टुक्कामाथि टुक्का’ को एघारौं शृङ्खला सम्पन्न; ५० जना सर्जकहरूको सहभागीता

  • १९ मंसिर २०७८, आईतवार २३:५४ मा प्रकाशित
  • ‘काठमाडौ, १९ मंसिर । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको एघारौंं शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५० जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको एघारौं शृङ्खलाको लागि टुक्का साहित्य समाजकी सल्लाहकार एवं वरिष्ठ टुक्काकार शर्मिला श्रेष्ठले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    जसले सार्वजनिक जग्गा सम्झन्थ्यो बाबुको बिर्ता ,
    अधिकरणको जग्गा उसकै नाममा भयो फिर्ता ।

    ✍️
    शर्मिला श्रेष्ठ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    १//
    डाडुपन्यु आफ्नै हात, किन हुन्थे भोको?,
    जता हेर्यो हरियाली, पुगेकै छ धोको ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    ——————————–
    २//
    लुट्नेहरुकै चलनचल्ती बड्दै गयो फेरि,
    आज अचम्ममा परेको छु टुलुटुलु हेरि ।
    ✍️
    ललिता अभागी
    सुनकोशी५सिन्धुली

    ——————————–
    ३//
    जग्गा जमिन त छोराछोरीले रोज्छन्,
    यहाँ बाआमालाई कसले पो खोज्छन्।
    ✍️
    जगत थापा बझाङ
    ——————————–
    ४//
    हेर्दाहेर्दै डाँडा तिर बग्न थाल्यो खोला,
    लुटी खान पल्केकाले किन छाड्थे होला।
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे
    ——————————–
    ५//
    सर्वहारालाई बर्षौंदेखि जस्ले दिदै आयो चोट,
    सर्वोच्चले लगाइदियो सम्मान दिदै कालो कोट।
    ✍️
    शर्मिला श्रेष्ठ
    भैंसेपाटी,ललितपुर

    ——————————–
    ६//
    सरकारी बलको आडमा जमिन जति नाउँमा,
    सोझा सिधा जनताहरु नै ठगिएका छन् गाउँमा ।
    ✍️
    दुर्गा अाचार्य
    मोरङ

    ——————————–
    ७//
    माैका पर्दा यसाेउसाे मिलाएर खाने,
    अनेकाै यि दाउपेच खै कसरी जाने ?
    ✍️ ताराप्रसाद चापागाईं
    धुुनिबेसी ।

    ——————————–
    ८//
    जनतालाइ काशी तर्फ गरेर निकासी,
    नेताले देश लुटिसके हेर हाँसीहाँसी ।
    ✍️
    गोमा गुरागाई इटहरी
    ——————————–
    ९//
    जिताएर पठाएको छु त त्यहाँ मेरै मान्छे,
    सार्वजनिक जमिन मलाई पस्किने भान्छे!
    ✍️
    भूषण जंग
    अस्ट्रेलिया

    ——————————–
    १०//
    सर्वहारा जनतालाई लगाएका छन् ऐन,
    लुकिछिपी जनता लुटे गरे खुसीले चैन ।
    ✍️
    बेदु न्यौपाने काठमाडौ

    ——————————–
    ११//
    जिउ ज्यान सकियो तिम्रै यादमा,
    तिमी भने प्रिय अर्कैको साथमा ।
    ✍️
    सुमन कुसुमाकर
    ——————————–
    १२//
    पर्ति जमिन जति सबैमा अधिकार जमाए?
    कठै ! देशलाई दलालीले लैनो गाई बनाए ।
    ✍️
    श्रीकृष्ण शर्मा पोखरा
    ——————————–
    १३//
    राज्यको सम्पत्ति आफ्नै बिर्ताझैँ गरि लुट्दथ्यौँ,
    बाहिर बाहिर भुक्थ्यौँ भोजमा सब जुट्दथ्यौँ।
    ✍️
    रामजी लामिछाने
    ——————————–
    १४//
    राजनीतिका नाममा जनताको सम्पत्ति लुटेर लाने,
    नपाए फेरि धम्क्याएर पनि बलजफ्ती खोसेर खाने ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास
    ——————————–

    १५//
    ठूलाबडाकै यो देशमा भएको छ चैन,
    सरकारी जमिन आफ्नो पार्ने रैछ ऐन ?
    ✍️
    भगवती दवाडी
    ——————————–
    १६//
    सार्वजनिक जग्गा नेता ज्यूलाई देख्नै भएन,
    साना तिना त के छन् कुन्नी ठूला पलट रहेन ।
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु

    ——————————–
    १७//
    खै कस्तो नियम आयो,
    मिलिजुली बाँडी खायो ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    ——————————–
    १८//
    हामीले न जमीन नत बिर्ता पायौं,
    उल्टै लुट्नेहरुको गुणगान गायौं।
    ✍️
    दीपक ठटाल जलन
    खरसाङ,दार्जीलिङ।

    ——————————–
    १९//
    फोहोरो राजनीतिको आडमा भ्रष्ट नेताले  गर्नु गर्दैछ,
    निर्धा जनता पिढी दर पिढी सुकुम्बासी सरह मर्दैछ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    ——————————–
    २०//
    पुर्खाको आर्जन खाने हामी नै त हौं भूमिपुत्र,
    मिलाइरन्हछौ परिबन्ध यसको जानी सुत्र।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    ——————————–
    २१//
    खुकुरीले आफ्नै सन्तानको टाउको काँटेर,
    बसेका छन् ती गोर्खाली वीर छौं भन्दै ढाँटेर।
    ✍️
    बी.कुलुङ
    ——————————–
    २२//
    लुटेर आमालाई आफ्नै ती सन्तानले आज,
    बसिनसक्नु भएकाे छ याे गाउँ र समाज ।
    ✍️
    भावना मञ्जु
    झापा – हाल माेरङ
    —————————–

    २३//
    राज्यको सम्पत्ति माथि हस्तक्षेप किन हुन्छ?
    यस्तो देख्दाखेरि मन मेरो भित्रैदेखि रुन्छ !
    ✍️
    बिक्रम तिरुवा सलिन
    तिला गाउँपालिका ३ कुडारी जुम्ला

    ——————————–
    २४//
    मूल नीति अंगालेर गर्छु काम भन्याै,
    जात्तिबिति संगालेर कति दाम गन्याै ?
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।

    ——————————–
    २५//
    जसले जे भने नि आफ्नै हो बिर्ता,
    कसले सक्छ गर्न आँट यो फिर्ता !
    ✍️
    रचना शर्मा प्रतीक्षा
    महालक्ष्मी नपा, ललितपुर ।

    ——————————–
    २६//
    आफैँ शक्तिले उन्मत्त लाग्छ ठूला उनै आज,
    आफ्नो नाममा ल्याए नाम सारी मान्दैनन् लाज ।
    ✍️
    सूर्य मणि रेग्मी
    चितवन

    ——————————–
    २७//
    कलि युगमा ओरालाेबाट उकालो तर्फ फर्कियाे खाेला,
    हामी साेझा जनताबाट नै घुस खाना कहाँ छाेड्थे हाेला।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही,  बुटवल

    ——————————–
    २८//
    आफ्नाले हाँस्न दिदैनन् रुँदा आँखा टाल्छन्,
    भित्र जरा काटेर बाहिर मल  हाल्छन् ।
    ✍️
    रिजाल विनोद
    मोरङ

    ——————————–
    २९//
    देशको अर्थ तन्त्र जति सबै आफ्नै गोजीमा भर्छौ
    हावादारी गफले जनताको आँखामा छारो छर्छौ ।
    दुर्गा भट्टराई
    मोरङ

    ——————————–
    ३०//
    कालो कोट नै तानातानी न्याय मर्दै गयो ,
    जस्को शक्ति उस्को भक्ति भने जस्तै पो भयो ।
    ✍️
    मित्र कुमार आचार्य,काठमाडौं ।
    ——————————–
    ३१//
    ऐलानी सार्वजनिक जग्गा ,कसैका बाउको विर्ता हैन,
    किर्ते गरि आफ्नो नाममा पार्न पाउने अधिकार छैन ।
    ✍️
    विबश पारदर्शी
    भद्रपुर न० पा० वडा नं० २ झापा

    ——————————–
    ३२//
    देश ढाट्ने जनता मास्ने भए ठूला ,
    अन्याय सही बस्ने हामी भयौं लुला ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे  सु न पन ५

    ——————————–
    ३३//
    यस्तै हुन्छ नेपालमा बोल्नेको नै पिठो बिक्छ,
    कलियुग भएर हो कि असत्य सधैँ टिक्छ ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ १, काठमाडौँ

    ——————————–
    ३४//
    बिर्तावाल नै सत्ताको मालिक भएको देशमा ,
    हडप्छ जग्गा कसैले थाहा नपाउने भेषमा ।
    ✍️
    कर्ण दयाल
    मेलौली नगरापालिका ७, बैतडी
    ——————————–
    ३५
    //
    सार्वजनिक जग्गा पनि कस्तो आफ्नै ठान्ने,
    गरीबको भाग्य लुटी लाेकतन्त्र याे मान्ने ।
    ✍️
    त्रिलोचन भण्डारी
    मेचीनगर, झापा
    ——————————–
    ३६//
    छोराले आमाबाको सम्पत्ति चाहिन्छ भन्छ,
    बृद्धाश्रममा राखी मर्ने दिनहरू गन्छ।
    ✍️
    सुरेशकुमार पान्डे
    दाङ घोराही१८
    —————————-
    —-
    ३७//
    भित्रभित्र मेल हुन्छ, बाह्य मात्र अर्को,
    अप्ठ्यारोमा पर्दाखेरी, न घाट न घर्को!
    ✍️
    कमला  देवकोटा,पाल्पा
    ——————————–
    ३८//
    सरकारमा बस्ने नेताले जे गरेपनि हुन्छ,
    छ फुटको चिहान छैन जनताको कस्ले सुन्छ?
    ✍️
    लक्ष्मी श्रेष्ठ
    बिर्तामोड झापा

    ——————————–
    ३९//
    पर्ति जग्गा नेता कै नाउँमा झुपडीमा जनताकाे बास,
    पैसाले लुकायो न्यायको तराजु अब गर्नु कस्काे आस?
    ✍️
    सुमिना तिमल्सिना
    भक्तपुर

    ——————————–
    ४०//
    म त पार्टीको दाहिने हात हजुर बिना पैसा जग्गा मेरो,
    चाहे बालुवाटार चाहे सिंहदरबार मेरै सेरोफेरो।
    ✍️
    पौडेल विमुन्स
    💕 पोखरा कास्की 💕
    —————————–

    ४१//
    जनताको बिश्वास लिइ सिंहदरबार छिर्यौ,
    अहिले आफ्नै पेट भर्न यति तलसम्म गिर्यौ ।
    ✍️
    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    ——————————–
    ४२//
    के गर्नु र लोभिले सातपुस्ता पुग्ने थुपारे पनि बिर्ता,
    मरेपछि लासको चिहान पनि धर्तीले लैजान्छिन् फिर्ता ।
    ✍️
    Gkumar Gautam
    ——————————–
    ४३//
    जसको शक्ति उसको भक्ति हुन्छ है सधैं यो देशमा,
    लाटो देशको गाँडो तन्नेरीले जहिल्यै जित्छ रेशमा।
    ✍️
    श्रेस्ठ ” परिक्रमा ” , धरान – सुनसरी।
    ——————————–
    ४४//
    बालुवाटारकाे जग्गा पनि मन्त्री ज्यूकाे नाउँमा ,
    गरीब दुखी निमुखाकाे आँसु भएन भाउँमा,
    ✍️
    रामकृष्ण रिजाल
    बा न पा १३ बाग्लुङ
    ——————————–
    ४५//
    सार्वजनिक जग्गा बेचे लाेभी अनि पापी मनले ।
    एकदिन खाेरमा जाक्नुपर्छ मिली हामी जनले ।।
    ✍️
    निरज काेइराला 
    बेलका १ उदयपुर  हालः इटहरी
    ——————————–

    ४६//
    नम्बरी, ऐलानी, नदी किनार जे भए नि हुन्छ,
    सबै मेरै नाममा गर्छु मलाई  कसले छुन्छ ?
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गाउँपालिका-६, दोलखा

    ——————————–
    ४७//
    देश डुब्न नदेऊ है नेता हामी गर्छौ खबरदार,
    विकास गर्ने भन्दै बजेट चट नपार लगातार ।
    ✍️
    तारा घिमिरे
    संखुवासभा

    ——————————–
    ४८//
    टुँडिखेल नामसारी गरिदिन्छु, बालुवाटार पनि भन्दैछ,
    निशाना धितोमा राखेर चुनाव जित्ने रे नोट पनि गन्दैछ।
    ✍️
    अमृत भट्टराई
    मोरङ, हाल काठमाडौं
    ——————————–

    ४९//
    सार्वजनिक जग्गा पनि आफ्नै नाम गर्छु,
    कुम्ल्याएर धन दाैलत समुन्द्र नै तर्छु ।
    ✍️
    केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    ——————————–
    ५०//
    नालिबेली सबै आफ्नो नाममा गर्न खोज्छन्,
    कमाएर होइन गुमाएर नाम रोज्छन् !
    ✍️
    mr नब्बु जोशी
    प्रदेश ७ कैलाली

    ——————————–
    जय टुक्का! जय साहित्य  !!

    नोट : रचनामा व्यक्त भएका भावहरू स्रष्टाहरूको निजी विचार हुन् । यस प्रति सम्बन्धित स्रष्टाहरू नै जवाफदेही हुनुहुनेछ।

    One thought on “टुक्कामाथि टुक्का’ को एघारौं शृङ्खला सम्पन्न; ५० जना सर्जकहरूको सहभागीता

    1. सुन्दर व्यङ्ग्यात्मक टुक्का माला। हार्दिक आभार वसन्त अनुभव सर प्रति तथा सम्पूर्ण टुक्का सर्जक ज्यू हरूमा हार्दिक बधाई तथा शुभकामना

    Leave a Reply