‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको नवौं शृङ्खला सम्पन्न; ५४ जना सर्जकहरूको सहभागीता

  • ५ मंसिर २०७८, आईतवार २३:२१ मा प्रकाशित
  • काठमाडौ, ०४ मंसिर । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको नवौ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ५४ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको नवौं शृङ्खलाको लागि वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    करोडौं खर्चेकोछु यार, छैन सजिलै आएको,
    लगानी त उठाउनै पर्यो ख्वाएको पिलाएको ।
    ✍️
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    १//
    नेपाल त गोठ तिम्रो, जनता दुहुनो गाई,
    रक्त नआउन्जेल दुहुनु पालैपालो आई।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २//
    कसरी उठ्ला खोइ खाडीमा ख्वाएको पिलाएको,
    जापानमा भए पो त म पैसा नतिरी आएको ।
    ✍️
    राजेशराज गड्तौला

    ३//
    खायाै मात्र भन्छन् सबले लगानी र त्याग कति,
    अलिअलि चुस्नैपर्याे नत्र किन धनकाे खती ?
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी।

    ४//
    फाईदा हुने ठाउँमा लगाउ लगानी,
    धेरै रुनुपर्छ नत्र पछि जानीजानी।
    ✍️
    जगत थापा बझाङ

    ५//
    खान पनि खाइयो मज्जाले नै पचाइयो,
    फुपुको श्राद्ध परेछ सम्पती जुटाइयो ।
    ✍️
    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    ६//
    जसले ती मौरीहरुको मह काढी चाट्दछ ,
    मीठोको स्वादमा परि उसैले दु:ख काट्दछ।
    ✍️
    बेदु न्यौपाने काठमाडौ

    ७//
    केही पाउनलाई केही गुमाएको होला,
    यस्तै नै रहेछ दुईदिने मान्छेको चोला।
    ✍️
    रत्ना पुन मगर
    रुकुम पश्चिम्

    ८//
    सिधासाधा थर्काउँदै लुटेर,
    भ्याएसम्म उठाउँछौ कुटेर ।
    ✍️
    ललिता कालु बिन्दास

    ९//
    हामी नेतागणलाई झन कति छ कति गारो,
    मतदाताको आँखामा हालिरहनु पर्छ छारो!
    ✍️
    भूषण जंग
    अस्ट्रेलिया!

    १०//
    दाँइ तिमिले आजै हाल अनि मियो पनि समाऊ,
    सात पुस्तालाई पुग्ने धन यहीँ मौकामा कमाऊ।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    ११//
    अन्धो कानुन छ खाएको घुनले,
    लाग्यो दाग कालो बस्त्रमा खुनले ।
    ✍️
    रिजाल विनोद
    बेलबारी ०२ मोरङ

    १२//
    भोट दिनेलाई पनि टाल्नु पर्यो नोटले,
    नत्र चोट दिईहाल्छ यही खैरै कोटले।
    ✍️
    घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    १३//
    ब्याज खोज्दाखोज्दै अब त सावाँ हराउने,
    तिमी नै त हौं यो स्थिति सिर्जना गराउने ।
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    १४//
    नेपाली राजनीति व्यापार भो नाफा मात्रै उठाए,
    इमान्दार सेवक किन बन्ने? पैसा बिटो जुटाए ।
    ✍️
    म्यामराज राई,भोजपुर

    १५//
    यसपाली चुनावमा जित्ने निधो भइसक्यो मेरो नाम,
    तपाई नि साथ दिनुस् मनग्गे कमाउँनु हुनेछ दाम।
    ✍️
    शर्मिला श्रेष्ठ
    भैंशेपाटी,ललितपुर

    १६//
    उठाएर सबैबाट आफ्नो भोट भर्नलाई,
    बनेकाछन् नेताहरु कुम्लो कसी तर्नलाई ।
    ✍️
    पुष्षाशायरा । बिराटनगर ।

    १७//
    भोटमा उठ्दा फेरि जित्ने मौका हुन्नहोला,
    लगानी उठाउन दोहन गर्नु छ खोला ।
    ✍️
    भगवती दवाडी ,दमक,झापा

    १८//
    सजिलो छैन प्रभु, गर्नु जनसेवा,
    सेवाको नाम गरी, खानैपर्छ मेवा।
    ✍️
    बिके मुखिया,
    दार्जीलिङ, भारत।

    १९//
    कोही छैन् यहाँ देश र जनताको लागि,
    सर्वत्र भेटिन्छन् नेता कपटी र दागी।
    ✍️
    सुरेशकुमार पान्डे

    २०//
    सुन पाउने आस गरी नुनको पैसा दियो,
    हिजो भर्खर त्यसलाई अख्तियारले लियो ।
    ✍️
    धनुष न्यौपाने
    ठेगाना – गुठीचौर गाउँपालिका ०४
    बिगारे जुम्ला, हाल – सुर्खेत

    २१//
    गरेथेँ खर्च कुर्सी बैना थियो,
    दाम पुगेन भन्दै धोका दियो।
    ✍️
    अमृत भट्टराई
    मोरङ, हाल काठमाडौं

    २२//
    पैसाको बिटो छरेर चुनाव लडेको हो मैले,
    मौकामा चौका नहाने फेरि उठाउनु त कैले ?
    ✍️
    श्रीकृष्ण शर्मा पोखरा

    २३//
    पेसा राजनीति गर्छु करोडौको लगानी ,
    पाँचबर्ष छिट्टै जान्छ जन्ता राख्छु जमानी ।
    ✍️
    रामजी लामिछाने

    २४//
    देश बनाउनु भन्दा जनता बनाउनु छ पैला,
    उन्नतिको शिखर चुमाउनुछ केको खैलाबैला ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    २५//
    सक्नेभए चुनाव जितेर देखाउन तिमी पनि,
    रहर मात्रै गरेर कहाँ हुन्छ नेता हुन्छु भनी
    ✍️
    सुर्यमणी रेग्मी

    २६//
    लगानी उठाउनु खुवाएकाे पिलाएकाे,
    सम्झनु उत्तिकै पर्छ टिकट मिलाएको ।
    ✍️
    केशवप्रसाद ढकाल `प्रीतबीज´

    २७//
    अगस्ति र नेता उस्तै-उस्तै हुन् करोडौँकै हिसाबमा खाऊ,
    अजीर्ण हुँदा अख्तियारले समात्छ अनि बन्दीगृह जाऊ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग।

    २८//
    ख्वाएको पिलाएको कुरा गर्छौं, नेताज्यू अहिले,
    के खासियत छ भन तिम्रो, त्यो बाहेक पहिले ?
    ✍️
    गोपाल कृष्ण डङ्गोल
    इटहरी, सुनसरी ।

    २९//
    नभन्नुहोस् मलाई कुर्सी पाउन कति कति खर्च गर्यो।
    सित्तैमा भोट दिँदैन् कसैले थोरै लगानी त गर्नैपर्यो।
    ✍️
    बादल गुरुङ वियोगी
    संखुवासभा, हाल काठमाडौं

    ३०//
    बिटाे हान्दा भाेट झर्याे टन्न,
    बजेट तान्दा चुँडियाे धन्न ।
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।

    ३१//
    कमाउ धन्दा गर्नेहरु सबै अघि सर्छन् ,
    सेवा गरौं भन्नेहरु त सधैं पछि पर्छन् ।
    ✍️
    कर्ण दयाल
    मेलौली ७ बैतडी

    ३२//
    मौकामा चौका हानी लिनुपर्छ फाइदा,
    अनि पो जिन्दगीमा हुने गर्छ काइदा ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ १, काठमाडौँ

    ३३//
    बल्ल पाएको मौका, चाहन्छ कसले गुमाउन ?
    छोड्न सक्दिन कुर्सी, नखोज्नु कसैले घुमाउन ।
    ✍️
    रचना शर्मा प्रतीक्षा, ललितपुर

    ३४//
    दुुर्भाग्यकाे कुरा भयाे विकासको कथाहरू,
    अाफ्नै गल्ला भर्न मात्र लागेपछि नेताहरू।
    ✍️
    भावना मञ्जु
    झापा- हाल- माेरङ

    ३५//
    खुराफाती वेइमानहरु गाेलवद्ध भै जुटाै,
    उत्तम पेशा यही हाे हजुर माेजमस्ती लुटाै ।
    ✍️
    मित्र उराठी गाैतम ,बुटवल

    ३६//
    मासु र मदिरामा अमूल्य भोट नबेचे हुने बरु
    हेर्नुस् त ! यसरी जबाफ फर्काउने गर्छन् नेताहरु ।
    ✍️
    भद्र घर्ती कान्छा

    ३७//
    नेपालका नेताहरु कति गिरेका,
    जुनै जोगी आएपनी कानै चिरेका।
    ✍️
    गणेश तामाङ धादिङ

    ३८//
    बिना लगानीको हुँदैन फाइदा,
    जनता फसाउने राम्रो काइदा ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    ३९//
    लाखौं करोडौं खर्च गरेर जित मेरै हुन्छ,
    भित्रभित्रै मन जलेको ब्यथा कसले सुन्छ?
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४बुटवल

    ४०//
    खर्चिएको उठाउने खेल रे राजनीति दाउ
    कसले बुझ्ने जनताको जीवनभरको घाउ ।
    ✍️
    त्रिलोचन भण्डारी
    मेचीनगर,झापा

    ४१//
    करोडौंको बजेट नेता आफनै लागी खर्च गर्छन्,
    जनताको सरापले तिनीहरु अब छिट्टै मर्छन्।
    ✍️
    निर्मला शाही ठकुरी
    दैलेख हाल दार्जिलिङ

    ४२//
    देश लुट्नेहरुलाई उपाय यो अपार,
    भ्रष्टाचारी नेतालाई शिर्षक छ हजार ।
    ✍️
    ईशहाक हुसेन
    सिमरा बारा

    ४३//
    रिस गरेर के गर्छौ ? सीप छ खाएँ,
    आनन्द प्रसंशा मानसम्मान पाएँ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १ नवलपुर

    ४४//
    कमाउने वहाँनामा सेवा गर्छौ भन्दै,
    सेवाभाव चाहनामा बस्छन् पैसा गन्दै।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    ४५//
    खुवाएर, पिलाएर आइपुगेँ म यो कुर्सीसम्म
    खाने हो धित नमरुन्जेल पेट हुँदासम्म टम्म ।
    ✍️
    दीपक ठटाल जलन, खरसाङ,दार्जीलिङ,

    ४६//
    मासु-रक्सी ख्वाउनेभन्दा खानेहरू मख्ख पर्छन् ,
    मेरै राम्रो हाे भनेर आफैले हानाहान गर्छन् ।
    ✍️
    आरपिडी बेल्बासे
    तमानखाेला- ३, बागलुङ

    ४७//
    देशको माया छैन नेतालाई के बिकास गर्छन्
    नदिनाला बेचेर आफू र आफ्नाको पेट भर्छन् ।
    ✍️
    दुर्गा भट्टराई
    मोरग

    ४८//
    चुनाव खर्च व्यापारीसँग हाे दाेकाे ,
    बजारभाउ बढेर जनता राेकाे ।
    ✍️
    प्रद्युम्न चालिसे
    कटुञ्जे भक्तपुर
    सु न पा ५

    ४९//
    आफू टन्न खाएको माथिकालाई पनि पिलाएको,
    त्यही भएर नै मलाई स्वार्थको पद दिलाएको ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गाउँपालिका-६, दोलखा ।

    ५०//
    लगानि उकासनलाई भ्रष्टाचारले डस्नै पर्यो !
    दुहुना गाई हुन जनता महगीले कस्नै पर्यो !!
    ✍️
    विबश पारदर्शी
    भद्रपुर न० पा ० – २
    झापा

    ५१//
    भ्रष्टाचार गरी सम्पत्ति टन्न छौँ कमाएका,
    जनताहरु रुँदा तिमीहरु छौ रमाएका ।
    ✍️
    तारा घिमिरे संखुवासभा

    ५२//
    कमाएको देख्छन् सबैले थोरैले कहाँ मान्छ
    खर्च गर्छु दायाँबायाँ जस्तो आयो तेस्तै जान्छ ।
    ✍️
    नबिन जोशी प्रदेस ७ कैलाली

    ५३//
    रचेँ हजार सपना खर्चेँ अरबौ पैसा महल भित्र छिर्न
    सक्दिन म केवल जनता को कर बिना साहुको ऋण तिर्न।
    ✍️
    सुमिना तिमल्सिना “खुसी”
    भक्तपुर

    ५४//
    घर रित्तो पार्यौ देश-विदेशमा धाएर,
    पैसा बाँड्दै हिँड्छौँ धर्मपत्नी रुवाएर।
    ✍️
    पौडेल विमुन्स 💕 पोखरा कास्की

    जय टुक्जा ! जय साहित्य !!

    5 thoughts on “‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको नवौं शृङ्खला सम्पन्न; ५४ जना सर्जकहरूको सहभागीता

    1. सम्पूर्ण टुक्का सर्जक ज्यू हरूमा हार्दिक बधाई तथा शुभकामना।
      हिमालयन दृष्टि परिवार तथा वसन्त अनुभव सर प्रति हार्दिक आभार।

    2. सम्पूर्ण टुक्का सर्जकहरूमा हार्दिक बधाई ! वसन्त अनुभव सर तथा हिमालयन दृष्टि परिवार प्रति हार्दिक आभार ।

    3. हार्दिक आभार हिमालयन दृष्टि परिवार तथा आदरणीय वसन्त अनुभव सर प्रति। सम्पूर्ण टुक्का सर्जक ज्यू हरूमा हार्दिक बधाई तथा शुभकामना

    Leave a Reply