
काठमाडौ, असाेज १५ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे विशेष अवसरमा टुक्का साहित्य समाजले “टुक्का लेखन अभ्यास श्रृङ्खला-२२” सम्पन्न गरेकाे छ।
अभ्यासमा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ६३ नेपाली भाषी सर्जकहरूले ज्येष्ठ नागरिक सम्बन्धी चाेटिला टुक्काहरू सिर्जना गरेका थिए ।
अध्यक्ष ताराप्रसाद चापागाईकाे संयाेजकत्वमा संचालन भएकाे उक्त अभ्यासमा संकलन भएका टुक्काहरू समाजकी सचिव विमुन्स पाैडेलले सम्पादन गर्नु भएकाे थियाे ।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाई तथा सचिव पाैडेलले सहभागी सम्पूर्ण सर्जकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
अभ्यासका क्रममा सङ्कलन गरिएका उत्कृष्ट टुक्काहरू
@ १
१.
समाजका अग्रज हाम्रा मार्ग निर्देशक जेष्ठ नागरिक सम्मान गराैँ,
नैतिक शिक्षा ज्ञान पाई सबल भयाैँ यिनकाे जीवनमा उज्यालाे छराैंँ ।
२.
सम्मान र सत्कार गराैँ बाबा आमा बाजे बज्यै उनकै रगत हौँ हामी,
अनुभवले खारिएका महान सल्लाह सुझाव पाउँछाैँ ती दूरगामी ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेशी
@ २
१.
तिम्रा अनि मेरा घरका जेष्ठ नागरिक होइनन् रहरले बनेका,
थाप्लोमा नाम्लो मनमा मेरा बा आमाका अनुभव वर्षौँ थिए गलेका ।
२.
बुझ्नेछौ, चाउरी परेका छालामा हिजो भरिलो पोषण र बल थियो,
त्यही बलले तिम्रो जीवनको उचाइँमा कसरी आयाम लेखिदियो।
✍️ विमुन्स पाैडेल, पाेखरा
@ ३
१.
हाम्रा सबै अग्रज जेष्ठ नागरिकहरू हार्दिक सम्मानका हुन सुपात्र,
मनमा हाम्रो खुसी छाउँछ उनीहरूको आदर, स्याहार गर्यौं भने मात्र।
२.
जुन परिवारमा वृद्धवृद्धा आनन्द र खुसी हुँदै आशीर्वाद दिने हुन्छन्,
त्यहाँ आनन्द, हर्ष अनि समृद्धि र ऐश्वर्यले भावी पुस्ताको पाइला छुन्छन्!
✍️ भूषण जंग, अष्ट्रेलिया
@ ४
१
मद्दत गरे जिउँदा ईतिहासहरूलाई पुग्न सक्छ जीवनमा टेवा,
अशक्त रोगी भएर थलिएका ज्येष्ठ नागरिकलाई मिली गरौ सेवा।
२
हेला गरी घरबाट निकालिएका बुवा आमालाई बाटोतिर भेटेमा,
आशिर्वाद मिल्छ होला वहाँहरूबाट सारा मनका तृष्णाहरू मेटेमा।
✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
@ ५
१.
पूज्य हुन्छन् सदैव जेष्ठनागरिकहरू अनि ज्ञानगुणका भण्डार,
पढेर परेर खारिएका अनुभवले बन्छ हाम्रो सुन्दर संसार ।
२.
सम्मान एवं स्याहार गरौं वृद्धजनको दर्पण हुन् ती हाम्रा भोलिका,
दुईगास दिँदैमा मख्ख नपरौँ भोका हुन्छन् नम्र व्यवहार बोलिका ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
@ ६
१.
बच्चा हुर्काउँनु जस्तै जिम्मेवारी हाम्रो संरक्षण दिनु जेष्ठ नागरिक,
हामी पनि एकदिन असक्त अवस्थामा पुग्नेछौँ यही सत्य सान्दर्भिक।
२.
बृद्धबृद्धा सडकमा र बृद्धाश्रममा कोही नफालियून् यही छ अनुरोध ,
यही अवस्था आफ्नै भविष्यको ऐना हुनसक्छ सबै सन्ततिमा आओस् बोध।
✍️ शर्मिला श्रेष्ठ
भैंशेपाटी, ललितपुर
@ ७
१.
जेष्ठ नागरिक कै आशीर्वादको कारण जीवन चक्र चलेको छ हाम्रो,
बोझ-बिचरा हैनन् जीउँदो इतिहास र कथा हुन् पढ्न सक्छौ पढ राम्रो।
२.
जेष्ठ नागरिकलाई अपमान हेलाहोचो होइन सबले सम्मान गरौँ,
यस्तो काम घरभित्रै सिकौँ अनि सडकमा भेटे उद्धार गर्न अघि सरौँ।
✍️ अरुण कुमार भुजेल
गोरूबथान, कालेबुङ्ग।
@ ८
१
अफसोच मान्छु अनि यी सारा वृद्ध आश्रमहरूको बारेमा म केही लेख्छु,
जिन्दगीको क्षितिज पर डुब्न लागेको घामलाई वृद्ध आश्रमभित्र देख्छु।
२
कपाल फुल्नु ,दाँत सबै झर्नु, क्षणमै बिर्सनु,लौरो टेकेर बामे सर्नु ,
जिन्दगीको मानचित्रमा वृद्ध अवस्था भनेको फेरि बालापन झैँ गर्नु ।
✍️ बी.कुलुङ “रंगबुले”
दार्जिलिङ भारत।
@ ९
१.
बुझिहाल्दछन् ज्ञानी सन्तानहरुले, जीउँदो इतिहास हो बृद्दा अवस्था भनी,
कोही अबुझहरू लोभी लालची हुन्छन् सेव़ाभाव़ बिर्सेर बन्न खोज्छन् धनी।
२.
आलो पालो आउँदछ सबैको एकदिन प्रकृतिको नियमले यस्तै गर्छ,
आजै देखि लागौं सक्त असक्तहरुको सेवामा, नत्र जीवन यत्तिकै मर्छ।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी।
@ १०
१.
जेष्ठ नागरिक अामा बुवा सरहका भगवान् सम्झी सम्मान गरौ ,
माया ,ममता र स्नेह गरेर हर क्षण वहाँहरूकै शरणमा परौ।
२.
सम्झन्छन् सन्तान सधै सानैछन् भनी जपिरहन्छन् नाम लिँदै,
बोकेर हिडछन् मनभरिको व्यथा छोराछोरी ले हिडे दु:ख दिँदै।
✍️ दुर्गा अाचार्य, मोरङ
@ ११
१,
उदाउँदो घाम सबै ताप्छन्,अस्ताउदोलाई कोही पनि हेर्दैनन् फर्केर,
त्यस्तै हो भनी बुझाउनु पर्छ मन,प्यास लाग्दा टाढा पुगे अंखरा सर्केर।
२,
जेष्ठ नागरिक हाम्रा घरका गहना, भन्ने दिन कहिले आउला?
भएभरका वृद्द अाश्रमहरु रित्ता भई, सन्नाटा कहिले छाउला?
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज उप महानगर -२०
राँझा एयरपोर्ट बाँके
@ १२
१.
भन्छन् साँझ बिहान बुढा बा आमाको पूजा गर्नू र आशीर्वाद रे चाहिन्छ,
त्यही बुढा बा-आमा बृद्धआश्रममा सरकारको आशामा खाना पाइन्छ।
२.
घृणा नगर्नू भगवान् हुन् बुवा आमा सम्मानले हात फेर्नूस्,
सकिन्छ आफ्नो साथ पाल्नूस् सकिन्न घृणित रुपमा नहेर्नूस्।
✍️ नवीन जाेशी, कैलाली
@ १३
१
बूढो शरीर छाला र हड्डीमा आइपुग्यो सधैंँ लौरोको सहारा जेष्ठता,
दु:खमा हुर्केका सन्तान घरमा छैनन् रहेन वृद्धको जीवन श्रेष्ठता।
२
मुखामुख गरी एकापसमा सम्झन्छन् बितेका ती रमाइला पलहरू,
भोगाइ जिवनको उत्तरार्धमा सन्तानले गरेका नमिठा छलहरू।
✍️ प्रदीप के रिमाल, इटहरी, सुनसरी
@ १४
१.
फूल जस्तो हो हाम्रो जवानीका ती पलहरू जब जीवन हुन्छ रङ्ग भरिएर यहाँ
जब आउँछ कालो दिन त्यो बुढापाका दुःख पलहरू मनलाई भाँचिने गरी त्यहाँ ।
२.
जीवन साथी तिमी बन जिन्दगीको यात्रामा बुढापाभरि
कथा बनोस् यहाँ तिम्रो र मेरो जीवनको इतिहाससरि ।
✍️ नीमा छिरिङ्ग भोटिया
जलढक्का /कालेबुङ
@ १५
१
आफ्नो अधिकार र कर्तव्य भुली बाध्यतामा हामी अब नबनौँ बिवश,
नारामा मात्र सिमित नराखौ न अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस।
२
घमण्ड किन गर्छौ? तिम्रै बाबा र आमाको हात छ तिमी सफल हुनुमा,
उसैको लगावले सार्थकता पायो तिम्रो सफलताले शिखर छुनुमा।
✍️ अबजस चन्द्र, दमक, झापा
@ १६
१.
जीवनमा आखिर बुढ्यौली आउने उमेरले छिट्टै नेटो काटेपछि
गाउँमा दूध जमाइ ठेकीमा मही बनाइन्थ्यो बृद्ध नेती बाटेपछि
२.
चौतारी बने पाटी पौवा बने बने पाठशाला अनि बाटोघाटो पनि
पक्कै बाँच्न विवश पार्नु हुन्न जेष्ठ नागरिकलाई मर्ने दिन गनी।
✍️ तेजप्रसाद खनाल,
लमही दाङ।
@ १७
१.
सेतो बाल चाउरी परेको गाल,धुर्त कपटी समयको चाल,
दायित्वको भारी बोकेर हिँडदा , थाहै नपाई भयो यस्तो हाल।
२.
बुडा पाकाहरू हुन्छन् अनुभवले खारिएका, अर्ति उपदेश लिनुपर्छ,
जाति समाजको शिरोमणि उनी, उनलाई मान अनि सम्मान दिनुपर्छ।
✍️ बिके मुखिया
दार्जीलिङ,भारत
@ १८
१.
उमेरको कारण नखाेजुन् है शरण हुनुपर्छ यिनका भरणपोषण ,
समाजकाे रित बुढापाका सित ग्रहणयाेग्य नै हुन्छ दिव्य दृष्टिदर्पण।
२.
अनुभवका स्रो्त हुन्छन् भण्डार ज्ञानका निशुल्क संवाहक र प्रदायक,
नयाँ पुस्ताका प्रेरणामा उपयोगी बन्ने रहेछन् जीवनशैलीका लायक।
✍️ रामकृष्ण दुवाडी, पाेखरा
@ १९
१.
ज्येष्ठ नागरिक भएपछि कसैको बोझ बन्नु हुँदैन मानव चोला,
आखिर गन्तव्य एउटै हो सबैको त्यही बाटो आफैँ पनि हिँड्ने होला।
२.
दोसल्ला ओढाई ज्येष्ठ नागरिकलाई सम्मान गरिन्छ खादा र मालाले,
मन भित्र सद्भावनाको खाडल छ भने पुरिँदैन सम्मानको टालाले।
✍️ प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
@ २०
१
संस्कृति ,कला साहित्य जेष्ठ नागरिकहरूले नै गर्छन् सदा हस्तान्तरण,
जति सकारात्मक हुन्छ नयाँ पुस्ता उति छिटाे हुन्छ समाज रूपान्तरण ।
२
असल संस्कार सिकाउनु छ वृद्ध वृद्धाहरुलाई उचित सम्मान गरौँ ,
जेष्ठ नागरिक मैत्री समाज निर्माण गर्न मीठाे शुभ सन्देश आजै छरौँ ।
✍️ त्रिलोचन भण्डारी
मेचीनगर, झापा
@ २१
१.
सयौँ बर्ष उमेर खाई दाह्री फुली सकेका हाम्रो देशका जेष्ठ नागरिक,
छोराछोरी चिल्ला गाडिमा छन् बाआमालाई बाध्य बनाउछन् माग्दै हिड्न भीक।
२.
बृद्धलाई हेला गरी मन्दिर जान्छन् दान गर्छन् थुक्क तिनीहरुको कर्म,
थाहा छैन क्यारे जेष्ठ नागरिक खुसी बनाउनु नै हो मानवीय धर्म।
✍️गणेश तामाङ वाइबा
धादिङ नेपाल।
@ २२
१.
हेला गर्छन् बूढो भइस् भन्दै छोराछोरी आजकल बिर्सेर जन्माएकाे,
कसरी भुल्न सक्छन् त्यो छोरी बिदाई गर्दा हामीले रोएर अन्माएको ।
२.
जेष्ठ नागरिक देशकै धरोहर हुन् भन्ने हामीले बिर्सनु हुँदैन,
हेला गरे पाप लाग्नेछ फेरि तिनले दिएको आशिर्वादले छुँदैन ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
@ २३
१.
अनुभवले खारिएका ज्येष्ठ नागरिकहरूसँग सुझाव – सल्लाह लिऊँ,
राज्यको प्रमूख दायित्व सम्झेर उनीहरूलाई सक्दो सेवा – सुविधा दिऊँ।
२.
सर्वत्र ! ज्येष्ठ नागरिकहरूको सधैं उचित सम्मान र सुरक्षा गरौँ,
दु:खी छन् भने देखिएका सबैलाई माया र स्नेह दिन सबै लागि परौँ।
✍️ परिक्रमा श्रेष्ठ, धरान ।
@ २४
१.
ती चाउरिएका धमिला आँखाहरूलाई जीवनकाे परिभाषा साेध्दैछु,
तिम्रो यथार्थ वर्तमानभित्र मेरो सम्भावित निकट भविश्य खाेज्दैछु ।
२.
धूमिल नजर, सुस्त श्रवण, कुप्रा ढाडहरूकाे लाठी हुँ म भन्नुपर्छ
भाेलिकाे आफ्नो नियति पनि उही, सन्तानले श्रवणकुमार बन्नुपर्छ ।
✍️ दुर्गा बनवासी, झापा
@ २५
१.
ज्येष्ठ नागरिक हाम्रो परिवार र समाजका बोझ होइनन् जानौँ,
उनीहरूको मनलाई प्रसन्न पारेरै सुख फैलिन्छ यो कुरा मानौं।
२.
देशका अग्रजहरूले हाम्रो लागि सोचौँ के-के मात्र गरेनन यहाँ,
आजको पुस्ता जहाँ पुगेको छ त्यो ज्येष्ठहरूको योगदान छैन कहाँ।
✍️ निर्मला शाही ठकुरी
दैलेख, हाल दार्जिलिङ
@ २६
१
सम्मान गराैँ हामीहरूले बृद्ध अवस्थाका उहाँहरू बाबा र आमालाई,
सानाेमा पालन पाेषण, शिक्षा,दीक्षा तातेताते, सुरक्षा, हाम्रा पाइलालाई।
२
जेष्ठ नागरिकहरूकाे सेवा गरेमा जानु पर्दैन हामीहरू चार धाम,
उहाँहरूकाे आशिर्वादले जीवनमा राम्रो कामकाे थालनीकाे हुन्छ नाम।
✍️ शाेभा अर्याल
रुपन्देही १४, बुटवल
@ २७
१
के मिल्छ ढुङ्गा पुजी बुढाबुढी भएका बाआमालाई बृद्ध आश्रम छोडी,
नयाँ जीवनको लागि तपाईंलाई जन्मदिने भगवान् बाट बाटो मोडी ।
२
हेला गर्नु हुँदैन हामीले जेष्ठ नागरिकहरूलाई कहिल्यै पनि,
सधैं पुज्नुपर्छ भगवान् ठानी एक्लै एक्लै छोड्नु हुँदैन दुश्मन बनी।
✍️ जगत थापा, बझाङ्ग
@ २८
१.
बुढापाकाहरू अबोध सन्तानको मार्ग लक्ष्य र जिउने आधार हुन्छन्
देखाएको बाटो नहिँडेमा जेष्ठ नागरिक भावविह्वल भएर रुन्छन् ।
२.
हामी एक गास, भात प्रेमले भरिएको मिठो बोली दिऊँ स प्रेम लिन्छन्,
ती बुढा रुखले फल नदिए पनि शीतल छहारी भने अवश्य दिन्छन् ।
✍️ रिजाल विनोद
बेलबारी ०२, मोरङ्ग
@ २९
१
बुढाबुढी इतिहास हुन् सम्मान अनि संरक्षणमा कर्तव्य हाम्रो पनि
हजुरबा हजुरआमा,बा-आमाको कुरा सुनौँ बुझौँ, पुर्खाको बनौँ धनी ।
२
सिक्छौँ हामी धेरै कुरा जेष्ठ नागरिक हरूबाट गुरु मानौँ सबै हामी,
उहिलेका कुराहरू जान्ने छौँ बुझ्दछौ बिगतका इतिहास हुन्छ दामी ।
✍️ माधव पोखरेल गोज्याङ्ग्रे
उदयपुर गाईघाट हाल ताप्लेजुङ
@ ३०
१.
सिक्नुपर्दछ नैतिक शिक्षा जेष्ठ नागरिकबाट आजका युवाहरूले,
काम लाग्छ पछिसम्म सिकाउन नयाँ पुस्तालाई ज्ञान कुञ्जका तरुले।
२.
मान सम्मान गर्नुपर्छ बुढापाकाहरूको चोट नपुर्याइ मनमा,
आउँछ भोलि हाम्रै पालो भनी सन्देश फिजाइ प्रत्येक जन जनमा।
✍️ काेकिला चाैधरी, बाँके
@ ३१
१,
जन्मी हुर्की वयस्क बुढा हुँदै अन्तमा गई जेष्ठ नागरिक भइन्छ,
घरमा सपुत छोरा छोरी भए राम्रो नत्र त बृद्ध आश्रम गइन्छ।
२,
ती बृद्ध जेष्ठ नागरिकबाट हामीले दिव्य ज्ञान उपदेश पाइन्छ,
उनै देव सरि पुज्य बृद्ध हरूको अाशिर्वाद ले सत्कर्म मा जाइन्छ।
✍️ लक्ष्मी श्रेष्ठ
बिर्तामोड, झापा
@ ३२
१.
असहाय अशक्त बृद्ध बृद्धाको सेवा गर्न पाउनु जीवनको पुण्य कर्म,
यिनैको दुखेको मनमा मल्हम पट्टी लगाउन सक्नु नै मानवीय धर्म।
२.
यो संसार देखाउने बाबु आमा हुन् साक्षात् ईश्वर गरौँ नित्य सेवा साधना,
सधैँभरि खुशी भै पालनपोषण गरी, बृद्धाश्रम नराख्ने गर्नू कामना।
✍️ रवीन्द्रनाथ पोखरेल
देबचुली नपा.३, नवलपरासी
@ ३३
१.
आशीर्वाद पाऊँ सधैं वयोवृद्ध आमाबुवाबाट
अब हामी जोत्छौँ नि मुक्त हुनुहोस् हलो- जुवाबाट ।
२.
सानामा पढाए अनेक सही दु:ख कष्ट आफ्ना सन्तानहरूलाई,
कर्म क्षेत्र टाढा भए लैजानू साथ, वृद्ध बाबाआमालाई मिलाई ।
✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर ।
@ ३४
१.
यहाँ सबैभन्दा ठूलो धर्म भनेको नै वृद्ध वृद्धालाई सेवा गर्नु हो सुन
आफुले गरेको सत्कर्मको फल कतै जाँदैन पक्कै पाइन्छ मनमा गुन।
२.
माया र ममता दिई अब जेष्ठ नागरिकलाई आफुले नै घरमा पालौँ
सबै जना मिली वृद्धाश्रममा लानु हुदैँन है भन्ने नयाँ अभियान थालौ।
✍️ ललिता अभागी, सिन्धुली
@ ३५
१.
मठमन्दिर,देवीदेवता चाहिन्न ढुंगा पुज्न सुन्दर उनेर फूलमाला,
वयोवृद्धहरू सबै हाम्रा लागि जिउँदो इतिहास खोजे सिङ्गो पाठशाला।
२.
आदर,सत्कार,माया,ममता दिएर स्याहारसुसार गरौँ आफ्नो घरमा,
कोही आमाबुबाहरूका निमित्त छोराछोरीले भर नपरून् वृद्धाश्रममा।
✍️ म्यामराज राई,भोजपुर, हाल:-प्रवास
@ ३६
१.
भगवान् रुपि ज्येष्ठ नागरिकहरूलाई उचित सेवामा नै लागि परौँ
सन्तान भई ऊनीहरूको स्याहार सुसारमा आफ्नो दायित्व सम्झने गरौँ ।
२.
हाम्रा पुर्खा छन् अनुभवले खारिएका ,उनैसँग अर्ती उपदेश लिऊँ
जति हुन् अग्रजहरू यो समाजका सबैलाई सम्मानले भरि दिऊँ ।
✍️ दुर्गा भट्टराई, मोरङ
@ ३७
१.
भगवान् नै हुन् हाम्रा लागि जेष्ठ नागरिकहरूको सम्मान गरौँ,
नरुवाऊ कहिलै उहाँहरूलाई स्नेह सम्झेर शरण परौँ।
२.
बुवा आमाहरूले जहिले पनि सन्तानका लागि दुःख गरिरहन्छन्,
छाती भरि पिर व्यथा बोकेर भएपनि मनमा मायाँ भरिरहन्छन्।
✍️ नवशिला
बेलबारी -२, लालभित्ती, मोरङ्ग
हाल: गोदावारी ललितपुर
@ ३८
१,
पालो सबैको आउँछ जेष्ठताको सम्मान गर्न जान्नुपर्छ
आशीर्वादको ओहिरो लाग्छ है मायाको बन्दुक हान्नुपर्छ।
२,
सन्तति पराई भईगए विदेशी मुलुकमा नै रमाउने
दुःखको कुरा बुढा बाबाआमालाई कसले हात समाउने?
✍️ इश्वरी अधिकारी, लमजुङ्ग
@ ३९
१
जीवन बुझेका हुन्छन् जेष्ठ नागरिक बुवा आमाले जति,
राम्रो विचार सुनेर अपनाऔँ हामी एकले जीवनमा अति।।
२
राम्ररी पालौँ सम्मान गरौँ हजुरबुवा आमालाई जानेर,
जेष्ठ नागरिक हुन् हाम्रा पुजौँ सधैँ सबैले आधार ठानेर।
✍️रिता खराल,रुपन्देही
@ ४०
१.
जेष्ठ नागरिक सरकारको आसमा बसेको छ रोई,
उनले हिजो जन्माएको सन्तान कता हराए खोई ।
२.
दुई बिचको सम्बन्ध कायम छन् बरु सधैंभरि ,
आफ्नो सन्तान गएछ त्यहाँ सात समुन्द्र तरि।
✍️ कल्पना थामी
सिन्धुपाल्चोक
@ ४१
१.
छोरा हुर्काए बढाए आज बा आमा छन् कुनै आश्रममा,
कुन अपराधको सजाए सुनायौ चढ्यौ पराक्रममा।
२.
सबै अवस्था भन्दा बेग्लै वृद्धाअवस्था हुन्छ,
औलादको थोरै बचनले पनि मुटु छुन्छ।
✍️ सुरेशकुमार पान्डे।दाङ घोराही१८
@ ४२
१.
जेष्ठ नागरिकहरूलाई सधैँ सम्मान गर्नुपर्छ हामी,
अग्रजका सदगुण ग्रहण गर्दा भइँदैन प्रतिगामी।
२
आफ्ना सन्तानका लागि जीउज्यान एक गरेका,
मनको अपार स्नेह त निर्धक्क भई छरेका।
✍️ राजेश भट्टराई
सैनामैना ११,रुपन्देही, हाल सुर्खेत
@ ४३
१.
गुरुकुल पद्धति सरह बुढा मरे कुरा सरे छ हाम्राे लाेक उक्ति ,
ज्ञान, अनुभव अनि प्राचीन विषय बस्तु बताउँथे निक्लिन्थे जुक्ति ।
२.
गराैँ बृ्द्धा बृद्धकाे मान सम्मान ,
उनीहरू हुन् जीउँदा भगवान ।
✍️ प्रधुम्न चालिसे, भक्तपुर
@ ४४
१
जेष्ठ नागरिकलाई समाजमा सबैले सम्मान दिउन्
अग्रजहरू बाट ज्ञान अनुभव र आशिर्वाद लिउन् ।
२
हरेक काममा ज्येष्ठताकाे अनुभवहरू लिने गरौँ
उहाँहरू प्रति आदर सम्मान गरी श्रद्धा भाव छरौँ।
✍️ सरस्वती श्रेष्ठ, इटहरी
@ ४५
१.
तन बूढो भए पछि मन बुझ्न गाह्रो हुन्छ,
सन्तान बिरानाे भए पछि त्यसै मन रुन्छ।
२.
बुढौली उमेरमा हुने रहेछ सोच बिचार कमजाेर
भगवानको भजन कीर्तनमा आनन्द मिल्छ घनघाेर ।
✍️ रश्मि रिमाल
झापा, हाल काठमाडाैं ।
@ ४६
१.
बा आमाको योगदानले गर्दा जागीर खाएछौ,
बा आमालाई वृद्धाश्रम राखी मन्दिर धाएछौ ।
२.
वृद्ध वृद्धा इतिहास हुन नगरौँ है हेला,
छेउँको सियो माझैमा पनि हुन्छ कुनै बेला ।
✍️ रचना मोक्तान “यात्री”
नमोबुद्द नगरपालिका वडा न ५ काभ्रे
@ ४७
१.
बुढाबुढीहरू लाई सदैव सम्मान गरौँ साथी,
उनीहरूको अनुभव हामीदेखि धेरै छ माथि।
२.
व्यवहार ले थिचेको त्यो उनको काँधमा,
अझै छ ताजा घाउ उमेरको यो साँधमा।
✍️ पदमा शर्मा आँचल, कालाचिनी
@ ४८
१.
जेष्ठ नागरिक गाउँघर देशका गहना हुन् भनेर जान्नु ,
उनै अग्रज हरूको राम्रो सुझाव लिएर काम गर्न मान्नु ।
२.
हामीले ती जेष्ठ नगरिकलाई सम्मान गरौँ ,
उनीहरूको आशिर्वाद लिएर अगाडि सरौँ ।
✍️ बेदु न्यौपाने, काठमाडौ
@ ४९
१.
शिर सबैका बाबा-आमाका अघि झुकेका,
अनुहारको धर्सामा अनुभव लुकेका ।
२.
जेष्ठ नागरिकलाई कहिले हेला नगरौँ,
आशीर्वाद पाउन वहाँहरूको पाउँ परौँ ।
✍️ राजेन्द्र प्रधान पासा, दार्जिलिङ ।
@ ५०
१.
वृद्ध बाबा आमा देशका मानौँ पहिचान,
आफ्ना बाबु र आमाको गर्नु पर्छ सम्मान।
२.
आफ्नो पालो आउँछ घुमेर भन्ने मनमा सोची,
पाइदैन संसारमा जन्म दिने बा आमा खोजी ।
✍️ तारा घिमिरे, संखुवासभा
@ ५१
१.
देवता झैँ सम्मान गरे
विश्वास गरि भर परे ।
२.
ज्येष्ठ नागरिकहरू सबै हुन्छन् बुद्धिमानी ,
अर्ती मानी अघि बढे हामी सबै बन्छाैँ ज्ञानी ।
✍️ लक्ष्मी घिमिरे दहाल
दमक -७ झापा
@ ५२
१.
गर्छौँ भने बुढाबुढी माथि हामीले कर्म,
जानु पर्दैन कुनै धाम गर्नलाई धर्म।
२.
नदुखाए मन नझारे आँशु बृद्धाको कहिल्यै,
पितृको आशिर्बाद तिमीले पाउँछौ नि जहिल्यै।
✍️ रीना सापकोटा खनाल
जितपुर सिमरा१४
@ ५३
१.
बृद्धको साहारा बन त आज खॉचो तिम्रो पर्यो
आश्रमको वास हुँदा तिनको साह्रै ऑसु झर्यो ।
२.
संस्कारका खानी उनै पो हुन् जेष्ठ नागरिक हाम्रो,
ज्ञान गुनका कुरा सिकी सभ्य बनाउँ घर राम्रो।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु न .पा . ३
@ ५४
१.
जेष्ठ नागरिकलाई अादर सम्मान गराैँ,
सेवा गरि जीवनमा सधैं सुख शान्ति छराैँ ।
२.
जेष्ठ नागरिकलाई माया गर्ने गर,
बृद्ध आश्रममा हैन सधैँ राख्नू घर।
✍️अरुण नदी खत्री
काठमाडाैं
@ ५५
१.
जेष्ठ नागरिकसँग हुन्छ धर्म संस्कृतको ज्ञान,
धेरै कुरा सिक्ने अवसर मिल्छ पुर्याऊ है ध्यान।
२.
केही पाउनु हुँदैन तपाईंले पश्चाताप रुँदा,
घरका जीवित देवताको मज्जाले खुट्टा नधुँदा।
✍️ रविन भण्डारी
कानेपोखरी मोरङ
@ ५६
१.
आदर्श हाम्रा लागि जेष्ठ नागरिक सदा
कोरिदिएको बाटो छोडी गयौ तिमी कता।
२.
सत्मार्ग रोज्नु पर्छ भन्ने चाहना उनैको
त्यही बाटो हिडौँ हामी भलो होला सबैको।
✍️ सूर्य मणि रेग्मी, चितवन
@ ५७
१.
जेष्ट नागरिक हुन् हाम्रा सोह्र शृङ्गारका गहना,
बुढाबुढी बिहान देखि बेलुकाको भोग्दै लहना।
२.
जसको घरमा जेष्ट नागरिक छ त्यो घर सँधैं उज्यालो,
अल्लारे उरन्ठ्याउले भएको ठाउँमा विरक्तिएर कालो।
३.
जेष्ठ नागरिकको सम्मान गर चार धाम घरमै पाउँछौ,
जानू अगाडि शिर झुकाऊँ आशीर्वाद साथैमा माया लाउँछौ।
✍️ कमला पाण्डे पराजुली, झापा
@ ५८
१.
ज्येष्ठ नागरिक भनेको निभ्न लागेको बत्ति,
यिनको सेवामा ध्यान पुर्याए जाति अत्ति।
२.
ज्येष्ठ नागरिक अनुभवका मानेको खानी ,
उनीहरूबाटै ज्ञान र सीप पाइन्छ नानी ।
✍️ भगवती दवाडी, दमक झापा
@ ५९
१.
जेष्ठ नागरिकको दु:ख र मर्म बुझेर,
राख्न सिकौ उहाँलाई देवता झैँ पुजेर।
२.
खुशी हुदै मायाँ र सम्मानले पालौँ,
बृद्धआश्रम तिर लगेर नफालौँ।
✍️ नानीबाबा अधिकारी
काठमाडौं
@ ६०
१.
बुढा बुढी भनेका धराेहर हुन घरका हेला हाेचाे कहिले नगोडौँ,
सुनसान हुन्छ र अँध्यारो हुन्छ वृद्ध आश्रम लगेर कसैले नछाेडौँ।
२.
उमेर पाको भए उनीहरूकाे मन नानीहरू जस्तै हुन्छ ,
मिठाे बाेलेर सधैँ खुशी राखौँ नमिठाे बाेल्दा छिटाे मन रुन्छ ।
✍️ रिना याेल्माे, दार्जीलिङ्ग
@ ६१
१.
बाबा आमाले बालापनमा गर्नु भएको स्याहार सुसार किन बिर्सन्छाै,
बुढा भाका ती बा आमालाई किन बृद्धआश्रम लगी नडरी फर्कन्छौ।
२.
हामी रुँदा सँगै रुने तिनै बुबा आमा,
सन्तानको खुसीमा सधै गर्दछन् धामा।
✍️ साधना पाैडेल, अाेखलढुंगा
@ ६२
१.
सम्मान गर्न जेष्ठ नागरिक अपाङ्गलाई कोही मान्छे त गार्हो मान्छन् ,
आफ्नै जन्म दिने आमा बुबालाई पनि बीच बाटोमा छोडी किन जान्छन् ?
२.
आफू नखाई खुवाउने आमा बुबालाई बुढेसकालमा हेला गर्ने ,
यस्ता सन्तान यो धर्तीमा बाच्नु भन्दा म त भन्छु हाम फालेर नै मर्ने ।
✍️ कान्छी बिनिता विश्वकर्मा
बुढिगंगा नगरपालिका ९ बाजुरा
@ ६३
१.
ज्येष्ठ नागरिकहरू हुन् मानव समाजका गहना आशिर्वाद लिनु,
नरुवाउनु है कुनै हलतमा पनि तिनलाई बरू सम्मान दिनु।
२.
बृद्ध बृद्धा बिनाकाे घर हेर तह नमिलेकाे संसार जस्ताे हुन्छ,
तिनलाई मान सम्मान माया गर्नेलाई इश्वरकाे हातले छुन्छ।
✍️ दीपक ठटाल, खर्साङ्ग भारत।
::::: जय टुक्का! जय साहित्य!! :::::


Shraddheya Shri Tara Prasad Chapagainjyu ani Wimuns
Poudeljyuma hardik abhivadansahit abhar vyakta gardachhu .
हार्दिक आभार हिमालयन दृष्टि अनलाइन पत्रिका प्रति तथा वसन्त अनुभव सर प्रति कृतज्ञता प्रकट गर्दछु। सम्पूर्ण टुक्का सर्जक ज्यू हरूमा हार्दिक बधाई तथा शुभकामना।