काठमाडौँ- केही दिनयता बढ्दै गएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न १८ वटा आदेश दिएको छ।
काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रजिअहरुको संयुक्त बैठकपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अलग्गै विज्ञप्ति निकाली अत्यावश्यक नपरी घरबाहिर ननिस्कन र सार्वजनिक स्थानमा निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको छ।
भौतिक दुरी कायम राख्न र साबुन पानीले बेलाबेलामा हात धुन र स्वास्थ्य मापदण्डको अनिवार्य पालन गर्न पनि काठमाडौँ प्रशासनले आग्रह गरेको छ।
बैठकले सार्वजनिक सेवा प्रयोग गर्दा माघ ७ गतेबाट लागू हुनेगरी खोपकार्ड अनिवार्य गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै औषधि लगायत अत्यावश्यक बस्तु तथा सेवा आपूर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने गरेमा कानुन बमोजिम कारबाही गर्नेलगायतको आदेश पनि बैठकले गरेको छ।
यी आदेशहरु मंगलबार राति १२ बजेदेखि लागू हुने पनि काठमाडौँ जिल्ला प्रशासनले जानकारी गराएको छ।



