
काठमाडौ, १४ कार्तिक । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको छैटौं भाग शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४६ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खलाको छैटौं भागको अभ्यास लागि टुक्का साहित्य समाजका महासचिव श्रीकृष्ण शर्माले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
नेताज्यूले यो देश टुक्रा पार्न कहाँ दिन्छन्,
मौका मिले सग्लै बेच्त्जे बरु कसले किन्छन्?

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१)
बेच्छन् देश त के जन्मदिने आमा पनि
घर जलाई खरानी हाँसीखुसी बनी ।
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४ दाङ ।
२)
लोते चप्पल लगाउँनेहरु नेता भएपछि लगाए जुत्ता,
देश बेची खादै मक्ख छन् भरे छिमेकीले बनाउँनेछ कुत्ता।
✍️
शर्मिला श्रेष्ठ
भैंशेपाटी,ललितपुर
३)
गौतम बुद्धको देश बेचेर के गर्छौं नेताहरू,
बेच्नै मन छ भने जन्मदिने आमा नै बेच्नुबरू।
✍️
जगत थापा बझाङ
४)
नेताहरुले देश बेच्छन् जनतालाई हानी
कहिलेसम्म चल्छ होला यिनको मनोमानी ।
✍️
ललिता अभागी
सुनकोशी-५सिन्धुली
५)
समाजवाद र विस्तारवाद दुवैमा सग्लो भए किनाइदिन्छु,
जस्तो ग्राहकसित बेच्ने मन छ लमी बनी कुरा छिनाइदिन्छु।
✍️
म्यामराज राई,भोजपुर
६)
आमा बेचेर पेट भर्ने नेता नै महान भयो, सार्वभौमिकता बचाउँने कसम कता गयो ?
✍️
दीपक ठटाल
७)
नेताहरू नै देशको लागि घातक भए,
देश बेच्ने दाउँमा कति आए कति गए।
✍️
सुरेशकुमार पान्डे।दाङ घोराही १८
८)
पैसा जम्मा पार्दैछु म मेरो देश किन्नलाई,
नेताहरुको झुटो कर्तुत अब चिन्नलाई ।
✍️
कल्पना थामी
सिन्धुपाल्चोक
९)
आमा बेच्ने छोरालाई छ नेता भन्नू परेको,
यो सगरमाथा जस्तो शिर छ तल झरेकोछ।
✍️
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके
१०)
धेरै पढी नेताज्यूले चलाएको गोटी,
बुझ्नसक्ने को छन् देश बेच्दा सयौँ चोटी।
✍️
विमुन्स पौडेल
पोखरा, कास्की
११)
नदी बेचे प्राकृतिक श्रोत बेचे अब थाले सीमाना बेच्न,
देशै बेच्न त जनताको खबरदारी छ सक्या छैनन् हेप्न!
✍️
प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
१२)
सत्तामा जाँदा देश नेताले बिक्री गर्छन्,
चुनाव आउँदा बचाउने फिक्री गर्छन् ।
✍️
गणेश तिमल्सिना
गणेशमान चारनाथ नगरपालिका १० धनुषा गोदा
१३)
बेच्न पाए आफ्नै आमा पनि बेच्न सक्छन्,
मर्दा यिनले आफ्नो साथमा कति लग्छन् !
✍️
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
१४)
देखिन्छन् उस्तै नेता सबै नै राजनीति व्यापार गर्नलाई,
कुटनैतिक चलखेल धेरै हुन्छ आफ्नो झोली भर्नलाई ।
✍️
राजेन्द्र प्रधान पाशा
१५)
कमाइ खाने भाडा उनको भयो प्यारो देश,
छोड्ने होइन सत्ता कहिल्यै हुँदा सेतै केश ।
✍️
मन्दिरा सेढाई
मलेखु,धादिङ
१६)
देश बनाउने जनप्रतिनिधी देशै बेच्न गए,
टुँडिखेलमा झुण्ड्याइ देउ न काेही सपुत भए।
✍️
ताराप्रसाद चापागाईं
धुनिबेसी
१७)
कमिसनको खेल हो यो बुझ्नु छैन मर्म,
झुठो बोल्ने देश लुटने यहि हाम्रो कर्म ।
✍️
इन्दिरा देवकोटा
कपिलवस्तु
१८)
राष्ट्रप्रेमी कर्मचारी हुँदा नेता ब्रम्हचारी,
सत्यवादी छन् ती सबै किन्दैनन् बिदेशी सारी ।
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
१९)
सुध्रिएला जस्तो भयाे मुलुकको गति ,
स्वाहा भयाे बिसंगती थियो कतिकति ।
✍️
रामकृष्ण दुवाडी
पाेखरा ।
२०)
तिम्रो देश दुनियाँकै, भएपनि नामी,
जानीराख एकैचोटी खाँइदैन हामी ।
✍️
केशवप्रसाद ढकाल प्रीतबिज
२१)
सिङ्गापुर स्विजरल्याण्डकाे स्वप्ना देखाउँदै,
सात पुस्तालाई पुग्ने जाेडाैं सबै छेकाउँदै ।
✍️
मित्र उराठी गाैतम
अमरपुर – गुल्मी हाल: बुटवल
२२)
देश बनाउँछौं भन्दै सधै भाषण मात्रै ठोक्छन्,
उल्टै देश बेचेर हजुर पैसाको थैली बोक्छन् ।
✍️
निर्मला शाही ठकुरी
दैलेख हाल दार्जिलिङ
२३)
स्वाभिमान बेची बदलामा पैसा रोज्नेहरु,
निरिहमाथि हैकम जमाउन खोज्नेहरु ।
✍️
सूर्य मणि रेग्मी
चितवन
२४)
नेताहरु देशको बिकास हैन डलरको खेती गर्छन्,
जनता विचरा फसल बगाएर भोकैभोकले मर्छन्।
✍️
लक्ष्मी श्रेष्ठ
बिर्तामोड झापा
२५)
पश्चिम महाकाली देखि फैलिएको पुर्वमा मेची,
पुर्खाले आर्जेको देशको सिमाना खाईदियो बेची।
✍️
राम रावल (सागर)
कैलाली
२६)
नेताज्युको बिर्ता कहाँ हो यो देश,
बेच्ने सुर गरे उखेलिन्छ केश।
✍️
बिके मुखिया
दार्जीलिङ,भारत
२७)
आफ्नै देश सिमानाको भाग बेच्यौ अब बाँकी पो छर कति ?
त्यो पनि मिल्ने भए भाग लगाउँथ्यौ होला मिली डाँका जति ।
✍️
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
२८)
कामको मुल्याङ्कन नेता हेर्दैछौँ जन प्रष्ट,
देश विकासमा के चासो नेताज्यु झनै भ्रष्ट ।
✍️
भगवती दवाडी ,दमक,झापा
२९)
ग्राहक पनि नखोजेका हैनन् फटाहाले,
बेच्न भने त पटक्कै दिएनन् जनताले।
✍️
अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग
३०)
नेताहरुले देश बेच्ने अरुलाई लुट्ने काम गर्छन् ,
गरिब जनताहरु दु:ख गरेर पनि भाेकै मर्छन्।
✍️
सहयात्री शाेभा अर्याल
बुटवल , रुपन्देही
३१)
समय र शक्ति हुँदा टुक्रा या सिङ्गै देश बेेचोस् नेता,
एकनास पक्कै हुन्न उखेलिन्छ दाह्री काला र सेता।
✍️
मिसु श्रेष्ठ
काँडाघारी, काठमाडौं
३२)
देश बनाउन गएका नेता कुर्सी तानातान,
भागबण्डा नमिल्दा गर्दछन् नि मुक्का हानाहान।
✍️
सरस्वती श्रेष्ठ इटहरी
३३)
नेता कर्मचारी जति सबै भए कलाकार,
हामी जनतानै पो भएछौ दर्शक बेकार।
✍️
शरद प्रधानाङ्ग, विराटनगर-७
३४)
टाउकेहरू त सकिगए कालाकाेटेहरू पनि,
लाग्दारहेछन् देश बेच्नेहरूकै जमातमा अनि ।
✍️
रचना शर्मा प्रतीक्षा
३५)
माटो हो मेरो शरीर देशको हो बाती,
देश वेचुवाकाे अब फाेर्नु पर्छ छाती।
✍️
प्रद्युम्न चालिसे
३६)
भन्छन् पहिलो कामै देश विकास,
देला जस्तो छैन जोगीले निकास ।
✍️
गोपाल कृष्ण डंगोल
ईटहरी
३७)
नेताहरू बाहिर बाहिर खेल्दै हिड्छन् दोहोरी,
मौका मिलाउँदै देश बेच्ने कुरा गर्छन् फोहोरी ।
✍️
बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा
३८)
खाएको भाँडो बेच्नेलाई खानाको के आस,
आमा बेच्ने घटियालाई दिनुहुन्न बास ।
✍️
धनुष न्यौपाने
गुठीचौर गाउँपालिका o४ जुम्ला
हाल सुर्खेत
३९)
सधैं मरुभूमिमा हलो जोत्ने सपना देख्छ,
छोरो परदेश पुगेर देशको माया लेख्छ ।
✍️
रिजाल विनोद
बेलबारी ०२ मोरङ
४०)
नेपालको परिचय छ सौन्दर्य सान अनि मान,
अगुवाहरुलाई फुर्सद छैन आफै हानाहान।
✍️
दुर्गा आचार्य
मोरङ
४१)
जनताको सार्वभौमिकता खै कता गयो?
यो देश त उनीहरूकै पेवा जस्तो भयो ।
✍️
रामचन्द्र भट्टराई
४२)
न्यायालयमा लडाईं भयो,
कानुन पिटीयो कता गयो?
✍️
घनश्याम पौडेल
सृजना चोक, पोखरा
४३)
खाँटी नेता हौं हामी देशै बेच्छौं जनता भाँडमा जावस्
खाने जति हामीले खाइसक्यौं लौ!अरुले आलु खावस्।
✍️
परिक्रमा श्रेष्ठ
४४)
यिनलाई देख्दा लुते कुकुर पनि मान्छ घिन,
जनमतका बलात्कारी बन्छन् नेताहरू किन ?
✍️
श्रीकृष्ण शर्मा
पोखरा
४५)
नेता फेरिंदै स्वार्थ हेर्दै पल्टैपल्ट देश बेचे यिनले केही गर्दैनन् ,
आफ्नै जन्मदिने आमा पनि बेच्नलाई मौका परे यिनी पछि पर्दैनन्।
✍️
बेदु न्यौपाने काठमाडौ
४६)
किन्नेहरुको के को चिन्ता छिमेकीनै होलान्,
पछुताउँदै चम्चे नेतापछि सबै रोलान् ।
✍️
मित्र कुमार अाचार्य
काठमाडाैं
::::::::::::: जय टुक्का ! जय साहित्य !! ::::::::::::


टुक्का माथि टुक्का व्यङ्ग्यात्मक टुक्का ले निकै चर्चा पाएको छ। सम्पूर्ण टुक्का सर्जक ज्यू हरूमा हार्दिक बधाई तथा शुभकामना। आदरणीय वसन्त अनुभव सर प्रति हार्दिक आभार तथा हिमालयन दृष्टि अनलाइन पत्रिका परिवार प्रति कृतज्ञता प्रकट गर्दछु।