
काठमाडौं । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने पक्षमा तीव्र छलफल र बहस हुँदै गर्दा पछिल्लो १३ वर्षमा साढे नौ हजारभन्दा बढीले विदेशी भूमिमा ज्यान गुमाएका छन्। यो तथ्यांक वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता उपलब्ध गराएको विवरणमा आधारित हो। यस विषयमा आजको नागरिक दैनिकले समाचार प्रकाशित गरेको छ । यीबाहेक श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जाने र बोर्डसँग राहत रकम नलिनेको संख्या अझै धेरै हुनसक्ने विज्ञहरूले औंल्याउँदै आएका छन्। बोर्डका अनुसार १३ वर्षमा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनेको संख्या नौ हजार ६ सय ६४ छ। यसरी मृत्यु हुनेमा धेरै नेपाली खाडी मुलुक र मलेसिया पुगेका छन्। खाडी र मलेसियामा मात्रै नौ हजार तीन सय बढीले ज्यान गुमाएको बोर्डले जनाएको छ। बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर निधन भएका परिवारलाई सात लाख रूपैयाँ उपलब्ध गराउँछ भने बिमा कम्पनीहरूले म्यादी जीवन बिमा गरेकालाई १४ लाख रूपैयाँ हाराहारी उपलब्ध गराउँछन् । यस अवधिमा सबैभन्दा धेरै मलेसियामा तीन हजार दुई सय ४२ को मृत्यु भएको छ। त्यस्तै, साउदी अरेबियामा दुई हजार ६ सय ४३, कतारमा एक हजार आठ सय ९५, संयुक्त अरब इमिरेट्स (युएई) मा नौ सय ६८, कुवेतमा तीन सय ५१, बहराइनमा एक सय ४४, ओमानमा ७४ को निधन भएको बोर्डको तथ्यांकमा उल्लेख छ। यस अवधिमा सबभन्दा बढी मृत्यु हृदयाघातबाट भएको पाइएको समाचारमा जनाइएको छ। बोर्डका अनुसार हृदयाघातका कारण दुई हजार एक सय १७ श्रमिकको निधन भएको छ। मृत्युको दोस्रो ठूलो कारणमा सडक दुर्घटना रहेको छ। गन्तव्य मुलुकमा सडक दुर्घटनामा परी एक हजार दुई सय ५४ को निधन भएको छ। त्यस्तै कार्यस्थलमा सात सय १३ को निधन हुँदा एक हजार एक सय चारले आत्महत्या गरेका छन्। १३ वर्षको अवधिमा खाडीका ६ मुलुकसहित मलेसिया, दक्षिण कोरिया र जापानमा एक हजार आठ सय ७८ श्रमिकको प्राकृतिक मृत्यु भएको छ। प्राकृतिक मृत्यु हुनेमा साउदी पहिलो नम्बरमा छ, जहाँ नौ सय २० को मृत्यु भएको छ। त्यस्तै, मलेसियामा चार सय ४५, कतारमा दुई सय ६७, युएईमा एक सय ३६, बहराइनमा ३४, कुवेतमा ३०, ओमानमा २३, जापानमा १२ र दक्षिण कोरियामा ११ मजदुरको प्राकृतिक मृत्यु भएको बोर्डले जनाएको छ। सोही अवधिमा मलेसियामा एक सय ९२, कतारमा एक सय ६६, युएईमा एक सय १८, कुवेतमा ४७, बहराइनमा १४, दक्षिण कोरियामा १४, ओमानमा १० र जापानमा चार नेपाली श्रमिकको सडक दुर्घटनामा परी निधन भएको छ। सबैभन्दा धेरै मलेसियामा चार सय ५० नेपाली मजदुरले आत्महत्या गरेका छन्। साउदीमा दुई सय २३, कतारमा एक सय ७२, युएईमा एक सय ४५, कुवेतमा ४७, दक्षिण कोरियामा ३९, बहराइनमा १४, ओमानमा १३ र जापनमा ६ जनाले आत्महत्या गरेका छन्। विदेशमा नेपाली कामदारले अकालमा ज्यान गुमाउने अर्को मुख्य कारण कार्यस्थलमै हुने दुर्घटना पनि हो। मुख्य गन्तव्य रहेका नौ मुलुकमा १३ वर्षमा सात सय १३ नेपाली श्रमिकले काम गर्दागर्दै दुर्घटनामा परेर ज्यान गुमाएका छन्। सबैभन्दा धेरै मलेसियामा दुई सय ६५ र दोस्रोमा साउदी अरेबियामा एक सय ९५ को कार्यस्थलमै मृत्यु भएको छ ।त्यस्तै, कतारमा एक सय ७०, युएईमा ४०, कुवेत र दक्षिण कोरियामा १४–१४, बहराइनमा १०, ओमानमा चार र जापानमा एक नेपाली श्रमिकको ज्यान गएको छ। गन्तव्य मुलुक पुगेका श्रमिकलाई सानो महेनत गर्ने हो भने पनि सुरक्षित राख्न सकिने विज्ञहरूले बताउँदै आएका छन् ।

