमा भए सबै कुरामा नै हुन्छौ हामी नि सबैमा सफल
    चिनेजानेका नभेटिएमा केहि काम लाग्दैन भए पनि आफु दखल ।
    ✍️ पवन कुमार बुढाथाेकी
    काठमाडाैँ ।

    [६५]
    धैर्य अनि लगनले सफल हुन्छ जुनी
    आत्तिएमा  मात्तिएमा जीवनभर रुनी।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १
    >>> जय टुक्का! जय साहित्य!! <<<

    Leave a Reply